डार्कनेटमा लागुपदार्थ कारोबार: ‘हामी शत्रुको भूभागमा रहेका गुप्तचरजस्तै हौँ’

डार्कनेटमा हुने लागुपदार्थ कारोबारबारे राम्रोसँग बुझ्न बीबीसीका जो टाइडी र एलिसन बेन्जामिनले एक्स्टसी र कोकेन दुई थोक किन्ने निर्णय गरे। प्रहरीले डार्कनेटमा राखिएको व्यवसाय बन्द गराउँदा लागुपदार्थ विक्रेताहरूलाई कारोबार सञ्चालन गर्न कति सजिलो छ भनेर उनीहरूले जान्ने मौका पनि पाए।
हेर्दा टोरेज एउटा सामान्य व्यावसायिक वेबसाइट हो जसमा हजारौँ सामान विक्रीका लागि राखिएका छन्। प्रत्येक विक्रेतालाई स्टार दिएर रेटिङ गर्न मिल्ने उक्त वेबसाइटमा सामान दैलोमा आइपुग्न लाग्ने औसत समय र रकम तिर्ने विधिबारे पनि जानकारी समेटिएको छ।
त्यहाँ राखिएका उत्पादनका कारण यो मञ्च एमजन वा इबेभन्दा फरक छ। पेरुको फिशस्केल कोकेन, श्याम्पेन एमडीएमए, ब्लू पनिसर एक्सटसी चक्की त्यहाँ पाइन्छन्। यस्ता सामान एमजन र इबेमा पाइँदैनन्।
केही साताअघिसम्म टोरेज डार्क वेबमा रहेको एउटा बजार थियो जहाँ खरिदकर्ताहरूले लागुपदार्थदेखी ह्याकिङमा प्रयोग हुने सामग्री र नक्कली पैसा अनि विद्युतीय झट्का दिन प्रयोग गरिने हतियार टेजरसम्म किन्न सक्थे।
टोरेज विश्वकै सबैभन्दा लोकप्रिय डार्क वेब बजार थियो र बीबीसी उसको अन्तिममध्ये एउटा ग्राहक बन्न पुग्यो।
कस्तो रह्यो अनुभव
रेडिओ फोरको 'फाइल अन फोर'अन्तर्गत एउटा डार्क वेबमार्फत् हुने कारोबारको अनुसन्धानका लागि हामीले टोरेजमा यूकेका विक्रेताबाट केही एक्स्टसी ट्याब्लेट खरिद गर्ने निर्णय गर्यौँ।
त्यसले हामीलाई धेरै नयाँ अनुभव दियो।
एउटा कस्तो कथन छ भने डार्क वेबमा एक्स्टसी खरिद गर्नु पिज्जा किन्नु जत्तिकै सजिलो हुन्छ। तर क्रिप्टोकरेन्सीमा लागुपदार्थ किन्नु र विक्रेतासँग इन्क्रिप्टेड च्याटमा संवाद गर्न घण्टौँ लाग्यो।

एकदमै 'शक्तिवर्धक' भनिएका ती चक्कीहरू वाचा गरिएअनुसार नै हुलाकमार्फत् केही दिनभित्रै आइपुगे।
तीनवटा साना एक्स्टसी चक्की एउटा ठूलो बाकसमा आए। उक्त सामान लुकाउन त्यस्तो रणनीति अपनाइएको थियो।
अर्को ठेगानाबाट एउटा कोकेनको प्याकेट आइपुग्यो जसको बिल नक्कली थियो। त्यो बिल एउटा हर्बल स्वास्थ्य कम्पनीबाट निकालिएको थियो।
बीबीसीले ती लागुपदार्थको परीक्षण गरायो। ती सामान हामीलाई विश्वास दिलाइएभन्दा कम शक्तिशाली थिए। त्यसपछि एउटा प्रयोगशालामा तीनलाई नष्ट गरियो।
संयुक्त राष्ट्रसङ्घले डार्कनेटमा हुने लागुपदार्थको व्यापारले विश्वबजारको एउटा अंशमात्रै समेट्ने र सम्भवतः त्यो एक प्रतिशतभन्दा कम रहने गरेको उल्लेख गरेको छ। यद्यपि त्यो वृद्धि भइरहेको छ।
विश्वव्यापी अवस्था के छ
तर गत वर्ष लागुपदार्थका दशौँ हजार प्रयोगकर्तामाझ गरिएको एउटा सर्वेक्षणले अलग्गै तस्बिर दिएको थियो।
सन् २०२१ मा उत्तर अमेरिकाका सर्वेक्षणमा सहभागी प्रत्येक चारमध्ये एक जनाले आफूले डार्कनेटबाट लागुपदार्थ खरिद गर्ने गरेका बताएका थिए।
युरोप र ओशिनियामा प्रत्येक छ जनामा एक जनाभन्दा बढीले त्यस्तो धारणा राखेका थिए।
रुसमा उक्त सङ्ख्या ८६ प्रतिशत थियो भने फिनल्यान्ड र स्वीडनमा ४० प्रतिशतभन्दा बढीले डार्कनेटबाट खरिद गर्ने बताएका थिए।
इङ्ग्ल्यान्ड, स्कटल्यान्ड र पोल्यान्डमा ३० प्रतिशतभन्दा बढीले उक्त धारणा राखेका थिए।
अङ्ग्रेजी भाषामा भएका डार्कनेट लागुपदार्थ बजारहरू गत वर्ष घटे तर संयुक्त अधिराज्यको न्याश्नल क्राइम एजन्सीले आम्दानी १४ प्रतिशतले बढेको उल्लेख गरेको छ।

डार्क वेबको लागुपदार्थ बजार अस्तव्यस्त छ र त्यो निरन्तर परिवर्तन भइरहेको छ।
नयाँ प्रवृत्ति जसले प्रहरीलाई अझ गाह्रो पारिरहेको छ
बेलाबेला साइटहरू बन्द हुन्छन् र सञ्चालकहरू उपभोक्ता वा विक्रेताको पैसा लिएर बेपत्ता हुन्छन्।
ती साइटहरू ह्याक गरिएका हुनसक्छन् वा प्रहरीको तारोमा पर्छन् अनि अफलाइन बनाइन्छन्।
तर त्यस्ता बजारहरू सहजै बन्द गर्ने एउटा नयाँ प्रवृत्ति पनि छ जसलाई 'सनसेटिङ' वा 'स्वैच्छिक बहिर्गमन' भन्ने गरिन्छ।
एउटा प्रमुख खेलाडी ह्वाइट हाउस मार्केटले गत वर्ष शरद्याममा त्यसो गर्यो भने क्यानाजोन पनि त्यसरी नै बन्द भयो।
अनि त्यसपछि टोरेज आयो जसले अघिल्लो महिना आफ्नो होमपेजमा आफू बन्द हुन लागेको घोषणा गर्दै "अधिकांश विक्रेता र प्रयोगकर्तासँग काम गर्नु एकदमै सुखद भएको" उल्लेख गरेको थियो।
उक्त साइटका एड्मिनिस्ट्रेटर एमआरब्लोन्डले उपभोक्तालाई धन्यवाद दिए तथा सबै अर्डरलाई अन्तिम रूप नदिइएसम्म कम्तीमा दुईदेखि तीन हप्ताका लागि अनलाइन नै भइरहने उल्लेख गरे।
एक उपभोक्ताले सम्मानजनक रूपमा बाहिरिन लागेको भन्दै टोरेजलाई धन्यवाद दिए। अर्काले व्यावसायिक र इमान्दार भएर काम गरेको टिप्पणी आफ्नो पोस्टमार्फत् गरे।

"अहिले अझ धेरै यस्तो हुन थालिरहेको छ। बजारबाट सजिलो हुँदै अलग हुने र भन्नेः हामीले धेरै पैसा कमाइसक्यौँ अनि पक्राउ पर्नुअघि नै हामी बहिर्गमनमा जान चाहन्छौँ र बन्द हुँदैछौँ," यूनिभर्सिटी अफ मोन्ट्रीअलमा क्रिमिनोलजीका प्राध्यापक डेभिड डिकारी हिटु भन्छन्।
उनका अनुसार टोरेजजस्ता ठूला बजार सञ्चालन गर्नेहरूले एक दिनमा नै कमिशन शुल्कका रूपमा एक लाख डलरभन्दा बढी आम्दानी गर्छन्।
अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउने जिम्मेवारी पाएको प्रहरीलाई यस्तो कदमले मिश्रित अनुभूति दिलाउँछ।
संयुक्त अधिराज्यको निकाय एनसीएको डार्कनेट इन्टेलिजन्सका प्रमुख एलेक्स हड्सनले आपराधिक व्यवसायमा रहेको आत्मसात् गर्दै त्यसलाई थप निरन्तरता नदिने कुनै पनि व्यक्तिको कदमलाई आफूले प्रशंसा गर्ने बताए।
"यदि त्यहाँ पश्चात्ताप छ भने हामीले उनीहरूलाई उत्तरदायी बनाउनुपर्छ र उनीहरूले पनि आफूहरूलाई उत्तरदायी बनाइन्छ भनेर बुझ्नुपर्छ," उनले भने।

त्यसरी बन्द हुने क्रम देखिए पनि बीबीसीको तथ्याङ्कले त्यस्ता बजारहरू ठगीधन्दासँगै बहिर्गमन हुने सम्भावना रहेको देखाउँछ।
अपराधीहरू किन ढुक्क पर्छन्
प्रहरीले त्यस्ता डार्क वेबहरू बन्द गराएको त्यति पाइँदैन तर पनि केही उल्लेख्य सफलता हासिल भएको छ।
अमेरिकी नागरिक रोस उल्ब्रिश्ट असल चालचलन देखाए पनि रिहा हुन आदेशसहित ४० वर्षका लागि आजीवन कारावासका दुईवटा सजाय खेपिरहेका छन्।
सन् २०११ देखि २०१३ सम्म सञ्चालित भएको प्रमुख डार्क वेब बजार 'द सिल्क रोड' सञ्चालन गरेकोमा उनलाई त्यस्तो सजाय दिइएको हो।
अक्टोबरमा १५० जना सन्दिग्धहरूलाई पक्राउ गरिएको थियो जसलाई संयुक्त अधिराज्यको एनसीएले हालसम्मै सबैभन्दा त्यस्तो ठूलो कारबाही भनेको छ।

तस्बिर स्रोत, FBI
कैयौँ देशका प्रहरीहरू डार्क वेबविरुद्ध सञ्चालित उक्त कारबाहीमा संलग्न भएका थिए र अमेरिका, जर्मनी, संयुक्त अधिराज्य तथा अन्यत्र मानिसहरू पक्राउ परेका थिए।
गैरकानुनी अनलाइन बजारहरू बन्द भए पनि त्यसले विक्रेताहरूलाई खासै फरक पार्दैन किनभने उनीहरू नयाँमा सर्न सक्छन्।
बीबीसीले विश्लेषण गरेको तथ्याङ्कले अहिले कारोबार गरिरहेका कम्तीमा ४५० विक्रेता विगतमा प्रहरीले उनीहरूलाई हटाउन गरेको प्रयासबाट उम्किएको देखाउँछ।
त्यसमा नेक्स्ट जेनरेशन नामक एउटा विक्रेता पनि छ जुन छ वर्षमा २१ वटा यस्ता बजारमा देखिएको पाइन्छ।
उक्त अवधिमा यो अपराधी वा अपराधीको समूहले गाँजा, कोकेन र केटमिनजस्ता उत्पादन कम्तीमा एक लाख ४० हजार पटक बेचेको पाइएको छ।
एउटा इन्क्रिप्टेड इमेलमा नेक्स्ट जेनरेशनले प्रहरीसमक्ष "एउटा असम्भव जिम्मेवारी भएको" लेखेको छ।
आफूलाई विक्रेताहरूको 'हिपी कलेक्टिभ' का रूपमा आफूलाई चिनाउने यूके र जर्मनीमा आधारित पिग्मेलिअन सिन्डिकेटले आफूहरू पक्राउ पर्ने कुरामा चिन्तित नरहेको उल्लेख गरेको छ।
धेरै सावधानी अपनाइएको भन्दै उसले आफू 'विदेशीको भूमिमा रहेका गुप्तचरहरू' जस्तै रहेको बताएको छ।
यूकेको एनसीएका एलेक्स हड्सन प्रहरी अपराधीभन्दा एक कदमपछि रहेको भए पनि नयाँ प्रविधिले फरक पार्ने र अवस्था फेरिने विश्वास गर्छन्।














