आकाशमा ‘बग्ने नदी’ झन् विनाशकारी बन्दै

लस एन्जलिस नदीमा बाढी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जलवायु परिवर्तनका कारण विश्वभरि मौसम प्रणाली बिथोलिएको वैज्ञानिकहरू बताउँछन्
    • Author, नवीनसिं खड्का
    • Role, पर्यावरण संवाददाता, बीबीसी विश्व सेवा

हालै चीन र क्यानडामा देखिएको जस्तै विश्वका विभिन्न भागमा आइपरेका असाधारण स्तरका बाढीले कसरी तीव्र गतिमा तात्दै गएको वायुमण्डलमा विगतमा भन्दा निकै धेरै पानीको मात्रा रहने गरेको तथ्य स्मरण गराइरहेको वैज्ञानिकहरू बताउँछन्।

सन् २०२३ को एप्रिलमा इराक, इरान, कुवेत र जोर्डनमा सघन मेघगर्जन र असिनासँगै भएको अत्यधिक वर्षाका कारण विनाशकारी बाढी निम्तियो। मौसमविद्हरूले पछि के पत्ता लगाए भने सो क्षेत्रको आकाशमा पहिला कहिल्यै थाहा नभएको मात्रामा अत्यधिक वाष्प थियो। त्यसले सन् २००५ मा भएको त्यस्तै घटना बिर्साइदियो।

दुई महिनापश्चात् चिलीमा तीन दिनभित्र ५०० मिलिमिटर पानी पर्‍यो। आकाशबाट यति धेरै पानी बर्सियो कि त्यसले एन्डिज पर्वका केही भागका हिउँ पनि पग्लियो। त्यसबाट उत्पन्न भएको बाढीले सडक र पुल ध्वस्त पार्नुका साथै जलआपूर्ति प्रणालीमा क्षति पनि पुर्‍यायो।

त्योभन्दा एक वर्षअघि अस्ट्रेलियाका केही भूभागमा (त्यहाँका राजनीतिज्ञहरूको शब्दमा) ‘वर्षा बम’ विस्फोट भयो।

उक्त घटनाका कारण २० जनाभन्दा धेरैको ज्यान गयो भने हजारौँ मानिसको उद्धार गर्नुपर्‍यो।

वैज्ञानिकहरूका अनुसार यी सबै घटना "वायुमण्डलका नदीहरूका कारण" भएका हुन्। जलवाष्पबाट बनेका ती नदीहरू झन् लामा, सघन, चौडा र विनाशकारी बनेका छन्।

अमेरिकी अन्तरिक्ष निकाय 'नासा' का अनुसार वायुमण्डलमा भएका त्यस्ता नदीका कारण विश्वभरि करोडौँ मानिसहरू बाढीको जोखिममा परेका छन्।

बाढीका कारण डुबानमा परेको क्षेत्रको तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वैज्ञानिकहरूका अनुसार बाफको नदीका कारण करोडौँ मानिसहरू बाढीको जोखिममा परेका छन्

यी ‘आकाशका नदी’ वा ‘उड्ने नदीहरू’ वाष्पका लामा र बाक्ला लहरहरू हुन् जुन सामान्यतया उष्णप्रदेशीय क्षेत्रमा उत्पन्न भई ध्रुवीय क्षेत्रतिर बहन्छन्।

ती नदीले पृथ्वीको मध्याक्षांशतिर बहने कुल बाफमध्ये ९०% भाग वहन गर्छन्।

औसत वायुमण्डलीय नदी २,००० किलोमिटर लामा, ५०० किलोमिटर चौडा अनि झन्डै तीन किलोमिटर गहिरा हुन्छन्। तर हिजोआज त्यस्ता नदीहरूको चौडाइ र लम्बाइ बढेको देखिन्छ।

त्यस्ता केही नदीहरू त ५,००० किलोमिटर लामासम्म छन्।

वायुमण्डलमा बहने नदी

तर बादललाई जस्तो ती नदीलाई मानिसले देख्न सक्दैनन्।

“तिनलाई इन्फ्ररेड वा माइक्रोवेभ फ्रीक्वन्सीमार्फत् देख्न सकिन्छ,” नासाको जेट प्रपल्सन ल्याबका वायुमण्डल अनुसन्धानकर्ता ब्रायन कानले भने।

“त्यसैले बाफ तथा वायुमण्डलका नदीहरू हेर्न भूउपग्रहबाट गरिएका अवलोकनहरू निकै उपयोगी हुन्छन्।”

ठूला तथा सघन वाष्पनदीहरूले उत्तर अमेरिकाको सबभन्दा लामो नदी मिसिसिपीभन्दा १५ गुना धेरै वेगमा ओसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सक्छन्।

विश्वको सबभन्दा ठूलो नदी एमेजनले भन्दा ती वाष्पनदीमा औसतमा दोबर पानी प्रवाह हुन्छ।

इराकको नजाकमा आएको बाढी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गत वर्ष असाधारण वर्षाबाट प्रभावित भएका देशमध्ये इराक पनि थियो

हुन त यस्ता वाष्पनदीहरू सधैँ अस्तित्वमा थिए। तर वैज्ञानिकहरूका अनुसार विश्वव्यापी तापक्रम वृद्धिका कारण धेरै मात्रामा बाफ उत्पन्न भइरहेको हुनाले छोटो समयमा ठूलो मात्रामा जमिनमा पानी बर्सिन सक्छ र विनाशकारी बाढीपहिरो निम्तिन सक्छ।

अध्ययनहरूले देखाएअनुसार सन् १९६०को दशकको तुलनामा अहिले वायुमण्डलमा बाफको मात्रा २०% ले बढेको छ। तापक्रम वृद्धिसँगै यो मात्रा पनि बढ्दै छ।

जर्मनीस्थित यूनिभर्सिटी अफ पोट्स्डामको इन्स्टिट्यूट अफ जीओसाइअन्सेजले गरेको एउटा अध्ययनमा दक्षिण अमेरिका, उत्तर अफ्रिका, मध्यपूर्व अनि दक्षिणपूर्वी एशियामाथि विकसित वाष्पनदी प्रणाली अझ धेरै समयसम्म टिकिरहेको पाइएको छ।

त्यसको अर्थ भनेको तिनले एकैपटक ‍औधी ठूलो मात्रामा पानी पारिदिन सक्छन् र त्यसबाट जमिनमा विनाश निम्तिन सक्छ।

सन् २०२३ को एप्रिलमा मध्यपूर्वमा ठिक त्यही भएको यूएईस्थित खलिफा यूनिभर्सिटीले गरेको अर्को अध्ययनले देखाएको थियो।

“हामीले गरेको हाई-रेजलूशन सिम्युलेशनबाट के देखियो भने उत्तरपूर्वी अफ्रिकाबाट पश्चिम इरानतर्फ तीव्र वेगमा बहेका वाष्पनदीहरूले अत्यधिक वर्षा गराए,” अध्ययनको निष्कर्ष थियो।

चिलीमा बाढी आएपछि बाटोमा डुङ्गा चलाउँदै उद्धारकर्ताहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२३ मा आएको बाढीले चिलीमा पूर्वाधार एवं पानी आपूर्ति प्रणालीमा धेरै क्षति पुग्यो

बाढी र पहिरोको जोखिम बढ्दो

यूनिभर्सिटी अफ पोट्स्डामले गरेको अध्ययनमा संलग्न सारा एम फालेयो-बेर्नालका अनुसार अन्यत्र वाष्पनदीसँग सम्बन्धित घटनाहरूको सङ्ख्या बढ्दै गएको छ।

“पूर्वी एशियामा सन् १९४० यता त्यस्ता प्रणालीहरू उल्लेखनीय सङ्ख्यामा बढेका छन्। म्याडग्यास्कर, अस्ट्रेलिया र जापानमाथि ती झन् सघन हुँदै छन्,” उनले भनिन्।

सन् २०२१ मा 'जर्नल अफ जीओफिकिल रिसर्च'मा प्रकाशित एउटा अध्ययनले मनसुनको प्रारम्भिक समय (मार्च र एप्रिल)मा पूर्वी चीन, कोरिया र पश्चिमी जापानमा भएका अधिक वर्षाका ८०% घटना वाष्पनदीसँग जोडिएको उल्लेख छ।

यसबीच भारतका मौसमविद्हरूले हिन्द महासागर तातो हुँदै ‘उड्ने नदीहरू’ उत्पन्न भइरहेको र त्यसले सो क्षेत्रमा जुन र सेप्टेम्बरका बीच हुने मनसुन वर्षा प्रणालीलाई पनि प्रभाव पारिरहेको बताएका छन्।

“फलस्वरूप त्यस्ता घटना भएका छन् जब तातो महासागरबाट आएको ओसलाई वाष्पनदीहरूले केही घण्टा वा केही दिनभित्र बर्साइदिन्छन्,” इन्डियन इन्स्टिट्यूट अफ ट्रपिकल मीटिअरोलजीका वैज्ञानिक डा रोक्सी म्याथ्यू कोलले भने।

“यसले देशैभरि पहिरो र अचानक आउने बाढीका घटनाहरू बढेका छन्।”

भारतको कोलकातामा वर्षा हुँदा बाटोमा हिँडेका दुई महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वायुमण्डलका नदीले भारतको मौसम प्रणालीमा पनि प्रभाव पारेको विज्ञहरूले बताएका छन्

सबै बाढी र पहिरोका घटना वाष्पनदीकै कारण भने हुँदैनन्। त्यसका अन्य कारणहरूमा चक्रवात र आँधीआदि पर्छन्।

वाष्पनदीहरू नयाँनयाँ ठाउँमा देखा परिरहेका छन्। यसको एउटा कारण परिवर्तित जलवायुका माझ वायुको बदलिँदो प्रवृत्ति तथा 'जेट स्ट्रीम' (पृथ्वीभरि पश्चिमबाट पूर्वतिर बहने वायुको साँघुरो तर तीव्र गतिको प्रवाह) भएको वैज्ञानिकहरू बताउँछन्।

“वायुको तरङ्गमय प्रवाह र जेट स्ट्रीमका कारण तिनको मार्ग बाङ्गोटिङ्गो र स्वाभाविक स्थानबाट भिन्न हुन्छन्,” चिलीस्थित यूनिभर्सिटी अफ भाल्पाराइजोका मौसमविद् डेनिज बोज्कर्टले भने।

“यसले गर्दा वाष्पनदीहरूको मार्ग पनि सरल हुँदैनन् र सम्भावित रूपमा विभिन्न क्षेत्रमा तिनको प्रभाव बढ्छ।”

विश्वमा तिनले निम्त्याउन सक्ने विनाशकारी बाढी र पहिरोको जोखिमका माझ वाष्पनदीहरूलाई तिनको आकार र बलको आधारमा आँधीलाई जस्तै पाँच स्तरमा वर्गीकरण गरिएको छ।

सबै वाष्पनदीहरू विनाशकारी हुँदैनन्। कतिपयले त लामो समयदेखि सुक्खा बेहोरेको क्षेत्रमा फाइदा नै पुर्‍याइदिन्छन्।

तर विज्ञहरूका अनुसार वाष्पनदीको अनुगमन तथा तिनको भविष्यवाणीको कार्य हाल केवल अमेरिकाको पश्चिमी तटमा सीमित छन्। त्यहाँ तिनको प्रभावबारे कैयौँ दशकदेखि अध्ययन भइरहेको छ।

“क्षेत्रीय मौसम भविष्यवाणी प्रणालीहरूमा वाष्पनदीको बुझाइ तथा आकलन सीमित छ,” बोज्कर्टले भने।

“मुख्य चुनौती डेटा अभाव हो, जटिल भूभागमाथिका वाष्प नदीहरूबारे।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।