सचिन तेन्दुलकर पनि डीपफेक भिडिओको निसानामा

सचिन तेन्दुलकर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तेन्दुलकरले एक गेमिङ एपको प्रवर्धन गरेको डीपफेक भिडिओ सार्वजनिक भएको छ

आफूले अनलाइन गेमिङ एप प्रवर्धन गरिरहेको जस्तो देखिने एक डीपफेक भिडिओ सार्वजनिक भएपछि भारतीय क्रिकेटका प्रख्यात व्यक्तित्व सचिन तेन्दुलकरले उक्त भिडिओको आलोचना गरेका छन्।

भिडिओमा उनलाई 'छिटो धनी हुने उपाय' भन्दै उक्त एपको प्रशंसा गरिरहेको देखाइएको छ।

उनले 'एक्स'मा पोस्ट गरेका छन्, “यी भिडिओहरू फेक अर्थात् नक्कली हुन्। प्रविधिको अन्धाधुन्ध दुरुपयोग गरिएको देख्दा दिक्क लाग्छ।”

डीपफेक भिडिओविरुद्ध बोल्ने तेन्दुलकर पछिल्ला भारतीय सेलिब्रिटी हुन्।

पहिला कोको डीपफेकको निसानामा परे?

केही महिना पहिला अभिनेत्री रश्मिका मन्दानाले आफ्नो एक डीपफेक भिडिओ भाइरल भएपछि यस्ता सामग्री शेअर नगर्न मानिसहरूसँग आग्रह गरेकी थिइन्।

त्यसमा मन्दानाको अनुहार एक ब्रिटिश-भारतीय महिलाद्वारा पोस्ट गरेको इन्स्टाग्राम भिडिओमा जोडिएको थियो। उक्त भिडिओले भारतमा प्रविधिको दुरुपयोगबारे बहस छेडेको थियो।

ती नायिकाले उक्त घटनालाई “असाध्यै डरलाग्दो” भनेकी थिइन् र उनले कोही महिलाहरूलाई त्यस्तो भयो भने आवाज उठाउन भनेकी थिइन्।

अन्य अभिनेत्रीहरू आलिया भट्ट, काजोल र क्याटरिना कैफ पनि डीपफेक भिडिओको निसानामा परेका छन्।

तेन्दुलकरले के भने?

तेन्दुलकरले आलोचना गरेको भिडिओमा उनले आफ्नी छोरी नियमित रूपमा उक्त गेमिङ एप प्रयोग गर्छिन् भनेको देखाइएको छ।

तेन्दुलकरले लेखेका छन्, “सोशल मिडिया प्ल्याटफर्महरू यस्ता गुनासोप्रति सतर्क र जबाफदेही बन्नुपर्छ। गलत सूचना र डीपफेक फैलनबाट रोक्न उनीहरूले तत्काल कारबाही अगाडि बढाउनुपर्छ।”

भारतका असाध्यै मन पराइएका क्रिकेटरमध्ये एक तेन्दुलकरले सन् २०१३ मा सन्न्यास लिएका थिए। उनले कैयौँ नाम चलेका ब्रान्डको विज्ञापन गरेका छन्।

अधिकारीहरूको प्रतिक्रिया

तेन्दुलकरको पोस्टमाथि प्रतिक्रिया दिँदै भारतका सूचना प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले “एआईद्वारा उत्पादित डीपफेक र गलत सूचना”बाट इन्टरनेट उपभोक्ताहरूको सुरक्षामाथि खतरा उत्पादन भएको बताए।

उनले भारतमा सोशल मिडियाले तत्काल डीपफेक भिडिओ हटाउनुपर्ने गरी छिट्टै कडा नियम बनाइन लागेको बताए।

सूचना प्रविधिसम्बन्धी भारतीय नियमअनुसार सोशल मिडिया प्ल्याटफर्महरूले “कुनै पनि गलत सूचना कसैले पनि पोस्ट गर्न पाउँदैन” भनी सुनिश्चित गर्नुपर्छ।​ यो नियम पालना नगर्नेहरूलाई भारतीय कानुनअनुसार अदालतमा चुनौती दिन सकिन्छ।

चन्द्रशेखर र सङ्घीय सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले यसअघि पनि डीपफेकबारे बोलेका थिए।

गत नोभेम्बर महिनामा वैष्णवले सोशल मिडिया प्ल्याटफर्महरू तथा आर्टिफिशल इन्टेलिजन्स कम्पनीहरूसँग एक बैठकको अध्यक्षता गरेका थिए।

त्यसबेला उनले डीपफेकलाई रोक्न सरकारले छिटै “स्पष्ट र कार्यान्वयनयोग्य योजना” सहितको व्यवस्था गर्ने बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।