व्यापार विवाद: भारतमा संसारका दुई धनाढ्य कम्पनीबीच खुद्रा व्यापारको विषयलाई लिएर कानुनी लडाइँ

रिलायंस

तस्बिर स्रोत, Getty Images

भारतमा दैनिक उपभोग्य सामानहरू बेच्ने एउटा कम्पनीको विषयलाई लिएर संसारका सबैभन्दा धेरै धनीमध्येका दुई व्यापारी एकअर्काको विपक्षमा उभिएका छन्।

संसारको सबैभन्दा ठूलो ई-कमर्स व्यवसाय एमजन र भारतको सबैभन्दा ठूलो कम्पनी रिलायंस दुवैले फ्यूचर ग्रूप नामक अर्को कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरेपछि मतभेदको नयाँ अवस्था उत्पन्न भएको हो।

विश्लेषकहरूका अनुसार अमेरिकी र भारतीय कम्पनीहरूबीच भारतमा व्यापार विस्तारको विषयलाई लिएर उत्पन्न भएको द्वन्द्वले भविष्यमा भारतमा विद्युतीय व्यवसाय ई-कमर्सको अवस्था विकासलाई निर्धारण गर्न सक्छ।

एमजन कम्पनीले संस्थापक जेफ बेजोसलाई संसारको सबैभन्दा धनी मानिस पनि बनाएको थियो। हाल बेजोस संसारका सबैभन्दा धनी व्यक्ति नभए पनि उनले स्थापना गरेको कम्पनीले संसारमा खुद्रा व्यवसायको स्वरूप नै बदलिदिएको छ।

रिलायंसका प्रमुख कार्यकारी मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति हुन् र उनी पनि स्थापित बजारमा परिवर्तनकारी भूमिका खेल्ने व्यापारीका रूपमा परिचित छन्।

के छ योजना?

जेफ बेजोस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एमजनका संस्थापक जेफ बेजोस

एमजन भारतमा तीव्र गति विस्तार भइरहेको छ। त्यहाँको बढ्दो ई-कमर्स बजारबाट फाइदा लिने उसले आशा गरेको छ।

रिलायंसले पनि उस्को ई-कमर्स र दैनिक उपभोगका घरेलु सामग्रीको व्यवसाय विस्तार गर्ने योजना बनाएको छ।

'फ्यूचर ग्रूप' ले यो वर्षको आरम्भतिर ३.४ अर्ब डलर बराबरको आफ्नो खुद्राव्यापारसँग सम्बन्धित सम्पत्तिहरू रिलायंसलाई बेचेको थियो।

फ्यूचर ग्रूपको एउटा अङ्ग फ्यूचर कूपन्समा सन् २०१९ देखि एमजनको ४९% हिस्सा रहँदै आएको छ।

यसबाट उस्लाई फ्यूचर ग्रूपको अर्को अङ्ग फ्यूचर रिटेलको हिस्सामा अप्रत्यक्ष स्वामित्व हासिल हुन पुग्छ।

के छ उनीहरूको तर्क?

मुकेश अम्बानी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रिलायंसका प्रमुख कार्यकारी मुकेश अम्बानी

एमजनले त्यस्तो स्वामित्व खरिद सम्झौताको एक भागअन्तर्गत फ्यूचर ग्रूपले रिलायंससहित केही छानिएका भारतीय कम्पनीहरूलाई त्यस्तो हिस्सा विक्री गर्न पाउँदैन भन्ने तर्क गरेको छ।

फ्यूचर ग्रूपले कोरोनाभाइरस महामारीको नराम्रो असर परेकाले व्यवसायलाई जोगाइराख्न रिलायंसलाई कम्पनीको हिस्सा विक्री गर्न आवश्यक रहेको बताएको छ।

दुई पक्षबीचको पछिल्लो कानुनी लडाइँ फ्यूचर ग्रूपको पक्षमा गएको देखिएको छ।

गत सोमवार दिल्लीको उच्च अदालतले त्योभन्दा अघिल्लो हप्ता उक्त हिस्सेदारी किनबेचको प्रक्रियालाई स्थगित गर्न गरेको निर्णयलाई उल्टाइदिएको छ।

एमजनले त्यसका विरुद्ध पुनरावेदन गरेको छ।