चकलेट, कफी, आलु र माछाबिनाको जीवन– जलवायु परिवर्तनले निम्त्याएको सङ्कट
- Author, निकोलाई भोरोनिन
- Role, विज्ञान संवाददाता, बीबीसी न्युज रसिया
जलवायु परिवर्तन कम नभए हामीले हाम्रा केही प्रिय खाना तथा पेयलाई बिर्सनुपर्ने हुनसक्छ।
जब तापक्रम र मौसमी लय बदलिन्छन्, बाली राम्ररी उब्जाउ हुँदैन भने माछा र जनावरहरू मर्न सक्छन्।
त्यसैले भविष्यमा तपाईंको खाना खाने टेबलमा के नहुन सक्छन् र किन?
कफी र चिया
सबेरैको चुस्कीमा चिया होस् या कफी आनन्दले पिउनुस्। किनकि कुराहरू खासै सुखद् देखिँदैन।

तस्बिर स्रोत, Getty Images
सन् २०५० सम्ममा विश्व तापमानका कारण कफी उत्पादनका लागि उपयुक्त भूमि आधा घट्ने देखिएको छ; सन् २०८० सम्ममा कफीका कतिपय प्रजाती एकसाथ लोप हुनसक्ने ठानिएको छ।
कफी निर्यात गर्ने एउटा प्रमुख देश तान्जानियाले समेत गत पचास वर्षमा आफ्नो उत्पादनमा पचास प्रतिसत ह्रास देखेको छ।
यदि तपाईंले चिया खान थालेर यो संकटबाट पर पुग्न सक्नुहुन्छ भन्ने सोच्नुभएको छ भने भारतका वैज्ञानिकहरूको तपाईंलाई खराब समाचार छ।
चियाका विरूवा उम्रने समय मनसुन तिब्र भइरहेको छ जसले चियाको स्वादमै प्रभाव पारेको छ।
त्यसैले कम स्वादिलो र बढि खल्लो चिया पिउनुपर्ने भविष्यका लागि तयार हुनुहोस्।
चकलेट

तस्बिर स्रोत, Getty Images
यो निश्चय नै विश्वव्यापी तापमान वृद्धिको अनपेक्षित मार हो। चकलेट बनाउने कच्चा पदार्थ कोकोआको बिउ 'कोको पड्स' उच्च तापक्रम र अत्याधिक आद्रताबीच राम्ररी हुर्कन्छ।
तर उनीहरूका लागि सबैभन्दा प्रिय चाहिँ स्थिरता हो।
कोकोका विरूवाहरूको माग कफीका विरूवाजत्तिकै उच्च छ। र, तापक्रममा आएको परिवर्तन, वर्षा, माटोको गुणस्तर, सूर्यको प्रकाश वा वायुको गतिको उत्पादनमा ठूलो प्रभाव हुन्छ।
इन्डोनेसिया र अफ्रिकाका उत्पादनकर्ताहरूले कोकोआका विरूवा छाडेर अडीर र रबर जस्ता अलि भरपर्दा बालीहरूतर्फ लागेका छन्।
४० वर्षको अवधिमा घाना र आइभरी कोस्टले आफ्नो औसत तापक्रम थप दुई डिग्रीले बढेको महसुस गर्ने अपेक्षा गरिएको छ।
तिनै दुई देशहरूबाटै विश्वभर दुईतिहाई भन्दा बढी कोकोआ निर्यात् हुन्छ।
यसले सस्तोमा किन्न सकिने चकलेटमा राम्रैसँग प्रभाव पार्छ।
माछा र चिप्स

तस्बिर स्रोत, Getty Images
'त्यो नराम्रो भयो,' तपाईंले भन्न सक्नुहुन्छ, 'तर धेरै सामान्य र कम माग भएका कुराहरू? जस्तो माछा वा आलु?'
माछाहरू साना भइरहेका छन्। त्यो आंशिक रूपमा एउटा कारण समुद्रमा बढेको तापमानका कारण अक्सिजनको सतह घट्नुले हो।
कार्बन डाइअक्साइड सोस्नुले पनि समुद्रको पानीलाई अझ बढि अम्लीय बनाएको छ। जसको अर्थ सेलफिसलाई आफ्ना शरीरमा कवचहरू उमार्न गाह्रो हुनु हो।
सबैभन्दा राम्रो प्रमाण माछा मार्ने जालोमा भेटिन्छ। विश्वव्यापी रूपमा त्यस्ता जालोमा माछा पर्ने दर पाँच प्रतिशतले घटेको छ।
उत्तरी समुद्रमा माछा मार्नेहरूले आफ्नो व्यवसायमा एक तिहाइसम्म ह्रास महसुस गर्नेछन्।
त्यसोभए आलु के हुन्छ?
आलु उब्जिरहन्छ तर तिनले धेरै खडेरीहरूको सामना गर्नेछन्।
सन् २०१८ को एउटै तातो गर्मीयामले आलुको उब्जनी एक चौथाईले कम गरिदियो।
ब्रिटिश सञ्चारमाध्यमहरूले जनाए अनुसार प्रत्येक आलु तीन सेन्टिमिटरले साना भइदिए।
कोन्याक, ह्वीस्की र बियर

तस्बिर स्रोत, Getty Images
दक्षिण-पश्चिम फ्रान्समा रहेको ६ सय वर्ष पुरानो कोन्याक उद्योग अहिले सङ्कटमा छ। बढ्दो तापक्रमले त्यहाँका प्रसिद्ध अङ्गुरहरू प्रशोधन गर्नका लागि निकै गुलियो भइदिए।
उत्पादकहरूले व्यग्रतापूर्वक त्यसलाई विस्थापित गर्न खोजिरहेका छन्। उनीहरूले वर्षेनी अनुसन्धानमा लाखौं युरो खर्च गरे पनि अहिलेसम्म निकै कम सफलता हात लागेको छ।
त्यसमाथि उत्तरतर्फ स्कटल्यान्डमा ह्विस्की उत्पादकहरू सोचमग्न छन्। बढ्दो तापमानले गर्दा सिर्जना हुने खडेरीले कञ्चन पानीको आपुर्तिमा कमी ल्याइरहेको छ।
गत वर्षको गर्मीयाममा थुप्रै ह्विस्की उत्पादनकर्ता कम्पनीहरू बन्द भएका थिए। मौसमविद्हरूले चरम मौसमी अवस्थाहरू दोहोरिरहेको बताएका छन्।
ब्रिटेनको मौसमसम्बन्धी निकायका अनुसार ब्रिटेनमा तापमान बढ्ने, सुख्खा गर्मीहरू हुने सम्भावना औद्योगिक युगभन्दा ३० गुणाले बढेको छ।
ब्रिटेन र आयरल्याण्डले अब हरेक आठ वर्षको अन्तरालमा चरम मौसम सामना गर्न सक्छन। यस्तो क्रम अन्य थुप्रै मुलुकमा छ।

तस्बिर स्रोत, Getty Images
उस्तै समस्या चेक गणतन्त्र र अमेरिकाका बियर उद्योगहरूले समेत सामना गरिरहेका छन्।
मेरो समस्या होइन?
यी कुनै उत्पादनले मलाई असर पार्दैन भन्ने तपाईंलाई लाग्न सक्ला। तर के कुरा बुझ्न जरुरी छ भने विश्वव्यापी खाद्य चक्रमा देखिएको यो नाटकिय परिवर्तनले लाखौं मानिसको जीवनयापनमा असर पार्नेछ।
कम उत्पादनसँगै बस्तुका मूल्य बढ्नेछन्। खाद्य अभावले सहजै मानवीय सङ्कट सिर्जना गर्नेछ।
त्यसैले यो अब तपाईंको बिहानको चुस्कीको कुरा मात्र रहेन।








