दूतावासले नेपाली कामदारलाई हुन्डीबाट पैसा नपठाउन ताकेता गर्नुका कारण

ग्लोबमा एउटा महिला र पुरुषका आकृति र बीचमा पैसाको चित्राङ्कन

तस्बिर स्रोत, Getty Images

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

तेल अभिभस्थित नेपाली राजदूतावासले इजरेल र साइप्रसबाट हुन्डीमार्फत् नेपालमा रेमिटन्स नपठाउन बुधवार अनुरोध गरेपछि उक्त अवैध कारोबार फेरि चर्चामा आएको छ।

अवैध कार्य भए पनि विदेशबाट अझै धेरै नेपाली कामदारहरूले हुन्डीबाट रकम पठाउने गरेका बताइन्छ।

इजरेलका लागि नेपालका कार्यवाहक राजदूत ओमकुमार भण्डारीले हुन्डीमार्फत् रकम पठाउने व्यक्ति पनि समस्यामा पर्न सक्ने भएकाले आफूहरूले पुनः सचेत गराएको बीबीसीलाई बताए। उनका अनुसार खास गरी अवैध रूपमा बस्दै आएका नेपाली कामदारहरूले हुन्डीमार्फत् अझै रेमिटन्स पठाइरहेको हुन सक्छ।

औपचारिक माध्यमबाटै रेमिटन्स पठाउन अहिले सहज भइसकेकोले हुन्डीबाट रकम पठाउने प्रवृत्ति घटेको हुनुपर्ने इजरेलमा कार्यरत केही नेपालीले बीबीसीलाई बताए।

एक अर्थविद्‌ले हुन्डीमार्फत् नेपाल भित्रिने रकममाथि केन्द्रीय ब्याङ्कले अझ निगरानी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

'प्रमाण जुटाउन गाह्रो'

हजार रुपैयाँका बिटा

तस्बिर स्रोत, Getty Images

नेपाली राजदूतावासले बुधवार एउटा सूचना जारी अनौपचारिक माध्यमबाट गरिने कारोबारबारे सजग गराएको हो।

सो विषयमा यसअघि पनि पटकपटक आफूहरूले सचेत गराउँदै आएको दूतावासका अधिकारीहरूले बताएका छन्।

"नेपाल सरकार (मन्त्रिपरिषद्‌) बाट मिति २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी स्वीकृत १०० कार्यसूचीको बुँदा नं.४५ मा 'इन्टिग्रेटेड डिजिटल एसेट रजिस्ट्री'को स्थापना गर्ने, जोखिममा आधारित सङ्केत प्रणाली लागु गर्ने तथा सन्देहात्मक कारोबारहरूको पहिचान गरी सम्बन्धित निकायमार्फत् अनुसन्धान प्रक्रिया अगाडि बढाउने उल्लेख छ," सूचनामा भनिएको छ।

"अतः इजरेल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम/कारोबार नगर्न/नगराउन हुन र यदि कसैले त्यस्तो काम/कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित यस राजदूतावासमा जानकारी गराई अनौपचारिक रूपमा हुने विप्रेषण [रेमिटन्स] लाई रोक्ने कार्यमा सहयोग गर्नहुन सम्बन्धित सबैसँग अनुरोध गरिन्छ।"

कार्यवाहक राजदूत भण्डारीका अनुसार हाल इजरेलमा आधिकारिक रूपमा दर्ता भएका नेपालीहरूको सङ्ख्या ६,५०० छ। "दर्ता नभएर अवैध रूपमा काम गरिरहेका नेपालीको सङ्ख्या दुई हजार रहेको अनुमान छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

"त्यस्ता व्यक्तिहरूले हुन्डी अर्थात्‌ अनौपचारिक माध्यमबाट रेमिटन्स पठाइरहेको हुन सक्छ। तर इन्फर्मल च्यानल [अनौपचारिक माध्यम] को त केही पनि प्रमाण नहुँदो रहेछ," चुनौतीबारे भण्डारीले भने।

तसर्थ हुन्डीमार्फत्‌ के कति रकम नेपाल गइरहेको छ भन्ने कुरा बताउन सक्ने अवस्था नरहेको उनको भनाइ छ।

"धेरै पहिला खास गरी हाउस केअरगिभरका रूपमा पुगेका तर म्याद सकिएका मानिसहरूले हुन्डी प्रयोग गरेको सुनिन्छ। ब्याङ्कबाट अथवा औपचारिक माध्यमबाट पठाउँदा त पासपोर्ट देखाउनुपर्ने हुन्छ," भण्डारीले भने।

साइप्रसको हकमा पनि आफूहरूले त्यही सूचना जारी गरेको कार्यवाहक राजदूत भण्डारीले बताए। "साइप्रसमा त अझ २०,००० नेपालीहरू रहेका अनुमान छ," उनले भने।

इजरेलमा कार्यरत नेपालीहरू के भन्छन्

बीबीसीसँग कुरा गरेका इजरेलमा कार्यरत नेपालीहरूले हुन्डी कारोबारबारे फरकफरक विवरण दिएका छन्।

कतिपयले अहिले हुन्डी कारोबार आक्कलझुक्कल हुन सक्ने बताएका छन् भने एकाधले अझै उल्लेख्य रूपमा रहेको दाबी गरेका छन्।

"अलिअलि पैसा पनि जोगिन्छ भनेर पहिलापहिला धेरै हुन्डीबाटै पठाउँथे। तर अहिले मानिसहरूले बुझ्न थालेपछि त्यसो गर्दैनन्," केअरगिभरका रूपमा कार्यरत एक नेपाली महिलाले बीबीसीसँग भनिन्।

"उदाहरणका लागि, छोराछोरीलाई विदेश पढ्नका लागि पठाउँदा आयस्रोत देखाउनुपर्छ। हुन्डीबाट गर्नेले कसरी स्रोत देखाउन सक्छन् त?" बेफाइदाबारे उनले भनिन्।

इजरेलमै कार्यरत अर्की नेपाली महिलाले आफूहरू दूतावासमै पुगेर त्यस विषयमा ध्यानाकर्षण गराएको सुनाइन्।

"त्यसरी रकम पठाउनेलाई पनि समस्या अनि अनौपचारिक माध्यमबाट रकम पठाउँदा देशलाई पनि फाइदा नहुने भयो नि त। त्यसैले सचेतना जनाएका हौँ," उनले भनिन्।

विगत आठ वर्षदेखि इजरेलमा कार्यरत एक नेपाली पुरुषले पहिलो वर्ष आफूले पनि हुन्डीबाट पैसा पठाएको तर विगत सात वर्षदेखि ब्याङ्किङ च्यानल प्रयोग गरेको सुनाए।

"अहिले सजिलो पनि छ र सुरक्षित भएपछि ढुक्क पनि हुने भइयो," बीबीसी न्यूज नेपालीसँग उनले भने।

'ब्याजमा पैसा लगाउँछन्'

तर लामो समयदेखि इजरेलमा कार्यरत एक नेपालीले अहिले पनि उल्लेख्य मात्रामा हुन्डीमार्फत् रेमिटन्स पठाउने गरिएको दाबी गर्छन्।

"मेरो विचारमा आधाजतिले त्यसरी नै पठाउँछन्। इजरेलमा तलब आउनुअघि नै हुन्डी कारोबारीले हङ्‌कङलगायतका ठाउँबाट नेपालमा रकम पठाइसक्छन् अनि तलब आएपछि यता लिन्छन्," बीबीसी न्यूज नेपालीसँग उनले भने।

हुन्डीवालाहरूले पैसा पठाउँदा "शुल्क पनि तिर्नुनपर्ने" र अझ "सहटी दरभन्दा बढी रकम" पनि दिने भएर त्यो प्रवृत्ति नरोकिएको उनी बताउँछन्।

"विश्वास जितिसकेपछि एउटा बिन्दुमा पुगेर हुन्डी कारोबारीका को-एजेन्टहरू गायब हुन्छन् अनि धेरै जना डुबेको पनि सुन्छौँ।"

त्यसबाहेक नेपाली कामदारबीच अर्को विकृति रहेको पनि उनी सुनाउँछन्। "नेपालीहरूले यहाँ ब्याजमा पनि पैसा लगाउने गरेका छन्। कतिपयले फिर्ता पाउँदैनन्," उनले भने।

अर्थविद्‌ के भन्छन्

नेपाल राष्ट्र ब्याङ्कका अनुसार विदेशमा कार्यरत नेपाली नागरिकहरूले अनौपचारिक माध्यमबाट पैसा पठाउन हुन्डीको प्रयोग गर्ने गरिएको देखिन्छ।

अधिकारीहरूका अनुसार विदेशी क्षेत्राधिकारमा पर्ने एजेन्टले रकम प्राप्त गर्ने र त्यसपछि भुक्तानी सेवाप्रदायक तथा विभिन्न व्यक्ति (एजेन्ट वा प्रतिनिधि) ले देशभरिका धेरै खाताहरूमा नगद जम्मा गरेर भुक्तानी गर्ने गरिएको देखिन्छ।

नेपालमा रहेका मनी ट्रान्फरहरूलाई कडा निगरानी गर्नुको विकल्प नभएको अर्थविद्‌ पोषराज पाण्डे बताउँछन्।

"उनीहरूले गर्ने कारोबारको निगरानी गर्नुपर्छ। संलग्न भएकाहरूलाई दण्डित गर्नुपर्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

औपचारिक माध्यमबाट रेमिटन्स पठाउँदा शुल्क र धेरै समय पनि लाग्ने भएर आप्रवासी कामदारहरूले त्यो बाटो अपनाएको उनको निष्कर्ष छ।

"अनौपचारिक रूपमा पठाउँदा घरमै पैसा पुग्छ। अझ सटहीदरभन्दा बढ्ता रकम पनि पाउँछन्। त्यो गर्नमै उनीहरूलाई फाइदा छ," पाण्डेले भने।

बरु औपचारिक माध्यमबाट रकम पठाउनका लागि राज्यले प्रोत्साहन गर्ने कदम चाल्न सक्ने उनको सुझाव छ।

"उदाहरणका लागि, कसैले पाँच लाख रुपैयाँ पठाउँछ भने ऊ स्वदेश फर्कने बेला त्यसको १० प्रतिशतसम्म रकमको जुनसुकै सामान ल्याउँदा कर नलाग्ने व्यवस्था गर्न सकिन्छ," अर्थविद्‌ पाण्डेले सुझाए।

विदेशमा रहेका नियोगमार्फत्‌ सूचना निकाल्दैमा त्यसको अर्थ नरहने उनको तर्क छ। "कामदारहरूलाई फाइदा हुने गरी केही हुनुपर्‍यो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।