युक्रेन युद्ध: डार्क वेबमा रुसका नक्कली अस्त्र कारोबारीसँग गोप्य सम्पर्क

डार्कवेब मार्केटप्लेस

तस्बिर स्रोत, Anonymous

तस्बिरको क्याप्शन, डार्कवेबमा ट्याङ्कभेदी अस्त्र बेच्ने दाबी गरेका व्यक्तिलाई बीबीसीले सम्पर्क गरेको छ
    • Author, मारिया कोरेन्युक, लुसी स्वीनन र ज्याक गुडम्यान
    • Role, वर्ल्ड सर्भिस डिस्इन्फर्मेशन टीम

रुसका सरकारी टेलिभिजन तथा क्रेम्लिन समर्थक टेलिग्राम च्यानलहरूमा युक्रेनले अमेरिकाबाट प्राप्त अस्त्रलाई डार्कवेबमा बेचिरहेको दाबी गरिएको छ। त्यस्तै एउटा डार्कवेब मार्केटप्लेसमाथि बीबीसीले अनुसन्धान गरेको छ। अस्त्र बेच्ने भनिएकाहरूसँग पहिचान नखुलाईकन गोप्य तवरमा कुराकानी गरिएको छ। प्राप्त प्रमाणहरूले त्यस्ता विज्ञापन नक्कली भएको देखाएका छन्।

"युक्रोप्स [युक्रेनीहरूलाई होच्याएर जनाइने रुसी शब्द] हरूले डार्कनेटमा ज्याभेलिन बेचिरहेका छन्। नेटोले दिएका अस्त्र तथा सामग्री युक्रेनी सशस्त्र फौजको कमान्डले बेचिरहेको छ।" ट्याङ्कभेदी अस्त्रबारेको उक्त सन्देश टेलिग्राम र ट्विटरमा जुन २ मा क्रेम्लिन समर्थक अङ्ग्रेजी भाषाको एकाउन्ट एएसबी मिलिटरी न्यूजले लेखेको थियो।

उक्त एकाउन्टलाई भर्खरै ट्विटरले निलम्बन गरिदिएको छ भने एक लाख सब्सक्राइबरसहित टेलिग्राममा चाहिँ अझै देखिन्छ।

सोही दिन सात लाख फलोअर भएको क्रेम्लिन समर्थक अर्को टेलिग्राम च्यानलले रुसी भाषामा लेख्योः "बाइडन तथा युक्रेनका युरोपेली मित्रहरूका कारण अब ज्याभेलिन, मशीनगन तथा ट्याङ्क संसारभरिका आतङ्कवादी एवम् अपराधीहरूको हातहातमा पुग्नेछ।"

उक्त सन्देशसँगै राखिएका तस्बिरहरूमा अमेरिकामा बनेको ट्याङ्कभेदी क्षेप्यास्त्र प्रणाली एफजीएम-१४८ ज्याभेलिन ३०,००० डलरमा विक्रीमा राखिएको विज्ञापन पनि थियो। त्यसमा उक्त अस्त्रको आपूर्ति युक्रेन-पोल्यान्ड सिमाना वा विदेशमा गर्न सकिने भनिएको छ।

ती सन्देशहरूलाई तुरुन्तै मूलधारका रुसी सरकारी टेलिभिजनले प्रसारण गर्दै युक्रेनले पश्चिमा देशहरूले दिएका अस्त्र बेचेको विवरणसहितका रिपोर्टहरू दिन थाले।

यसबारे हामीले बीबीसीसँग कुनै प्रकारको सम्बन्ध भएको नदेखिने ल्यापटपहरू प्रयोग गरेर अनुसन्धान गर्ने निर्णय गर्‍यौँ। विशेष वेब ब्राउजरमार्फत् हामी डार्कवेबमा प्रवेश गर्‍यौँ।

हामीले रुसी सरकारी सञ्चारमाध्यमहरूले औँल्याएका मार्केटप्लेसहरूमा कैयौँ विक्रेता फेला पार्‍यौँ। उनीहरूले नेटोका अस्त्र बेच्ने बताए र उनीहरू किएभमा रहेको बताए। तर युक्रेनको राजधानीको नाम युक्रेनी भाषामा गलत लेखिएको थियो।

त्यतिमात्र होइन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, डार्क वेब के हो?

सिरियाली अस्त्रलाई युक्रेनी भनियो

रुसी सञ्चारमाध्यमका विवरणमा आइरहने एक प्रमुख विक्रेतालाई "वेपन्स युक्रेन" भनेर चिनिन्छ।

उनले अमेरिकामा बनेको कार्बाइन्स [एक किसिमको स्वचालित राइफल], पेस्तोल तथा अन्य राइफलहरूको ३२ पटक सफल विक्री सम्झौता गरेको र ती सबै युक्रेनभित्रै हस्तान्तरण गरिदिएको दाबी गरे।

तर बीबीसीले ती अस्त्रको भनिएका कैयौँ तस्बिर सही नभएको पायो।

Your device may not support this visualisation

चेतावनीको रातो सङ्केतले तस्बिर पुरानो भएको वा फेरबदल गरिएको जनाउँछ

हामीले सन् २०१४ मा एउटा रुसी वेबसाइटमा राखिएको एमफोर कार्बाइनको तस्बिर पायौँ। ती विक्रेताले विज्ञापन गरेको अर्को राइफलको तस्बिर पनि सन् २०१४ मै खिचिएको पाइयो। बन्दुकमा रुचि हुने एक व्यक्तिको वेबसाइटमा त्यो तस्बिर पाइयो।

अर्का विक्रेतालाई "बिग डिस्काउन्ट्स अन वेपन्स," भनेर चिनिन्थ्यो। तिनले अमेरिकी ज्याभेलिन तथा हालसालै नेटो देशहरूले युक्रेनलाई उपलब्ध गराएका ड्रोनहरू बेच्ने दाबी गरे।

फेरबदल गरिएको विज्ञापन
तस्बिरको क्याप्शन, ड्रोनकव विक्रीको विज्ञापनमा तस्बिरमा फेरबदल गरेर डार्कवेबको मार्केटप्लेसको नाम उल्लेख गरिएको छ

ती विक्रेताले चाहिँ कैयौँ पुराना तस्बिरहरू फोटोशप गरेर फेरबदल गरेका थिए। तिनमा ड्रोन तथा मार्केटप्लेसको नाम राखिएको थियो।

हामीले स्टपफेक नामक युक्रेनी तथ्यजाँच गर्ने समूहसँग कुराकानी गर्‍यौँ। उनीहरूले जाँच गर्दा के पत्ता लगाए भने ती दुई स्विचबोर्ड ३०० ड्रोनकै सिरियल नम्बर भएका ड्रोन सिरियामा सन् २०१५ तथा २०१६ मा खसालिएका थिए।

'अस्त्र कारोबारी' गुगल अनुवाद गर्दै?

रुसी सरकारी सञ्चारमाध्यमले ती विज्ञापनहरूका पछाडि युक्रेनीहरू रहेको दाबी निरन्तर गर्छन्। त्यसैले हामीले ती विक्रेतासँग सम्पर्क गरेर जाँचपड्ताल गर्ने निर्णय गर्‍यौँ।

ज्याभेलिन तथा स्विचब्लेड ३०० ड्रोन बेच्ने विक्रेताहरूले हामीलाई एउटा मेसिजिङ एपमा सम्पर्क गर्न भने जहाँ उनीहरूको युजरनेम "javelinusa" थियो।

हामीले पहिचान लुकाएर उनीहरूसँग कसरी अस्त्र किन्ने भनेर कुराकानी गर्‍यौँ।

"पैसा खातामा हाल्नुहोस् त्यसपछि हामी यो च्याटमा एड्मिनिस्ट्रेटरलाई डाक्नेछौँ। हामी सर्तहरू बताउनेछौँ। हामी ती अस्त्रहरू पठाउनेछौँ। सबै ठिकठाक रह्यो भने हामीलाई टेक्स्ट गर्नुहोस्। त्यसपछि एड्मिनिस्ट्रेटरले पैसा मकहाँ सार्नेछन्," युक्रेनी भाषामा "javelinusa" ले सन्देश पठाए।

अनलाइन वार्तालापका बेला हामीले युक्रेनी भाषामा प्रशस्त व्याकरणीय अशुद्धि देख्यौँ। सोधखोज गर्दा विक्रेताले आफू पोल्यान्डको भएको बताए।

हामीले भाषाविद्लाई उक्त वार्तालाप हेर्न भन्यौँ। "यी सन्देश लेख्ने पक्कै रुसीभाषी हुनुपर्छ," पोलिश भाषाकी जानकार डारिया लुविकाले भनिन्।

अनलाइन अनुवादक सिस्टमको सहयोगमा सन्देशहरू लेखिएका प्रमाण रहेको उनले भनिन्।

"यसमा धेरै रुसी अभिव्यक्तिहरू छन्। तर पोलिश भाषामा प्रयोग हुने अभिव्यक्ति छैनन्।"

डार्कवेबमा गरिएक च्याट
तस्बिरको क्याप्शन, गलत लेखिएका रुसी शब्द तथा सन्देशहरू

"वेपन्स युक्रेन" नामधारी अर्का कारोबारीले पनि उस्तै अशुद्ध लेखे।

"वास्तविक मानिसहरूले यसरी कुराकानी गर्दैनन्," लुविकाले भनिन्।

ईयू नागरिकहरूलाई खतरा?

विभिन्न अस्वाभाविक कुराहरू देखिए पनि रुसी टेलिभिजन आरटीले ती विज्ञापनलाई "युक्रेनी अस्त्र तस्करहरूले पोल्यान्डका सीमारक्षकहरूसँग सम्पर्क स्थापित गरिसकेको र बिनासमस्या ओसारपसार गरिरहेको" प्रमाणका रूपमा प्रस्तुत गरिरहेका छन्।

"ज्याभेलिनले विमान खसाल्न सक्छन्। अनि स्टिङ्गर [अमेरिकी हवाई सुरक्षा प्रणाली] अब आतङ्कवादीको हातमा पर्न सक्छ र युरोपेली विमानस्थलहरू खतरामा पर्न सक्छन्," रुसी च्यानल वनले दाबी गरेको छ।

रुसको सरकारी च्यानल वन टीभीले पनि डार्कवेबमा अस्त्र विक्री भइरहेका विवरण प्रसारण गरेको छ

तस्बिर स्रोत, Channel 1

तस्बिरको क्याप्शन, रुसको सरकारी च्यानल वन टीभीले पनि डार्कवेबमा अस्त्र विक्री भइरहेका विवरण प्रसारण गरेको छ

स्टपफेकका तथ्यजाँचकर्ता सेर्ही खार्चेन्कोले रुसी प्रोपागान्डाबारे निकै अध्ययन गरेका छन्। उनी भन्छन् युक्रेनप्रति विश्वास घटाउन अनि किएभतर्फ अस्त्र आपूर्ति रोक्न क्रेम्लिनले यस्तै गलत सूचनाको प्रयोग गर्ने गर्छ।

"युरोपेली नागरिक असुरक्षित हुन्छन् भनेर युरोपमा त्रास फैलाउने यसको उद्देश्य हो।"

बीबीसीले अस्त्र विक्रीबारे यस्ता विवरण अङ्ग्रेजी, जापानी, भियतनामी तथा अन्य भाषाका साथै मूलधारका टर्किश सञ्चारमाध्यम एवं कतिपय अमेरिकी ब्लगहरूमा समेत फेला पार्‍यो।

के सम्पूर्ण मार्केटप्लेस नै नक्कली हो?

साइबर अपराधको खतरासम्बन्धी खुफिया कम्पनी 'केला' ले उक्त मार्केटप्लेसबारे अनुसन्धान गरेको छ। ती मार्केटप्लेस या त रुस समर्थित प्रोपागान्डाका स्रोतहरूले प्रवर्धन गरिरहेको या त तिनले नै बनाएको हुनसक्ने उसको विश्वास छ।

केलाका अनुसार ती मार्केटप्लेसमा न्यून गतिविधि हुनु नै शङ्कास्पद छ।

"सामान्यतया मार्केटप्लेसबारे जानकारी भएका मानिसहरू हामी थुप्रै भेट्टाउँछौँ। तर यो मार्केटप्लेसबारे जान्ने मान्छे पाउन हामीलाई मुस्किल भयो", केलाकी प्रमुख अनुसन्धान अधिकृत इरिना नेस्टरोभ्स्कीले भनिन्।

अनि रुसी पत्रकारहरूले चाहिँ यसबारे सहजै जानकारी पाएकोप्रति उनले प्रश्न गरिन्।

यस्ता मार्केटप्लेस देखा पर्नु अनि रुसी सञ्चारमाध्यममा आउनु भनेको कुनै सङ्गठित दुष्प्रचार (डिस्इन्फर्मेशन) अभियान जस्तो देखिने उनले बताइन्।

स्टपफेकका सेर्ही खार्चेन्को त्यसमा सहमत छन्। ती मार्केटप्लेसलाई रुसी प्रचारकहरूले अन्य गलत समाचार प्रसार गर्न प्रयोग गर्न सकिने जोखिम उनले दर्शाए।

"अहिले उनीहरू युक्रेनले अस्त्र बेचेको विवरण फैलाइरहेका छन्। तर के थाहा पछि उनीहरूले तिनै मार्केटप्लेसलाई अन्य सामग्री तथा सेवा विक्रीका गलत समाचार फैलाउन प्रयोग गर्न सक्छन्। यदि मार्केटप्लेस बनिसकेको छ भने प्रयोग किन नगर्ने? उनीहरूको उद्देश्यनै युक्रेनीबारे दुविधा र अविश्वास उत्पन्न गराउनु हो।"