कानुनले दिँदैन तर नेपाली युवाहरू किन र कसरी रुसी सेनामा भर्ती भइरहेका छन्

- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
राज केही वर्षअघि रुस गएका हुन्। उनी आफूलाई विद्यार्थी भनेर चिनाउन चाहन्छन्। तर हिजोआज "नेपालीहरूलाई रुसी सेनामा भर्ती हुन सघाउने व्यक्ति" का रूपमा उनको नयाँ परिचय बनेको छ।
प्रत्येक दिन ४०-५० जना नेपालीले आफूसँग सम्पर्क गरेर एउटै प्रश्न सोध्ने गरेको उनी बताउँछन्। “रुसी सेनामा भर्ती हुन के गर्नुपर्छ?”
“मैले केही भाषा नजान्ने साथीभाइलाई चिनजानको आधारमा [रुसी सेनाको भर्तीमा] फारम भर्न सहयोग गरेको थिएँ। अहिले उनीहरूले नै रुसी सेनामा भर्ती हुन चाहने सबैलाई मेरो नम्बर दिइरहेका छन्,” उनले बीबीसी न्यूज नेपालीसँगको संवाद यसरी सुरु गरे।
केही नेपालीभाषी युवाहरूले आफू रुसी सेनामा भर्ती भएको भन्दै टिकटकमा भिडिओ हालेपछि बीबीसीले उनीहरूसँग दुई साताअघि सम्पर्क गरेको थियो। हामीले तीमध्ये एक जनाबाट राजबारे जानकारी पाएका थियौँ।
सुरक्षाका कारण हामीले उनको पहिलो नाम मात्र प्रयोग गरेका छौँ।
अध्ययनबाहेक आफूले सामान्यतया रुसमा पढ्न चाहने नेपालीहरूलाई "शैक्षिक परामर्श" दिने गरेको उनको दाबी छ। यद्यपि विगत केही महिनादेखि अध्ययनका लागि नभई रुसी सेनामा भर्तीको सम्बन्धमा सयौँ जिज्ञासा र प्रश्न आएको उनी बताउँछन्।
उनका अनुसार नेपालबाट भूतपूर्व सैनिक तथा प्रहरीदेखि वैदेशिक रोजगारीका लागि जान इच्छुक तर अन्य देशमा भिसा नलागेका व्यक्तिहरूले पनि रुसी सेनामा भर्ती हुने इच्छा देखाएका छन्। अर्थात् त्यस्ता व्यक्तिहरू उनको सम्पर्कमा पुगेका हुन्।
रुसी सेनामा नेपाली नागरिकको भर्ती गैरकानुनी हो भन्ने आफूलाई थाहा नभएको राजको भनाइ छ।
आफूले सेनामा भर्ती हुन चाहने वा भर्ती भएका व्यक्तिबाट कुनै आर्थिक लाभ नलिएको उनले दाबी गरे।

तस्बिर स्रोत, EPA
टिकटकबाट चर्चा
‘रुसी सेनामा गोर्खाली’
यो एउटा टिकटक भिडिओको क्याप्शन हो। केही समययता यस्तै प्रकृतिका क्याप्शनसहित थुप्रै भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। केही भिडिओमा हातहतियार प्रयोग गर्ने तालिम लिइरहेको दृश्य पनि देखिन्छ।
पृष्ठभूमिमा नेपाली देशभक्ति र वीरभाव झल्किने गीत बजाएर बनाइएका भिडिओहरूका अन्य केही क्याप्शन यस्ता छन्:
- ‘लाहुरेले जागिर खाने धन कमाएर कार चढ्नलाई होइन। हतियार समाएर देशको लागि लड्नलाई हो...’
- ‘रुसी सेनाको बारेमा केही जानकारी...’
त्यस्ता भिडिओहरू कुनै सैन्य तालिम केन्द्र वा सैन्य समूहमा रहेर बनाइएको जस्ता देखिन्छन्।
टिकटकमा आफू रुसको सेनामा भएको दाबी गर्ने केही नेपाली युवाहरू बन्दुक बोकेर नाचिरहेको भिडिओ देखा पर्न थालेपछि आफूलाई सम्पर्क गर्नेहरूको सङ्ख्या चुलिएको राजले बताए।
‘बीबीसी भेरिफाई’ले ती दृश्यमा देखिएका ठाउँबारे जाँच गरेको छ। उनीहरूले प्रशिक्षण गरिरहेको भनिएको ठाउँ नयाँ भर्ती भएका सैनिकको आधारभूत तालिम हुने ठाउँ नभई रुसी सैन्य तालिम गर्ने शिविर भएको बीबीसी भेरिफाईका पोल ब्राउनले गरेको अनुसन्धानबाट खुलेको छ।
ती स्थान रुसी भूमिमै छन्।
टिकटक भिडिओमै एक जनाले रुसी सेनामा भर्ना हुन भर्नुपर्ने फारम र अर्का एक जनाले आफूले पाउने पारिश्रमिकसँग सम्बन्धित दस्तावेज सार्वजनिक गरेका थिए।
रुसी भाषामा भएका ती दस्तावेज रुसी महासङ्घको रक्षा विभागअन्तर्गत सैन्य एकाइको भएको बीबीसी रसियनले पुष्टि गरेको छ।
"हामीलाई उपलब्ध यी दुवै कागजपत्रले ती दुवै जना रुसी फौजमा भएको सङ्केत गर्छन्," बीबीसी रसियनका आन्द्रे कोजेन्कोले भने।
ती दस्तावेजमा सम्बन्धित व्यक्तिको सैन्य पद, पूरा नाम र संरक्षकको नाम खुलाइएको छ। साथै तिनमा निजहरूले काम गर्ने सैन्य एकाइबारे पनि जानकारी छ।


केही समयको अवलोकनपछि भिडिओ सार्वजनिक गर्ने विभिन्न टिकटक प्रयोगकर्ताहरूमध्ये केहीलाई बीबीसीले सम्पर्कको प्रयास गर्यो। तीमध्ये एक जनाले जबाफ फर्काए।
गोपनीयताको कारण देखाउँदै उनले आफ्नो परिचय भने नखुलाइदिन आग्रह गरे।
उनले भने, "विद्यार्थी भिसामा रुस आएको हुँ। यहाँको सैनिक हुन चाहिँ एक लाख रुपैयाँ जति खर्च गर्नुपर्यो। विश्वासको आधारमा काम हुन्छ।”
उनले सुरुमा आफू “रहर लागेर” सेनामा भर्ती भएको बताए। तर उनले उल्लेख गरेको रकम कसलाई वा कहाँ बुझाएको खुलाउन चाहेनन्।
उनले अर्को भिडिओमा लेखेका छन्, "लाहुरेको जिन्दगी गर वा मर हो, हजुर। इच्छा हुनेहरू मात्र आउनुहोला।”
उनले नै "जानकारीमूलक" भन्दै सार्वजनिक गरेको भिडिओमा भनेका छन्: “यहाँ धेरै चुनौतीहरू छन्। सोचे जस्तो छैन। जिन्दगीको कठिन पक्ष भनेकै यही हो जस्तो लाग्छ। किनकि यो देश युक्रेनसँगको युद्धमा छ।"
आफू अध्ययनको सिलसिलामा गएको भए पनि काम र पढाइको सन्तुलन मिलाउन गाह्रो भएपछि सेनामा भर्ती भएको उनको भनाइ छ।
“यहाँ आउने सबै विद्यार्थीलाई समस्या छ। काम राम्रो पाइँदैन,” उनले बीबीसीसँगको कुराकानीमा भने।
नेपालबाट ल्याएको पैसा सकिएपछि नेपाल फर्किने, नेपालबाट पैसा मगाएर भिसा थप्ने या सेनाको लागि आवेदन भर्नेमध्ये आफूले अन्तिम विकल्प रोजेको उनले बताए।
स्वास्थ्य परीक्षणमा योग्य ठहरिएपछि सामान्य लिखित परीक्षा दिएको र भर्तीका लागि छानिएको उनले बताए।
गत सातासम्म बीबीसीको सम्पर्कमा रहेका उनले आफू प्रशिक्षणमा रहेकाले लामो समय कुराकानी गर्न नसक्ने बताए। त्यति बेला उनी रेलमा यात्रा गरिरहेका थिए र आफूहरू बेलारुसतर्फ अघि बढेको जनाएका थिए।
त्यसपछि बीबीसीले उनीसँग सम्पर्क गर्न सकेको छैन।
तलब कति र सुविधा कस्ता?
रुसी सेनाले प्रस्ताव गरेको तलब तथा सेवासुविधाका कारण नेपाली युवाहरू पनि त्यसमा भर्ती हुन इच्छुक भएको हुनसक्ने राजको अनुमान छ।
भाषिक समस्याका कारण आवेदन दिन नसक्ने “केही नेपालीहरूलाई सहयोग गरेको” दाबी गर्ने राजका अनुसार स्वास्थ्य परीक्षणमा उत्तीर्ण व्यक्तिले तीनदेखि छ महिनासम्म तालिम लिनुपर्छ।
“तालिम अवधिभरि उनीहरूलाई मासिक ६०,००० नेपाली रुपैयाँ बराबर पारिश्रमिक दिइन्छ,” उनले भने।
आफू सैन्य प्रशिक्षणमा रहेको बताउने एक जनाका अनुसार उनको सम्झौतापत्रमा “तालिम सकिएपछि मासिक १,९५,००० रुबल पारिश्रमिक दिइने” लेखिएको छ।
“तीन लाखभन्दा बढी नेपाली रुपैयाँ तलब। एक वर्षको सम्झौता पूरा भएपछि रुसी पासपोर्ट र परिवार नै यहाँ ल्याउन पाइने भनिएको छ रे,” राजले भने।

आधिकारिक दस्तावेजमा के छ?
पुरानो कानुनअनुसार विदेशी नागरिकले रुसी नागरिकता प्राप्तिका लागि सेनामा कम्तीमा तीन वर्ष करारमा काम गर्नुपर्ने प्रावधान थियो।
गत सेप्टेम्बर २० मा रुसको तल्लो सदनले रुसी सशस्त्र बल, सेना वा सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गरेका विदेशी नागरिकहरूलाई एउटा सरल प्रक्रियामार्फत् रुसी नागरिकता प्राप्त गर्नेगरी प्रस्ताव गरिएको कानुन अनुमोदन गर्यो। यस व्यवस्थाअनुरूप योग्य व्यक्तिले नागरिकता प्राप्तिका लागि आवासीय अनुमतिपत्र (रेजिडेन्स पर्मिट) प्राप्त गर्नु आवश्यक हुने छैन।
यस कानुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे १५, २०२३ मा हस्ताक्षर गरेका थिए।
रुसी कानुनको अभिलेख राख्ने आधिकारिक वेबसाइटमा यस कानुनको दस्तावेज सङ्गृहीत छ।
उक्त दस्तावेजमा यो कानुन अविलम्ब लागु हुने प्रावधान थियो।

तस्बिर स्रोत, Official publication of legal acts/Russia
रुसले सेनामा सर्वसाधारण मानिसलाई आकर्षित गर्नका लागि विभिन्न प्रचारमूलक सामग्री पनि उत्पादन गरेको छ। बीबीसी मनिटरिङले गत एप्रिलमा तयार पारेको एक रिपोर्टका अनुसार रुसी सेनाले रुसमा रहेका सर्वसाधारण नागरिकहरूलाई सेनामा भर्ती हुन आह्वान गर्दै व्यापक प्रचार अभियान सुरु गरेको थियो।
मस्कोस्थित रक्षा मन्त्रालयले रुसीहरूलाई आफ्नो जागिर छोड्न आग्रह गर्दै एउटा भिडिओ नै सार्वजनिक गरेको थियो। भिडिओमा सेनामा भर्ती हुनेलाई कम्तीमा २,५०० अमेरिकी डलर बराबर मासिक तलब दिने वाचा गरिएको छ। उक्त रकम रुसको औसत पारिश्रमिकभन्दा भन्दा चारगुना बढी हो।
युक्रेनविरुद्ध ‘सैन्य कारबाही’ सुरु गरेको एक वर्षभन्दा बढी समयपछि रुसी सशस्त्र सेनाले ठूलो क्षति बेहोरेको अवस्थामा उक्त अभियान सुरु भएको जनाइएको छ।
राम्रो पारिश्रमिक र सेवा सुविधामा आकर्षित भएर नेपालीहरूले रुसी सेनामा भर्ती हुने जानकारी आदानप्रदान गरिरहेको भए पनि नेपाल सरकारले आफूलाई त्यस विषयमा “कुनै जानकारी नभएको” बताएको छ।
के भन्छ नेपाल सरकार?
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले रुसी सेनामा नेपाली युवा भर्ती हुनु “नीतिगत हिसाबमा मिल्ने कुरा नभएको” बताइन्।
“यसबारे हामीलाई कुनै जानकारी छैन,” उनले भनिन्। त्यस्तै आफूले रुसस्थित नेपाली राजदूतावासमार्फत् यसबारे जानकारी लिने प्रतिबद्धता जनाइन्।
गत अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको महासभामा नेपाल युक्रेनको पक्षमा उभिएको थियो।
युक्रेनका चार वटा क्षेत्र आफूमा गाभ्ने रुसी प्रयासहरूको निन्दा गरिएको एक प्रस्तावको पक्षमा नेपाल उभिनुलाई "युद्धबाट आक्रान्त विश्वमा नेपालले अडान स्पष्ट पारेको" रूपमा बुझ्नुपर्ने तात्कालिक प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले बीबीसीलाई बताएका थिए।

रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधर नेपाली युवाहरू रुसी फौजमा भर्ती भएको विषयमा अनभिज्ञ देखिन्छन्।
उनले सामाजिक सञ्जालमा देखिने सबै कुरा प्रमाणित गर्न गाह्रो हुने बताउँदै भने, "रुसी सेनामा नेपाली भर्ती भएकोबारे हामीलाई केही जानकारी छैन। यहाँको कानुन र सन्धि सम्झौताले त्यसो हुन दिनेजस्तो म त देख्दिनँ।"
टिकटकमा देखिएका भिडिओहरू "नक्कली" हुनसक्ने तुलाधरको आशङ्का छ।
केही दिनअघि बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै उनले कोही विद्यार्थी वा पर्यटक भिसामा रुस गएर सेनामा भर्ती भएका रहेछन् भने त्यसबारे दूतावासले बुझ्ने बताए।
"घुम्न वा अध्ययनका लागि आएकाहरूले अन्य काममा घुसपैठ गर्न मिल्दैन। नेपालको सेना भर्तीसम्बन्धी सम्झौता भारत र बेलायतसँग मात्र छ रुससँग छैन, उनले भने।
यस विषयमा बीबीसीले रुसको रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय तथा काठमाण्डूस्थित रुसी दूतावाससँग इमेलमार्फत् सम्पर्क गर्ने प्रयास गरेको थियो। तर उनीहरूले यो सामग्री प्रकाशित हुँदासम्म कुनै प्रतिक्रिया दिएका छैनन्।


नेपाली नागरिक कुनकुन देशको सेनामा भर्ना हुन पाउँछन्?
नेपालका नागरिकलाई विदेशी सेनामा भर्ती गराउने गरी ७२ वर्षअघि एउटा त्रिपक्षीय सन्धि भएको थियो। उक्त सन्धिमा स्पष्ट रूपमा नेपाली नागरिकलाई भारत र ब्रिटेनको सेनामा भर्ती गरिने उल्लेख गरिएको छ।
त्यस्तै ती दुई सैन्य बलमा भर्ती भएका नेपालीहरूलाई "भाडाको सैनिकका रूपमा व्यवहार नगरिने" उल्लेख गरिएको छ।
सन्धिमा नेपालका तात्कालिक प्रधानमन्त्री तथा सुप्रिम कमान्डर इन चीफ पद्मशमशेर जबराले भारत र ब्रिटेनमा गोर्खा भर्तीलाई कायम राख्न दिने आधारका रूपमा "उनीहरूलाई भाडाका सैनिकका रूपमा नहेरिने हो भने" भन्ने सर्त राखेको उल्लेख छ।
सन् १९४७ को मे १ मा काठमाण्डूमा भएको त्रिपक्षीय बैठकमा पद्मशमशेरले राखेका सर्तलाई सन्धिमा लिपिबद्ध गरिएको हो।
अन्य देशको सेनामा नेपाली भर्ती गर्नेगरी कुनै प्रावधान नभएको अधिकारीहरू बताउँछन्। त्यसैले हाल रुसी सैन्य बलमा नेपाली युवा भर्ती हुन जानु सुरक्षा जोखिमसँगै कानुनविपरीत रहेको विज्ञहरूले औँल्याएका छन्।
राजदूत तुलाधरले भने, "नेपाल र रुस दुवै देशको कानुनले नेपाली युवालाई यहाँको सेनामा भर्ती हुने अनुमति दिँदैन।"
यद्यपि हिजोआज रुसबाहेक फ्रान्स, अमेरिका र युक्रेनको सैन्य बलमा समेत नेपालीहरूको भर्ती भएको पाइन्छ।
त्यसलाई पुष्टि गर्ने खालका सामग्रीहरू टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमा देखा परेका छन्।
नेपालमा विद्यमान बेरोजगारीसँग कस्तो सम्बन्ध?
नेपाली नागरिकहरू गैरकानुनी वा सुरक्षा जोखिम हुँदाहुँदै अन्य देशको सैन्य बलमा भर्ती हुनु नेपालमा व्याप्त बेरोजगारीसँग सम्बन्धित भएको त्रिभुवन विश्वविद्यालयका समाजशास्त्री टीकाराम गौतम बताउँछन्।
“जुन देशमा भए पनि सेनालाई युद्धकै लागि तयार गरिन्छ। तर उनीहरूले युद्ध मैदानको जोखिमभन्दा बढी आम्दानी हेर्नुपर्ने स्थिति छ। किनकि नेपालमा एउटा व्यक्तिले कमाएर आफ्नो मात्र होइन, पूरै परिवार पनि चलाउनुपर्छ,” उनले भने।
“पढाइ वा भ्रमण जुनसुकै बहानामा विदेश जाने नेपालीको उद्देश्य काम र कमाइ भएको देखिन्छ। रुसी सेनामा भर्ती हुँदा केही वर्षमा कमाइने रकम केही महिनामै पाउने भएकाले पनि त्यसतर्फ आकर्षित भएका हुनसक्छन्,” गौतमले भने।
रुसमा युद्ध सुरु भएयता मात्रै १,७२९ जना नेपाली विभिन्न उद्देश्यसहित त्यहाँ गएको सरकारी तथ्याङ्कले देखाउँछ।
नेपालको अध्यागमन विभागका अनुसार ७४९ जना विद्यार्थीका रूपमा र ३५६ जना रोजगारीका लागि रुस गएका हुन्।

नेपाली समाजमा रोजगारी "तात्कालिक महत्त्वको विषय भएको" समाजशास्त्री टीकाराम गौतम बताउँछन्।
"देशमा आवश्यकताअनुरूप अवसर छैन, कामअनुरूप कमाइ छैन। अहिले भएको कमाइ भोलि पनि रहन्छ भन्ने कुराको सुनिश्चितता छैन,” उनले भने।
"आजको पुँजीवादी संरचनाले मानिसको खर्च यति बढाएको छ कि दैनिक उपयोगदेखि शिक्षा स्वास्थ्यलगायत एउटा परिवारको खर्च हाम्रो सन्दर्भको कुनै पनि पेसाको तलबले पुग्दैन। त्यसैले युवाहरूले जोखिम मोलेको देखिन्छ,” गौतमले भने।
यो संसारभरिको अल्पविकसित सामाजिक संरचनाको परिणाम भएको उनको धारणा छ।
'नेपाल फर्कियौँ भने के पाउँछौँ?'

तस्बिर स्रोत, Reuters
बीबीसीसँगको सम्पर्कमा आएका अर्का एक युवकले आफू रुसी सैनिक बन्नु "कानुन, राजनीति वा कूटनीतिभन्दा पनि नेपालको बेरोजगारीसँग सम्बन्धित विषय भएको" तर्क गरे।
निकै आक्रोशित हुँदै उनले भने, "हामी पैसाको लागि यहाँ आएका हौँ। हामीलाई दिने भनिएको रकम देशमा कमाइ हुँदैन। अरू देशमा पनि त्यति कमाउन सकिँदैन। मुटुको रोगी हुनुहुन्न भने जो कोही यहाँ आए हुन्छ।”
अर्का एक जनाले प्रश्न गरे, "नेपालको अर्थतन्त्रबारे सबैलाई थाहा छ। हामीले ज्यानको माया गरेर त्यहाँ आयौँ भने के काम पाउँछौँ?”
यसरी आफू रुसी सेनामा भर्ती हुनुको कारणबारे बोलेकामध्ये एक जनाले टिकटकबाट केही भिडिओ हटाएका छन्।
सेनाको प्रशिक्षण “भिडिओमा जस्तो रमाइलो नभएको” बताउने अर्का एक जनाले आफ्नो भिडिओमा आएका प्रतिक्रिया लुकाएका छन्।
सुरुमा बीबीसीसँग कुरा गर्दा राजले रुसी सेनामा नेपाली नागरिकको भर्ती गैरकानुनी हो भन्ने आफूलाई थाहा नभएको बताएका थिए।
उनले अहिले पनि अरू युवालाई भर्ती हुन सघाइरहेका छन् कि भन्ने बुझ्न हामीले फेरि उनीसँग सम्पर्क गर्ने प्रयास गर्यौँ।
झन्डै दुई सातापछि सम्पर्कमा आएका उनले भने, "अहिले विदेशी नागरिकलाई भर्ती गर्ने क्रम कम भएको हो कि जस्तो देखिन्छ। फेरि यहाँ आउन चाहने सबै नेपालीहरूले भिसा पनि पाएका छैनन्।"












