नेपाल सरकार किन क्रिप्टोकारोबार खुलाउन 'हतारो हुने' भन्दै सो भर्चुअल मुद्राबारे अनुदार देखिन्छ?

तस्बिर स्रोत, Reuters
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
गत साता प्रतिनिधिसभामा सांसदहरूले सोधेका प्रश्नको जबाफ दिने क्रममा अर्थमन्त्री विष्णु पौडेलले क्रिप्टो कारोबारलाई अहिले नै खुला गर्न नसकिने निष्कर्षमा पुगिएको बताएसँगै केही क्रिप्टोकरेन्सीलाई करको दायरामा ल्याउन सकिने भन्ने पछिल्ला केही वर्षदेखिका कतिपयका अपेक्षामा यस पटक समेत अवरोध देखा परेको देखिएको छ।
अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमा समेत क्रिप्टोजस्ता अभौतिक मुद्रा, अवैध विदेशी मुद्रा लगायतका कसुरजन्य सम्पत्ति जफत गरी सञ्चित कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने जनाएका थिए।
जसमा कसुरजन्य सम्पत्तिको रोक्का, नियन्त्रण र जफतसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाइने उनको भनाइ थियो।
नेपाल राष्ट्र ब्याङ्कले विगतदेखि नै नेपालमा रहेका नेपाली तथा विदेशी साथै विदेशमा रहेका नेपालीले समेत भर्चुअल करेन्सीको कारोबार गर्न नपाउने सूचना जारी गर्दै आएको छ।
"हाम्रो उक्त नीतिमा कुनै परिवर्तन भएको अवस्था छैन। नेपालमा यो गैरकानुनी नै हो, यसलाई मुद्राको मान्यता छैन," राष्ट्र ब्याङ्कका प्रवक्ता किरण पण्डितले बीबीसीलाई बताए।
एकजना पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले क्रिप्टोलाई लिएर मुद्राजस्तो संवेदनशील क्षेत्रमा एकैपटक हाम फाल्दा नोक्सान हुनसक्ने हेक्का राख्नुपर्ने बताउँछन्।
साइबर कानुनका एकजना जानकार चाहीँ क्रिप्टोकरेन्सीलाई लिएर नेपालको केन्द्रीय ब्याङ्कले हालसम्म गरेका कामहरूमा त्यसप्रति 'नकारात्मक' देखिएको बताउँछन्। साथै आउँदा केही वर्षसम्मै त्यस नीतिमा परिवर्तन भइहाल्ने सम्भावना नदेखेको उनी टिप्पणी गर्छन्।
क्रिप्टो खुलाउन 'हतारो हुने'
अर्थमन्त्री विष्णु पौडेलले देशको समग्र राष्ट्रिय अर्थतन्त्रको पक्ष विश्लेषण गर्दा क्रिप्टो कारोबारलाई खुलाउने "निष्कर्षमा पुगिहाल्न हतारो हुन्छ भन्ने हिसाबले बजेट प्रस्तुत भएको बताएका थिए।"
उनको भनाइ थियो: "अहिले हामी तुरुन्तै क्रिप्टो कारोबार खुला गर्न सक्ने ठाउँमा छैनौँ भन्ने कुरा म यस अवसरमा राख्न चाहन्छु।"
अधिकारीहरूले क्रिप्टोकरेन्सी कारोबार नेपालमा 'प्रलोभन केन्द्रीत' हुने बताउने गरेका छन्।
यसको प्रयोगलाई कुनै प्रकारका कानुनी मान्यता नदिइएको नेपालमा त्यसको मार बचत र लगानी प्रभावित हुनेदेखि विष्प्रेषण आप्रवाहसम्ममा पर्ने चिन्ता व्यक्त हुने गरेको छ।
राष्ट्र ब्याङ्कका अधिकारीहरू धेरै देशमा अझै क्रिप्टो मुद्रालाई 'मुद्रा भन्दा पनि वित्तिय सम्पत्ति'का रूपमा हेरिराखिएको तथा मुद्रा भुक्तानीकै माध्यम हुने गरी प्रस्टता आउन बाँकी रहेको अवस्थालाई आफूहरूले नियालिरहेको बताउँछन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेतले खासगरी उदीयमान र कम आय भएका देशहरूमा क्रिप्टो सम्पत्तिहरू अपनाउने दर बढी हुने भन्दै त्यसक्रमलाई मिहीन रूपबाट हेरिरहन सजग गराएको कुरामा ध्यान दिने बाहेक तत्कालै नीतिगत बदलावको तयारी नगरिएको अधिकारीहरू बताउँछन्।
"यी देशहरूमा क्रिप्टो सम्पत्तिहरूको व्यापक प्रयोगले मौद्रिक नीतिको प्रभावकारितालाई कमजोर बनाउन सक्छ, पूँजी प्रवाह व्यवस्थापन उपायहरूलाई बेवास्ता गर्न सक्छ, वित्तीय जोखिमहरू बढाउन सक्छ र वास्तविक अर्थतन्त्रलाई वित्तपोषण गर्नबाट स्रोतहरू हटाउन सक्छ," आइएफएफका मौद्रीक तथा वित्त बजारसम्बन्धी निर्देशक टोबायस एड्रिनले क्रिप्टोसम्बन्धी एक सम्मेलनका क्रममा भनेका थिए।
"हामीले क्रिप्टो सम्पत्ति बजारहरूको वृद्धि र वर्तमान वित्तीय संस्थाहरूसँगको तिनीहरूको अन्तरसम्बन्धप्रति सतर्क रहनुपर्छ।"
साइबर विज्ञ कानुनविद् बाबुराम अर्याल नेपालमा यससम्बन्धी बुझाई परम्परागत वैदेशिक मुद्रा सटहीसँग जोडिएर आइरहेको बताउँछन्।
"वैदेशिक मुद्रालाई लिएर जुन डर रहँदै आएको छ, यो त्यसकै विस्तारित स्वरूप हो। खासगरी कम शिक्षित र विदेशमा रहेर कम आम्दानी गर्ने लगानीकर्ता रहेकोमा बढ्ता चिन्ता देखिन्छ," अधिवक्ता अर्याल भन्छन्।
"राष्ट्र ब्याङ्कको यससम्बन्धी बुझाई विदेशी मुद्राको मुख्य स्रोतहरू यता मोडिने हो भने रेमिट्यान्स आउने क्रममा असर पर्ने र उता उनीहरूको बचत जोखिममा पर्न सक्ने भन्ने गरी भइरहेको पाइन्छ। त्यस कुरा तत्कालै फेरिनेजस्तो देखिँदैन।"
चिन्ता
पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले क्रिप्टोमुद्रालाई लिएर विकसित देशमा भइरहेका विकासक्रम नजिकबाट हेर्दै त्यसबारे सोच्न थाल्नुपर्ने भए पनि अहिले नै खुला गर्ने बाटो रोज्नुअघि कैयौँ पक्ष केलाउन आवश्यक पर्ने बताउँछन्।
"हाम्रो अर्थतन्त्रको आकार, अन्तर्राष्ट्रिय कारोबार र त्यसलाई जोगाउन आवश्यक पर्ने प्रविधि जुन हाम्रो आफ्नै नहुँदा यदाकदा जोखिममा पर्ने हो कि भन्ने डर हुँदो रहेछ," पूर्वगभर्नर क्षेत्री भन्छन्।
"त्यसैले क्रिप्टोकरेन्सीका हकमा हामी अघि बढ्न केही हतार नै छ कि भन्ने लाग्छ। डिजिटल भुक्तानीहरू ह्वात्त बढिरहेकाले हामी हौसिएको हो। तर कतैपट्टि विग्रिने क्रम सुरु भयो भने हामी ठूलै खाल्डोमा पर्ने भएकाले हामीले ख्याल गर्नुपर्ने हुन्छ। नत्र त्यसबेला नोक्सान परिसकेपछि सेवा प्रदायकहरूलाई देखाएर बच्न नसकिने अवस्था पनि हुन्छ।"

तस्बिर स्रोत, NRB
आइएमएफका अधिकारीहरूले विश्वभर क्रिप्टो बजारको असमान वृद्धिले गर्दा त्यहाँका वित्तीय नियामकहरूले सामना गर्ने चुनौतीहरू समेत भिन्न भिन्न हुने औँल्याउँदै आएको छ।
उसले क्रिप्टो बजारहरूद्वारा उत्पन्न जोखिमहरूको निगरानी र प्रतिक्रिया दिने नियामकहरूको क्षमता पनि फरक हुने जनाउँछ।
नेपालमा यससम्बन्धी सिधा उजुरीहरू खासै नपरे तापनि अन्य अनुसन्धानका क्रममा क्रिप्टोको विषय जोडिने घटनाहरू आफूहरूले सामना गरेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ताले बीबीसीलाई बताएका छन्।
"कसैले क्रिप्टो कारोबार गर्दैमा उजुरी आउने होइन। तर त्यसको मार देशको अर्थतन्त्रमा परिरहेको हुन्छ। अन्य मुद्दाहरूमा हेर्दै जाँदा त्यसमा क्रिप्टो कारोबार भइरहेको देखिन आउने गरेको छ, " सीआईबी प्रवक्ता युवराज खड्का भन्छन्।
"अहिलेको मुख्य चिन्ता नै क्रिप्टोमार्फत् पुँजी पलायन हुने विषयमा छ। तर कानुन कार्यान्वयनकै लागि समेत अनुसन्धानकै लागि समेत प्रविधिको उपलब्धता र क्षमता अभिवृद्धि गर्ने चुनौतीका रूपमा छ।"
त्यसकै कारण नेपाललाई त्यसको नियमन गर्ने निकै कठिन अवस्था रहेको अधिवक्ता बाबुराम अर्याल ठान्छन्।
"नेपालले क्रिप्टोकरेन्सी कहाँ विकसित हुन्छ, कारोबारका तह कहाँ कहाँसम्म छ भनेर पछ्याउन सक्दा पनि सक्दैन, नेपालको कानुनी सहायतासम्बन्धी अन्तर सीमा आपसी सम्झौतासमेत कसैसँग छैन।"
के हो क्रिप्टोकरेन्सी?

तस्बिर स्रोत, Reuters
क्रिप्टोकरेन्सी भनेको भर्चूअल मुद्रा हो। यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ। भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।
यस भर्चूअल मुद्राको कुनै केन्द्रीय ब्याङ्क हुँदैन। अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन।
संसारभरिका कम्प्युटरहरूमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।
क्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ।
सबै क्रिप्टोकरेन्सी "ब्लकचेन" भनिने प्रविधिमा आधारित हुन्छन्।
सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो।
बिटकोइनको संस्थापन श्रेय सातोशी नाकामोतोलाई दिइएको छ। रोचक कुरा त के छ भने सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।
अहिलेसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सीहरू अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम जारी छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








