'इन्धन बचतका लागि' नागढुङ्गा सुरुङमार्ग अस्थायी सञ्चालनमा ल्याउने उपाय कति व्यावहारिक

तस्बिर स्रोत, Nepal Photo Library
एक जना ऊर्जा विज्ञले सञ्चालनका लागि तयारी अवस्थामा रहेको नागढुङ्गा सिस्नेरी सुरुङमार्ग अस्थायी सञ्चालनमा ल्याउन सके अहिलेको इन्धन सङ्कटमा केही हदसम्म भए पनि राहत मिल्ने बताएका छन्।
यो मार्ग सञ्चालनका लागि नेपाली कम्पनीसँगको साझेदारीमा चिनियाँ कम्पनी छनोट भइसकेको आयोजनाले जनाएको छ।
उक्त कम्पनीसँग वैशाख पहिलो साता सम्झौता हस्ताक्षर हुने बताइएको छ।
कुल २,६८८ मिटर लामो उक्त सुरुङले नौबिसे काठमाण्डू सडकखण्डको यात्रा करिब तीन किलोमिटर छोट्ट्याएर यात्रा अवधि औसत २० मिनेटमा झार्ने ठानिएको छ।
यो सुरुङले उकालो, घुम्ती र धेरै जाम हुने क्षेत्र छल्न सहयोग पुर्याउने जानकारहरू बताउँछन्।
एक अध्ययनका अनुसार यो सडक खण्ड भएर दैनिक १४ हजार सवारीसाधन आवतजावत गर्छन्। जसमध्ये ७ देखि ८ हजार चार पाङ्ग्रे सवारीसाधन यो सडक खण्ड भएर दैनिक आवतजावत गर्ने आकलन गरिएको सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले बताए।
सुरुङमार्गबाट मोटरसाइकल जस्ता दुई पाङ्ग्रे र टेम्पोजस्ता तीन पाङ्ग्रे सवारीसाधन आउजाउ गर्न पाउने छैनन्।
त्यसैगरी इन्धन लगायतका अति प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधनले पनि यो मार्गमा प्रवेश पाउने छैनन्।
"यो सुरुङमार्गबाट पैदलयात्रा गर्न पनि पाइँदैन," आयोजना प्रमुख नेपालले भने।
'इन्धन सङ्कट सम्बोधनमा सहयोगी'

तस्बिर स्रोत, NTCP
नेपालको पहिलो आधुनिक यातायात सुरुङका रूपमा नागढुङ्गा सिस्नेरी सुरुङमार्गलाई लिइएको छ। केही जलविद्युत् आयोजनाले निर्माण गरेका सुरुङहरू सवारी आवतजावत गर्न सक्ने क्षमताका भए पनि व्यावसायिक सडक प्रयोजनका लागि बनाइएको आधुनिक सुरुङ यो नै पहिलो भएको सुरुङ विज्ञ श्रीराम न्यौपाने बताउँछन्।
"आधुनिक प्रविधिको सुरुङमार्गमा यो पहिलो हो," न्यौपाने भन्छन्।
राणाकालमा बनेको बाराको चुरियामाई सुरुङलाई नेपालकै पहिलो सुरुङमार्गका रूपमा चिनिने गरिएको छ। चुरियामाई मन्दिरको छेवैमा सन् १९१८मा तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरका पालामा बनाइएको सुरुङमार्ग अहिले प्रयोगमा छैन।
काठमाण्डू तराई मधेश द्रुतमार्ग र पाल्पाको सिद्धबाबामा पनि सडक प्रयोजनका लागि सुरुङमार्गहरू निर्माणाधीन छन्।
"उकालो बाटोमा धेरै ठूलो लोड लिएर गाडीहरू आउने क्रममा धेरै इन्धन खर्च हुन्छ," राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख न्यौपाने भन्छन्।
"पैसाकै हिसाबले पनि यो सुरुङले ठूलो बचत गराउँछ।"
सुरुङमार्ग अस्थायी सञ्चालनमा ल्याउँदा अहिलेको इन्धन सङ्कट सम्बोधन गर्न सहयोग पुग्नेबारे आफूले पार्टीको माध्यमबाट सरकारको ध्यानाकर्षण समेत गराएको बताएका छन्।
"यो ऊर्जाको सङ्कटलाई झेल्न अलिकति भए पनि त्यसले सहयोग गर्छ भन्ने हिसाबले केही समयमा लागि (सञ्चालन गर्न) मिल्छ। तर सरकारले निर्णय गरेर अघि बढाउनुपर्यो," न्यौपानेले बीबीसी न्यूज नेपालीसँग भने।
आयोजनाको भनाइ के छ?

तस्बिर स्रोत, Nagdhunga Tunnel Construction Project
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नेपाल सुरक्षाका पूर्वाधारहरू तयार नगरी सुरुङमार्ग प्रयोगमा ल्याउँदा जोखिम हुने बताउँछन्।
यसअघि दशैँमा उक्त सुरुङ मार्गको परीक्षणका लागि खुला गर्ने तयारी गरे पनि सुरक्षा पूर्वाधार तयार नभएको भन्दै अन्तिम समयमा परीक्षण सञ्चालन स्थगित भएको थियो।
तर देशै भरी आएको बाढी पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई सहज आवतजावतका लागि केही समय सुरुङमार्गबाट सवारीसाधन ओहोरदोहोर गर्न खुला गरिएको भए पनि सडकमार्ग खुला हुनासाथ यो सुरुङमार्गबाट यात्रा रोकिएको थियो।
"आपत्कालीन अवस्थामा उद्धार व्यवस्थापन लगायतका पूर्वाधार नभईकन हामीले सुरुङ निर्माण मात्रै ठूलो कुरा भएन। सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने विषय पनि छ। त्यो व्यवस्था नभईकन सार्वजनिक रूपमा खुला चाहिँ गर्न सकिँदैन भन्ने नै छ," उनले भने।
सुरुङमार्ग सञ्चालनका लागि एम्बुलेन्स, अग्नि नियन्त्रण उपकरण देखि बिग्रिएका सवारीसाधनलाई तानेर बाहिर ल्याउनेसम्मका उपकरण तयारी राख्नुपर्ने आयोजनाको भनाइ छ।
सञ्चालनको जिम्मा पाउने कम्पनीले उद्धार टोली तयार गरेर उनीहरूलाई तालिम दिनुपर्ने आवश्यकता पनि रहेको नेपाल बताउँछन्।
कहिलेबाट सञ्चालनमा आउँछ सुरुङ

तस्बिर स्रोत, Nagdhunga Tunnel Construction Project
आयोजना प्रमुख नेपालका अनुसार परीक्षण सञ्चालनका लागि पनि अझै एक महिना लाग्ने देखिएको छ।
सरकारले सुरुङ सञ्चालनका लागि छनौट भएको कम्पनीसँग सम्झौता गर्ने काम अन्तिम चरणमा पुर्याएको छ।
"वैशाखको अन्तिमसम्ममा परीक्षण गर्न सकिन्छ कि भन्ने छ," नेपालले भने।
"पूर्ण सञ्चालनमा आउन नयाँ आर्थिक वर्षको आसपास पुग्ला।"
सुरुङमार्ग सञ्चालनको जिम्मा पाउने कम्पनीले आवागमन व्यवस्थापन, सुरुङमार्ग भएर गुड्ने सवारीसाधनसँग प्रवेश शुल्क 'टोल' सुरुङभित्र जडान भएका उपकरणको सञ्चालन र मर्मत, आपत्कालीन अवस्थामा उद्धार तथा नियमित मर्मत गर्ने काम पाँच वर्षसम्म गर्ने छ।
सुरुङमार्ग सञ्चालनका लागि सरकारले वार्षिक २२ करोड रुपैयाँ हाराहारी खर्च गर्नुपर्ने देखिएको आयोजनाको भनाइ छ।
"उहाँहरूले उठाएको टोल सिधै सडक बोर्डको खातामा जान्छ। त्यो पैसा उहाँहरूले प्रयोग गर्न पाउनुहुन्न। उहाँहरूको लागत हामीले दिने हो," नेपाल भन्छन्
आयोजनाका अधिकारीहरूले उक्त सुरुङमार्गको सञ्चालन, मर्मतसम्भार र कर्मचारीको तलब सुविधा सरकारले दिने बताएका छन्।
कति उठ्ला रकम?

तस्बिर स्रोत, Nagdhunga Tunnel Construction Project
यो सुरुङमार्ग निर्माणका लागि हालसम्म २२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। जसमध्ये १६ अर्ब रुपैँया जापानको सहुलियत ऋण र छ अर्ब नेपालको आफ्नै लगानी हो।
सुरुङमार्गका लागि थप साढे पाँच अर्ब ऋण स्वीकृत भएको आयोजनाले जनाएको छ।
मङ्गलवारको मन्त्रिपरिषद् बैठकले सुरुङमार्गको धादिङतर्फको क्षेत्रमा पर्ने थप निजी जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको छ।
तर यो सुरुङमार्ग सञ्चालनबाट ऋण तिर्ने अवस्था अहिले नरहेको अधिकारीहरू बताउँछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार यो सुरुङमार्गबाट यसको सञ्चालन गर्नका लागि आवश्यक रकम मात्रै उठ्ने आकलन गरिएको छ।
"यसबाट उठेको पैसाले ऋण तिर्ने सम्भावना अहिले छैन। त्यसले यसको सञ्चालन खर्च मात्रै पुग्छ," पोखरेलले भने।
नागढुङ्गा भएर गुड्ने चार पाङ्ग्रे सवारी साधनको ६० प्रतिशत सवारी यो सुरुङ भएर गए भने सञ्चालन तथा मर्मतसम्भार खर्च बराबरको रकम उठ्ने आकलन अधिकारीहरूको छ।
सरकारले उक्त मार्ग प्रयोग गर्दा लाग्ने दस्तुरको दर तय गरिसकेको छ।
सवारीसाधनका प्रकृतिअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म दस्तुर उठाउने निर्णय भएको छ।
सरकारको निर्णयअनुसार उक्त सुरुङमार्ग भएर सङ्घीय राजधानी प्रवेश गर्ने प्रत्येक कार र भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने हुन्छ।
सुरुङमार्गमार्फत् काठमाण्डू आउँदा प्रत्येक मिनिबस र मिनिट्रकलाई ११५ रुपैयाँ र फर्कँदा ८० रुपैयाँ तोकिएको छ।
प्रत्येक बस तथा ट्रकले भने काठमाण्डू छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तिर्नुपर्ने सरकारले जनाएको छ।
भारी ट्रक र उपकरणले ६०० भित्रिँदा र बाहिरिँदा २५० रुपैँया तिर्नुपर्ने जानकारी राजपत्रमा छापिएको छ।
करिब सात वर्षअघि सुरु भएको उक्त आयोजनाका लागि काम सम्पन्न गर्न सुरुमा साढे तीन वर्षको समयावधि दिइएको थियो। तर पछि पटकपटक म्याद थपेर आगामी जेठबाट सञ्चालन गर्ने बताइएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
























