भारतीय चलचित्रमा प्रयोग हुन थाल्यो एआई, कस्तो प्रभाव पर्न सक्छ

एआई प्रयोग गरेर बनाइएको शाहरुख खानको तस्बिर

तस्बिर स्रोत, MONDELĒZ, OGILVY, WAVEMAKER

तस्बिरको क्याप्शन, एआई प्रयुक्त एउटा विज्ञापनमा क्याड्बरीमा सन् २०२१ मा शाहरुख खान पनि सहभागी थिए
    • Author, देवाङ्ग शाह
    • Role, बीबीसी न्यूज, दिल्ली

हलीवुडमा एआईअर्थात् आर्टिफिशल इन्टेलिजन्सको प्रयोगको विषय विवादित बनेको छ। आफ्नो जीविका खतरामा पर्ने डरले उक्त चलचित्र उद्योगसँग आबद्ध लेखकहरूले हडताल नै गरे। तर भारतीय चलचित्र उद्योगमा एआई प्रयोगको विषय त्यति धेरै विवादित भइसकेको छैन।

भारतीय चलचित्र उद्योगमा लाखौँ मानिसले रोजगारी पाएका छन्।

भारतीय चलचित्र उद्योगका केही सर्जकहरूले एआईबाट उत्पन्न हुन सक्ने जोखिमलाई अहिले खासै वास्ता गरेका छैनन्। यद्यपि अरू केहीले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने ठानेका छन्।

निर्देशक शेखर कपुरको पहिलो भारतीय चलचित्र 'मासूम' (सन् १९८३) मा आफ्ना पतिको विवाहेतर सम्बन्धबाट जन्मिएको बच्चालाई स्वीकार गर्नुपर्ने महिलाको कथा छ। यो चलचित्रको अर्को भाग बनाउन सकिन्छ कि भनेर उनले 'च्याटजीपीटी'मा प्रयोग गरिहेर्ने निर्णय गरे।

च्याटजीपीटी गत वर्ष 'ओपनएआई'ले सार्वजनिक गरेको एआई टूल हो।

मासूम चलचित्रमा व्यभिचार र सामाजिक रीतिहरूसँग सम्बन्धित जटिलताको सूक्ष्म चित्रण थियो। एआईले उक्त कथावस्तुमा विद्यमान "नैतिक द्वन्द्व" लाई सहजै बुझी केही सेकन्डमै पटकथा बनाइदिएको देख्दा निर्देशक कपुर छक्क परे।

एआईले रचना गरेको कथामा उक्त बालक बढ्दै जाँदा उसले आफ्ना पितालाई मन नपराएको देखिन्छ। यो कथामा बावुछोराको सम्बन्ध फेरिएको देखिन्छ।

एआईले निम्त्याएको अनिश्चितता

मशीन लर्निङले पटकथा लेखकहरूलाई “हप्तौँ लाग्ने” काम केही सेकेन्डमै गरिदिने भएकाले एआईका कारण भविष्य “अस्तव्यस्त” हुन सक्ने कपुर बताउँछन्।

परामर्शदातृसंस्था डिलोइटले सन् २०१९ मा प्रकाशित गरेको एउटा प्रतिवेदनका अनुसार प्रत्येक वर्ष निर्माण हुने चलचित्रका आधारमा भारत विश्वमै सबैभन्दा ठूलो चलचित्र उद्योग हो।

यो उद्योगले ८,५०,००० मानिसलाई रोजगारी दिएको छ।

एआई टूलहरू अझ शक्तिशाली हुँदै गएको बेला इन्टरनेटमा ख्यातिप्राप्त भारतीय कलाकारका 'डीपफेक' भिडिओहरू फैलिन थालेका छन्। रश्मिका मन्दाना र आलिया भट्टको जस्तै अनुहार देखिने आपत्तिजनक भिडिओ सार्वजनिक भएपछि एआईको प्रयोगबारे विभिन्न प्रश्नहरू उठेका छन्।

अमेरिकामा यो वर्ष कलाकार र लेखकहरूको हडतालको एउटा कारण टेलिभिजन र चलचित्र निर्माणमा एआईको प्रयोग पनि थियो।

यो आन्दोलनले हलीवुड महिनौँ ठप्प भयो।

“भारतमा एआईको प्रयोगबारे छलफलहरू भएका छैनन्,” चलचित्र निर्माताहरूको संस्था सिद्धार्थ रोय कपुर भन्छन्। उनका अनुसार यसबारे छलफल गर्ने उचित समय आइसकेको छ।

उनी “हरेक क्षण एआईका माध्यमहरू थप चलाख बन्दै” गएको बताउँछन्।

“एआईको प्रयोगमा हामी अहिले जहाँ छौँ अबको छ महिनामा हामी त्योभन्दा अर्कै ठाउँमा हुने छौँ,” कपुर भन्छन्।

त्यसो भए अहिले भारत कहाँ छ त?

एआई भारतमा कसरी प्रयोग हुन्छ?

सिद्धार्थ राय कपुर
तस्बिरको क्याप्शन, सिद्धार्थ राय कपुर एआईको प्रयोगबारे छलफल गर्ने उचित समय आइसकेको बताउँछन्

भारतमा "बटन थिच्नेबित्तिकै" सबै कुरा "सर्लक्क उपलब्ध" हुने अवस्थामा एआई नपुगेको केतन यादव र ह्यारी हिङ्गोरानी बताउँछन्।

उनीहरू रेडचिलीज डट भीएफएक्स नामक स्टूडिओ सञ्चालन गर्छन्। उक्त स्टूडिओले चलचित्रमा भिजूअल इफेक्टको क्षेत्रमा काम गर्छ। चर्चित बलीवुड कलाकार शाहरुख खानले झन्डै दुई दशकअघि उक्त स्टूडिओ स्थापना गरेका थिए।

यो वर्ष उक्त स्टूडिओले भारतीय बक्स अफिसमा धेरै चलेकामध्ये शाहरुख खानका दुई चलचित्र जवान र पठानका लागि भिजूअल इफेक्टको काम गरेको थियो।

यादव र हिङ्गोरानी चलचित्रका लागि आवश्यक अवधारणा तयार गर्न आफूले एआईको प्रयोग गर्ने गरेको बताउँछन्। तर एआईले बनाएको अवधारणा चलचित्रको फोके रेजलूशनमा मेल खाने गरी अझै नबन्ने गरेको उनीहरूको अनुभव छ।

तर गुहान सेनियाप्पन त्यस्तो धारणालाई चुनौती दिन चाहन्छन्।

उनी नयाँ तमिल चलचित्र विपनको निर्देशन गर्दै छन्। उनको यो चलचित्रमा एआईले बनाएको साढे दुई मिनेट लामो दृश्य छ र यो भारतीय चलचित्रमा पहिलो प्रयोग हो।

“हामी 'सूपरह्यूमन सागा'मा काम गरिरहेका छौँ, त्यसमा द्वन्द्वका शृङ्खलाहरू छन् अनि म कथालाई नयाँ शैलीमा पस्किन चाहन्छु,” सेनियाप्पन भन्छन्।

शाहरुख खानको परीक्षण

यसमा प्रमुख अभिनेता सत्यराजका तस्बिरहरूको प्रयोगबाट निर्देशन दिएर एआईलाई उनी बच्चा हुँदाको स्वरूप तयार गर्न भनिएको थियो।

“प्रत्यक्ष गतिविधिको सस्तो विकल्प एआईको प्रयोग थियो,” सेनियाप्पन भन्छन्।

बलीवुडमा शाहरुख खान एआईको परीक्षण गर्ने पहिलो कलाकार हुन्।

उनले सन् २०२१ मा डीपफेक प्रविधिको प्रयोगबाट आफ्नो आकृति र आवाजमा विज्ञापन बनाउनका लागि अनुमति दिएका थिए। क्याड्बरीले यो विज्ञापन साना व्यवसायहरूलाई उक्त आवाज र तस्बिरको प्रयोगबाट आफ्नो व्यापार प्रवर्धन गर्न अनुमति दिएको थियो। कोभिड महामारीपछि घटेको व्यापार उकास्न यसलाई प्रयोगमा ल्याइएको थियो।

केतन यादव र ह्यारी हिङ्गोरानी
तस्बिरको क्याप्शन, केतन यादव र ह्यारी हिङ्गोरानीले यस वर्षका चर्चित दुई चलचित्र 'जवान' र 'पठान' मा भिजूअल इफेक्टमा काम गरेका थिए

यो अभियानमा काम गरेको ओलिभ्गी इन्डियाका सुकेश नायकका अनुसार “यो एउटा विज्ञापन अभियानले देशभरि ३,००,००० वटा विज्ञापन बनाएको थियो।”

यो एजेन्सीले खानको टोलीसँग नजिकमा रहेर काम गरेको थियो र कडाइका साथ निश्चित प्रकारका व्यवसायहरूलाई मात्रै यो अभियानमा संलग्न गराइएको थियो।

भारतको नियम र कानुनहरूले एआईको प्रयोगलाई अझैसम्म परिभाषित गरिसकेका छैनन्। आलोचकहरूले कानुनको अभावमा यसको दुरुपयोग हुन सक्ने औँल्याएका छन्।

एआईले बनाइदिने सजिलो

यो वर्ष बलीवुड अभिनेता अनिल कपूरले आफूजस्तै देखिने आकृति, तस्बिर, नाम र आवाज सहितका कुराहरूको प्रतिलिपि सुरक्षित गर्ने कानुनी लडाइँ जितेका छन्।

उनले अदालतको फैसलालाई “धेरै अग्रगमनकारी” भन्दै अरू कलाकारहरूको लागि पनि त्यसले राम्रो भएको बताए।

“जहाँ मेरो आकृति, आवाज, मोर्फिङ, जीआईएफ, र डीपफेकहरूको प्रश्न छ अब म सीधै अदालतको आदेश देखाएर त्यसलाई हटाउन भन्न सक्छु,” उनले भेराइटी पत्रिकालाई भनेका छन्।

तर एआईको अर्को पाटो पनि छ। कतिपय विज्ञहरू एआईले चलचित्र निर्माणको निश्चित पक्षलाई सरल र छिटो बनाउने ठान्छन्।

रेडचिल्लिज डट भीएफएक्सकी शिल्पा हिङ्गोरानी 'फ्रेम बाई फ्रेम' गर्नुपर्ने कतिपय भीएफएक्सका कामहरू एआईबाट सहजै हुन सक्ने भएकाले उत्साहित देखिन्छिन्।

“समयको लागत कम गर्ने कुनै पनि कुराले पक्कै पनि प्रक्रियालाई सजिलो र छरितो बनाउँछ,” यादव भन्छन्।

मानव र एआईमध्ये एकले अर्कोभन्दा राम्रो काम गर्छ त?

आफ्नो चलचित्र 'वीपन'मा एआईमा धेरै भर परे पनि सेनियाप्पन आफूसँग बजेट र समय रहँदासम्म आफूले प्रत्यक्ष अभिनयलाई प्राथमिकता दिने बताउँछन्।

एआई प्रयोगबाट बनाइएका कलाकार

तस्बिर स्रोत, GUHAN SENIAPPAN

तस्बिरको क्याप्शन, वीपन चलचित्रमा एआईको सहयोगमा कलाकार सत्यराजलाई कम उमरेको देखाइएको छ

“एआई सुन्दर छ। तर यो प्रत्यक्ष अभिनयजस्तो हुँदैन किनभने यसमा मानिसले अभिनय गरेको वा चित्राङ्कन हुँदैन,” उनी भन्छन्।

च्याटजीपीटीसँग सुरुमा मोहित भएका शेखर कपुरलाई पनि त्यस्तै महसुस भएको छ।

“मैले कुन चाहिँ चलाख छ भनेर आफैँलाई सोधेँ। त्यसको जबाफ म आफूसँगै थियो,” उनले भने।

एआईको आफ्नै नैतिकता हुँदैन।

“उसले प्राप्त विवरणहरूका आधारमा नैतिकताको आकलन गर्छ,” उनी भन्छन्। “यसले आश्चार्य, डर र माया सिर्जना गर्न सक्दैन।”

यसले यद्यपि चलचित्र निर्माणको प्रक्रिया भने प्रदर्शित गर्ने उनी बताउँछन्।

“यदि सबै जनासँग उही साधन हुने हो भने साङ्गठनिक पदानुक्रमहरू तोडिने छ र सबै जनासँग कथा सुनाउनसक्ने शक्ति हुन्छ,” उनी भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।