जलवायु परिवर्तन: अचम्मलाग्दा पाँच कुरा

मात्रामा धेरथोर जे भए पनि जलवायु परिवर्तनमा योगदान पुर्‍याउने केही अचम्मलाग्दा कुराहरू छन्

तस्बिर स्रोत, Getty Images

विश्वव्यापी तापमान वृद्धिमा हामीले के गर्दा प्रभाव पर्छ भन्ने कुरा के हुन् भन्ने हामी सबैलाई थाहा छ।

हवाई यात्रा घटाउने, विद्युतीय कारको प्रयोग बढाउनेदेखि वनस्पतिमा आधारित खानेकुराहरूसम्म यस्ता कुरा हुन् जसले तापमान घटाउन सहयोग गर्छन्।

तर केही त्यस्ता कुरा पनि छन् जसबारे हामीले हेक्का नराखेको हुनसक्छ।

जलवायु परिवर्तनमा प्रभाव पुर्‍याउने पाँच अचम्मलाग्दा कुराहरू यहाँ प्रस्तुत गरिएको छ।

१. चामल

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले प्रमुख आहारका रूपमा चामल खाने गर्छन्।

तर यसको खेती गर्ने काम जटिल छ।

विश्वभर धानबालीलाई सिञ्चित गर्न निकै धेरै पानी चाहिन्छ र जसले गर्दा हिलो जमिनमा रहेका सूक्ष्मजीवहरूले मिथेन ग्यास उत्पादन गर्ने अवस्था सिर्जना हुन्छ।

मिथेन ग्यास कार्बन डाईअक्साइडभन्दा बढी खराब हरितगृह ग्यास हो।

भात

तस्बिर स्रोत, Getty Images

धान उत्पादनले मानव क्रियाकलापले उत्सर्जन गर्न हरितगृह ग्यासमध्ये एकदेखि दुई प्रतिशत हिस्सा ओगट्छ।

र, नयाँ बाली लगाउनका लागि पराल जलाउने कामले समेत वायुमण्डलमा कार्बनडाइअक्साइड उत्सर्जन गर्न योगदान पुर्‍याउँछ।

संसारभरका अनुसन्धानकर्ताहरूले हिलाम्मे खेत आवश्यक नपर्ने र तापमान वृद्धिमा योगदान नगर्ने धानको जात विकास गर्न लागिपरेका छन्।

२. इन्टरनेटमा खोजी

हरेकदिन संसारमा १ अर्ब घण्टा युट्युबका भिडिओ चल्छन्।

तस्बिर स्रोत, Getty Images

इन्टरनेटमा सामान्य कुरा खोज्दा उपकरण चलाउन र ताररहित सञ्जाललाई सक्रिय पार्न चाहिने ऊर्जाका कारण केही ग्राम कार्बन डाईअक्साइड उत्सर्जन गर्छ।

त्यो सानोजस्तो देखिए पनि पछिल्लो आँकडाले संसारभर ४.६६ अर्ब इन्टरनेट प्रयोगकर्ता भएको देखाउँछ र छिट्टै त्यो बढ्नेछ।

हरेक दिन संसारमा एक अर्ब घण्टा यूट्युबका भिडिओ चल्छन्।

र गुगलले आफ्नो एउटा सीमित प्रयासका रूपमा सर्भरहरूमा नवीकरणीय ऊर्जा प्रयोग गरिरहेको छ।

त्यै पनि प्रयोगकर्ताको पाटोमा यी भिडिओले कार्बन उत्सर्जन गरिरहेका हुन्छन्।

यूकेको युनिभर्सिटी अफ ब्रिस्टलको एउटा अध्ययनले सन् २०१६ मा यूट्युब हेरेका मानिसहरूले झन्डै एक करोड ११ लाख टन कार्बन डाईअक्साइड उत्सर्जन गरेको देखाएको थियो।

जुन ग्लास्गो आकारको सहरले उत्पादन गर्ने हरितगृह ग्यास बराबर हो।

३. जलाशय

जलाशय

तस्बिर स्रोत, Getty Images

जब जलाशय निर्माण गर्न जमिनलाई प्रयोग गरिन्छ त्यहाँ डुब्ने वनस्पति र अन्य जैविक तत्त्वहरूले जरा गाडेर धान खेतमा जसरी मिथेन उत्पादन गर्न थाल्छन्।

वासिङ्टन स्टेट युनिभर्सिटी-भ्यानकुभरका अनुसन्धानकर्ताहरूले पत्ता लगाए अनुसार संसारभरका जलाशयहरूले बर्सेनि मानव योगदानको १.३ प्रतिशत हरितगृह ग्यास उत्सर्जन गर्छन् जुन क्यानडाको कूल उत्सर्जन बराबर हो।

यद्यपि कयौँ जलाशयहरू नवीकरणीय ऊर्जाको एउटा प्रमुख स्रोतका रूपमा रहने जलविद्युत बाँधका रूपमा समेत काम गर्छन्।

४. चीज

चिज

तस्बिर स्रोत, Getty Images

हामीलाई सुन्दा अचम्म लाग्ला कि मासु र दुग्ध उद्योगमा गाई र बाख्रा/भेडाको मासुपछि कार्बन उत्सर्जनको तेस्रो मुख्य योगदानकर्ता चीज हो।

हामीले खाने हरेक एक किलो चीज बराबर १३.५ किलोग्राम कार्बन डाईअक्साइड उत्सर्जन हुन्छ।

जसले गर्दा कार्बन डाईअक्साइड उत्सर्जनकर्तामध्ये यो कुखुराको मासु, बङ्गुरको मासु, टर्की वा साल्मनभन्दा अगाडी छ।

एक किलो चीज बनाउन झन्डै १० लिटर दूध आवश्यक पर्छ।

यद्यपि थोरै दूध खपत हुने चीज समेत हुन्छन् जसको वातावरणमा कम प्रभाव रहन्छ।

विश्वव्यापी दुग्ध क्षेत्रको योगदान मानवसिर्जित हरितगृह ग्यासमा झन्डै चार प्रतिशत छ।

५. बालिका शिक्षा

बालिका शिक्षा

तस्बिर स्रोत, Getty Images

अध्ययनहरूका अनुसार जब बालिका र महिलाहरू विद्यालयसम्म पुगेर समान अवसर पाउँछन् त्यसले जलवायु रणनीतिलाई फरक बनाउँछ।

माध्यमिक विद्यालय पूरा गर्न एउटी महिलाले प्राथमिक विद्यालय मात्र पूरा गरेकी महिलाको तुलनामा आफ्नो जीवनमा एउटा कम सन्तान जन्माउने सम्भावना रहने देखिएको छ।

त्यस्तो घट्दो जन्मदरको असर पृथ्वीमा सकारात्मक रूपमा पर्दा कार्बन उत्सर्जनमा कमी आउन सक्ने ठानिएको छ।

अध्ययनहरूका अनुसार संसद्हरूमा महिलाहरू हुने देशले वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरू पारित गर्ने, संरक्षण क्षेत्रहरू बनाउने र बलियो जलवायु नीति बनाउने सम्भावना हुने बताइन्छ।