एमजन इन्डियाः गाँजा बेचेको आरोपमा कम्पनीका अधिकारीहरूमाथि मुद्दा चलेको अस्वीकार

एमजन

तस्बिर स्रोत, Getty Images

भारतमा गाँजा तस्करीका लागि अनलाइन किनमेल वेबसाइट एमजन प्रयोग भएको आरोप लागेपछि उक्त कम्पनीका वरिष्ठ अधिकृतहरूमाथि लागुपदार्थ कारोबारको मुद्दा परेको भन्ने विवरणको उक्त कम्पनीले खण्डन गरेको छ।

सञ्चारमाध्यममा मध्यप्रदेश प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको र एमजनका कर्मचारीलाई पनि अभियोग लगाएको समाचार आएको थियो।

प्रहरीले मध्यप्रदेशको घटनामा एमजन इन्डिया सेलर सर्भिसेजको नाम उल्लेख गरेको थियो।

यद्यपि सरकारी निकायले उक्त घटनाबारे अनुसन्धान गरिरहेको भए पनि कसैलाई अभियोग भने लगाएको छैन।

"यो घटनामा एमजनका कार्यकारीहरूलाई पक्राउ गरिएको वा मुद्दा लगाइएको भन्ने विवरणहरू असत्य हुन्। अनि एमजनका कुनै कार्यकारीको नाम अनुसन्धानमा आएको छ भन्ने विषयबारे हामीलाई थाहा छैन," उक्त कम्पनीले बीबीसीलाई भन्यो।

एमजनले आफूले अनुसन्धानमा सघाइरहेको बताएको छ।

"अनाचारप्रति एमजनको शून्य-सहनशीलता छ र हाम्रा नीति वा विद्यमान कानुन उल्लङ्घन गर्ने व्यक्ति वा तेस्रो पक्षलाई [एमजनले] कडा कारबाही गर्छ," उसले एउटा विज्ञप्तिमा भनेको छ।

भारतका अन्य राज्यमा २० केजी गाँजा तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेपछि यो विषयमा अनुसन्धान थालिएको हो।

ती व्यक्तिले एमजन वेबसाइटमा "स्टिभिया" को पात भन्दै गाँजा बेचेका थिए।

एमजनले आफ्नो साइटमा गैरकानुनी पदार्थ बेच्न राख्न नपाइने नियम भएको बताएको छ।

"अनुसन्धानको क्रममा दिइएको दस्ताबेजमा फरकफरक कुरा परेको र छलफलका क्रममा पत्ता लागेको तथ्यका"आधारमा उनीहरूमाथि मुद्दा दर्ता गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

सो वेबसाइट प्रयोग गरेर लगभग एक लाख ४८ हजार अमेरिकी डलर बराबरको गाँजा बेचिएको अनुमान छ।

यो घटनाबाट एमजनलाई भारतभित्र व्यापार गर्न अर्को कानुनी समस्या बनेको छ। भारतमा एमजनमाथि प्रतिस्पर्धासम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ।

एमजन र अर्को अमेरिकी कम्पनी वाल्मार्टद्वारा सञ्चालित फ्लिपकार्टले केही व्यापारीहरूलाई विशेष व्यवहार गरेको आरोपबारे छानबिन भइरहेको छ।

एमजनले सेप्टेम्बरमा एक वा बढी कर्मचारीले भारतीय सरकारी अधिकारीहरूलाई घुस दिएको दाबीबारे आन्तरिक छानबिन सुरु गरेको थियो।

हालैका वर्षहरूमा भारतीय प्रहरीले लागुऔषध तस्करी र प्रयोगविरुद्ध आफ्नो कारबाहीलाई तीव्र बनाएको छ।

गत वर्ष धेरै चर्चित भारतीय कलाकार र टेलिभिजन प्रस्तोताहरू लागुऔषधसम्बन्धी अनुसन्धानको दायरामा परेका थिए।

गत महिना चर्चित कलाकार शाहरुख खानका २३ वर्षीय छोरा आर्यन खानलाई एउटा समारोहमा लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो। खानले सो कुरा अस्वीकार गरेका छन्।

एमजनका कार्यकारीहरूमाथि अनुसन्धान मात्रै सुरु भएको र मुद्दा भने नचलाइएको विवरण स्पष्ट पार्न यो समाचार अद्यावधिक गरिएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कफीमा लुकाएर कोकेन तस्करी