रोजगारीका लागि क्यानडा र युरोप पठाउने नाममा ठगी बढ्दै, जोगिन के गर्ने?

तस्बिर स्रोत, EPA
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
नेपालीहरूलाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा युरोपेली देशहरू पठाइदिने भन्दै ठगी गर्ने एवं विभिन्न ठाउँमा पुर्याएर अलपत्र पार्ने क्रम बढ्न थालेको श्रम र सुरक्षा अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार नेपालीको श्रम गन्तव्य युरोपेली देशहरू तथा क्यानडा, अस्ट्रेलिया र न्यूजील्यान्डलगायत हुन थालेपछि ती देशमा पठाइदिने भन्दै ठगी गर्ने क्रम पनि बढेको हुनसक्छ।
सरकारी विवरणले पछिल्ला वर्षहरूमा युरोपेली देशमा श्रम स्वीकृति लिएर जाने नेपालीको सङ्ख्या बढिरहेको देखाउँछ।
नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरू परम्परागत श्रम गन्तव्य मुलुकमा ठगी हुने क्रम जारी रहेको तर पछिल्ला वर्षमा युरोप र क्यानडामा समेत त्यस्तै समस्या देखा परिरहेको बताउँछन्।
वैदेशिक रोजगार मामिलाका जानकारहरू ठगी तथा मानव तस्करी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँछन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू भने त्यस्ता घटनाबारे आफूहरू जानकार रहेको र रोकथाम सरकारको मुख्य प्राथमिकता भएको दाबी गर्छन्।
कैयौँ ठगीका घटना

तस्बिर स्रोत, Reuters
नेपाल प्रहरीले सार्वजनिक गर्ने विवरणहरूमा प्राय: दैनिक जस्तो नै वैदेशिक रोजगारीका नाममा ठगी भएका घटनासँग सम्बन्धित अभियुक्तहरू पक्राउ परेको जानकारी उल्लेख भएको पाइन्छ।
गत साता मात्र काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा, पोर्चुगललगायतका देशमा रोजगारीका लागि ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको थियो।
त्यसमध्ये दुई जनाले 'टप च्वाइस एजुकेशन कन्सल्टेन्सी प्रालि'बाट रोजगारीका लागि क्यानडासहित युरोपेली देशहरू पठाइदिने भन्दै कम्तीमा ५० जनालाई ठगी गरेको र भारतको राजधानी दिल्ली पुर्याएर अलपत्र पारेको प्रहरी अधिकृतहरूको भनाइ छ।
उक्त घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार त्यो नामको एजुकेशन कन्सल्टेन्सी दर्ता भएको पाइएको छैन भने उनीहरूले दलालमार्फत् दिल्ली पुर्याएर कैयौँलाई अलपत्र पारेको पाइएको छ।
उक्त कार्यालयका अनुसार हाल करिब दुई दर्जन पीडितले मात्र उनीहरूविरुद्ध जाहेरी दिएका छन्। तर सबै पीडितहरूसँग उठाएको रकम कम्तीमा पाँच करोड रुपैयाँजति हुने देखिएको छ।
आरोप लागेका व्यक्तिहरूले क्यानडासहित युरोपेली देशहरू स्पेन, पोर्चुगल, क्रोएशिया, पोल्यान्ड, माल्टालगायतमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेका थिए।
उनीहरूजस्तै आरोप लागेका कैयौँ व्यक्तिलाई आफूले पक्राउ गरेको र वैदेशिक रोजगारसम्बन्धी ठगीमा कारबाही गर्नका लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार गत साउनदेखि हालसम्म क्यानडा पठाइदिने भनेर ठगी गरेको भन्दै विभागमा ११३ वटा उजुरी दर्ता भएका छन्।
त्यस अवधिमा पीडितहरूले करिब २ करोड ६० लाख रुपैयाँ ठगी भएको उजुरीमा उल्लेख गरेका छन्।
उनका अनुसार युरोपेली देशहरूमा पनि व्यक्तिगत श्रम स्वीकृतिमा पठाइदिने भन्दै ठगी भएको भन्ने खालका कैयौँ उजुरी विभागमा आउने गरेका छन्।
खाडीको रोग युरोप र क्यानडातिर सर्दै

तस्बिर स्रोत, EPA
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाल पछिल्ला समयमा नेपालीहरू युरोप तथा अमेरिका र क्यानडालगायतका देशमा जान खोज्दा मानव तस्करीमा पर्ने गरेको बताउँछन्।
उनले भने, "पहिले मलेशिया र खाडीतिर यस्ता घटना बढी हुन्थे अचेल पनि ती ठाउँमा जारी छन् अनि फैलिएर यो युरोपतिर र क्यानडा अनि अमेरिकातर्फ पनि पुगेको छ।"
यद्यपि उनले पहिले मानव बेचबिखन हुने गरेकोमा अहिले भने "आफ्नै चाहनामा विदेश जान खोज्दा" तस्करीका गतिविधि धेरै हुन थालेका छन्।
"जसरी पनि विदेश जाऔँ भन्ने भावना विकास भएकाले गर्दा मानिसहरू युरोप वा क्यानडा भन्ने बित्तिकै तयार हुन्छन् अनि उनीहरू तस्करीको सिकार बन्छन्," फुयाल भन्छन्।
"तस्करीबाटै गन्तव्यमा पुगे र त्यहाँ केही भएन भने कसैले खबर गर्दैनन् तर पीडित भए वा बन्धक बने भने मात्र खबर गर्ने हुन्।"
उक्त ब्यूरोले मानवबेचबिखन तथा ओसारपसारका पीडितहरूको मात्र मामिला हेर्ने गर्छ।
वैदेशिक रोजगारीका नाममा ठगी भएकाहरूको मुद्दा भने वैदेशिक रोजगार विभागले हेर्ने गर्छ। उसले 'पक्राउ गरिदिनू' भनेका व्यक्तिलाई भने प्रहरीले प्रक्राउ गर्ने गर्छ।
विभागका सूचना अधिकारी उप्रेती पनि पछिल्ला वर्षहरूमा युरोपेली देशहरू तथा क्यानडामा ठगी भएको भन्ने उजुरी बढिरहेको बताउँछन्।
उनी भन्छन्, "त्यस्ता देशहरूमा संस्थागत रूपमा कामदार पठाउने भन्दा पनि बढी व्यक्तिगत रूपमा पठाउने भन्दै ठगी गरेको पाइएको छ।"
'सरकारी नीतिकै कारण ठगी'

तस्बिर स्रोत, Getty Images
वैदेशिक रोजगार व्यवसायी भने सरकारी नीतिकै कारण युरोपेली तथा क्यानडा जस्ता देशहरूमा कामदार भिसामा पठाइदिने भन्दै ठगी हुने क्रम बढेको आरोप लगाउँछन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी अहिले विशेषगरी युरोपबाट ठूलो सङ्ख्यामा कामदारको माग भएको तर संस्थागत रूपमा पठाउन सरकारी नीति अस्पष्ट रहेको बताउँछन्।
"अहिले हामीले पहल गर्दा पनि दूतावासहरूले मागपत्र प्रमाणीकरण गर्दैनन् अनि दूतावास नभएका देशको पनि यहाँ गर्ने कार्यविधि छैन," उनले भने।
"त्यसले गर्दा कन्सल्टेन्सीको नाममा र व्यक्तिगत रूपमा गठी बढेको हो। सरकारले नीति बनाएर हामीलाई संस्थागत रूपमा पठाउन बाटो खोल्नुपर्छ त्यसले यस्ता गतिविधि न्यूनीकरण गर्छ।"
उनले संस्थागत रूपमा पठाउने व्यवस्था मिलाएमा व्यवसायीहरूलाई अनुगमन र कारबाही गर्न पनि सजिलो हुने दाबी गरे।
युरोप तथा क्यानडा लगायतका पछिल्ला वर्षहरूमा कैयौँ नेपालीका श्रम गन्तव्य भएका अधिकांश मुलुकसँग नेपालको श्रम सम्झौता छैन।
त्यसले गर्दा पनि ठगीलाई बल पुगेको कतिपय जानकारहरूको भनाइ छ।
'जाने मान्छे पनि सचेत हुनुपर्छ'

तस्बिर स्रोत, Reuters
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता दीपक ढकाल चाहिँ आफूहरू पछिल्ला ठगीका घटनाबारे सचेत रहेको दाबी गर्छन्।
उनले भने, "हामी यस्ता घटना हुनुहुँदैन भनेर सचेत छौँ र जनचेतनाका लागि हामीले व्यापक रूपमा काम गरिरहेका छौँ। यसमा सबैभन्दा ठूलो कुरा भनेको विदेश जान चाहने व्यक्ति सचेत भयो भने मात्र हुन्छ।"
"मन्त्रालयको प्राथमिकता नै वैदेशिक रोजगारीका नामा ठगी नहोस् भन्नेमा छ त्यसमा हामीले विशेष ध्यान दिएर काम गरिरहेका छौँ।"
उनी नेपालबाट कुनै पनि देशमा रोजगारीका लागि जान तीनवटा माध्यम मात्र भएको बताउँछन्। र, त्यसबारे विदेश जान चाहनेले थाहा पाउनुपर्नेमा जोड दिन्छन्।
वैदेशिक रोजगारीमा जानका निम्ति सरकार-सरकारबीच भएको सम्झौता अन्तर्गत सरकारी निकायले नै प्रक्रिया पुर्याएर नागरिकहरूलाई गन्तव्य मुलुक पठाउने व्यवस्था मिलाउँछ।
उदाहरणका लागि त्यस्तो व्यवस्था अन्तर्गत ईपीएसमार्फत् नेपालीहरू दक्षिण कोरिया गइरहेका छन्।
अर्को व्यवस्था भनेको संस्थागत रूपमा जाने। त्यस अन्तर्गत म्यानपावर कम्पनीहरूमार्फत् नेपालीहरू वैदेशिक रोजगारीमा जान सक्छन्।
तेस्रो प्रक्रिया भनेको कुनै पनि व्यक्तिले आफ्नै पहलमा गन्तव्य मुलुकमा रोजगारदाता खोजेर पहल गरी श्रम स्वीकृति लिएर पनि जान सक्छन्।
"यी तीन माध्यमबाहेक अन्य कुनै पनि माध्यमबाट रोजगारीका लागि पठाउन मिल्ने बाटो छैन। त्यसैले कसैले शैक्षिक परामर्श वा अन्य कम्पनीबाट कामदार भिसामा पठाउँछ भन्छ भने त्यो त सरासर ठगी हो भन्ने बुझ्नुपर्छ," ढकाल भन्छन्।
उनी व्यक्तिगत रूपमा कसैले रोजगारीका लागि पठाइदिन्छु भनेकै भरमा त्यसको आधिकारिकता पुष्टि नगरी रकम नदिन र लोभ लालचमा नपर्न पनि आग्रह गर्छन्।
युरोप र क्यानडा जानेको सङ्ख्या

तस्बिर स्रोत, Getty Images
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति र पुन: श्रम स्वीकृति लिएर युरोपका प्रमुख ६ वटा देशहरूमा रोजगारीका लागि जाने नेपालीहरूको सङ्ख्या एक वर्षमै करिब दोबर भएको तथ्याङ्क छ।
पछिल्ला वर्षहरूमा रुमेनिआ, क्रोएशिया, साइप्रस, यूके, पोल्यान्ड र माल्टा सहितका देशहरूमा नेपाली कामदारहरू जाने क्रम उच्च भएको सरकारी विवरणले देखाउँछ।
आर्थिक वर्ष २०७८/७९ मा यी देशहरूमा जाने कामदारहरूको सङ्ख्या २० हजार रहेकोमा आर्थिक वर्ष २०७९/८० बढेर ३७ हजार पुगेको छ।
त्यस्तै गत आर्थिक वर्षमा नेपालबाट ६४६ जनाले श्रम स्वीकृति वा पुन: श्रम स्वीकृति लिएर क्यानडा गएको देखिन्छ।

तस्बिर स्रोत, RSS
क्यानडा जानेहरू सबै व्यक्तिगत पहलमा श्रम स्वीकृति लिएर गएका हुन्। युरोप जानेमा चाहिँ केही संस्थागत रूपमा पनि गएका छन्।
हाल केही वर्ष अरब देशहरूमा काम गरेका नेपालीहरू पनि युरोप र क्यानडा, अस्ट्रेलिया तथा न्यूजील्यान्डतिर जान थालेको जानकारहरू बताउँछन्।
नेपालबाट विभिन्न १११ देशमा संस्थागत रूपमा कामदार जाने गरेका छन्। तर द्विपक्षीय श्रम सम्झौता नभएका कारण नेपालीहरू श्रमिकले पाउने कतिपय हक र अधिकारबाट वञ्चित हुँदै आएको विज्ञहरू बताउँछन्।
व्यक्तिगत रूपमा हाल नेपालीहरू विश्वका १७८ मुलुकमा कामका लागि जाने गरेको सरकारी तथ्याङ्क छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








