जीनत अमानको ‘दम मारो दम’ हेर्न सारा काठमाण्डू उर्लिँदा...
- Author, वन्दना
- Role, टिभी सम्पादक, बीबीसी भारत

तस्बिर स्रोत, NAVKETAN FILMS
यो सन् १९६६ को कुरा हो जतिखेर नेपालमा निजी निर्माणमा बनाइएको पहिलो फिल्म ‘माइतीघर’ रिलिज भएको थियो। उक्त चलचित्रमा भारतीय अभिनेत्री माला सिन्हाले अभिनय गरेकी थिइन्।
फिल्मको एउटा गीत निकै चर्चित बन्यो।
उक्त नेपाली चलचित्रमा सङ्गीत भारतका जयदेवले दिएका थिए भने उषा मङ्गेशकरदेखि आशा भोस्ले, मन्ना डे र गीता दत्तले गीत गाएका थिए।
माला सिन्हाले सोही फिल्मका नेपाली नायक सिपी लोहनीसँग विवाह गरिन्।
त्यस बेलादेखि आजसम्म नेपाल र हिन्दी चलचित्र उद्योगबीच विशेष सम्बन्ध छ जुन नेपालमा छायाङ्कन भएको अमिताभ बच्चनको नयाँ फिल्म ‘उँचाइ’मा देखिएको थियो।
तर यस सम्बन्धलाई बुझ्नका लागि विगतबाट सुरु गर्नुपर्छ।
'जनी मेरा नाम' देखि 'बेबी' सम्म

तस्बिर स्रोत, FILM JOHNY MERA NAAM
सन् १९७१ मा बनेको फिल्म हरे रामा हरे कृष्णाको सुरुवाती दृश्य...
पाइलट बनेका देव आनन्द नेपालको लागि पहिलो उडानमा हुँदा माथिबाट काठमाण्डूको सौन्दर्य देखेर सह-पाइलटलाई भन्छन्, "यो उपत्यका माथिबाट निकै सुन्दर देखिन्छ, काठमाण्डू सहर कस्तो छ?"
जबाफमा, उनका सह-पाइलट भन्छन्, "ल्यान्डिङ सिग्नल उपलब्ध छैन। त्यतिन्जेल यात्रुलाई काठमाण्डू घुमाऊँ न त। त्यो स्वयम्भू मन्दिर हेर्नुहोस्। र यो सोल्टी हो - यहाँको सबैभन्दा फेसनेबल होटल।"
देव आनन्द र जीनत अमान अभिनीत फिल्म ‘हरे रामा, हरे कृष्णा’ को लगभग पूरै छायाङ्कन नेपालमा भएको छ।
त्यसबाहेक ‘जनी मेरा नाम’, ‘इश्क इश्क, इश्क’, ‘महान्’, ‘खुदा गवाह’ र ‘बेबी’ जस्ता धेरै फिल्म समेत नेपालमा खिचिएका छन् र तीसँग जोडिएका कथाहरू रोचक छन्।
‘दम मारो दम’ को नारामा पूरै सहर जुट्यो

तस्बिर स्रोत, FILM HARE KRISHNA HARE RAM
विकास रौनियार नेपालका वरिष्ठ फोटो पत्रकार हुन् र उनको परिवार चलचित्र क्षेत्रसँग जोडिएको छ। उनी भन्छन्, "जब राती जीनत अमानसँगको ‘दम मारो दम’ गीतको सुटिङ नेपालको काष्ठमण्डप मन्दिर नजिकै भएको थियो, त्यो रात ठूलो भिड थियो।"
उनी भन्छन्, "‘हरे रामा, हरे कृष्णा’ फिल्मको 'कान्छी रे कान्छी रे’ गीत मुमताज र देव आनन्दमा छायाङ्कन गरिएको थियो र तिब्बती शरणार्थी शिविरमा छायाङ्कन भएको थियो। चलचित्रको बाँकी अधिकांश छायाङ्कन नेपालको प्रसिद्ध स्वयम्भू मन्दिर र भक्तपुरमा भएको छ।"
जब यो फिल्म छायाङ्कन भयो, त्यस बेला पूरै काठमाण्डू यसमा संलग्न थियो भन्ने बुझ्नुपर्ने रौनियार बताउँछन्।
यसमा धेरै नेपाली कलाकारहरूले पनि काम गरेका छन्।
"अब ‘हरे रामा हरे कृष्ण’ देख्दा थाहा हुन्छ– जुन ठाउँमा खाली मैदान थियो, अहिले भवन बनेका छन् । हामीले त्यो जग्गा त्यस बेला किनेको भए आज कति भाउ लाग्थ्यो भनेर ठट्टा गर्छौँ,” विकास रौनियार भन्छन्।
"‘हरे रामा हरे कृष्ण’ पछि धेरै भारतीय पर्यटक नेपाल आउन थाले र पथप्रदर्शकले उनीहरूलाई हिन्दी फिल्मको छायाङ्कन भएका सबै ठाउँ देखाए।"
‘दम मारो दम’को सुटिङ भएको ठाउँ २०१५ को नेपाल भूकम्पमा ध्वस्त भएको थियो।
तर अहिले यसलाई पुन:निर्माण गरिएको छ।
नेपालमा ‘हरे रामा, हरे कृष्णा’को विरासत अझै जीवित छ।
नेपालको राजपरिवारसँगको सम्बन्ध

तस्बिर स्रोत, 1HMEDIA PR
देव आनन्दको नेपालको राजपरिवारसँग निकै राम्रो सम्बन्ध थियो। त्यस बेला राजा महेन्द्र नेपालका राजा थिए।
जब देव आनन्दलाई ‘हरे रामा, हरे कृष्णा’ को सोच आयो, उनले तत्कालै नेपालका राजालाई भेटेर फिल्मको कथा सुनाए।
उनले उक्त चलचित्र नेपालमा मात्र बनाउन सकिने बताए।
देव आनन्दले उनलाई नेपालको जुनसुकै ठाउँमा सुटिङ गर्न अनुमति मागेका थिए।
राजा महेन्द्रले देव आनन्दलाई केही दिन नेपालमा बस्न आग्रह गरे र उनलाई अन्नपूर्ण डाँडाको बिचमा रहेको उनका भाइ राजकुमार वसुन्धराको कलात्मक होटलमा पठाए र त्यहाँ शान्तिपूर्वक फिल्मको कथा लेख्न भने ।
त्यहीँबाट नेपाल र देव आनन्दको रोमान्स सुरु भयो।
यसपछि देव आनन्दले ‘हरे रामा, हरे कृष्णा’ मा नेपालका विभिन्न मन्दिर, चोक र मेलालाई पर्दामा सुन्दर ढङ्गले देखाए।
‘हरे रामा, हरे कृष्णा’ को कथा नेपालमा कसरी भेटियो?

तस्बिर स्रोत, FILM HARE RAMA HARE KRISHNA
चलचित्र ‘हरे रामा, हरे कृष्णा’ निर्माणको कथा पनि रोचक छ।
कथा सन् ’७० को दशकको हो।
सन् १९७० मा आफ्नो फिल्म ‘प्रेम पुजारी’ असफल भएपछि देव आनन्द नेपालमै थिए।
तर केही संयोग यस्ता थिए कि देव आनन्द ‘हरे रामा, हरे कृष्णा’ को स्क्रिप्ट लिएर फर्किए र आफ्नो फिल्म लन्डन वा प्यारिसमा नभई काठमाण्डूमा सुटिङ गर्ने निर्णय समेत गरे।
आफ्नो पुस्तक 'रोमान्सिङ वीथ लाइफ' मा देव आनन्दले लेखेका छन्, "म काठमाण्डूमा थिएँ र एक साँझ मेरो साथीसँग 'द बेकरी' भन्ने अनौठो ठाउँमा गएको थिए जहाँ हिप्पीहरू राती घुम्न जान्थे।"
“त्यस बेला युवाहरूमा हिप्पी बन्ने लहर थियो– गाँजा, अफिम, रमाइलो गर्ने, चुरोटको धूवाँमा हराउने, नशामा मात्रै थिए। निधारमा टिका लगाउनुहोस्, घाँटीमा फूलको माला लगाउनुहोस्, चिलिम एक अर्कासँग लिएर समात्नुहोस्। आकाशलाई हेरेर ध्यान गर्दै हुनुहुन्छ। यो एक सिनेमाको दृश्य थियो।"
"तीमध्ये मेरो ध्यान एक खैरो वर्णकी युवतीमा थियो। उनको चस्मा भुईँमा खस्यो र उनले बब मेरो चस्मा भनिन्। अर्थात् उनी भारतीय थिइन्। मलाई अचम्म लाग्यो कि उनी यी हिप्पीहरूबीच के गरिरहेकी छिन्। यो एउटा रोचक कथा जस्तो लाग्यो।"
अर्को कथामा देव आनन्द लेख्छन्, "भोलिपल्ट साँझ मैले ती युवतीलाई भेटेँ। आफ्नी आमा क्यानडामा रहेको र आफू काठमाण्डूमा घुमिरहेको उनले बताइन्। उनको नाम जसबिर थियो जो अब आफूलाई जेनिस भनेर बोलाउने गर्थिन्। जेनिसले बताए अनुसार उनी आमासँग भागेर क्यानडाबाट नेपाल आएकी थिइन्। उनका बुवा आमाले सम्बन्ध विच्छेद गरेका थिए र बुबा कतै पन्जाबमा बस्थे। जेनिसलाई उनका आमाबाबुले उनको हेरचाह नगरेको र उनीहरूले पुस्तालाई नबुझेको महसुस भयो। त्यसैले उनी केही पैसा चोरेर घरबाट भागिन् र हिप्पी बनिन्।
‘हरे रामा, हरे कृष्णा’ र जीनत अमानको ‘दम मारो दम’ हेरेका जो कोहीले पनि यो फिल्म वास्तवमा जेनिस उर्फ जसवीर र काठमाण्डूको कथा हो भन्ने बुझ्नेछन्।"
मानिसहरूले अमिताभको कारलाई घेरे

तस्बिर स्रोत, BIKASH RAUNIYAR
देव आनन्द बाहेक अमिताभ बच्चनले पनि दुई चलचित्रका केही दृश्य नेपालमा खिचेका छन्। सन् १९८३ मा अमिताभ बच्चनको फिल्म ‘महान्’ आएको थियो जसमा एक नभई तीन बच्चन थिए अर्थात् बिग बीको ट्रिपल रोल थियो।
जीनत अमान फेरि नेपाल आएर अमिताभ बच्चनसँग ‘प्यार मे दिल पे मार दे गोली’ गीत छायाङ्कन गरिन्।
यो गीत नेपालको भक्तपुर दरबार स्क्वायरमा छायाङ्कन गरिएको हो ।
त्यसपछि अमिताभ बच्चन पनि फिल्म ‘खुदा गवाह’ को सुटिङका लागि नेपाल आएका थिए ।
फिल्मको केही भाग अफगानिस्तानमा छायाङ्कन गरिएको थियो तर त्यहाँ गृहयुद्ध जस्तो अवस्था थियो र त्यहाँ धेरै जोखिम थियो।
जसकै कारण ‘खुदा गवाह’का केही दृश्य नेपालमा छायाङ्कन गरिएको थियो।
अमिताभ बच्चनको नेपालमा निकै क्रेज थियो। उनीसँगै डेनी पनि थिए।
नेपालको घटनालाई स्मरण गर्दै डेनीले फिल्म फेयरसँग भनेका थिए, "हामी नेपालमा ‘खुदा गवाह’ को सुटिङ गरिरहेका थियौँ र सयौँ मानिसले हाम्रो कारलाई घेरेका थिए। कल्पना गर्नुहोस् कार हल्लिरहेको थियो। मलाई निकै रिस उठ्यो। त्यस बेला अमितजी पगडी र दाह्रीवाल गेटअपमा थिए।"
कारमा एसी पनि थिएन तर अमितजी शान्त र संयम रहे। उनले मेरो हात समातेर भने- चुपचाप बस, गर्मी पनि सहन गर। बाहिर निस्कियो भने बिग्रन्छ।

तस्बिर स्रोत, BIKASH RAUNIYAR
अमिताभको कोठामा बस्ने प्रतिस्पर्धा

तस्बिर स्रोत, Getty Images
अमिताभ बच्चन र श्रीदेवी नेपालमा बसेको मुस्ताङ क्षेत्र कैयौँ दिन पर्यटकीय गन्तव्य बनेको थियो।
विकास रौनियार हाँस्दै भन्छन्, “म र मेरा साथीहरू बसेको होटलमा अमिताभ बच्चन, श्रीदेवी र डेनी पनि बसेका थिए। बच्चनजी बसेको कोठामा हामी सबै बस्न चाहन्थ्यौँ, हामीबीच प्रतिस्पर्धा थियो। पछि हामीलाई भनियो कि हामी सबै एक-एक गरी त्यो कोठामा बस्नुपर्छ।"
तर अमिताभ बच्चनका नेपालसँग जोडिएका सम्झनाहरू सुटिङमा मात्र सीमित छैनन्। अमिताभ बाल्यकालमा नेपाल गएका थिए र यो उनको पहिलो विदेश भ्रमण थियो।
आफ्नो ब्लगमा स्मरण गर्दै अमिताभले लेखेका छन्, "म १९५४ मा नेपाल गएँ। त्यसपछि हामी इलाहाबादमा बस्थ्यौँ। बाबुजी आफ्ना साहित्यिक साथीहरूलाई भेट्न चाहन्थे। हामी ट्विन इन्जिन भएको डकोटा विमानमा पटनाबाट काठमाण्डू उड्यौँ। यो पहिलो विश्वयुद्धको समयको विमान थियो। विमानमा चढ्दा यो मेरो पहिलो अनुभव थियो र मेरो उत्साहको कुनै सीमा थिएन।"
नेपाली फिल्मदेखि बलिवूडमा मनीषा कोइराला
नेपालमा छायाङ्कन भएका बलिवुडका चलचित्रहरू
- जनी मेरा नाम
- हरे राम, हरे कृष्णा
- महान्
- खुदा गवाह
- घरवाली बाहरवाली
- बेबी
- उँचाइ

तस्बिर स्रोत, THE MAN FROM KATHMANDU
छायाङ्कन बाहेक पनि नेपाली चलचित्र उद्योग र हिन्दी चलचित्र उद्योगको विशेष सम्बन्ध छ।
माइतीघरबाहेक, लता मङ्गेशकरले आफ्नो करिअरमा थप दुई नेपाली गीत गाइन्, जुन धेरै हिट भएका थिए।
विकास र उनकी श्रीमतीले मनीषासँग काम गरेका छन्।
विकास बताउँछन्, “पहिले मनीषा कोइरालाले नेपालमा एउटा विज्ञापनमा काम गरेकी थिइन् जुन निकै हिट भयो, त्यसपछि सन् १९८९ मा ‘फेरी भेटौँला’ नामक नेपाली फिल्ममा नायिका भइन्।
उनी भारतको बनारस र दिल्लीमा पढ्दै थिइन्।
यसै क्रममा उनले आफ्नी आमालाई हिन्दी फिल्म उद्योगमा काम गर्नुपर्ने बताइन्।
"उनकी आमाले मनीषाजीलाई जन्मदिनको उपहारको रूपमा बम्बई लैजानुभयो। उनले मिना अय्यर नामक फिल्म पत्रकारलाई चिन्थिन्। आमाको उद्देश्य छोरीको मनबाट फिल्मको भूत हटाउनु थियो। तर उल्टो भयो। मिनाजीले मनीषालाई फिल्म निर्देशकहरूसँग परिचय गराइन् र सुभाष घईले उनलाई अनुबन्धन गरे।"
त्यसपछि मनीषाले बम्बई, दिल से जस्ता धेरै हिन्दी फिल्ममा काम गरिन्।
मनीषा कोइरालाबाहेक भारतीय टिभीमा धेरै नेपाली र नेपाली मूलका व्यक्तिहरू छन् जसले भारतमा पर्दा पछाडि राम्रो काम गरिरहेका छन्।
फिल्म ‘उँचाइ’ को सुटिङ नेपालमै
अनुपम खेर आफ्नो नेपालको अनुभवका बारेमा भन्छन्, “केही क्षेत्रमा पुग्न गाह्रो हुन्छ तर मानिसहरू धेरै राम्रा छन् र धेरै सहयोग गर्छन्। त्यहाँको पर्यटनले फिल्मबाट फाइदा लिनुपर्छ। सगरमाथा हेरेर आफ्नो सानोपन महसुस हुन्छ कि यो हिमालको अगाडि हामी केही छैनौँ। यो जीवन परिवर्तन गर्ने अनुभव थियो।"
सुरज बडजात्या भारतबाट फिल्म ‘उँचाइ’को छायाङ्कनका लागि नेपाल आएका थिए ।
हिमालको माया छ भने नेपाल स्वर्ग रहेको उनी बताउँछन्।
जनी मेरा नाम देखि 'इश्क, इश्क इश्क' सम्म

तस्बिर स्रोत, TRIMURTI FILMS
‘हरे रामा, हरे कृष्णा’ पछि देव आनन्द जीनत अमानसँग फिल्म ‘इश्क इश्क इश्क’का लागि नेपाल फर्किए।
चलचित्रको छायाङ्कन नेपालका यस्ता दुर्गम ठाउँमा गरिएको छ जहाँ मानिसहरू प्रायः जाँदैनन्।
ट्याङ्बोचे गुम्बा ३८६७ मिटरको उचाइमा अवस्थित तिब्बती बौद्ध मार्गीको मठ हो जुन सगरमाथा आधार शिविर जाने बाटोमा पर्छ।
सगरमाथाको दृश्य यस फिल्ममा सुन्दर ढङ्गले कैद गरिएको थियो तर फिल्म फ्लप भयो।
सन् १९७० को सुपर हिट थ्रिलर फिल्म ‘जनी मेरा नाम’ नेपालको भक्तपुर र गोदावरी बोटानिकल गार्डेनमा छायाङ्कन गरिएका थिए।
सन् १९५१ मा नेपालमा बनेको पहिलो नेपाली चलचित्र भारतको पहिलो चलचित्र - राजा हरिश्चन्द्रको समान चलचित्रको संस्करण थियो।
नेपाली सिनेमाबारे काठमाण्डू पोस्टको एक विशेष लेखमा नेपालको पहिलो चलचित्र बम्बईमा बनेको लेखिएको छ।
त्यस बेलादेखि आजसम्म हिन्दी फिल्ममार्फत नेपालसँग जोडिने क्रम जारी छ।
बलिवूडप्रतिको खास क्रेज
विकास रौनियारले दुई देशबीचको सम्बन्ध दुईतर्फी रहेको बताउँछन्।
"नेपालमा हिन्दी फिल्म सधैँ लोकप्रिय हुँदै आएको छ। मेरो र धेरै मानिसहरूको हिन्दी राम्रो छ। जसको एक कारण हिन्दी फिल्महरू हुन्। पहिले त हामी नेपाली फिल्मको मिक्सिङ र सम्पादनका लागि मुम्बई जान्थ्यौँ," उनी भन्छन्।
"त्यहाँ काम गर्दै फर्कन थालेपछि नेपालमा नै मानिसले सबै काम गर्न थालेका छन्। तर ठूला हिन्दी फिल्म आउँदा नेपाली फिल्मको व्यापारमा असर पर्ने पनि एक वर्गको ठम्याइ पाइन्छ।"
अनिल कपुरको फिल्म ‘घरवाली बहरवाली’मा जसरी नेपाललाई गलत ढङ्गले देखाइएको आरोप लगाएर कहिलेकाहीँ विवाद पनि हुने गरेको छ। मेरा धेरै साथीहरू भारतलाई मन पराउँदैनन् किनभने उनीहरूलाई लाग्छ कि भारतले ठूल्दाइको जस्तो व्यवहार गर्छ तर हिन्दी फिल्महरूप्रति उनीहरूको प्रेम कायम छ।"
विकासका अनुसार भारतका फिल्म निर्माताहरू धेरै पैसा खर्च गरेर स्विजरल्याण्डजस्ता युरोपका ठाउँहरूमा सुटिङ गर्न जान्छन्।
तर नेपाल पनि सौन्दर्यमा कसैभन्दा कम नरहेकाले ‘हरे रामा, हरे कृष्णा’ जस्ता हिन्दी फिल्म नेपालमा छायाङ्कन भएमा सबैलाई फाइदा नै हुनेछ।
‘हरे रामा, हरे कृष्णा’ मा देखाइएको स्वयम्भूको मन्दिर, भक्तपुरको मेला, चलचित्र महानको दरबार स्क्वायर, हिउँदे उपत्यका र देव आनन्दले उल्लेख गरेको सोल्टी होटल ।
देव आनन्द भन्छन्, “सोल्टी होटलमा क्यासिनो छ, सिँढीबाट ओर्लने बित्तिकै दायाँतिरको डिस्कोथेकमा पस्ने बित्तिकै... ”
यो दृश्य त्यही हो जसमा पहिलो पटक सिनेमा प्रेमीहरूले जीनत अमानलाई हिप्पीको रूपमा नाचिरहेको देखे। र हिन्दी सिनेमाले एक नायिका फेला पार्यो जसले नेपालको माध्यमबाट हिरोइन..स्टारडमको अर्थ परिवर्तन गर्यो।








