नेपालमा क्रिप्टोकारोबारमा थप व्यक्तिहरू पक्राउ परिरहँदा भविष्यमा त्यसबारे 'सोच्न सकिने' अधिकारीहरूको सङ्केत

तस्बिर स्रोत, Reuters
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
मङ्सिर दोस्रो साता नेपाल प्रहरीले क्रिप्टोकरेन्सीसँग सम्बन्धित करिब २० करोड रुपैयाँ बराबरको कारोबार गरेको भन्दै काठमाण्डूबाट एक जनालाई पक्राउ गर्यो।
हाल काठमाण्डू प्रहरी परिसरमा उक्त घटनामा पक्राउ ती व्यक्तिसहित तीनजना त्यस्तो अभौतिक कारोबारमा संलग्नहरू अनुसन्धानका क्रममा रहेको प्रहरीको भनाइ छ।
"तीनजना फरक फरक घटनामा पक्राउ परिएका व्यक्तिहरूबीच समेत आपसी सम्बन्ध देखिन्छ," काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले बीबीसीसँग भने।
"कुनै न कुनै लोभमा परेर मानिसहरू यस्ता कारोबारमा संलग्न हुन्छन् तर प्रहरीसँग यसबारे सूचना त्यति आउँदैन। भर्चुअल जगत्मा हुने कारोबार भएकाले सिधै पहिचान गर्ने काम निकै गाह्रो छ।"
बिटकोइनको मूल्य अहिलेसम्मकै उच्च भएको बेला गतसाल नेपालको दक्षिण एसियाली छिमेकी भुटानले ठूलो परिणाममा आफूसँग भएको उक्त क्रिप्टोकरेन्सी बेचेर फाइदा लिएपछि नेपालमा पनि त्यसबारे चासो देखिएको थियो।
तर नेपालमा भने क्रिप्टोकरेन्सी माइनिङ र कारोबार दुवै गैरकानुनी मानिइरहँदा नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले त्यस्तो व्यवस्था सधैँभरिलाई भन्दा पनि मौजुदा कानुनी व्यवस्थाका आधारमा हालका लागि गैरकानुनी मानिएको बताउँछन्।
"पछिल्लो समयमा डिजिटल कारोबार, अनलाइन ब्याङ्किङजस्ता विषयलाई राष्ट्र ब्याङ्कले जुन रूपमा सहज तरिकाले व्याख्या गरिराखेको छ, यी कुरा भोलिका दिनमा सोच्ने विषय हुन सक्छन्," पौडेलले बीबीसीसँग भने।
नेपालका छिमेकी देशहरूले गरेका अभ्यास एवं नेपालबाहिर बसेर गर्न सक्ने र गरिरहेकै कुरा उल्लेख गर्दै केन्द्रीय ब्याङ्कले त्यसबारे "गहिरो विश्लेषण र पुनर्विचार गर्न आवश्यक" देखिएको उनी बताउँछन्।
यसअघिका अर्थमन्त्री विष्णु पौडेलले देशको समग्र राष्ट्रिय अर्थतन्त्रको पक्ष विश्लेषण गर्दा क्रिप्टो कारोबारलाई खुलाउने "निष्कर्षमा पुगिहाल्न हतारो हुने" बताएका थिए।"
निगरानीका आधार कमजोर
काठमाण्डू प्रहरी प्रवक्ता पवन कुमार भट्टराईले सिधा उजुरीबाहेक नेपालमा हुने ब्याङ्किङ कारोबारमा कतै छिद्र देखिए प्रहरी त्यस्तोमा क्रिप्टो कारोबार समेतको आशङ्कामा सक्रिय हुने गरेको बताउँछन्।
"अहिले धेरै हकमा क्रिप्टो र जुवा जोडिएर आउने गरेको समेत देखिन्छ। भुक्तानी प्रणालीमा त्यस्तोमा कहिलेकाहीँ छिद्र देखिने गर्छ। धेरै जुवाका साइटहरू यसमा जोडिएका पाइएका छन्," भट्टराईले भने।
"त्यसैले यस्तो साइबर अपराधको निगरानीका लागि हामी धेरै अगाडि सर्नुपर्ने अवस्था छ। हाम्रा कानुनी संरचना नै पनि डिजिटल अपराधसँग धेरै मेल खाइरहेका छैनन्।"
नेपालको कानुनमा अनलाइन जुवाका घटनामा जफत भएको रकम बरामद हुने, एक वर्षसम्म कैद र दश हजार रुपैयाँ जरिबाना र क्रिप्टोकारोबारका हकमा बिगो र त्यसबाट बढेको रकम जफत, बिगोबमोजिम जरिबाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था छ।
प्रहरी उपरीक्षक भट्टराईले धेरै हकमा क्रिप्टोकारोबार नेपालबाहिरै रहेकाहरूमाझ हुने गरेको र नेपालबाटै पनि विभिन्न एपहरूमार्फत् त्यस्तो संलग्नता देखिने गरेको औँल्याउँछन्।
"त्यस्तोमा इन्टरनेट सेवा प्रदायकहरूले त्यस्ता गैरकानुनी साइटहरू पहिचान गरेर प्रतिबन्ध लगाउनुपर्ने अवस्था छ। भीपीएनको निगरानीका लागि हाम्रो प्राविधिक क्षमतालाई पनि विकास गर्नु पर्छ जस्तो लाग्छ," प्रहरी उपरीक्षक पवनकुमार भट्टराई भन्छन्।
नेपालको कानुनी व्यवस्था
क्रिप्टो लगायतका डिजिटल मुद्राका सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ (२) मा अभौतिक (भर्चुअल) मुद्रा प्रयोगसम्बन्धी कसुर भनेर त्यसलाई गैरकानुनी बताएको छ।
त्यसैगरी नेपाल राष्ट्र ब्याङ्कले कार्यान्वयन गर्ने व्यवस्थाहरू भएको विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को एक दफामा केन्द्रीय ब्याङ्कले विदेशी विनियम व्यवस्थापन गर्ने सम्बन्धमा नीति नियम बनाउने एवं निर्देशनहरू जारी गर्ने लगायतका कुराहरू गर्छ।
जसअनुसार क्रिप्टो नेपालमा गैरकानुनी रहेको बारे राष्ट्र ब्याङ्कले पटक पटक सूचनाहरू जारी गरेको छ।
सर्वसाधारणमा यस विषयको राम्रो जानकारी होस् भनेर राष्ट्र ब्याङ्कको सञ्चालक समितिले समेत क्रिप्टोसम्बन्धी अवधारणा भनेर आफ्नो वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ।
"यसलाई मुद्रा भनिए तापनि हाम्रो बुझाइमा यो भर्चुअल सम्पत्ति हो र त्यो अदृश्य सम्पत्ति हो भन्ने छ जुन केन्द्रीय प्रणालीमा आबद्ध हुँदैन। कुनै पनि वित्तीय प्रणालीभित्र त्यसको अभिलेख रहँदैन," राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेल भन्छन्।
"र त्यसको कारोबार गर्नका लागि निश्चित कानुन एवं मापदण्ड आवश्यक छन्। जुन कुरा अहिले हाम्रा कुनै पनि कानुनले बाह्य सम्पत्तिका रूपमा परिचय दिँदैन।"
प्रवक्ता पौडेलले बदलिँदो परिवेशमा लामो समयसम्म डिजिटल कारोबार बढिरहेको अवस्था र खासगरी "छिमेकी देशमा यसलाई अवलम्बन गरेका अभ्यासहरूलाई मनन गरेर अध्ययन, अनुसन्धान र गहिरो नीतिगत व्यवस्थाहरूमा जानुपर्छ भन्ने धारणा राख्न सकिने" बताउँछन्।
क्रिप्टोकारोबारका लागि नेपाल तयार छ?

तस्बिर स्रोत, NRB
नेपाल राष्ट्र ब्याङ्कले हालको अवस्थामा नेपालको वैदेशिक विनियम नीति भनेको पुँजी खाता परिवर्त्य नहुने र चालु खाता मात्र परिवर्त्य हुने आधारमा यसलाई मुद्रा नमानिएको जनाएको छ।
प्रवक्ता पौडेल थप्छन्: "पुँजी खाता परिवर्त्य नहुँदासम्म कुनै पनि नेपाली वित्तीय साधनलाई विदेशी सम्पत्ति प्राप्त गर्न सहजै सकिँदैन।"
उनले क्रिप्टोलाई मुद्रा नमानीकन सम्पत्ति मानिएकाले र त्यो प्राप्तिका लागि विदेशी मुद्रा खर्च गर्नुपर्ने भएकाले विदेशी मुद्रामा लगानी गर्न दिने व्यवस्था अहिलेका कानुनहरूले नगरेको बताउँछन्।
"त्यसैले यो भर्चुअल सम्पत्ति हो जसको प्राप्ति विदेशी मुद्रा खर्च गरेर मात्र पाइन्छ। त्यो भनेको लगानी हो जसका लागि हाम्रा विदेशी विनिमयसम्बन्धी कानुनहरू त्यस पक्षमा छैनन्।"
यस्तो मुद्रा प्रयोग हुने परिस्थिति र पूर्वाधार एवं कानुन नबनाईकन कारोबार गर्न दिँदा मानिसहरू निकै 'अस्थिर तरिका'ले लगानी गर्ने जोखिममा हुने प्रवक्ता पौडेल बताउँछन्।
"यसको दर छिनछिनमा परिवर्तन हुने, यसका सबैखाले जानकारी बाहिर थाहा नहुने, नियमन वा लेखा नराखिने भएकाले कानुनी आडमै हामीले तत्काललाई नगरिएको हो," पौडेल भन्छन्।
"आगामी दिनमा यसबारे सोच्नुपर्छ र योबारेमा थप गहिरो अध्ययन र यसबारेमा गहिरो अध्ययन गरेर मात्र व्यवस्था गर्नुपर्छ भन्ने अवस्था हो।"
काठमाण्डू प्रहरी प्रवक्ता पौडेल समेतले "भ्रम, लोभ र आशा"का भ्रममा मानिसहरू आर्थिक दलदलमा फसिरहेको अवस्था रहनुले यस कारोबारको सबैभन्दा चिन्ताजनक अवस्था नेपालका हकमा देखिने गरेको बताउँछन्।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेतले खासगरी उदीयमान र कम आय भएका देशहरूमा क्रिप्टो सम्पत्तिहरू अपनाउने दर बढी हुने भन्दै त्यस क्रमलाई मिहिन रूपबाट हेरिरहन सजग गराएको कुरामा ध्यान दिने बाहेक तत्कालै नीतिगत बदलावको तयारी नगरिएको अधिकारीहरू बताउँछन्।
"यी देशहरूमा क्रिप्टो सम्पत्तिहरूको व्यापक प्रयोगले मौद्रिक नीतिको प्रभावकारितालाई कमजोर बनाउन सक्छ, पुँजी प्रवाह व्यवस्थापन उपायहरूलाई बेवास्ता गर्न सक्छ, वित्तीय जोखिमहरू बढाउन सक्छ र वास्तविक अर्थतन्त्रलाई वित्त पोषण गर्नबाट स्रोतहरू हटाउन सक्छ," आईएफएफका मौद्रिक तथा वित्त बजारसम्बन्धी निर्देशक टोबायस एड्रिनले क्रिप्टोसम्बन्धी एक सम्मेलनका क्रममा भनेका थिए।
"हामीले क्रिप्टो सम्पत्ति बजारहरूको वृद्धि र वर्तमान वित्तीय संस्थाहरूसँगको तिनीहरूको अन्तरसम्बन्धप्रति सतर्क रहनुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








