जब मिल्ने साथीले 'डीपफेक' गरेर 'पोर्न' साइटमा तस्बिर राखे...

तस्बिर स्रोत, Getty Images
- Author, केट वेस्ट
- Role, बीबीसी फाइल अन फो
"जोडी" ले 'डीपफेक' गरिएको आफ्नो 'अश्लील' तस्बिर फेला पारिन् तर त्यसपछि अर्को कुराले उनलाई झन् नराम्ररी झट्का दियो। उनले 'बीबीसी फाइल अन फोर'सँग त्यस्तो डीपफेक गर्ने व्यक्ति आफ्नो एकदमै मिल्ने साथी भएको थाहा पाउँदा कस्तो महसुस भयो भनेर बोलेकी छन्।
चेतावनी : यो सामग्रीमा यौन हिंसाको व्याख्या गरिएको छ
सन् २०२१ को वसन्त ऋतुमा जोडी (परिवर्तन गरिएको नाम) लाई एउटा अपरिचित इमेल ठेगानाबाट 'पोर्न' वेबसाइटको लिङ्क प्राप्त भयो।
त्यो लिङ्क खोलेर हेर्दा उनले आफ्नो स्पष्ट गरि देखिने तस्बिर र भिडिओहरू भेटिन्। तिनमा उनले थुप्रै पुरुषहरूसँग यौन सम्पर्क राखेको देखिन्थ्यो।
ती तस्बिर र भिडिओमा कुनै अर्कै महिलाको शरीरमा जोडीको अनुहार जोडिएको रहेछ। यस्तो कामलाई 'डीपफेक' भनिन्छ।
कसैले जोडीको 'डीपफेक' गरिएको तस्बिर पोर्न साइटमा पोस्ट गरेको थियो। त्यसमा ती व्यक्तिले उनको तस्बिरले आफूलाई "कामुक" बनाएको र साइटका अन्य प्रयोगकर्ताले पनि त्यस्तै फेक सामग्री बनाउन सक्छन् कि भनेर त्यो सोधिएको थियो।
त्यस्तो फेक तस्बिर बनाए जोडीका थप तस्बिरहरू र उनीबारे थप जानकारी दिने प्रस्ताव ती प्रयोगकर्ताले गरेका थिए।
आफ्नो अनुभवबारे पहिलो पटक बोल्दै जोडीले भनिन्, "आफ्नो फोनको स्क्रीन स्क्रोल गर्दै थप सामग्री हेर्दै गएँ। त्यो पढेँ र चिच्याउँदै रोँए।
उनले थपिन्, "मलाई थाहा थियो कि यसले मेरो जीवन साँच्चै खराब गर्नेछ."
उक्त पोर्न साइट हेर्दै जाँदा जोडीले "आफ्नो सारा संसार नै खसेको जस्तो" महसुस गरिन्।
त्यस क्रममा उनले एउटा तस्बिर देखिन् जसले उनलाई भयभीत महसुस गरायो।
एकपछि अर्को नराम्रो घटना
जोडी यस्तो निसानामा परेको यो पहिलो पटक थिएन। उनी वर्षौँदेखि अपरिचित व्यक्तिबाट अनलाइन दुर्व्यवहारमा पर्दै आएकी थिइन्।
जोडी किशोरी हुँदा उनले आफ्नो नाम र तस्बिर सहमतिबिना कुनै डेटिङ एपमा प्रयोग भएको पत्ता लगाएकी थिइन्।
आफ्नो तस्बिरलाई डीपफेक गरेर अश्लील बनाउने व्यक्ति को हो भनेर उनले खोज्ने कोसिस गरिन्। जब उनले पत्ता लगाइन्, उनी निकै विक्षिप्त भइन्।
यो वर्षौँसम्म चल्यो। सन् २०१९ मा उनले एक अपरिचितबाट फेसबुकमा एउटा सन्देश पाइन्। ती अपरिचितले लण्डनको लिभरपूल स्ट्रीट स्टेशनमा डेटका लागि आफूले जोडीलाई भेट्ने उल्लेख गरेका थिए।
जोडीले ती व्यक्तिलाई त्यो व्यक्ति आफू नभएको बताइन्। उनले ती अपरिचितले आफ्नोबारे अनलाइन माध्यममार्फत् सबै थाहा पाएको भन्ने जानेपछि असाध्यै विक्षिप्त भएको महसुस गरिन्।
सन् २०२० को मे महिनामा यूकेमा लकडाउनको बेला जोडीलाई उनका एक साथीले सचेत गराएका थिए। थुप्रै ट्विटर खाताबाट उनी यौनकर्मी हुन् भन्ने विवरणसहितका उनका तस्बिरहरू प्रेषित गरिएका थिए।
"तपाईँलाई यी किशोरीसँग के गर्न मन छ?" बिकिनी लगाएको जोडीको एउटा तस्बिरमा यस्तो क्याप्शन राखिएको थियो। उनको तस्बिर उनको निजी सामाजिक सञ्जाल खाताबाट निकालिएको थियो।
त्यस्तो तस्बिर राखिएका ट्वीट ह्यान्डलका नाम "स्लट एक्सपोजर" र "चीफ पर्भ" थिए।
ती सबै तस्बिर उनले आफ्नो परिवार र नजिकका साथीले मात्रै हेर्न मिल्ने गरी सोशल मिडियामा राखेकी थिइन्।
पछि उनले त्यस्ता सामाजिक सञ्जाल ह्यान्डलले अन्य महिलाको पनि तस्बिर पोस्ट गरेको पाइन्। त्यस्तो तस्बिर राखिएका व्यक्तिमा उनले विश्वविद्यालयमा चिनेका र उनको गृहनगर केम्ब्रिजका पनि थिए।
"त्यो बेला मलाई दृढ रूपमा के लाग्यो भने त्यसो गर्ने व्यक्ति मलाई नराम्रो गराउन चाहन्छ," उनले भनिन्।
त्यसविरुद्ध लड्दै

त्यसपछि जोडीले आफूजस्तै अन्य महिलाहरूलाई पनि सम्पर्क गर्न थालिन्। उनले तिनीहरूलाई त्यसरी तस्बिर पोस्ट भइरहेको बारे सचेत पनि गराइन्। त्यसमा उनको नजिककी साथी पनि थिइन् जसलाई हामीले डेजी नाम दिएका छौँ।
"म बिरामी महसुस गर्दैछु," डेजीले भनिन्।
यी दुई साथीले अन्य थुप्रै ट्विटर खाताले उनीहरूको तस्बिर पोस्ट गरेको पत्ता लगाए।
"हामीले जति हेर्दै गयौँ, त्यति नै खराब हुँदै गयो," डेजीले भनिन्।
उनले ट्विटर प्रयोगकर्तालाई सन्देश पठाइन् र आफ्नो तस्बिर कहाँ फेला पारेको भनेर सोधिन्। त्यसको प्रतिक्रियामा तस्बिरहरू अपरिचितले "पठाएको" र पठाउने व्यक्तिले शेअर गरिदिओस् भनेर चाहेको बताए।
"यसो गर्ने या त पूर्वप्रेमी हुनुपर्छ वा जो तपाईँसँग रिसाएको छ, ऊ हुनुपर्छ," ती प्रयोगकर्ताले जवाफ पठाए।
डेजी र जोडीले उनीहरूलाई सामाजिक सञ्जालमा फलो गर्ने सबै पुरुषहरूको सूची तयार गरे, जसले उनीहरूको तस्बिर हेर्न सक्थे।
उनीहरूले त्यसरी फोटो निकाल्ने पक्कै पनि जोडीको पूर्वप्रेमी हुुनुपर्ने निष्कर्ष निकाले। जोडीले ती पुरुषलाई ब्लक गरिदिइन्।
केही महिनाका लागि नयाँ पोस्टहरू भएनन् तर फेरि एउटा अपरिचित व्यक्ति इमेलमार्फत् सम्पर्कमा आए।
"अपरिचित रहनुपरेकामा क्षमा चाहन्छु," इमेलमा भनिएको थियो, "तर मैले यी पुरुषले तिम्रा तस्बिरहरू सामाजिक सञ्जाल 'रेडिट'मा राखेको देखेँ। मलाई थाहा छ यो एकदमै डरलाग्दो कुरा हो।"
जोडीले लिङ्क थिच्दा उनी 'रेडिट'को एउटा अनलाइन फोरममा पुगिन् जहाँ एक प्रयोगकर्ताले जोडी र उनका दुई साथीलाई १, २ र ३ नम्बर दिएर तस्बिरहरू पोस्ट गरेका थिए।
अन्य अनलाइनलाई पनि खेलमा भाग लिन आमन्त्रण गरिएको थियो। त्यसमा भनिएको थियो - यी महिलामध्ये कोसँग विवाह गर्न, कसलाई मार्न र कोसँग यौन सम्पर्क राख्न चाहन्छौ?
उक्त पोस्टमा ५५ जनाले प्रतिक्रिया जनाएका थिए।
उक्त साइटमा राखिएका तस्बिरहरू हालसालैका थिए र डेजीले आफ्ना पूर्वप्रेमीलाई ब्लक गरिसकेपछिका तस्बिरहरू थिए। त्यतिबेला उनीहरूलाई आफूले गलत मानिसलाई दोष लगाएको महसुस गरे।
त्यसको छ सातापछि त्यही इमेल गर्ने व्यक्ति आए र उनले यसपटक डीपफेकबारे भने।
'विश्वासघात'

जोडी र डेजीले त्यसपछि राम्रोसँग चिनिएका पुरुषहरूको नाम जम्मा गरे। त्यस सूचीमा आफ्नै परिवारका पुरुष र जोडीका मिल्ने साथी एलेक्स वूल्फ पनि थिए।
जोडी र एलेक्स किशोरावस्थामा मिल्ने साथी थिए। दुवैलाई शास्त्रीय सङ्गीत मन पर्ने भएकाले पनि उनीहरू एकअर्कासँग मिल्थे।
जोडीले आफ्नो नाम र फोटोहरू डेटिङ एपमा सहमतिबिना नै प्रयोग भएको पत्ता लागेपछि त्यसबारे वूल्फसँग सोधिन्।
वूल्फ सङ्गीत अध्ययनका लागि केम्ब्रिज विश्वविद्यालय गए र उनले सन् २०१२ मा 'बीबीसी योङ कम्पोजर'को पुरस्कार पनि जिते। त्यस्तै सन् २०२१ मा उनी 'मास्टरमाइन्ड'मा पनि देखा परे।
"उनी [वूल्फ] महिलाले खास गरी इन्टरनेटमा सामना गर्ने विषयबारे एकदमै सचेत थिए," जोडी भन्छिन्।
"मलाई साँच्चै लागेको थियो कि उनले पैरवी गर्छन्।"

यद्यपि उनले डीपफेक गरिएका आफ्ना अश्लील तस्बिरहरूमा उनको पछाडि किङ्ग्स कलेज, केम्ब्रिज देखिन्।
अनि उनले त्यो फोटो खिचिएको राम्ररी सम्झिइन्। वूल्फ पनि त्यो फोटोमा थिए। उक्त फोटो जोडीले वूल्फलाई मात्रै पठाएकी थिइन्।
जोडीको थप तस्बिरहरू पठाउन प्रस्ताव गर्ने व्यक्ति वूल्फ नै थिए। उनी डीपफेक गर्न ती फोटोहरू अन्यलाई दिन्थे।
"यसले मेरो जीवनमा कति असर गरिरहेको थियो भन्ने उनलाई राम्ररी थाहा थियो," जोडीले भनिन्। "र पनि उनले यसै गरे।"
'लज्जित'
सन् २०२१ मा २६ वर्षीय वूल्फ जोडीलगायत अन्य १५ महिलाको तस्बिर सामाजिक सञ्जालबाट झिकेर पोर्न साइटमा राखेको अभियोगमा दोषी ठहर भए।
अदालतले उनलाई २० साता कैद सजाय सुनायो र प्रत्येक पीडितलाई १०० पाउन्ड क्षतिपूर्ति दिन आदेश दियो।
वूल्फले बीबीसीसँग कुरा गर्दै आफ्नो व्यवहारबाट आफू "असाध्यै लज्जित" भएको र आफ्नो हर्कतबाट आफूले "गहिरो रूपमा क्षमा मागेको" बताए।
"म प्रत्येक दिन आफूले दिएको यातनाबारे सोच्छु र अब बाँकी जीवन म त्यही पीडामा बाँच्छु भन्नेमा द्विविधा छैन," उनले भने।
"मैले जे गरेँ त्यसका लागि कुनै माफी छैन र मैले त्यतिबेला त्यस्तो किन गरे भन्ने म राम्ररी व्याख्या गर्न पनि सक्दिनँ।"
जोडीमाथि भएको दुर्व्यवहारबारे आफूलाई केही थाहा नभएको वूल्फले बताए र त्यो उनलाई अभियोग लाग्नुभन्दा अगाडिको घटना थियो।
जोडीले भने आफ्नो साथीले के गरेको थियो भन्ने कुरा थाहा हुँदा त्यो आफ्ना लागि "विश्वासघात र अपमान" भएको बताइन्।
उनले भनिन्, "मैले हामीबीच भएका सबै संवाद सम्झिएँ, उसले मलाई सहज बनाएको कुरा, मलाई सहयोग गरेको कुरा र मप्रति दयालु बनेको कुरा। तर त्यो सबै झुटो रहेछ।"
हामीले विगतमा ट्विटर भनिने अहिलेको एक्स तथा रेडिटलाई ती पोस्टहरूबारे सोध्यौँ। एक्सले प्रतिक्रिया जनाएन। तर रेडिटका प्रवक्ताले भने, "सहमतिबिनाको अर्थात् नन-कन्सेन्सुअल इन्टिमेट मिडिया (एनसीआइएम)का लागि रेडिटमा कुनै ठाउँ छैन। प्रश्न उठेको सबरेडिटमाथि प्रतिबन्ध लागिसकेको छ।"
ती तस्बिर प्रयोग भएको पोर्न साइट पनि बन्द भइसकेको छ।
सन् २०२३ को अक्टोबरमा आएको अनलाइन सुरक्षा विधेयकअनुसार डीपफेक गरिएका पोर्न सामग्री शेअर गर्नुलाई आपराधिक कसुर मानिन्छ।
अहिले दशौँ हजार डीपफेक भिडिओहरू अनलाइनमा भेटिन्छ। हालैको अनुसन्धानले तीमध्ये ९८प्रतिशत पोर्नसँग सम्बन्धित भएको पत्ता लागेको छ।
यद्यपि, उक्त नयाँ कानुनले जसले डीपफेक गर्न लगाउँछ, उसलाई दण्डित नगर्ने व्यवस्था गरेको विषयमा जोडी आक्रोश पोख्छिन्। एलेक्स वूल्फले त्यही गरेका थिए। डीपफेक गर्नु पनि गैरकानुनी होइन।
"यसले हजारौँ महिलालाई असर गरेको छ र यस्तो गर्न मानिसहरूलाई रोक्नका लागि उचित कानुन आवश्यक छ," उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




