अश्लील चलचित्र: लतमा परेका छन् किशोरकिशोरी र महिला पनि

Abstract image composition - woman falling, computer screens, purple and bright pink background

तस्बिर स्रोत, BBC/ISTOCK

तस्बिरको क्याप्शन, अश्लील चलचित्रले महिला मतिस्कमा गर्ने असरहरूका बारेमा निकै कम अध्ययन भएका छन्
    • Author, अलेक्ज्यान्ड्रा जोन्स
    • Role, बीबीसी थ्री

"म १२ वर्षकी थिएँ जतिबेला मैले समूहगत यौन सम्पर्क देखाइएको अश्लील चलचित्र हेरेँ," २४ वर्षीया नीलम टेलर भन्छिन्।

त्यो उमेरमा पोर्न अर्थात् अश्लील चलचित्र हेर्ने उनी मात्रै होइनन्।

सन् २०१६ मा ब्रिटेनमा गरिएको एक अध्ययनका अनुसार ११ देखि १६ वर्ष उमेरका आधाभन्दा धेरैले इन्टरनेटमा अश्लील सामग्री हेरेका हुन्छन्।

यद्यपि अश्लील चलचित्रले युवा अवस्थाका महिलाहरूमा गर्ने असरबारे खासै वैज्ञानिक अध्ययनहरू भएका छैनन्।

नीलमको लागि भने अश्लील चलचित्रको लत यौनसम्बन्धी सामान्य जिज्ञासाबाट सुरु भएको थियो।

नीलमको कथा

नीलम टेलर

तस्बिर स्रोत, BBC THREE

तस्बिरको क्याप्शन, नीलम टेलरले बाल्यकालदेखि अश्लील चलचित्र हेर्न थालिन्

"म तर्सेकी थिएँ। बाल्यकालमा प्रेमसम्बन्धी चलचित्रबाट एक्कै चोटि अश्लील चलचित्रमा पुग्दा...," उनी भन्छिन्।

नीलमले ११ देखि १६ वर्षको उमेरसम्म प्रत्येक दिनजसो अश्लील चलचित्र हेरिन्।

उनका भित्ताभरि पोस्टर, भुइँभरि किताब र अभ्यासपुस्तिका छरिएका आफ्नो शयनकक्षमा जान्थिन् र ढोका बन्द गरेर '१० मिनेटदेखि एक घण्टा' अश्लील वेबसाइटहरूमा बिताउँथिन्।

आफ्ना आमाबुवाले यसबारे थाहा पाएनन् भन्ने उनलाई लाग्छ।

सुरुमा उनी तर्सिए पनि त्यो कुरा छिट्टै सामान्य भयो। "मेरो विचारमा अश्लील सामग्रीले हामीलाई असंवेदनशील बनाउँछ। म त्यो अवस्थामा पुगेँ जुन बेला मलाई हिंसक यौन गतिविधि पनि सामान्य लाग्न थाल्यो।"

"मैले जे देखेँ त्यसबाट अझ जान्ने इच्छा भयो। अरू चलचित्र हेर्दा पनि म यौन धेरै भएको हेर्न थालेँ। थाहा छैन त्यसको कारण मभित्र भएको यौन इच्छा थियो वा उमेरको कौतूहल थियो।"

नीलमको लत बढ्दै जाँदा उनलाई मन पर्ने अश्लील चलचित्रको प्रकार पनि थाहा हुन थाल्यो।

"म त्यस्तो चलचित्र खोज्न थालेँ जसमा महिलाहरू डर वा धम्कीका कारण यौन कार्यमा संलग्न भएको देखाइन्थ्यो।"

"अर्थात् म युवा महिला र परिपक्व पुरुषको चलचित्र खोज्थेँ। तेह्र वर्षको उमेरमा मेरो यौन इच्छा त्यस्तो थियो भन्ने मलाई लाग्दैन। तर यो पक्कै मैले हेर्ने चलचित्रको प्रभाव थियो।"

साराको कथा

अश्लील सामग्री

तस्बिर स्रोत, BBC THREE

सारा २५ वर्षकी भइन् र उनको पनि उस्तै अनुभव छ।

"मैले १३ वा १४ वर्षको उमेरमा अश्लील चलचित्र हेर्न थालेँ। म कम्तीमा हप्ताको दुई पटक हेर्थेँ र हेर्दा कुनै आवश्यकता पूरा भएको जस्तो लाग्थ्यो।

"कति छिटो म असंवेदनशील भएँ भनेर म सम्झन्छु। किनभने म १० जना पुरुष र एक महिलाबीच भएको यौन हेर्थेँ जसमा महिलालाई पिटिएको हुन्थ्यो वा अन्य प्रकारले हिंसा गरिएको हुन्थ्यो।"

"यो सबै मैले आफूले यौन सम्पर्क राख्नु भन्दा पहिल्यै हेरिसकेकी थिएँ।"

"म अझै अश्लील चलचित्र हेर्छु र यसको असर भनेको म सामान्य रूपमा यौनको मज्जा लिन सक्दिनँ," सारा भन्छिन्।

अश्लील चलचित्र र मस्तिष्क

अश्लील सामग्री

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कुनै अवस्थामा धेरै पनि थोरै हुन्छ

पत्रपत्रिका र वैज्ञानिकहरूले पुरुष र अश्लील चलचित्रको अत्यधिक प्रयोगबारे धेरै लेखेका छन्।

सन् २०१६ मा बीबीसीलाई ब्रिटिश यौनमनोवैज्ञानिक एन्जेला ग्रेगोरीले भनेकी थिइन् कि सजिलै प्राप्त भइरहेको अश्लील चलचित्रका कारण पुरुषमा यौन उत्तेजना नहुने रोग बढेको छ‍।

एउटा अध्ययनले सन् २००० ताका करिब दुईदेखि पाँच प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएकोमा देखाएको थियो। अहिले ३० प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएको देखिएको छ।

ब्रिटेनमा यौन दुर्व्यसनको उपचारमा कार्यरत डा. ठाडेउस बिर्चार्डका अनुसार अश्लील चलचित्रमा पुरुष धेरै आकर्षित हुनुको कारण मानव मस्तिष्क पनि हो।

उनी भन्छन्, "महिलाहरूमा यौन उत्तेजना हुँदा मस्तिष्कमा अक्सिटोसिन निस्कन्छ जुन मानव सम्बन्ध विस्तारको रसायन हो।"

"पुरुषहरूमा भने भासोप्रेसिन निस्कन्छ जुन कुनै कुरामा एकाग्र हुन सघाउने रसायन हो।"

"यही कारणले गर्दा पुरुषहरू इन्टरनेटमा घण्टौँसम्म बाह्य संसार बिर्सेर एकाग्र भई बस्न सक्छन," बिर्चार्ड भन्छन्।

उनका अनुसार धेरै महिलाहरू शरीरका अङ्गमा रुचि नराख्ने भएका कारण पुरुषहरूको अश्लील चलचित्रप्रति बढी झुकाव देखिएको हो।

अश्लील चलचित्रको महिलामा असर

Woman watching porn on a smartphone

तस्बिर स्रोत, Getty Images

शारीरिक असर देखिन थालेपछि नीलमले १६ वर्षमा अश्लील चलचित्र हेर्न छोडिन्।

"मेरो पहिलो प्रेमीसँगको सम्बन्धपछि मैले थाहा पाएँ कि मलाई सामान्य यौन क्रियाकलापले उत्तेजित पार्नै सक्दैन," नीलम भन्छिन्।

"मलाई लाग्छ अश्लील चलचित्र पूर्ण अप्राकृतिक हुन्छ, र कुनै पनि साथीले त्यसरी यौन सम्पर्क गर्नै सक्दैनन्।"

"मैले अश्लील चलचित्रमा देखेको र साँच्चिकै यौन सम्पर्क राख्दा देखेको शारीरिक भिन्नताले मलाई अत्यायो र मैले सोचेँ समान्य रूपमा यौन सम्पर्क राख्नका लागि पहिले शौचालयमा गएर अश्लील चलचित्र हेरेर आउनुपर्छ?"

त्यसपछि नीलमले अश्लील चलचित्र हेर्न बन्द गरिन्।

"मलाई लत लागेको थियो जस्तो मलाई लाग्दैन। किनभने त्यसपछि मैले कहिले हेरिनँ।"

इरिकाको कथा

image composition - Erica Garza, pixelated play and pause symbols, purple and bright pink background

तस्बिर स्रोत, BBC THREE / ERICA GARZA

तस्बिरको क्याप्शन, इरिका गार्जा

अमेरिकी लेखिका ३६ वर्षीया इरिका गार्जाले १२ वर्षको उमेरमा राति टीभीमा केही अश्लीलता भएको चलचित्र हेर्न सुरु गरिन्।

यो सन् १९९४ को कुरा हो जतिबेला इन्टरनेट भर्खरै विकसित हुँदै थियो।

"मलाई मेरुदण्ड बाङ्गिने समस्या आयो अनि विद्यालयमा जाँदा विशेष प्रकारको लुगा लगाउन थालेँ जसले गर्दा त्यहाँ म आफूलाई भिन्न र एक्लो महसुस गर्थे," उनी भन्छिन्।

"एक्लोपनबाट बच्ने र खुसी हुने प्रयासमा म अश्लील चलचित्रहरू हेरेर हस्तमैथुन गर्थेँ।"

इरिकाले दैनिक अश्लील चलचित्र हेरिनन्, तर ती सामग्रीले उनको जीवन र सम्बन्धमा असर गर्‍यो।

"अश्लील चलचित्र मेरो लागि दिक्दारी वा चिन्ताको बेलाको साथी भयो। तर त्यसले मलाई अरू क्रियाकलापमा सहभागी हुनबाट रोक्यो। यसले गर्दा म झन् एक्लो महसुस गर्न थालेँ र मलाई मभित्र नै केही समस्या छ किन भन्ने लाग्न थाल्यो।"

सन् २०१४ मा उनले सलोन पत्रिकामा आफूले यौन दुर्व्यसनबाट मुक्तिका लागि सहयोग खोज्ने निर्णय गरेकोबारे एउटा लेख लेखिन्।

उनले लेखिन्, "सामान्यतया समूहगत यौन सम्पर्क रमाइलो लाग्थ्यो, तर सधैँ होइन।"

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

"मैले खोजिरहेँ, थुप्रै नग्न तस्बिरहरू हेरेँ र अन्तिममा मैले खोजेको जस्तो वस्तु पाएँ। त्यो पुरानो चलचित्र थियो जसमा ५०० जना पुरुष थिए।"

"मैले हेरेँ, तर त्यसपछि मलाई रमाइलो लागेन। म बिरामी जस्तै भएँ। दोषी महसुस गरेँ।"

"अश्लील चलचित्रले मलाई धेरै तरिकाले असर गर्‍यो," उनी भन्छिन्, "यसले गर्दा मलाई अन्य अवस्थामा सोच्नै नसक्ने यौन क्रियाकलापतिर आकर्षित गर्‍यो।"

"मैले पुरुषबाट हिंसक व्यवहारको आशा गर्न थालेँ।"

"मेरो शरीर कस्तो हुनुपर्छ भन्ने कुरामा पनि असर गर्‍यो। मलाई जीउ भएको रौँ हटाउन मन लाग्थ्यो किनभने त्यस्तै महिला म स्क्रीनमा देख्थेँ।"

'किशोरावस्थामा अश्लील चलचित्रबाट यौन शिक्षा लिनु ठिक होइन'

सन् २०१० मा ३०० अश्लील चलचित्रमा गरिएको एक अध्ययनमा ८८ प्रतिशत चलचित्रमा शारीरिक हिंसा भएको पाइएको थियो।

अधिकांशमा पुरुष हिंसक थिए र उनीहरूको लक्ष्य महिला थिए जसलाई त्यो हिंसाबाट सन्तुष्टि मिलेको वा वास्ता नभएको देखाइएको थियो।

"मलाई लाग्छ विद्यालयले बालबालिकाहरूलाई राम्रोसँग यौनका बारेमा शिक्षा दिनुपर्छ," नीलम भन्छिन्।

"विद्यालयमा यौन र अश्लील चलचित्रबारे आवश्यक कुरा गरिँदैन। तर म जस्ताका लागि विद्यालयले सिकाएन भने अश्लील चलचित्रले सिकाउँछ। र, मलाई लाग्छ कसैले पनि, विशेषत: बालबालिकाले अश्लील चलचित्रबाट यौनका बारेमा सिक्नु हुँदैन।"

अश्लील चलचित्र हेर्नै हुन्न त?

Pair of lips

तस्बिर स्रोत, Getty Images

इरिका भन्छिन्, "अश्लील चलचित्र हेर्नै नहुने होइन। यो मदिराजस्तो हो - कोही एक गिलास पिउँछन्, कोही बोतल नै रित्याउँछन्।"

तर अश्लील चलचित्रले आफ्नो शरीरबारे सकारात्मक सोच्न वा साँचो प्रेमबारे सिकाउँदैन।

ब्रिटेनमा १८ वर्ष पुग्नुअगाडि अश्लील चलचित्र हेर्न नहुने नियम आउन लागेको छ।

line

नेपालको अवस्था

सन् २००९ मा सिविन-नेपालले काठमाण्डूका विद्यार्थीमाझ गरेको एउटा अध्ययनमा ३६ प्रतिशत किशोरकिशोरीले इन्टरनेटमा अश्लील चलचित्र हेर्ने गरेको बताएका थिए।

सन् २०१५ मा एउटा जर्नलमा प्रकाशित अध्ययनमा इन्टरनेट प्रयोगकर्तामध्ये २०.८ प्रतिशतले अश्लील सामग्री हेर्नका लागि इन्टरनेट चलाउने जानकारी दिएका थिए।

यौन सामग्रीमा पहुँच र यसको ज्यादा प्रयोगले व्यक्तिमा आजीवन असर गर्ने खालका नकारात्मक प्रभावहरू पर्ने मनोवैज्ञानिकहरू बताउँछन्।

इन्टरनेट र यसको सुरक्षित प्रयोग पुस्तिकाका अनुसार

  • अश्लील चलचित्र हेरेपछि बालबालिकामा उमेर नपुग्दै यौनप्रति रुचि देखिन थाल्छ
  • यौन सामान्य र सहज हो भन्ने छाप पर्छ
  • उनीहरू समकालीन वा वयस्कहरूसँग उत्तेजक व्यवहार गर्न थाल्छन्
  • परिवार र साथीभन्दा बेग्लै बस्न रुचाउँछन्
  • लागुपदार्थको कुलतमा फस्न सक्छन्
  • अध्ययनप्रति रुचि नदेखाउने र आत्महत्यासम्मको प्रयास पनि गर्न सक्छन्।
Presentational grey line

केही नामहरू परिवर्तन गरिएका छन्।