साइबर सुरक्षा: कम्प्युटर नचल्ने बनाएर पैसा माग्ने र्‍यान्समवेयरबाट बच्ने तरिका

र्‍यान्समवेयर

तस्बिर स्रोत, Getty Images

    • Author, जो टाइडी
    • Role, साइबर-सेक्युरिटी संवाददाता

साइबर हमलाका पीडितहरूलाई जोगाउने एउटा योजनाले दुई लाख पीडितहरूको कम्तीमा १० करोड आठ लाख अमेरिकी डलर जोगाएको दाबी गरेको छ।

नो मोर र्‍यान्सम परियोजनाले पीडितहरूलाई सल्लाह र सफ्टवेयरहरू दिएर र्‍यान्समवेयर भनिने एकप्रकारको कम्प्युटर भाइरस लागेका कम्प्युटरलाई जोगाउने गर्छन्।

गोप्यरूपमा कम्प्युटरलाई कब्जामा लिइ खोल्न र भएका फाइलहरू हेर्न नमिल्ने बनाउने र त्योबाट मुक्ति पाउन पैसा माग्ने भाइरसलाई 'र्‍यान्समवेयर' भनिछ।

द नेदरल्याण्डस्‌को प्रहरी युरोपोल र एन्टीभाइसर सफ्टवेयर निर्माता म्याक्याफीले स्थापना गरेको परियोजनामा अहिले संसारभर एक सय ५० साझेदारहरू छन्।

सन् २०१९ मा मात्रै १४ वटा नयाँ सफ्टवेयरहरू उपलब्ध गराएको परियोजनाले एक सय नौ प्रकारले काम गर्ने र्‍यान्समवेयरहरूबाट जोगाउन सक्ने युरोपोलले बताएको छ।

"हामीले र्‍यानसमवेयरलाई नजिकबाट नियाल्ने हो भने कुनै पनि उपकरण कति सजिलै केही सेकेण्डमै सङ्क्रमित हुनसक्छ भन्ने देख्नसक्छौँ," युरोपोलको युरोपियन साइबरक्राइम सेन्टर इसीथ्रीका प्रमुख स्टिभन विल्सनले भने।

परियोजनाको सफलता

"एउटा गलत क्लीकका कारण कम्प्युटरबाट डेटाहरू, तस्बिरहरू र जीवनका रमाइला सम्झनाहरू सदाका लागि हराउन सक्छ।"

"नो मोर र्‍यान्सम परियोजनाले पीडितहरूलाई आशा दिन्छ। अपराधीहरूलाई पनि एउटा स्पष्ट सन्देश पनि दिएको छ: अन्तर्राष्ट्रिय समुदायले साझा उद्देश्य राखेर गरिएको कामले अपराधीलाई कानुनको घेरामा ल्याउने छ।"

कम्प्यूटर स्क्रीन र मोबाइल फोन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यो वर्ष र्‍यान्समवेयर हमलाका घटनामा वृद्धि भएको देखिएको छ

नो मोर र्‍यान्सम परियोजनाले समाधान गरेको एउटा समस्या सन् २०१८ मा सबैभन्दा बढी आक्रामक भएको ग्यान्डक्र्याब हो।

सन् २०१८ को फेब्रुअरीमा ग्यान्डक्र्याब पहिलोपटक सार्वजनिक भएयता ४० हजार मानिसहरूको कम्प्युटरलाई परियोजनाले सफलतापूर्वक मुक्त गरेका थिए। त्यसो गर्दा ह्याकरलाई दिनुपर्ने पाँच करोड डलर जोगिएको थियो।

सन् २०१९ मा र्‍यान्समवेयरबाट ठूला कम्पनीहरूलाई लक्षित गर्न थालिएको छ।

नोर्स्क हाइड्रो नामक कम्पनीले गत मार्चदेखि यस्ता हमलाबाट आफ्ना कम्प्युटर जोगाउन छ करोड डलर खर्च गरिसकेको छ।

कोड

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यो योजनाले साइबर अपराधलाई कम नाफामुखी बनाउने आशा गरिएको छ

हमलाका कारण उसका कर्मचारीहरू कम्प्युटर चलाउन नपाउनुका साथै विद्युत उत्पादन पनि रोकिएको थियो।

अमेरिकामा र्‍यान्समवेयर हमलाबाट थुप्रै स्थानीय निकायहरू मारमा परेका छन्। ती मध्ये केहीले ह्याकरहरूलाई लाखौँ डलर तिरेका छन्।

र्‍यान्समवेयरबाट बच्ने कसरी?

तल उल्लेखित अभ्यासहरूलाई नियमित गर्नु भयो भने र्‍यान्समवेयरहरूबाट मात्र होइन्, अरू प्रकारका कम्प्युटर भाइरसहरूबाट पनि जोगिन सकिन्छ:

  • प्रयोगमा रहेका सफ्टवेयरहरू विशेषगरी विन्डोजजस्ता अपरेटिङ सिस्टमलाई नियमित अध्यावधिक गर्नुहोस्, बेलाबेलामा उपलब्ध हुने सेक्युरिटी फिक्सहरू पनि राख्नुहोस्,
  • इमेलमा आएका लिङ्क वा एट्याचमेन्टहरू खोल्नु अगाडि सावधान हुनुहोस्। नचिनेका व्यक्तिबाट आएका इमेलमा त्यस्ता कुराहरूमा हत्तपत्त क्लीक नगर्नुहोस्,
  • आफ्ना महत्त्वपूर्ण जानकारीहरू, डेटा, तस्बिर, भिडि‌ओ र अन्य फाइलहरूको अन्य कम्प्युटर वा इन्टरनेट वा हार्डड्राइभमा ब्याकअप राख्नुहोस्,
  • र साइबर सुरक्षा विज्ञ प्राध्यापक एलान उडवार्ड भने झै 'एबीसी' सम्झनुहोस्। यसको अर्थ 'अजुम नथिङ्, बिलिभ नो ओन, चेन एभ्रीथिङ' अर्थात यो होला नभन्ठान्नुहोस्, कसैलाई पनि विश्वास नगर्नुहोस् र सबै कुरा जाँच गर्नुहोस्।

साइबर सुरक्षासम्बन्धी कम्पनी इम्सीसफ्टका प्रमुख फबियन वोसरले साइबर अपराधीसँग जुध्न र पीडितलाई मद्दत गर्ने अमेरिकाले धेरै गर्नुपर्ने बताएका छन्।

वोसरले बीबीसी न्यूजलाई भने: "नो मोर र्‍यान्समजस्ता परियोजनाहरू विश्वव्यापी रूपमा र्‍यानसमवेयरसँग लड्नका लागि निकै महत्त्पपूर्ण रहँदै आएका छन्।"

"नो मोर र्‍यान्सम परियोजनाको सफलतालाई हेरेर अमेरिकाले त्यस्तै काम गर्ने बेला आएको मान्नुपर्छ।"