लागुपदार्थ बोकेको भ्यान प्रहरीका गाडीमा ठोकिएपछि...

तस्बिर स्रोत, Getty Images
अस्ट्रेलियामा करोडौँ डलर मूल्य पर्ने लागुपदार्थ तस्करी गर्दै गर्दा अनपेक्षित तरिकाले प्रहरीको फन्दामा परेका एक व्यक्तिलाई अदालतले जेल सजाय सुनाएको छ।
न्यूसाउथ वेल्सको सडकमा झन्डै २६० किलो मेथम्फेटमाइन नामक लागुपदार्थ ओसारपसार गर्न प्रयोग गरिएको उनको भ्यान प्रहरीले बिसाएर राखेका दुईवटा गाडीमा अकस्मात् ठोकिएको थियो।
घटना गत वर्ष जुलाई महिनाको हो। दोषी ठहर व्यक्तिको नाम साईमन टु भएको बताइएको छ।
अब उनले साढे छ वर्ष कारावासमा बस्नुपर्नेछ।
आफ्ना सवारीसाधनलाई हानेर भाग्ने गाडीको खोजी गर्दै जाँदै उनीहरूले सन्दिग्ध व्यक्ति र ठूलो परिमाणमा लागुपदार्थ पनि फेला पारेका थिए।
उक्त लागुपदार्थको मूल्य बजारमा १३ करोड अस्ट्रेलियाली डलर (११.१३ अर्ब रुपैयाँ) पर्ने बताइएको छ।
उनलाई पक्राउ गरेपछि गुप्तचर प्रहरीका एक वरिष्ठ अधिकारीले सञ्चारमाध्यमलाई भनेका थिए: “न्यूसाउथ वेल्स प्रहरीले यो अहिलेसम्म सजिलै बरामद गरिएको लागुऔषध हो।"
के भएको थियो?
टुले सिड्नीको एउटा प्रहरी कार्यालयबाहिर प्रहरीका गाडीमा ठक्कर दिएका थिए। तर ती गाडीमा कोही पनि चढेको थिएन। तीमध्ये एउटा गाडीमा नराम्रो क्षति पुगेको थियो।
घटनापछि उनी आफ्नो गाडी पछाडि सारेर भागेका थिए।
सो घटना सीसीटीभीले खिचेको थियो र प्रत्यक्षदर्शीहरूले उनको भ्यानको हुलिया प्रहरीलाई बताएका थिए।
त्यसको एक घण्टाभित्रै प्रहरीले पक्राउ गर्दा टुले आफूले खाद्यसामग्री ओसारपसारको काम गरिरहेको बताएका थिए।
खानतलासी हुनसक्ने डरले उनले प्रहरीसँग आँखा जुधाएर कुरा गर्न सकेका थिएनन्।
प्रहरीले उनको गाडीबाट लागुपदार्थ हालिएका १३ वटा बाकस बरामद गरेको थियो।
अदालतका अनुसार टु स्वयं दैनिकजसो कोकिन र रक्सी सेवन गर्थे।
शुक्रवार फैसला सुनाउँदै न्यायाधीश पेनी हूकले भनिन्, "यो अपराधीले सजाय पाउनु आफ्नै अक्षमता वा अव्यवस्थित तरिकाका कारण थियो। उनका अभियोजनकर्ताका जाहेरीकै भाषामा- प्रहरीको आँखा तानिनेगरी भएको गाडी चलाउने काम।”
न्यायाधीश हुकले टु पक्राउ पर्नु ‘अपराधीका लागि निकै दुर्भाग्यपूर्ण घटना तर समुदायका लागि निकै फलदायी काम’ भएको बताएकी थिइन्।










