'बिहे गर्नेदेखि आईफोन पठाउने प्रलोभनसम्म': मौलाउँदै साइबर ठगी, जोगिने कसरी

पछिल्ला वर्षहरूमा बढ्दै गएको साइबर ठगी तथा साइबर माध्यमबाट हुने वित्तीय अपराधमा विभिन्न प्रवृत्ति देखापरेको अधिकारीहरू बताउँछन्

तस्बिर स्रोत, Reuters

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

प्रहरीले केही दिनअघि काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने एक युवालाई अनौठो प्रकारको ठगीको आरोपमा पक्राउ गर्‍यो।

तनहुँ जिल्लाको आँबुखैरेनी स्थायी ठेगाना भएका उनले सामाजिक सञ्जाल र अनलाइन माध्यम प्रयोग गरेर केही युवतीहरूबाट झन्डै २८ लाख रुपैयाँ ठगेका थिए।

प्रहरीका अनुसार उनले कसैलाई आफू फ्रान्स र कसैलाई सिङ्गापुरको लाहुरेका रूपमा चिनाउने गर्थे। त्यसका लागि ती युवाले 'फेक फेसबुक अकाउन्ट'हरू बनाएका थिए। ह्वाट्स्यापका माध्यमबाट मात्र कुराकानी गर्थे।

नेपाल प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्य भन्छन्, "उसले बिहे गर्ने उमेर भएका केटीहरूलाई फसाउने गरेको रहेछ। त्यसका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने रहेछ।"

आचार्यका अनुसार ती युवाले युवतीहरूलाई "म फ्रान्सको लाहुरे हुँ, तिमीलाई पनि बिहे गरेर लैजान्छु वा सिङ्गापुरको लाहुरे हुँ, तिमीलाई पनि लैजान्छु" भन्ने झुटो आश्वासन दिने गर्थे।

"त्यसपछि ती बहिनीहरूसँग उसले भिसा र अन्य प्रोसेसिङका लागि अनि बिहे दर्ता गर्न पनि पैसा लाग्छ भनेर रकम माग गर्ने गरेको पाइएको छ," उनले भने।

साइबर माध्यमबाट हुने ठगी विश्वभरि नै चिन्ताको विषय बनेको छ

तस्बिर स्रोत, PA Media

त्यस्तो रकम ती युवाले काठमाण्डू र चितवनमा आफ्नो हुलिया परिवर्तन गरेर युवतीहरूलाई भेटी चेक र नगदका रूपमा लिएको पाइएको आचार्यले बताए।

त्यसरी १६ लाख ८३ हजार रुपैयाँ लिएका उनले थप ११ लाख रुपैयाँ भने विभिन्न २६ व्यक्तिका 'मोबाइल वालेट'बाट लिएको पाइएको प्रहरीले जनाएको छ।

"उसले मासिक रूपमा १० हजार रुपैयाँ बसीबसी दिन्छु, तपाईँहरूले ब्याङ्क खाता, 'ईसेवा' वा 'खल्ती'को खाता खोलेर मलाई दिनू अनि पासवर्ड पनि दिनू भनेर ती २६ जनाको वालेट प्रयोग गरेको रहेछ," आचार्यले भने।

"त्यसबापत दैनिक दुईचार सय उनीहरूको वालेटमा राखिदिने र पैसा बढ्दै गएको देखाएर लोभ्याउने गरेको रहेछ।"

केही साताअघि कास्की घर भएका एक युवालाई पनि अनलाइनकै माध्यमबाट २७ लाख ६० हजार रुपैयाँ बराबरको रकम ठगी गरेको भन्दै प्रहरीले काठमाण्डूको ठमेलबाट पक्राउ गरेको थियो।

उनले सस्तोमा ल्याप्टप दिलाइदिने भन्दै अनलाइनबाट अर्डर लिएर ४० थान ल्याप्टपको रकम ठगी गरेको प्रहरीको आरोप छ।

गत कात्तिक दोस्रो साता झापामा बसोबास गर्ने एक भारतीय नागरिक चाहिँ अनलाइनबाट गरगहना र उपहार पठाइदिन्छु भन्दै झन्डै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परे।

उनले पीडितहरूलाई उपहार पाएको झुटो विवरण दिएर "त्यो पठाउन आवश्यक पर्ने खर्च पठाइदिनू" भन्दै ठगी गरेका थिए।

त्यस्तै कात्तिक तेस्रो साता सिन्धुपाल्चोक घर भई भक्तपुरमा बसोबास गर्ने एक व्यक्तिले क्यानडामा अध्ययनरत विद्यार्थीको शुल्क तिरिदिन्छु भनेर ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।

उनको ठगी गर्ने शैली पनि भिन्न खालको देखिएको प्रहरीले जनाएको छ।

अध्ययनका लागि क्यानडामा रहेका एक विद्यार्थीका पितालाई क्यानडामै रहेका एक व्यक्तिसँग ह्वाट्स्यापमा कुराकानी गराएर उनले त्यस्तो ठगी गरेका थिए।

उनले ह्वाट्स्यापमा कुरा गरेका व्यक्तिलाई रकम पठाउन लगाएर ठगी गरेको प्रहरीको भनाइ छ।

पछिल्ला वर्षहरूमा नेपाल प्रहरीको साइबर ब्यूरो र अन्य प्रहरी कार्यालयहरूमा पनि यस्तै प्रकृतिका उजुरीहरू व्यापक रूपमा आइरहेको अधिकारीहरू बताउँछन्।

साइबर माध्यमबाट हुने वित्तीय ठगी र शङ्कास्पद कारोबार पछिल्ला वर्षहरूमा बढिरहेको नेपाल राष्ट्र ब्याङ्कले आइतवार सार्वजनिक गरेको एउटा प्रतिवेदनले पनि देखाएको छ।

उक्त प्रतिवेदनकाअनुसार भुक्तानीसम्बन्धी साइबर अपराध कुनै एउटा क्षेत्रमा मात्र नभएर धेरैतिर फैलिएको देखिन्छ।

भुक्तानीसम्बन्धी साइबर अपराध कुनै एउटा क्षेत्रमा मात्र नभएर धेरैतिर फैलिएको देखिएको राष्ट्र ब्याङ्कको एउटा प्रतिवेदनमा उल्लेख छ
तस्बिरको क्याप्शन, भुक्तानीसम्बन्धी साइबर अपराध कुनै एउटा क्षेत्रमा मात्र नभएर धेरैतिर फैलिएको देखिएको राष्ट्र ब्याङ्कको एउटा प्रतिवेदनमा उल्लेख छ

अध्ययनको उद्देश्य

राष्ट्र ब्याङ्कको वित्तीय जानकारी एकाइले साइबर माध्यमबाट हुने ठगी तथा गलत क्रियाकलापबारे अध्ययन गरेर तयार पारेको "रणनीतिक विश्लेषण प्रतिवेदन" आइतवार सार्वजनिक गरेको हो।

उक्त प्रतिवेदन तयार पार्नुको उद्देश्यबारे राष्ट्र ब्याङ्कका प्रवक्ता रामु पौडेलले भने, "देशमा वा विश्वव्यापी रूपमा भइरहेका नयाँ खालका अपराध कसरी भइरहेका छन्, तिनलाई कसरी नियन्त्रण गर्न सकिन्छ र त्यसमा कस्ता समूह सामेल छन् भन्ने विश्लेषण गरेर यो प्रतिवेदन तयार पारिएको हो।"

"त्यस्ता नयाँ अपराधहरूको नियन्त्रणका लागि कसले के गर्नुपर्छ र केही कमीकमजोरी छन् भने त्यसलाई सच्याउन सहज होस् भनेर यस्तो अध्ययन गरिएको हो।"

उनले उक्त प्रतिवेदन साइबर माध्यमबाट हुने वित्तीय कारोबारसँग सम्बन्धित गलत काममा कस्ता व्यक्ति संलग्न छन् र त्यसको नियन्त्रणका लागि के गर्नुपर्छ भन्नेमा केन्द्रित रहेको बताए।

प्रतिवेदनमा के छ?

उक्त प्रतिवेदनमा पछिल्ला वर्षहरूमा बढ्दै गएको साइबर ठगी तथा साइबर माध्यमबाट हुने वित्तीय अपराधमा कस्ता खालका प्रवृत्तिहरू देखिएका छन् भन्ने उल्लेख छ।

राष्ट्र ब्याङ्कले अध्ययनबाट पत्ता लगाएका मुख्य विषयहरू:

  • साइबर माध्यमबाट हुने शङ्कास्पद भुक्तानीसम्बन्धी ठगीका घटनाहरू बढिरहेको देखिएको छ। गत मे ३१ सम्म राष्ट्र ब्याङ्कको वित्तीय जानकारी एकाइमा पठाइएका शङ्कास्पद कारोबार तथा वित्तीय भुक्तानीसम्बन्धी विवरणमध्ये ६३ प्रतिशत साइबर माध्यमबाट भएका देखिएको छ।
  • अधिकांश त्यस्ता ठगीसँग सम्बन्धित घटनाहरूलाई नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ भने केहीलाई राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा पनि पठाइएको छ।
  • उक्त एकाइलाई वाणिज्य र विकास ब्याङ्कहरूले सबैभन्दा धेरै साइबरजन्य ठगीबारे जानकारी गराएका छन्। त्यस्तो ठगीका लागि 'डिजिटल वालेट'हरूको व्यापक प्रयोग भएको देखिए पनि वालेट चलाउने संस्थाहरूले ठगीबारे केही मात्र जानकारी एकाइलाई दिएका छन्।
  • साइबर माध्यमबाट हुने ठगी तथा शङ्कास्पद वित्तीय कारोबारमा सबैभन्दा धेरै १९ देखि २४ वर्ष उमेर समूहका युवाहरू र दोस्रोमा २५ देखि ३० वर्ष उमेर समूहका युवाहरू संलग्न देखिएका छन्। त्यस्ता गतिविधिमा संलग्नमध्ये ७० प्रतिशत व्यक्तिहरू १९ देखि ३० वर्षभित्रका रहेको देखिएको छ।
  • साइबरजन्य गलत कार्यमा संलग्न हुनेमध्ये सबैभन्दा धेरै "विद्यार्थी" रहेका छन् भने दोस्रोमा "जागिरे" छन्। कृषक, प्रोप्राइटर, फलफूल तथा तरकारी विक्रेता, गृहिणी र बेरोजगारहरू पनि यस्ता गतिविधिमा संलग्न पाइएका छन्।
  • ठगीका लागि तुलनात्मक रूपमा नयाँ ब्याङ्क वा वालेट अकाउन्टहरू प्रयोग भएको पाइएको छ। त्यस्ता गतिविधिमा संलग्न भएका आधा अकाउन्ट तीन महिनाभित्र र तीन चौथाइ अकाउन्टहरू नौ महिनाभित्र खोलिएका थिए।
  • पीडितहरूले खबर गरेपछि विभिन्न निकायले राष्ट्र ब्याङ्कको उक्त एकाइमा जानकारी दिने गरेको पाइएको छ। त्यसपछि कानुन कार्यान्वयन गर्ने निकायहरू, ब्याङ्क तथा वित्तीय संस्था र वालेट चलाउने कम्पनीहरूले पनि यस्तो जानकारी दिएका छन्।
  • साइबर ठगीका घटना सबैभन्दा धेरै बागमती प्रदेशमा, दोस्रोमा मधेश र तेस्रोमा कोशी प्रदेशमा देखिएका छन्।
  • उपहार पठाउने, सामाजिक सञ्जालको 'इम्प्रेशन' बढाइदिने, आईफोन पठाइदिने, अनलाइन व्यापार, 'ओटीटी' सेवा दिने, ब्याङ्क र वालेट अकाउन्टमा पहुँच पुर्‍याउनेलगायतका शैली अपनाएर यस्तो ठगी धेरै हुने गरेको छ। त्यस्तै पैसा दोबर बनाइदिने, क्रिप्टोकरेन्सीमा पैसा लगाइदिने, नेटवर्क मार्केटिङमा पैसा लगाइदिने, अनलाइनबाट कोठा तथा फ्ल्याट खोजीदिने, पीटीई र आईएलटीएसलगायतका परीक्षाको शुल्क अनलाइनबाट तिरिदिनेजस्ता सेवा देखाएर यस्तो ठगी धेरै हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ।
  • ठगहरूले सुरुमा पीडितलाई सामाजिक सञ्जालबाट सम्पर्क गर्ने र त्यसपछि अन्य मध्यमलाई पनि प्रयोग गर्ने गरेको पाइएको छ। त्यस्ता तरिकाहरू उनीहरूले फेरिरहने प्रवृत्ति देखिन्छ।
  • पीडितले पैसा पठाइदिएपछि ठगहरूले विभिन्न एटीएम प्रयोग गरेर नेपाल र भारतबाट रकम झिक्ने गरेको पाइएको छ।
  • ठगहरूले एउटै कागजपत्र र ठेगानाहरू प्रयोग गरेर धेरै ब्याङ्कहरूमा खाता खोल्ने र धेरै मोबाइल वालेटहरूमा अकाउन्ट बनाउने गर्छन्। एउटै मोबाइल नम्बरलाई ती खाताहरूमा प्रयोग गर्ने र उनीहरूले दैनिक सबैतिरका खातामा कारोबार गर्ने पाइएको छ।
  • प्राय: उनीहरूले धेरै खाता चलाए पनि सबैजसोमा एकदमै थोरै मात्र बचत राख्ने गरेको पाइएको छ। अधिकांशले आफ्नो खातामा एक रुपैयाँ मात्र बचत राखेको पाइएको छ।

ठगी रोक्न के गर्ने?

कतिपय नेपाली अभियुक्तले ठगीको रकमबाट विभिन्न एपमार्फत् क्रिप्टोकरेन्सी खरिद गरेको अनि अनलाइन जुवामा रकम हालेको पनि पाइएको प्रहरीले बताएको छ
तस्बिरको क्याप्शन, कतिपय नेपाली अभियुक्तले ठगीको रकमबाट विभिन्न एपमार्फत् क्रिप्टोकरेन्सी खरिद गरेको अनि अनलाइन जुवामा रकम हालेको पनि पाइएको प्रहरीले बताएको छ

उक्त प्रतिवेदनमा नियामक निकायहरू, ब्याङ्क तथा वित्तीय संस्थाहरू, मोबाइल वालेट सेवा सञ्चालकदेखि कानुन कार्यान्वयन गर्ने निकायहरूलाई समेत यस्ता गतिविधि रोक्न आवश्यक कदमहरू चाल्न सुझाव दिइएको छ।

त्यस्ता सुझावहरूमा वित्तीय संस्थाहरूले ग्राहकको पहिचानसम्बन्धी विवरणलाई कसिलो पार्नुपर्ने पनि एउटा छ।

त्यस्तै एउटै नम्बरबाट धेरैवटा मोबाइल वालेट वा खाताहरू खोलिए त्यसलाई निगरानी गर्नुपर्ने सुझाव त्यसमा समेटिएको छ।

आवश्यक नीतिगत र प्राविधिक व्यवस्थाहरू गर्न पनि त्यसमा सुझाइएको छ भने वित्तीय संस्था तथा वालेटहरूमा खोलिने नयाँ खाताहरूमा अस्वाभाविक कारोबार भए त्यसलाई कारोबार सीमा लगाउनसम्म सकिने सुझाव त्यसमा छ।

यस्ता गतिविधिहरूको नियन्त्रणका लागि उजुरी गर्ने छुट्टै संरचना बनाएर टोलफ्री नम्बर उपलब्ध गराउन पनि सकिने सुझावसमेत त्यसमा समेटिएको छ।

त्यस्तै ग्राहक र कर्मचारीलाई साइबर सुरक्षासम्बन्धी जानकारी दिनुपर्ने र नयाँ प्रविधिबारे सचेत बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेल भन्छन्, "विश्वासिलो व्यक्ति र माध्यमबाट आएकाबाहेक अन्य सूचनाहरूलाई उपभोक्ताले पनि पत्याउनुभएन अनि आफ्ना उपकरण तथा साइबर सेवाबारे सचेत हुनुपर्‍यो र कम्तीमा दुई तहको सुरक्षाको व्यवस्था गर्नुपर्‍यो।"

"प्रयोगकर्ता सचेत हुन सक्यो भने मात्र पनि धेरै नै यस्ता वित्तीय अपराधबाट जोगिन सकिन्छ।"

उनले राष्ट्र ब्याङ्कले यसबारे गर्नुपर्ने सुधारलाई प्राथमिकतामा राखेको र क्रमश: गर्दै जाने पनि बताए।

अनुसन्धानमा समस्या

साइबर माध्यमबाट हुने ठगीमा त्यसका मुख्य अभियुक्तहरू पत्ता लगाउन कठिन हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन्

तस्बिर स्रोत, Nepal Police Mirror

तस्बिरको क्याप्शन, साइबर माध्यमबाट हुने ठगीमा त्यसका मुख्य अभियुक्तहरू पत्ता लगाउन कठिन हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन्

साइबर माध्यमबाट हुने ठगीमा त्यसका मुख्य अभियुक्तहरू पत्ता लगाउन कठिन हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

नेपाल प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्य भन्छन्, "ठगी गर्ने व्यक्तिहरूले ह्वाट्स्याप वा त्यस्तै माध्यमबाट मात्र फोनमा कुराकानी गर्दा हामीलाई लोकेट गर्नै गाह्रो हुन्छ। हामीले सिमकार्डका आधारमा जसरी लोकेशन पत्ता लगाउन सक्छौँ, अन्य माध्यम प्रयोग गर्दा त्यति सहज हुँदैन।"

अनलाइन शपिङका नाममा ठगी गर्नेहरूलाई पत्ता लगाउन त्यस्तै समस्या भइरहेको वाणिज्य विभागका अधिकारीहरूले पनि केही साताअघि बीबीसीलाई बताएका थिए।

विभागका एक अधिकारीले त्यस बेला "ठगी गरिसकेकपछि त्यस्तो व्यक्तिले वेबसाइट नै बन्द गर्ने र सामाजिक सञ्जालका पेजहरू पनि निष्क्रिय पार्ने" गर्दा समस्या भएको बताएका थिए।

यद्यपि प्रहरीसम्म पुगेका कतिपय उजुरीका हकमा प्रहरीले बन्द गरिएका वेबसाइट वा सामाजिक सञ्जालका लिङ्कहरूलाई विभिन्न प्राविधिक माध्यम तथा सामाजिक सञ्जालकै सहयोगमा पत्ता लगाएका उदाहरणहरू छन्।

उक्त प्रतिवेदनमा नियामक निकायहरू, ब्याङ्क तथा वित्तीय संस्थाहरू, मोबाइल वालेट सेवा सञ्चालकदेखि कानुन कार्यान्वयन गर्ने निकायहरूलाई समेत यस्ता गतिविधि रोक्न आवश्यक कदमहरू चाल्न सुझाव दिइएको छ

तस्बिर स्रोत, Getty Images

त्यस्तो अवस्थामा पनि ठगीको उद्देश्यले खोलिएका वेबसाइटहरू एवं सामाजिक सञ्जालका लिङ्कहरू विदेशबाट चलाउने गरेको भेटिँदा मुख्य व्यक्तिलाई पत्ता लगाउन कठिन हुने प्रहरी अधिकारीहरूको भनाइ छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले पनि केही साताअघि बीबीसीसँग पछिल्ला दिनहरूमा नेपालमा टेलिग्राम एपका माध्यमबाट ठगी गर्ने क्रम बढेको तर उक्त एप प्रयोग गरेर ठगी गर्नेलाई पत्ता लगाउन कठिन भएको बताएका थिए।

टेलिग्रामको 'एड्मिन'बारे पत्ता लगाउन अन्य एपमा भन्दा कठिन भएको उनको भनाइ थियो।

"फेसबुक, यूट्यूब वा अन्य सामाजिक सञ्जालका हकमा हामीले लेखेर पठाएपछि त्यस्तो आपराधिक कार्य गर्न प्रयोग भएको प्रोफाइल वा लिङ्कबारे जानकारी पाउन सकिन्छ तर टेलिग्राममा त्यस्तो मेकानिजम नै छैन," त्यस बेला बीबीसीसँग उनले भनेका थिए।

कतिपय नेपाली अभियुक्तले ठगीको रकमबाट विभिन्न एपमार्फत् क्रिप्टोकरेन्सी खरिद गरेको अनि अनलाइन जुवामा रकम हालेको पनि पाइएको प्रहरीले बताउने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।