एआई नीति हेर्न ट्रम्पद्वारा 'सूपर इन्टेलिजन्स फोर्स' सार्वजनिक

तस्बिर स्रोत, Getty Images
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आर्टिफिशल इन्टेलिजन्स (एआई)मा केन्द्रित एउटा नयाँ कार्यदल गठन गरिएको घोषणा गरेका छन्।
'सूपर इन्टेलिजन्स फोर्स' नाम दिइएको उक्त निकायको नेतृत्व अमेरिकाको 'न्याश्नल इन्टेलिजन्स'का निर्देशक जे क्लेटनले गर्ने छन्।
सामाजिक सञ्जालमा आइतवार गरेको एउटा पोस्टमा उक्त कार्यदलले अमेरिकालाई एआई प्रविधिको विकासमा निरन्तर अग्रस्थानमा राख्न र सर्वसाधारण मानिससँग सरकारको सहकार्यलाई समन्वय गर्न काम गर्ने उल्लेख छ।
उक्त निकायको नाममा पहिला प्रस्तावित 'आर्टिफिशल' शब्द फेरेर 'सूपर इन्टेलिजन्स' राख्ने कार्यकारी आदेशमा गत साता २९ सेप्टेम्बरमा हस्ताक्षर गरेका थिए। 'आर्टिफिशल' भन्दा 'नक्कली' भने जस्तो सुनिने तर्क उनको थियो।
प्रमुख प्रविधि कम्पनीका प्रमुखहरूले गत साता एउटा सम्झौतामा हस्ताक्षर गरेपछि एआई सुरक्षा हेर्ने एउटा बोर्ड बनाउने बताएका थिए। ट्रम्पले उक्त सम्झौताको पालना "नैतिक रूपमा बाध्यकारी" भएको टिप्पणी गरेका थिए।
यो निकायले के गर्छ

तस्बिर स्रोत, Bloomberg via Getty Images
"सूपर इन्टेलिजन्स फोर्सले उपभोक्ता, सार्वजनिक हितका समूह, धार्मिक सङ्गठन, महत्त्वपूर्ण पूर्वाधार प्रदायक र सूपर इन्टेलिजन्स कम्पनीहरूसँग सङ्घीय सरकारको सहकार्यलाई समन्वय गर्ने छ," ट्रम्पले लेखेका छन्।
अमेरिकाको फेडरल ट्रेड कमिशनका अध्यक्ष एन्ड्रू फर्गुसन, अनुसन्धान तथा इन्जिनिअरिङका लागि रक्षा उपमन्त्री एमिल माइकल र अफिस अफ पर्सनेल म्यानेज्मन्टका निर्देशक स्कट कूपर पनि यो कार्यदलका सदस्य छन्।
यो निकायले सीधै राष्ट्रपति र ह्वाइट हाउसकी चीफ अफ स्टाफ सुसी वाइल्सअन्तर्गत रहेर काम गर्ने छ।
क्लेटनले गत अगस्टदेखि न्याश्नल इन्टेलिजन्सको नेतृत्व सम्हालेका हुन्।
"कुनै कुरा एकैपटक अवसर र खतरा दुवै बन्यो भने तपाईँले त्यसलाई राम्ररी नियन्त्रणमा लिनु वा बुझ्नु आवश्यक हुन्छ," क्लेटनले एआईका सम्बन्धमा यसअघि भनेका थिए।
न्यूयोर्कको सदर्न डिस्ट्रिक्टमा सरकारी वकिल हुँदा क्लेटनले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलास मदुरोविरुद्ध परेको लागुऔषध तस्करीसहित धेरै चर्चित मुद्दाहरू हेरेका थिए।
स्वनियमनको जिम्मेवारी
ओपनएआई र एन्थ्रोपिकका प्रमुखहरूसहित एआई क्षेत्रका दिग्गज व्यक्तिहरूले यो प्रविधिको नियमनलाई कडा बनाउन थप दबाव दिएपछि यो कार्यदल बनेको हो।
अक्टोबर ४ मा प्रकाशित एउटा अन्तर्वार्तामा ओपनएआईका मुख्य कार्यकारी साम अल्ट्मनले एआईबाट हुने सक्ने लाभहरूका कारण केही जोखिम स्वीकार गर्न उचित हुने अनि यो प्रविधि सर्वसाधारणको पहुँचमा रहनुपर्ने तर्क गरेका छन्।
'पोलिटिको' न्यूलेटर 'डिकोडेड'सँग कुरा गर्दै अल्ट्मनले भने, "यो प्रविधिको फाइदा र मानिसहरूले यसको प्रयोग गर्न पाउने अधिकारका लागि विश्वले केही नराम्रा कुराहरू भइहालेमा पनि त्यसलाई स्वीकार गर्नुपर्छ।"
कडा निगरानी हुनुपर्ने मागलाई ट्रम्पले अस्वीकार गरेका छन्। उनले नियमनको धेरैजसो जिम्मेवारी एआई कम्पनीहरूलाई नै छोडिदिएका छन्।
एआई कसरी एसआई बन्यो
सेप्टेम्बर २९ मा हस्ताक्षर गरिएको सम्झौतामा ओपनएआई, एन्थ्रोपिक, स्पेसएक्स र गुगलजस्ता शीर्ष प्रविधि कम्पनीका कार्यकारीहरूले हस्ताक्षर गरेका थिए।
त्यही दिन ट्रम्पले सरकारी निकायहरूलाई "एसआई" र "सूपर इन्टेलिजन्स" शब्दहरू प्रयोग गर्न र 'आर्टिफिशल इन्टेलिजन्स' (एआई) शब्दको प्रयोगलाई मान्यता नदिन निर्देशन दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरे।
सबै आधिकारिक पत्राचार, वेबसाइट, प्रतिवेदन र अन्य प्रकारका सञ्चारमाध्यममा 'एआई'को साटो 'एसआई' प्रयोग गरिने उक्त कार्यकारी आदेशमा उल्लेख छ।
केही विज्ञहरूले शब्द फेर्नेका लागि अघि सारिएको तर्कमाथि प्रश्न उठाउँदै 'सूपर इन्टेलिजन्स' को प्रयोगले द्विविधा उत्पन्न गराउन सक्ने औँल्याएका छन्। उनीहरूका अनुसार 'सूपर इन्टेलिजन्स'ले अझ उन्नत प्रणालीलाई जनाउँछ।
खर्बपति इलोन मस्कसहित प्रविधि उद्योगका दिग्गजहरूले नयाँ नाम प्रयोग गर्न थालिसकेका छन्। मस्कले आइतवार सामाजिक सञ्जालमा आफ्नो कम्पनीको एआई प्लेटफर्म 'SpaceXAI' को नाम फेरेर 'SpaceXSI' राख्ने बताएका छन्।
"स्पेसएक्स एउटा सूपर इन्टेलिजन्स कम्पनी हो," मस्कले लेखेका छन्। उनी टेस्काका पनि प्रमुख हुन्।
युद्धको भविष्यबारे अध्ययन गर्ने एउटा परियोजनामा संलग्न गराउन मस्कलाई भर्खरै अमेरिका सरकारमा फेरि ल्याइएको छ।
यसअघि उनले ट्रम्प प्रशासनमा 'डिपार्टमन्ट अफ गभर्न्मन्ट एफिशन्सी'को नेतृत्व गरेका थिए। तर ट्रम्पसँगको सार्वजनिक विवादपछि उनी उक्त भूमिकाबाट बाहिरिएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















