टेलिग्रामः जहाँ महिलाका नग्न तस्बिर सहमतिविना शेअर भइरहेका छन्

नग्नता

तस्बिर स्रोत, Klawe Rzeczy

    • Author, ग्लोबल डिसइन्फर्मेशन टीम
    • Role, बीबीसी विश्व सेवा

महिलाहरूलाई धम्काउन, लज्जित पार्न र ब्ल्याकमेल गर्न उनीहरूका अन्तरङ्ग तस्बिर सोसल मिडिया एप टेलिग्राममा शेअर गर्ने गरिएको बीबीसीको एउटा अनुसन्धानले फेला पारेको छ।

चेतावनीः यो समाचार सामग्रीमा यौनसँग सन्बन्धित विषयवस्तु छन्।

जब साराले आफ्नो तस्बिर टेलिग्राममा शेअर गरिएको थाहा पाइन्, एकदम छोटो समयभित्र उनको जीवन नै बदलियो।

तस्बिरसँगै उनको सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम खाता र फोन नम्बर पनि राखिएको थियो।

लगत्तै अपरिचित मानिसहरूले थप तस्बिर पठाउन भन्दै उनलाई फोन गर्न थाले।

"म यौनकर्मी नै भएको उनीहरूले मलाई महसुस गराए [शायद उनीहरूलाई लागेको पनि होला] किनकि मेरा खातामा अन्तरङ्ग तस्बिरहरू शेअर भएका थिए। महिलाको रूपमा मेरो कुनै आत्मसम्मान नै नभएको लाग्यो," उनले भनिन्।

सारा (परिवर्तन गरिएको नाम) ले एक जनासँग आफ्नो तस्बिर शेअर गरेकी थिइन् तर टेलिग्राममा त्यो १८,००० फलोअर भएको एउटा ग्रुपसम्म पुग्यो जसमध्ये अधिकांश फलोअर उनको छिमेक हवाना, क्युबाका थिए।

सडकमा भेटिने अपरिचितहरूले आफूलाई नाङ्गै देखेको हुनसक्ने उनको अनुमान छ।

"म बाहिर जान चाहन्नँ, कोही साथीसँग कुनै प्रकारको सम्पर्क गर्न चाहन्नँ। मलाई धेरै पीडा भएको छ," उनले भनिन्।

सारा
तस्बिरको क्याप्शन, सारा

यस्तो भोग्ने उनी एक्ली हैनन्।

टेलिग्राममाथि महिनौँ गरिएको अनुसन्धानपछि बीबीसीले के पत्ता लगायो भने कम्तीमा २० वटा मुलुकमा ठूला समूहहरू र च्यानलहरूले गोप्य रूपमा खिचिएका र चोरिएका महिलाका तस्बिर शेअर गर्दै आएका छन्।

र यो समस्यासँग जुझ्न टेलिग्रामले काम गरिरहेको विषयमा नगन्य प्रमाण देखिएको छ।

Presentational grey line

क्युबाबाट हजारौँ माइल टाढा रहेकी निगार नयाँ जीवन सुरु गर्न सङ्घर्षरत छिन्।

उनी अजरबैजानकी हुन् तर आफूलाई देश छोड्न बाध्य पारिएको उनी बताउँछिन्।

श्रीमान्‌सँग शारीरिक सम्बन्ध कायम गर्दै गरेको निगारको एउटा भिडिओ सन् २०२१ मा उनको परिवारलाई पठाइयो र पछि टेलिग्रामको ४०,००० सदस्य भएको एउटा ग्रुपमा पोस्ट गरियो।

"मेरी आमा रुन थाल्नुभयो र भन्नुभयोः एउटा भिडिओ मलाई पठाइएको छ," उनले भनिन्। "म त टुटेँ, पूर्ण रूपमा टुटेँ।"

निगारको अहिले भूतपूर्व भइसकेका पतिका अनुहार ब्लर गरिएको छ। तर उनको अनुहार स्पष्ट रूपमा देखिन्छ।

निगार
तस्बिरको क्याप्शन, निगार

आफ्ना भाइलाई ब्ल्याकमेल गर्न आफ्नै पूर्वपतिले गोप्य रूपमा त्यो भिडिओ खिचेको उनको अनुमान छ।

निगारका भाइ अजरबैजानका राष्ट्रपतिका प्रखर आलोचक हुन्।

निगारका भाइले विरोध गर्न बन्द नगरे त्यो भिडिओ सार्वजनिक गरिदिने धम्की उनको आमालाई दिइएको थियो।

भिडिओलाई लिएर निगारले১ पूर्वपतिसँग झगडा गरिन्। तर उनले भिडिओ बनाएको अस्वीकार गरे।

हामीले प्रतिक्रिया लिन खोजे पनि उनले कुनै जबाफ दिएनन्।

नयाँ ढङ्गले जिन्दगी सुरु गर्न निगार अझै सङ्घर्षरत छिन्। "म ठिक हुन सक्दिनँ, हप्तामा दुई पटक थेरापिस्टकहाँ जाने गरेकी छु," उनले भनिन्।

टेलिग्राम च्यानल

निगार र साराका शेअर गरिएका तस्बिरबारे टेलिग्रामलाई रिपोर्ट गरिएको थियो। तर त्यसबाट कुनै जबाफ आएन।

बीबीसीले रुसदेखि ब्रजिल र केन्यादेखि मलेशियासम्म टेलिग्रामका १८ वटा च्यानल र २४ वटा ग्रुपमाथि मनिटरिङ गरिरहेको छ। कुल सब्स्क्राइबरको सङ्ख्या २० लाखनजिक रहेको छ।

स्पष्ट तस्बिरहरूसँग घरको ठेगाना र अभिभावका फोन नम्बरलगायत व्यक्तिगत विवरणहरू पोस्ट गरिएको हुन्छ।

टेलिग्रामका अनुसार अहिले विश्वभरि एक अर्बभन्दा बढी प्रयोगकर्ता छन् जुन ट्विटरभन्दा धेरै हो।

गोपनीयतासम्बन्धी नीतिमा परिवर्तन गरेपछि सन् २०२१ को ज्यानुअरीमा ह्वाट्सएपबाट लाखौँ प्रयोगकर्ता टेलिग्रामतिर सरे।

टेलिग्रामको बढ्दो लोकप्रियताको कारण के?

कम नियमन हुने ठाउँ खोज्नेहरूलाई टेलिग्रामले आकर्षित गर्ने गरेको छ। त्यसमा अरू प्लेटफर्मबाट प्रतिबन्धित भएका प्रयोगकर्ता पनि पर्छन्।

"टेलिग्राम र उसका सञ्चालकका अनुसार उनीहरू प्रयोगकर्तालाई सेन्सर गर्न चाहँदैनन्," डिजिटल अधिकार समूह एक्सेस नाउस्थित 'टेक लिगल काउन्सेल' नातालिआ क्रापिभा भन्छिन्।

तर हाम्रो अनुसन्धानबाट के देखिएको छ भने नियमन गर्ने टेलिग्रामको हल्काफुल्का नीतिका कारण अन्तरङ्ग तस्बिर चुहावट र शेअर गर्नेहरूका लागि सुरक्षित स्थल बन्न पुगेको छ।

सहमतिबेगर अन्तरङ्ग तस्बिरहरू शेअर गर्ने समस्यासँग जुझ्न टेलिग्रामको विशेष नीति छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बालबालिकालाई पोर्नबाट जोगाउन यस्तो उपाय

तर प्रयोगका सर्तअन्तर्गत प्रयोगकर्ताहरूले "सार्वजनिक रूपमा हेर्न मिल्नेगरी गैरकानुनी अश्लील सामग्री टेलिग्राम च्यानल, बोट लगायतमा पोस्ट नगर्ने" कुरामा सहमत हुनुपर्छ।

अश्लील साम्रगीबारे टेलिग्रामले आफ्ना नीतिहरू कति कडाइका साथ कार्यान्वयन गर्छ भन्ने कुरा बुझ्न हामीले सयवटा तस्बिरबारे रिपोर्ट गर्‍यौँ।

त्यसको एक महिनापछि तीमध्ये ९६ वटा तस्बिरलाई अझै हेर्न सकियो भने चार वटा हेर्न सकिएन।

हामीले टेलिग्रामका पाँचजना 'कन्टेन्ट मोडरेटर'सँग नाम उल्लेख नगर्ने सर्तमा कुरा गर्‍यौँ।

उनीहरूले स्वचालित प्रणालीमार्फत् प्रयोगकर्ताका रिपोर्ट प्राप्त गर्ने गरेको र त्यसलाई 'स्पाम' र 'नट स्पाम' भनेर छुट्ट्याउने गरेको हामीलाई जानकारी गराए।

रिपोर्ट गर्ने प्रणाली

आफैँ अग्रसर भएर अन्तरङ्ग तस्बिरको खोजखबर नगर्ने गरेको र टेलिग्रामले त्यसका लागि 'आर्टिफिसिअल इन्टेलिजेन्स'को प्रयोग पनि नगर्ने गरेको उनीहरूले बताए।

त्यो भएर पीडित महिलाहरू आफैँ अगाडि सरेका उदाहरण पनि छन्।

मलेशियाको एउटा बदनाम टेलिग्राम ग्रुपमा जोआनाले आफ्नो एउटा नग्न तस्बिर देखिन्। त्यतिबेला उनी १३ वर्षकी थिइन्।

त्यसपछि उनले ग्रुपमा सामेल हुन एउटा नक्कली टेलिग्राम प्रोफाइल बनाइन्। ग्रुपमा उनले नग्न तस्बिरहरू खोजेपछि त्यसबारे रिपोर्ट गरिन्।

जोआना
तस्बिरको क्याप्शन, जोआना

सञ्चारमाध्यमहरूको कडा दबावबीच अन्ततः त्यो ग्रुप बन्द भयो।

तर त्यसको नक्कल गरेका कम्तीमा दुईवटा ग्रुपले अहिले पनि सोही प्रकृतिका तस्बिरहरू शेअर गरिरहेको हाम्रो अनुसन्धानले देखाएको छ।

"कहिलेकाहीँ तपाईँ एकदमै असहाय महसुस गर्नुहुन्छ। हामीले ती ग्रुप बन्द गराउन निकै प्रयास गर्‍यौँ। तर तिनीहरू अझै आइरहेका छन्। साँच्चै भन्नुपर्दा यसको अन्त्य हुन्छ वा हुन्न भन्ने कुरा थाहा छैन," जोआनाले भनिन्।

टेलिग्रामले हामीलाई अन्तर्वार्ता दिन अस्वीकार गर्‍यो। तर एउटा वक्तव्यमार्फत् उसले आफैँ अग्रसर भएर नियमन र प्रयोगका नियम उल्लङ्घन भएका घटनाबारे कारबाही गर्ने गरेको बतायो।

यद्यपि सहमतिविना मानिसका अन्तरङ्ग तस्बिर पोस्ट गर्न अनुमति दिने गरिएको वा त्यस्ता तस्बिरलाई हटाउने गरिएको विषयमा उसले केही बताएन।

बीबीसी विश्व सेवाको डिसइन्फर्मेशन टोलीले यस विषयमा अनुसन्धान गरेको हो।