कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा दशौँ हजार सुरक्षाकर्मी परिचालन

जन्तरमन्तरसम्म जान सडकहरूमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ
    • Author, गीता पाण्डे
    • Role, सामाजिक मामिला सम्पादक, भारत
  • Published
  • पढ्ने समय: ३ मिनेट

जेनजी नेतृत्वको कक्रोच जनता पार्टी सीजेपीले शनिवारका लागि घोषणा गरेको एउटा ठूलो विरोधप्रदर्शनअघि भारतको राजधानी दिल्लीका कैयौँ हिस्सामा दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

चुनावमा सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरूको माग छ। मतदाता नामावलीबाट ठूलो सङ्ख्यामा मतदाताहरू हटाइएको आरोपमा प्रमुख निर्वाचन आयुक्त मुछिएका छन्।

तर भारतको निर्वाचन आयोगले उक्त आरोप अस्वीकार गरेको छ भने आफ्नो राजीनामाको मागबारे प्रमुख आयुक्तले अहिलेसम्म केही बोलेका छैनन्।

प्रदर्शनका लागि अनुमति नदिइएको प्रहरीले दाबी गरिरहँदा सीजेपी नेताहरूले जन्तरमन्तर पुग्ने बताएका छन्।

प्रदर्शनअघि शनिवार बिहान सीजेपीका संस्थापक अभिजित दीपकेले प्रदर्शनका क्रममा आफूलाई पक्राउ गरियो भने पनि निष्पक्ष चुनावका लागि सङ्घर्ष जारी रहने बताएका छन्।

"मलाई आश्चर्य लागेको छ कि प्रधानमन्त्री यो देशका युवाहरूसँग किन यति त्रसित हुनुहुन्छ? सबै रेलवे सेवा र मेट्रो स्टेशनहरू बन्द गर्नु के आवश्यक थियो? उहाँले इन्टरनेट र यातायात सेवा बन्द गराइसक्नुभएको छ," दीपकले भनेका छन्।

इतिहास रच्ने दाबी

यसअघि दमन गरेको भन्दै प्रहरीको आलोचना भएको थियो

सीजेपीका सहसंयोजक आशुतोष राङ्काले आफूहरूले इतिहास रच्ने बताएका छन्। "प्रिय कक्रोचहरू! मलाई गर्व छ कि हामीहरूले अहिलेसम्म यति लामो यात्रा तय गर्‍यौँ। जेसुकै होओस्, हामीले इतिहास अवश्य रच्ने छौँ," एक्समा उनले लेखेका छन्।

"एउटा कुरा याद राख्नुहोला तपाईँको हातमा संविधान र मुटुमा गान्धी हुनुपर्छ। जेसुकै होओस्, हामीले हात उठाउने छैनौँ। भारत माताकी जय।"

उनीबाहेक सीजेपीका संस्थापक दीपके, सर्वोच्च अदालतका वरिष्ठ वकिल प्रशान्त भूषण, सामाजिक तथा राजनीतिक कार्यकर्ता योगेन्द्र यादव, एआईएसएकी अध्यक्ष नेहा बोरा र प्रसिद्ध यूट्युबर ध्रुव राठीले पनि मानिसहरूलाई प्रदर्शनमा सहभागी हुन अपील गरेका छन्।

सीजेपीले गर्न लागेको प्रदर्शनअघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनहरूबाट आउजाउ गर्ने २५० भन्दा बढी रेल सेवाहरू रद्द गरिएको छ।

समाचारसंस्था पीटीआईका अनुसार रेलवे बोर्डको निर्णयानुसार अक्टोबर ९ तारिखको दिन दिउँसो २ बजेपछि सेवा प्रस्थान स्टेशनहरूबाट छुट्ने यात्रु रेल सेवा रद्द गरिएको हो।

त्यसै गरी अक्टोबर १० तारिखको दिन बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ दिल्ली वा हजरत निजामुद्दीन स्टेशनमा आइपुग्ने रेलहरू पनि रद्द गरिने अधिकारीहरूले बताएका छन्।

रेलवे बोर्डको आलोचना

रेलवे सेवा बन्द गरिएकोमा आलोचना भइरहेको छ

ठूलो सङ्ख्यामा रेल सेवाहरू रद्द गर्ने निर्णयले हजारौँ यात्रुहरूलाई परेको असुविधाबारे प्रश्न उठाइएको छ।

भूतपूर्व रेलवे अधिकारीहरू, यात्रु सङ्गठनहरू र कर्मचारी युनियनहरूले उक्त कदमको आलोचना गरेका छन्।

भूतपूर्व रेलवे बोर्ड सदस्य सुबोध जैनले भने, "यति ठूलो सङ्ख्यामा रेल सेवाहरू रद्द गर्नु प्रदर्शनकारीहरूसामु आत्मसमर्पण गर्नु सरह हो।"

अखिल भारतीय रेलवे कर्मचारी महासङ्घका महासचिव शिवगोपाल मिश्राले रेलवे सेवाको निर्णयको आलोचना गरे।

"देशको कुनै पनि भागमा विरोध प्रदर्शन वा आन्दोलनका कारण यति ठूलो संख्यामा रेलहरू एकैसाथ रद्द भएको मलाई पहिले कहिल्यै याद छैन," समाचारसंस्था पीटीआईसँग उनले भने।

रेल सेवा अचानक रद्द हुँदा हजारौँ यात्रुहरूले ठूलो असुविधाको सामना गर्नुपरेको मिश्राले जिकिर गरेका छन्।

अर्कोतर्फ दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसीले ४५ वटा मेट्रो स्टेशनहरूका प्रवेश र निकास बिन्दुहरू बन्द गरिएको जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।