अनलाइन ठगीको विभिन्न स्वरूप, कानुन नबन्दा अनुसन्धान नै 'झन्झटिलो'

तस्बिर स्रोत, PA Media
जुलाई पहिलो साता काठमाण्डूकी निर्मला श्रेष्ठकी छोरीको 'फोटोशूट' (थरी थरीका फोटो खिच्ने) गर्ने तय भएको थियो। त्यसका लागि उनले अनलाइनमार्फत् आवश्यक लुगाको खोजी थालिन्।
फेसबुक र इन्स्टाग्राममा चर्चित बच्चाको सामान पाउने पेजहरू चहार्दै गर्दा उनले आफूले चाहेकै रङ र डिजाइनको जामा देखिन्। सम्बन्धित पेजमा मेसेज गरेर शुल्कलगायत आवश्यक जानकारी लिइसकेपछि उनले तत्काल “सुन्तला रङ्गको त्यो लुगा” मगाइन्।
शनिवारका लागि आवश्यक लुगा शुक्रवार साँझ आइपुग्यो। तर, उनले देखेको र मगाएको सामान आएन। “प्याकेट खोल्दा गुलाफी रङ्गको सामान देखेँ। त्यो त मैले मगाएकी थिइनँ।”
श्रेष्ठले त्यतिबेला नै आफूलाई फरक सामान आएको जानकारी दिइन्। बिक्री गर्ने पक्षले भन्यो- ‘फोटोमा लुगाको रङ फरक देखिएको हो नत्र कपडा र डिजाइन उही हो।‘
तर उनले “आफूले मगाएको सामान त्यो नभएको” अड्डी कसिन् र सामान साट्न आग्रह गरिन्। तर उक्त अनलाइन स्टोरले उनको सन्देश हेर्नै छाडिदियो।
त्यसपछि उनले आफू अनलाइन व्यापारको नाममा ठगीमा परेको जनाउँदै एउटा फेसबुक ग्रुपमा घटनाको विवरण सार्वजनिक गरिन्। त्यसको केही घण्टापछि, रातको साढे दश बजे उनलाई सामान साटिदिने भनियो।
आफूले बिक्री गर्ने सामग्रीको गुणस्तर र ग्राहकप्रतिको जबाफदेहिता बिक्रेताको भए पनि अनलाइनमार्फत् व्यापार गर्ने अधिकांशले त्यो जिम्मेवारी नलिएको उनको भोगाइ छ।

“अनलाइनमा मगाएको ५० प्रतिशत सामान देखाइएजस्तो राम्रो र गुणस्तरीय नभएको मैले पाएँ,” उनले भनिन्।
यस्ता किसिमका घटनाहरू प्रहरीसमक्ष समेत आइपुग्ने जानकारी दिन्छन् केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायत। तर, अनलाइनबाट “व्यापारको नाममा हुने ठगी यतिमा सीमित नभएको” उनको ठहर छ।
उनले भने,”व्यापारको नाममा ठगी धन्दा बढेको छ।“
”पछिल्लो समय वानएक्स बेटको हकमा मुद्दा नै चलेको थियो। यो एउटा उदाहरण मात्र हो। उदयपुरमा इराकबाट सामान आयात गर्ने समूहको नाममा ‘सामान आउँदै छ। यो ठाउँमा धरौटी तिर्न वा भन्सारमा बुझाउन’ भन्दै मोटो रकम असुल गरेको तर कुनै सामान नआएको घटनासमेत छन्,’’ उनले भने।
नेपालको ब्याङ्किङ प्रणाली डिजिटल माध्यमतर्फ रूपान्तरण हुनु र सामाजिक सञ्जालको प्रयोग बढ्नुले ठगीका घटनाहरू बढ्न थालेको जानकारहरू बताउँछन्।


मृत्युको गलत जानकारी
प्रहरीका अनुसार अहिले विदेश गएर सम्पर्कविहीन भएका मानिसहरूको परिवार पनि अनलाइन ठगीको फन्दामा पर्ने गरेका छन्। ती परिवारलाई “उनीहरूका आफन्तको विदेशमै मृत्यु भएको र सम्बन्धित व्यक्तिको जीवन बीमा”को रकम प्राप्त गर्न मद्दत गर्ने आशा देखाइने खुलेको छ।
“सुरुमा तपाईँको मान्छेको यसरी निधन भयो भन्ने र बीमा बापत यति रकम आउँछ भनेर बताउने रहेछन्। त्यसपछि उक्त रकम प्राप्त गर्न म सहयोग गर्छु भन्दै कहिले आवेदनका लागि वा वकिलका लागि भन्दै पैसा पठाउन लगाउने गरेको पायौँ,” कडायतले भने।
पछिल्लो समय उदयपुरमा यस्तो घटना घटेपछि नयाँ प्रकृतिको अपराधबारे ध्यानाकर्षण भएको र यस्ता गतिविधिबारे थप अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ।
अन्य कस्ता प्रकृतिको ठगी?

तस्बिर स्रोत, PA Media
अनलाइनमार्फत् एउटा सामान देखाएर अर्को पठाउने र पैसा पठाएपछि पेज नै बन्द गर्ने वा ब्लक गर्नेजस्ता गतिविधि धेरै देखिएको बताउँछन् साइबर ब्यूरोका एसपी पशुपति राय।
“विज्ञापनमा राम्रो वस्तुहरू देखाइन्छ तर यथार्थमा त्यस्तो नहुँदा ग्राहकहरू समस्यामा परेका छन्,” उनले भने।
त्यसबाहेक चिट्ठा पर्यो भनेर प्रलोभनमा पार्ने र विभिन्न चरणका प्रक्रिया पूरा गर्नका लागि भन्दै रकम माग्ने गरेको जानकारी उनले दिए। यस्ता घटनामा पीडित व्यक्तिको गोपनीयता समेत भङ्ग हुने गरेको बताइन्छ।
“कतिपय अवस्थामा पार्सल पठाउने बहानामा पनि त्यस्तै प्रकृतिको ठगी गरिएको पाएका छौँ।“
त्यसै गरी कतिपय चाहिँ माया र प्रेमको नाममा ठगिएको रायले बताए।
“फर्जी खाताबाट मायाको कुरा गरेर प्रेम सम्बन्ध बनाउने। त्यसपछि विवाहको प्रलोभन देखाउने वा आफू विदेशमा भएको र ‘तिमीलाई पनि यहीँ ल्याउँछु’ भनेर ढाँट्ने र आफ्नो ठगीको उद्देश्य पूरा गर्ने गरेको देखेका छौँ,” उनले जानकारी दिए।
पछिल्लो समय अनलाइन गेम वा विभिन्न एप्लिकेशन रिचार्ज गर्नका लागि पनि आवश्यकभन्दा बढी पैसा असुल्ने गरेको उनको भनाइ छ। त्यस्तै व्यक्ति वा संस्थाको प्रणालीमा आफ्नो नियन्त्रण जमाएर उनीहरूको फ्रेन्डलिस्टमा भएकाहरूसँग सहयोग आह्वान गर्दै पैसा माग्ने, इन्टरनेट ब्याङ्किङमा समेत पहुँच जमाएर पैसा लिने, त्यसमार्फत् सामान खरिद् गर्नेजस्ता गतिविधिबारे पनि प्रहरीमा निवेदनहरू आउने गरेको बताइयो।
“करिब १२ वर्ष अघिदेखि नै यस्ता खालका गतिविधि देखिएको छ तर गत त्यस्तो घटनाबारे निवेदनको सङ्ख्यामा ठूलो वृद्धि भयो,” रायले भने।
कुन घटना कति?
नेपाल प्रहरीको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७८/७९ को चैत १५ गतेदेखि असार १५ गतेसम्म त्यस्ता घटनाहरूबारे १,३०५ वटा निवेदन आएका थिए भने तीमध्ये ३८ वटा मात्र मुद्दा दर्ता भएका थिए। सोही प्रकृतिका घटनाहरूको निवेदन सङ्ख्या आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा ३,७५३ वटा पुगेको छ। तीमध्ये ४५ वटा मात्र मुद्दा दर्ता भएका छन्। ्
यसको अर्थ अघिल्लो वर्षको तुलनामा यस वर्ष साइबर अपराधका घटनाहरू १८७.६ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०७९/८० को चैत्रसम्ममा सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा १४ वटा मुद्दा दर्ता भएका थिए। सोही अवधिमा अनलाइन ब्याङ्किङ ठगीको आरोपमा ९ वटा, अनलाइन शपिङमार्फत् ठगी र स्पामको आरोपमा १/१ वटा, अनलाइन भुक्तानीसम्बन्धी ठगी चिट्ठाको बहानामा ५/५ वटा मुद्दा दर्ता भएका थिए।
त्यस्तै स्क्यामविरुद्ध ३, फिसिङविरुद्ध ४ र अन्य शीर्षकमा १३ वटा मुद्दा दायर भएका छन्।


यी सबै गतिविधिमा ४ सय ६४ जना पुरुष र २५१ जना महिला संलग्न रहेको तथ्याङ्कले देखाउँछ।
प्रहरी प्रवक्ता कडायतले भने,”निवेदन आएका जति सबैको मुद्दा दर्ता हुँदैनन्। कतिपय मुद्दा दर्ता भएपछि पीडित पक्ष हामीकहाँ आउनै छोड्नुहुन्छ। केही घटनामा भने दुवै पक्षले मेलमिलाप गर्नुहुन्छ।”
मुद्दामा दोषी ठहर भएकाहरूलाई भने अपराधको प्रकृति र त्यसको असरको आधारमा कारबाही अघि बढाइने उनले जिकिर गरे।
यस्ता अपराधहरूलाई विद्युतीय कारोबार ऐन अन्तर्गत नियमन गरिँदै आएको छ।
प्रविधिको विकास र पहुँच बिस्तार भएसँगै अपराधका स्वरूप बद्लिँदै गए पनि तिनलाई नियमन गर्ने आवश्यक र परिमार्जित कानुन नभएको जानकारहरू बताउँछन्।
कानुन नहुँदाको समस्या
यस सम्बन्धी कानुन नबन्दा परम्परागत ठगी र अनलाइन ठगीलाई एउटै हिसाबबाट हेर्ने कि नहेर्ने भन्नेबारे अन्योल देखिएको बताउँछन् प्रविधिसम्बन्धी विज्ञ अधिवक्ता बाबुराम अर्याल।
“विद्युतीय कारोबार ऐनमा कम्प्युटर जालसाजी अन्तर्गत एटीएम फ्रडहरूको बारेमा मात्र उल्लेख गरिएको छ। अन्य किसिमका ठगीहरूबारे केही पनि स्पष्ट छैन,” उनले भने।
कम्प्युटर र इन्टरनेटको माध्यमबाट हुने यस्ता अपराध नियमनका लागि कानुन नै नभएको बताउन नमिल्ने उनको राय छ। यद्यपि फरक प्रकृतिका घटनाहरूमा फरक कानुन आकर्षित हुने भए पनि कानुनी छिद्रहरूका कारण अनुसन्धान प्रक्रियामा समस्या देखिने गरेको उनले बताए।
“कोही भारतमा गएर त्यहीँको नम्बरबाट ह्वाट्सएप खोल्छ। त्यही नम्बर नेपालमा पनि उक्त एप चलाउन प्रयोग गर्छ। त्यहीमार्फत् ठगी गर्छ। यस्तो अवस्थामा प्रहरीले सम्बन्धित मान्छेलाई ट्र्याक गर्न नसकिने बताउँछ। त्यहीँबाट समस्या सुरु हुन्छ,” उनले उदाहरण प्रस्तुत गरे।
समस्या समाधानका लागि के?
अहिले आम मानिसमा यस्ता घटनाहरूबारे जानकारी प्रवाह नै प्रहरीको प्रमुख उद्देश्य बनेको बताउँछन् प्रवक्ता कडायत। प्रविधिको पहुँच बढे पनि त्यसको सही प्रयोग र ठगीका सङ्केतहरूबारे जानकारी नहुनुले समस्या निम्त्याएको उनको ठहर छ।
“हामीले चेतनामूलक कार्यक्रम र सूचनाहरूमा जोड दिएका छौँ। त्यसका लागि सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रयोग गरेका छौँ,” उनले भने। “किनकि आम मानिस सचेत रहनु नै ठगी नियन्त्रणको पहिलो उपाय हो।”
त्यसबाहेक अनुसन्धान र ठगीका घटना न्यूनीकरणका लागि नियमनमा सक्रियता नै यसका समाधानको उपाय भएको जानकारहरू बताउँछन्।








