६० करोड अमेरिकी डलर चोरी गर्ने क्रिप्टो ह्याकरलाई पुरस्कारको प्रस्ताव

तस्बिर स्रोत, Getty Images
साठी करोड अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने क्रिप्टोकरेन्सी चोर्ने एक ह्याकरलाई रकम फिर्ता गर्न पाँच लाख अमेरिकी पुरस्कार र दण्डबाट उन्मुक्तिको प्रस्ताव गरिएको छ।
अज्ञात ह्याकरले पैसा फिर्ता पठाउने प्रतिबद्धता जनाएपछि पोली नेटवर्क नामक कम्पनीले त्यसरी विवादास्पद प्रस्ताव दिएको हो।
पोली नेटवर्कले सार्वजनिक रूपमै अपील गरेपछि गत साता मङ्गलवार उक्त घटनाबारे जानकारी सार्वजनिक भएको थियो।
अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआईका एक पूर्वअधिकारीले "फौजदारी अभियोगसम्बन्धी विषयमा उन्मुक्ति दिने वाचा गर्ने अधिकार निजी कम्पनीहरूसँग नरहेको" बताएका छन्।
यो इतिहासकै सबैभन्दा ठूलो ह्याकिङ्कमार्फत् गरिएको चोरीमध्ये एक हो।
कसरी भयो चोरी
पोली नेटवर्कले ह्याक गर्ने व्यक्तिले प्रणालीको कमजोरीको फाइदा उठाएको जनाएको छ।
चोरी गरिएकोमध्ये अधिकांश रकम फिर्ता भइसकेको छ। तर ह्याकरले इनाममा भने आफ्नो रुचि नरहेको जनाएको छ।

तस्बिर स्रोत, EDUARD MUZHEVSKYI / SCIENCE PHOTO LIBRARY
बिहीवार साँझसम्ममा ह्याकरसँग रहेको बाँकी रकम ह्याकर र उक्त कम्पनीले संयुक्त रूपमा नियन्त्रण गर्न सक्ने डिजिटल वालेटमा पठाइएको पोली नेटवर्कले बताएको छ।
उसले पैसा फिर्ता लिने प्रक्रिया पूर्ण रूपमा सम्पन्न हुन प्रतीक्षा गरिरहेको र आफूले ह्याकरसँगै काम गरिरहेको जनाएको छ।
अनलाइनमा पोस्ट गरिएको तीनपाने प्रश्नोत्तरमा नाम नखुलाइएका ती ह्याकरले चोरी मनोरञ्जनका लागि र क्रिप्टोकरेन्सी सटही कम्पनी पोली नेटवर्कलाई आफ्नो सुरक्षा सुधार गर्नका लागि प्रेरित गर्नका लागि गरेको उल्लेख गरेका छन्।

उन्मुक्ति
पोली नेटवर्कले त्यो स्पष्टोक्ति स्वीकार गरेको र ह्याकरलाई "मिस्टर ह्वाइट ह्याट" नाम दिएको छ।
ह्वाइट ह्याट ह्याकरहरू सुरक्षासम्बन्धी नैतिक अनुसन्धानकर्ताहरू हुन जसले आफ्नो कौशल प्रयोग गरेर संस्थाहरूलाई सुरक्षासम्बन्धी त्रुटिहरू पहिचान गर्न सहयोग गर्छन्।
पोली नेटवर्कले ह्याकरलाई एउटा टिप्पणी पठाएको स्वीकार गरेको छ जसमा "हामीलाई विश्वास छ कि तपाईँले गरेको कार्य ह्वाइट ह्याट व्यवहार हो। तपाईँलाई हामीले ५००,००० डलर दिने योजना बनाएका छौँ" लेखिएको छ।
"हामी तपाईँलाई आश्वासन दिन्छौँ कि तपाईँ यो घटनाका लागि जिम्मेवार हुनुहुन्न," उक्त कम्पनीले भनेको छ।
तर कम्पनीको त्यस्तो कदमले केहीलाई भने क्रुद्ध बनाएको छ।

तस्बिर स्रोत, Reuters
यस्ता किसिमका सुरक्षासम्बन्धी मामिला हेर्नेहरूले ह्याकरहरूलाई आफ्नो कार्य ढाकछोप गर्नका लागि यो दृष्टान्तका रूपमा स्थापित हुनसक्ने चिन्ता व्यक्त गरेका छन्।
एकजना ह्वाइट ह्याट ह्याकर र म्यान्चेस्टर मेट्रोपोलिटन यूनिभर्सिटीका उपप्राध्यापक केटी प्याक्स्टन-फिअर "यो ह्याकलाई ह्वाइट ह्याकका रूपमा गणना गरिनु निराशाजनक रहेको" बताउँछिन्।
उनले अमेरिकी रक्षा मन्त्रालयदेखि भेराइजन मिडियासम्मका कम्पनीका ३० भन्दा बढी त्रुटिहरू पत्ता लगाएकी छन्।
'कुनै अधिकार छैन'
"ह्वाइट ह्याट ह्याकिङमा कार्यक्षेत्र हुनुपर्छ, केही प्रणालीलाई छुनु हुँदैन, समूहमा काम गर्नुपर्छ, पत्ता लागेका कुरा बारे व्यवसायिक प्रतिवेदन तयार पार्नुपर्छ र जोखिम देखाउनुबाहेक अरू कदम चाल्नु हुँदैन," उनले भनिन्।
फरेन्सिक रिस्क अलाईअन्सका एक सदस्य र एफबीआईका भूतपूर्व अधिकारी चार्ली स्टील पनि पोली नेटवर्कको प्रस्तावका कारण चिन्तित छन्।
"फौजदारी अभियोगसम्बन्धी विषयमा उन्मुक्ति दिने वाचा गर्ने अधिकार निजी कम्पनीहरूसँग हुँदैन," उनले बीबीसीलाई भने।











