चिसो मरुस्थलको आफ्नो थातथलो जोगाउन भोक हड्ताल गर्ने भारतीय अभियानकर्मी

तस्बिर स्रोत, Getty Images
- Author, नियाज फारुकी
- Role, बीबीसी न्यूज अनलाइन
भारतको सुदूरउत्तरस्थित बरफ जम्ने चिसो मरुस्थलमा रहेको आफ्नो गृहनगरको पर्यावरण जोगाउन हालै सोह्र दिने भोक हड्ताल गरेका भारतीय जलवायुसम्बन्धी अभियानकर्मीले आफ्नो संघर्ष अझै नसकिएको बताएका छन्।
सन् २००९ मा बलिवूड स्टार आमीर खानले एउटा चर्चित चलचित्रमा यी अभियानकर्मीबाट प्रभावित एक चरित्रको भूमिका निर्वाह गरेपछि ५८ वर्षे सोनाम वाङ्चुक भारतभर परिचित हुन पुगे।
उनी लामो समयदेखि इन्जिनियरिङ तथा नवप्रवर्तनको क्षेत्रमा समेत क्रियाशील छन्।
तर हालका महिनाहरूमा उनी आफ्नो गृहक्षेत्र लद्दाखका जनताका निम्ति अधिक स्वशासनको माग गर्दै आन्दोलन गर्ने गरेकाले चर्चामा छन्। लद्दाख भारत र चीनको सीमा विवाद हुने गरेको क्षेत्रको केन्द्रमा छ।
सन् २०१९ सम्म लद्दाख भारत–प्रशासित काश्मिरको हिस्सा थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर राज्यले पाउँदै आएको "विशेष दर्जा" हटादिएपछि यो क्षेत्र जम्मु र कश्मीर तथा लद्दाख गरी संघ शासित दुईवटा क्षेत्रमा विभाजित भयो।
नयाँ व्यवस्था लागू भएपछि हालै पहिलोपटक जम्मु र कश्मीरमा विधानसभाको चुनाव भयो। तर लद्दाख अहिले पनि व्यवस्थापिकाविहीन स्थितिमा सङ्घबाट शासित हुँदै आएको छ।
लद्दाखका मानिसहरूले यो निष्पक्ष नभएको भन्दै लद्दाखमा पनि आफ्नै जनप्रतिनिधिहरू हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
साथै उनीहरूले यस क्षेत्रमा भइरहेका पूर्वाधारसम्बन्धी गतिविधिहरूको गतिलाई लिएर समेत चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार त्यसले यहाँको नाजुक वातावरणलाई हानि गरिरहेको छ।
अनशन सुरु गर्नुअघि वाङ्चुक र उनका समर्थकहरूले राजधानी दिल्ली पुग्न लद्दाखबाट सयौँ किलोमिटर पैदल यात्रा गरेका थिए। उनीहरूले लद्दाखलाई संवैधानिक व्यवस्था मातहतको छैटौँ अनुसूची भनिने थप स्वायत्ततायुक्त व्यवस्था दिइएमा प्राकृतिक स्रोतहरूको शोषण रोक्न मद्दत पुग्ने तर्क गरेका छन्।
लद्दाखका स्थानीयवासी र सङ्घीय सरकारका अधिकारीहरूबीच चलेको महिनौँ लामो वार्ता टुङ्गोमा नपुगेपछि उनीहरूले पैदल यात्रा गरेका हुन्।
दिल्लीको सीमामा प्रदर्शनकारीहरूलाई घण्टौँसम्म हिरासतमा राखिएपछि वाङ्चुकले भोक हड्ताल सुरु गरेका थिए। सरकारले छिट्टै पुन: वार्ता थाल्ने प्रतिबद्धता जनाएपछि उनले गत सोमबार हड्ताल टुङ्ग्याएका हुन्।
विरोध प्रदर्शन र अन्तर्वार्ताहरूका माध्यमबाट वाङ्चुकले लद्दाखका जनताका मागहरू हप्तौँसम्म भारतमा मुलधारका सञ्चारमाध्यममा बहसको हिस्सा बन्ने सुनिश्चित गरेका छन्।

तस्बिर स्रोत, Getty Images
वाङ्चुकले यथास्थितिलाई चुनौती दिन थालेको भर्खरैदेखि होइन।
बाल्यकालमा उनले श्रीनगर सहर (तत्कालीन जम्मु र कश्मीरको राजधानी) मा तीन वर्ष पढे। त्यहाँ अंग्रेजी, उर्दू र हिन्दीमा पढाइ हुन्थ्यो। एक अन्तर्वार्तामा उनले कक्षामा आफूलाई 'मजाकको पात्र बनाइने गरेको' स्मरण गरे। "श्रीनगरमा म लद्दाखको एउटा लद्दु केटो थिएँ जो हिन्दी वा अंग्रेजी बोल्न सक्दैनथ्यो," उनले भने।
सन् १९८० को दशकमा आफ्नै अनुभवले उनलाई लद्दाखको शिक्षा प्रणालीमाथि प्रश्न उठाउने बनायो। उनले यहाँको शिक्षा प्रणालीले स्थानीयवासीको आवश्यकतालाई सम्बोधन नगरेको बताए। उनले अधिकांश मानिसले लद्दाखी भाषा बोल्ने क्षेत्रमा अङ्ग्रेजी र उर्दू भाषाका पाठ्यपुस्तकको प्रयोग भएकोमा त्यसको विरोध गरे।
"सबै पाठ्यपुस्तकहरू दिल्लीबाट आउँथे। अरु त अरु प्राथमिक कक्षाका किताबहरू पनि उतैबाट आउँथ्यो। त्यसमा दिइएका उदाहरणहरू अपरिचित र नौला हुन्थे; जस्तै पानीजहाज, महासागर, नरिवलका रूखहरू वा मनसुनी वर्षा आदि," उनी सह-संस्थापक रहेको विद्यालयको वेबसाइटमा राखिएको एउटा लेखमा भनिएको छ, "पराईका भाषामा पराईका उदाहरणहरूले लद्दाखी बालबालिकाहरूलाई भ्रमित मात्र तुल्याएको छ।"
त्यसबेलादेखि उनले लद्दाखका बालबालिकाहरूको खास आवश्यकतालाई शिक्षा प्रणालीले सम्बोधन गर्ने कुरा सुनिश्चित गर्न स्थानीय अधिकारीहरू र समुदायहरूसँग काम गरेका छन्।
उनका आविष्कार वा नवप्रवर्तनहरू पनि चर्चामा आउने गरेका छन्।
एक नातेदारले अँध्यारा भवनहरूलाई उज्यालो बनाउन र खाना पकाउन 'कन्केभ सिसा'को प्रयोग गरेको देखेपछि वाङ्चुकले मेकानिकल इन्जिनियरिङ पढे।
हालैका वर्षहरूमा उनले कम लागतमा तयार हुने माटोको घरको विकास गरेका छन्, जसले माइनस १५ डिग्री सेल्सियसमा पनि घरको भित्र १५ डिग्री तापक्रम कायम राख्छ।
उनले बरफको स्तूपा आकारमाकृत्रिम जलस्रोतको पनि डिजाइन गरेका छन्, जसमार्फत् किसानहरूले अभावका समयमा उपयोग गर्न सकिने गरी पानीको संरक्षण गर्न सक्छन्।

तस्बिर स्रोत, Getty Images
यसै वर्षको सुरुमा 'सरकारलाई लद्दाखको वातावरण र आदिवासी जनजातिको संस्कृतिको रक्षा गर्ने आफ्नो प्रतिबद्धता स्मरण गराउन' उनले पानी जम्ने जाडोमा २१ दिन लामो आन्दोलन गरे।
उनीसँगै हजारौँ मानिस अनशन बसे र विरोध प्रदर्शनमा साथ दिए।
ती आन्दोलनहरूले अपेक्षित परिणाम नदिएपछि वाङ्चुक दिल्लीतर्फको पैदल यात्रामा जुटे।
राजधानीमा उनले लद्दाखमा छैटौँ अनुसूचीको माग जारी राखे। यो प्रावधान भारतको उत्तरपूर्वी राज्यहरूमा अभ्यासमा छ। यसले प्राकृतिक स्रोत र पूर्वाधार लगायतका विषयमा आफ्नो हितको रक्षा गर्न आदिवासी जनजातिहरूलाई विशेषाधिकार दिन्छ। लद्दाखमा आदिवासी जनजातिको बाहुल्य छ।
"छैटौँ अनुसूचीले स्थानीयवासीलाई अधिकार मात्रै होइन, जलवायु, वन, नदी र हिमनदीहरू संरक्षण गर्ने जिम्मेवारी पनि दिएको छ," पत्रकारहरूसँग उनले भने। वाङचुक र उनका समर्थकहरू संवैधानिक सुरक्षाको अभावका कारण हिमाली क्षेत्रको नाजुक पर्यावरण खतरामा रहेको बताउँछन्।
सरकारले सीमावर्ती क्षेत्रमा पूर्वाधार विकासलाई तिव्रता दिएकोले चिन्ता बढेको हो।
चीन र पाकिस्तान दुवैसँग लद्दाखको सीमा जोडिएकाले यो स्थान भारतका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ।
सङ्घीय सरकारले लद्दाखमा राजमार्गहरू, विद्युत परियोजनाहरू तथा सैन्य पूर्वाधारहरूको निर्माण कार्यलाई स्वीकृत गरेको छ। स्थानीय प्रतिनिधिहरूसँग छलफल नगरी अघि बढाइएका यी कामले यस क्षेत्रमा नोक्सान पुर्याउने वाङ्चुक बताउँछन्।
"हामी विकासको विपक्षमा छैनौँ। हामी दिगो विकास चाहन्छौँ," उनले भने।

तस्बिर स्रोत, Special Arrangement
वाङचुक र उनका समर्थकहरू लद्दाखकोपर्यावरणका कारण यहाँ अन्य राज्यले अपनाएका विकासका मोडेललाई पछ्याउन नसकिने बताउँछन्। सहरका मानिसले हिमाली क्षेत्रका विशिष्ठ आवश्यकतालाई ध्यान नदिने गरेका उनीहरूको गुनासो छ।
"तपाईँ आफ्ना सहरमा यो अनुभव गर्न पाउनुहुन्न। तर लद्दाखमा तपाईँले किताबमा पढेजस्तै स्पष्ट जाडो, गर्मी र वसन्तयामको अनुभव हुन्छ," वाङ्चुकसँगै दिल्लीसम्म हिँडेका हाजी मुस्तफा भन्छन्। प्रदर्शनकारीहरूले लद्दाखका परियोजनाहरूबाट स्थानीयवासीले लाभ नपाएको गुनासो समेत गरेका छन्।
"हाम्रो प्राकृतिक स्रोतको दोहन भइरहेको छ। बेरोजगारी धेरै छ। स्थानीय व्यापारीहरु असन्तुष्ट छन्। त्यसो भए यो विकास कसको निम्ति हो त?," मुस्तफा सोध्छन्।
बीबीसीले 'लद्दाख अटोनोमस हिल डेभलपमेन्ट काउन्सिल'का प्रमुख टासी ग्याल्सनलाई प्रश्नहरू पठाएको छ।
यसैबीच प्रदर्शनकारीहरू लद्दाखमा हुने सबै कुरामा आफूहरूको पनि संलग्नताको व्यवस्था नहुन्जेलसम्म सङ्घर्ष जारी राख्ने बताउँछन्।
अब सरकार पुन: वार्ता सुरु गर्न सहमत भएपछि वाङ्चुकले छिट्टै समाधान निस्कने आशा व्यक्त गरेका छन्।
"आपसी विश्वासका आधारमा वार्ता हुने र सबैको लागि सुखद हुने गरी टुङ्गिने आशा गरेको छु," उनले भने, "त्यसपछि मैले फेरि अनशनमा बस्नु पर्ने छैन वा राजधानीसम्म हजार किलोमिटरको पैदल यात्रा गर्नु पर्ने छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








