इजरेलमा कामदार पठाउन 'हुन लागेको' नयाँ सम्झौताका प्रस्तावित मुख्य विषयवस्तु

पृष्ठभूमिमा इजरेलको झण्डा र एक महिला केअरगिभरले एक अशक्त व्यक्तिलाई ह्वीलचेअरमा राखेर गुडाइरहेको साङ्केतिक चित्र
तस्बिरको क्याप्शन, केअरगिभरका रूपमा इजरेल जानेहरूले पौनो तीन लाख रुपैयाँसम्म पाउने गरेको अधिकारीहरू बताउँछन्
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

नेपाली कामदारका निम्ति आकर्षक गन्तव्यका रूपमा लिइने इजरेलसँग नयाँ सम्झौता गर्नका लागि नेपालले प्रक्रिया अगाडि बढाएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

सो क्रममा नेपालका तर्फबाट इजरेललाई प्रस्ताव पठाइसकिएको र त्यसमा उसले व्यक्त गरेका चासोका विषयमा छलफल गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताले बताए।

अर्कातर्फ स्याहार केन्द्रहरूमा केअरगिभर अर्थात्‌ सहायक श्रमिकका रूपमा काम गर्ने नेपालीहरू इजरेल जाने क्रमले फेरि तीव्रता पाएको छ।

सन् २०२४ मा चिट्ठामार्फत्‌ छानिएकामध्ये ६२ प्रतिशतभन्दा बढी नेपालीलाई पठाइसकिएको र बाँकीलाई क्रमिक रूपमा पठाउन थालिएको वैदेशिक रोजगार विभागकी एक निर्देशकले बताइन्।

नेपालीमा 'सिक र कमाऊ' भन्ने अर्थ लाग्ने 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरेलले अब कामदारकै रूपमा नेपालीहरू लग्न चाहेको अधिकारीहरूले बताएका छन्।

नेपाल के चाहन्छ?

वैदेशिक रोजगार विभागको बोर्ड

तस्बिर स्रोत, DoFE

तस्बिरको क्याप्शन, गाजामा युद्धविराम भएयता केअरगिभर पठाउने क्रमले तीव्रता पाएको वैदेशिक रोजगार विभागस्थित अधिकारीहरूले बताएका छन्

श्रम, रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले इजरेल पठाइने कामदारको हकमा नेपालले एउटा 'छाता सम्झौता'जस्तो गर्न खोजेको बताए।

हाल केअरगिभर लगिरहेको इजरेलले विगतमा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीहरूलाई पनि लग्ने गरेको थियो।

कृषि विषयका विद्यार्थीहरूका लागि इजरेलको 'लर्न एन्ड अर्न' कार्यक्रम कृषि प्रविधि सिक्न जाने एउटा राम्रो अवसरका रूपमा नेपालमा लिइने गरिएको छ।

सुरुतिर नेपालबाट साना किसानहरू पनि जाने गरेका उक्त कार्यक्रममा पछिल्ला वर्षमा भने कृषि विषय अध्ययनरत विद्यार्थीहरूलाई अन्तिम सेमेस्टरको पढाइ सकिएपछि पठाइने गरिएको थियो।

अधिकारीहरूका अनुसार त्यसरी जाने नेपाली विद्यार्थीहरूले सातामा एक दिन कक्षाकोठामा पढ्नबाहेक बाँकी समय फार्महरूमा काम गर्थे।

कामदार पठाउनेबारे मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्‌ले स्वीकृत गरेपछि सम्झौता गर्ने विषयमा हालसालै इजरेललाई पत्राचार गरिएको थियो।

इजरेलको तर्फबाट मिति र कुन तहका कर्मचारीले हस्ताक्षर गर्ने भन्नेबारे जानकारी आएपछि सम्झौता गर्ने पर्खाइमा रहेका नेपाली अधिकारीहरूले सोमवार इजरेली दूतावासको एउटा पत्र प्राप्त गरेको प्रवक्ता घिमिरेले बताए।

"विस्तृत रूपमा खुलाइएको छैन, तर हाम्रो प्रस्तावमा केही सुधार गर्नुपर्नेबारे छलफल गर्ने भन्ने कुरा छ। त्यसमा छलफल गरेर अब हामी अगाडि बढ्छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत नेपाली कामदारहरू लैजान इजरेल तयार भएपछि त्यसबारे छलफल गरी प्रोटोकल तयार पारिएको घिमिरेले जनाए।

इजरेलमा लर्न एन्ड अर्न कार्यक्रमका सहभागी (फाइल तस्बिर)

तस्बिर स्रोत, Pradeep Thapa

तस्बिरको क्याप्शन, इजरेलमा 'लर्न एन्ड अर्न' कार्यक्रम कृषि विषयका विद्यार्थीका लागि सिकाइसँगै कमाउने अवसरका रूपमा लिइने गरिएको छ (फाइल तस्वीर)

वैदेशिक रोजगार विभागकी निर्देशक बिन्दा आचार्यका अनुसार उक्त कार्यक्रमअन्तर्गत कति कामदार लैजाने भन्ने चाहिँ प्रोटोकलमा तोकिएको छैन।

यद्यपि त्यसअन्तर्गत झन्डै १,५०० व्यक्ति इजरेल जान सक्ने नेपाली अधिकारीहरूको आकलन छ।

"लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत २,२००/२,३०० जना गएर नेपाल फर्केका छन्। तीमध्ये १,२०० देखि १,५०० जाने होलान् भनी हाम्रो अनुमान छ," प्रवक्ता घिमिरेले भने।

उनीहरूलाई नै लक्ष्यित गरेर इजरेललाई प्रोटोकल पठाइएको मन्त्रालयका प्रवक्ता घिमिरेले उल्लेख गरे। उनका अनुसार उमेरका हिसाबले ३९ वर्ष नकटेका कामदार इजरेल जाने भन्ने प्रस्ताव छ।

"पहिला चाहिँ पढ्दापढ्दै हाम्रा विद्यार्थीहरू इन्टर्नका रूपमा जान्थे, अब चाहिँ कामदारकै रूपमा जान्छन्," घिमिरेले अगाडि थपे।

"इजरेली अधिकारीहरूको तर्क के छ भने ती नेपालीहरू इजरेलमा पढिसकेका र अभ्यस्त पनि भइसकेका छन्। अब कामदारकै रूपमा लिन हामी तयार छौँ भनेर भनिसकेपछि कुराकानी भएर नेपालले प्रोटोकल तयार पारी उता पठाएको हो।"

नेपाली अधिकारीहरूका अनुसार तीनवटा प्रोटोकल र एउटा सम्झौतामा इजरेलसँग समझदारी गर्ने तयारी छ।

"लर्न एन्ड अर्न, होमबेस्ड केअरगिभर र सामुदायिक स्याहार केन्द्रमा केअरगिभरबारे तीनवटा प्रोटोकल छन्। छाता सम्झौताजस्तो एउटा जेनरल अग्रीमन्ट भनेको हामीले कामदार पठाउने र उहाँहरूले लिने देशका रूपमा समझदारी गर्ने हो," घिमिरेले थपे।

चिट्ठाबाट छानिएका पठाइँदै

'जीटूजी' इजरेल शाखाका अनुसार सन् २०२४ मा केअरगिभरका लागि ४,००० जनाभन्दा बढीले आवेदन दिएकामा पूर्वयोग्यता परीक्षण चरणमा करिब ३,२०० जना छनोट भएका थिए।

"तीमध्ये इजरेलले २,११२ जनालाई चिट्ठाबाट छान्यो। त्यसयता चार लटमा गरी १,३१३ जना इजरेल गइसकेका छन्, ८२ जना आउँदो साता उड्न लागेका छन्," उक्त शाखाका एक अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।

बाँकी रहेका व्यक्तिहरूलाई पनि मागअनुसार बिस्तारै पठाउँदै जाने वैदेशिक रोजगार विभागकी निर्देशक आचार्यले बताइन्।

"यो वर्षभित्र बाँकी रहेका सबै जना गइसक्छन् भन्ने हाम्रो बुझाइ हो," उनले अगाडि थपिन्।

जीटूजी इजरेल शाखास्थित अधिकारीहरूका अनुसार इजरेल-गाजायुद्ध युद्ध चर्किरहँदा युद्ध भनेरै नआएको नभनिए पनि सम्झौतापत्र आइरहेको थिएन।

"सुरुसुरुमा पहिलो लटदेखि धेरै नै ग्याप थियो। अहिले चाहिँ युद्ध रोकिएर होला उताबाट सम्झौता आउने क्रम तीव्र भएको छ। साउन-भदौयता इजरेलबाट सम्झौतापत्र आउने क्रम बढेको छ," ती अधिकारीले भने।

बढ्दै मासिक तलब

सरकारी अधिकारी तथा श्रमविज्ञहरूका अनुसार नेपाली कामदारका लागि इजरेल एक आकर्षक गन्तव्य हुनुको एउटा कारण तलब पनि हो।

खाडीसहितका कतिपय मुलुकभन्दा इजरेलले दिने तलब राम्रो भएको उनीहरू बताउँछन्।

जीटूजी इजरेल शाखाका अधिकारीहरूका अनुसार नेपालले पठाउँदा सुरुमा केअरगिभरहरूको न्यूनतम तलब दुई लाख रुपैयाँजति थियो।

"अहिले केअरगिभरहरूको मासिक न्यूनतम ६,२४७ सिकेल छ। कुनैकुनै सम्झौतामा ६,५०० सिकेलसम्म छ। त्यो भनेको नेपाली दुई लाख ८५ हजार रुपैयाँ हुन आउँछ," एक अधिकारीले भने।

"त्यहाँको सकारात्मक पक्ष भनेको न्यूनतम तलबमा इजरेलले बर्सेनि वृद्धि गरिरहेको देखिन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।