मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन लागिएको इलोन मस्कको 'आत्मनिर्भर सहर'

इलोन मस्क

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एक्समा पोस्ट गर्दै इलोन मस्कले किन स्पेसएक्सले मङ्गल ग्रहको साटो चन्द्रमामा सहर निर्माण गर्न खोजिएको भनेर वर्णन गरेका छन्
    • Author, लुइस बारुचो
    • Role, बीबीसी विश्व सेवा
  • पढ्ने समय: ६ मिनेट

चन्द्रमामा १० वर्षभित्रै एउटा 'आत्मनिर्भर सहर' बसाउन सकिन्छ - इलोन मस्कले हालै घोषणा गरेको योजनाले त्यसो भन्छ।

एक्स, टेस्ला र स्पेसएक्स कम्पनीहरूका मालिक तथा विश्वका सबैभन्दा धनाढ्य व्यक्तिमध्येका मस्कले हालै एक्समा एक पोस्ट राख्दै उनको स्पेसएक्स कम्पनीले मङ्गल ग्रहको साटो चन्द्रमामा सहर निर्माण गर्न लागेको उल्लेख गरे। उक्त पोस्टलाई चार करोड पटक हेरियो।

तर मस्कले उनको मन किन परिवर्तन गरे? अनि उनले चन्द्रमामा बसाउने भनेको सहरबारे हामीलाई के थाहा छ?

मङ्गलको साटो चन्द्रमा

चन्द्रमाको सतहमा चट्टान

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, सन् १९६० को दशक अनि १९७० को सुरुवाती वर्षहरूमा गरिएका अपोलो अन्तरिक्ष अभियानहरूले हामीलाई चन्द्रमा र उसको उत्पत्तिबारे बुझ्न धेरै मद्दत गरेका थिए

चन्द्रमामा बसाइने भनिएको सहरबारे कुनै औपचारिक, विस्तृत एवं मार्गचित्रसहितको योजना छैन। मस्कले सामाजिक सञ्जाल एक्समा केवल आफ्नो दृष्टिकोण राखेका छन्।

उनले त्यहाँ स्थायी मानवबस्ती बसाउने र भावी दिनमा चन्द्रमातर्फ थुप्रै अभियान सञ्चालन हुने हुँदा क्रमश: चन्द्रमामै उपलब्ध स्रोतहरूको प्रयोग गरेर त्यसको विस्तार हुने भनेका छन्।

आफ्नो पोस्टमा मस्कले उक्त योजना पूरा गर्न "चन्द्रमामा १० वर्षभन्दा कम लाग्ने जब कि मङ्गल ग्रहमा २० वर्षभन्दा धेरै लाग्ने" भनेका छन्।

"स्पेसएक्सको अभियानको लक्ष्य उही हो : हामीले बुझेको जीवन तथा चेतनालाई ताराहरूमा विस्तार गर्नु।"

मङ्गल ग्रहमा जाने हो भने ग्रहहरूको अवस्था मिलेको समय कुर्नुपर्ने र त्यस्तो समय २६ महिनामा एकपटक बल्ल आउने उनले उल्लेख गरेका छन्। अनि त्यहाँ जानै पनि छ महिना लाग्ने उनले भनेका छन्।

जब कि उनी भन्छन्, "हामी हरेक १० दिनमा चन्द्रमातर्फ जान सक्छौँ (अनि यात्रा अवधि दुई दिनको मात्र)।"

"त्यसैले मङ्गल ग्रहमा सहर निर्माण गर्नुभन्दा चन्द्रमामा सहर निर्माण गर्नु निकै छिटो हुने छ।"

मङ्गल ग्रहमा सहर विकास गर्नु स्पेसएक्सको लामो समयदेखिको लक्ष्य रहँदै आएको छ र त्यो कायम रहने बताइएको छ। एक्समा लेख्दै मस्कले भने, "आगामी पाँचदेखि सात वर्षमा हामी त्यसको आरम्भ गर्ने छौँ। तर मुख्य प्राथमिकता चाहिँ मानव सभ्यताको भविष्य सुरक्षित पार्नु हो र त्यसका निम्ति चन्द्रमामा काम गर्न छिटो हुन्छ।"

मस्कका प्रशंसक एवं अनुयायीहरूले उनकै कम्पनीको एआई औजार 'ग्रोक'को प्रयोग गरेर चन्द्रमामा बन्ने सहरको प्रारूप कस्तो हुने छ भन्ने चित्राङ्कन गरेका छन्।

यस महिनाको सुरुमा 'वाल स्ट्रीट जर्नल'मा छापिएको समाचारमा पनि स्पेसएक्सले उसका शेअरधनीहरूलाई चन्द्रमाको अभियानलाई प्राथमिकता दिने र मङ्गलग्रहमा अलि पछि अभियानको प्रयास गरिने बताएको उल्लेख थियो। मानवरहित चन्द्र अभियान सन् २०२७ को मार्चका निम्ति तय गरिएको भनेर शेअरधनीहरूलाई बताइएको सो विवरणमा उल्लेख थियो।

यसअघि लामो समयदेखि मस्कले गन्तव्यका रूपमा मङ्गल ग्रहमाथि एकोहोरो ध्यान पुर्‍याइरहेका थिए। गत वर्ष पनि उनले मङ्गल ग्रहमा मानवरहित अभियान सन् २०२६को अन्त्यसम्ममा गरिने योजना सुनाएका थिए।

विद्युतीय गाडी वा चालकरहित गाडीको प्रविधिजस्ता विभिन्न परियोजनाहरूमा महत्त्वाकाङ्क्षी लक्ष्य तोक्ने तर समयमा तिनको कार्यान्वयन नहुने गरेको मस्कको लामो इतिहास छ।

यो कसरी सम्भव छ

चन्द्रमा

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, चन्द्रमाको सतहमा देखा पर्ने साना खाडलहरू गुफाका मुख भएको वैज्ञानिकहरूको अनुमान थियो

यूकेको यूनिभर्सिटी अफ सरीमा अन्तरिक्ष अन्वेषणसम्बन्धी वरिष्ठ लेक्चरर डा सुङ्ग्वू लिमले चन्द्रमामा अखडा बसाउने स्पेसएक्सको योजनालाई 'महत्त्वाकाङ्क्षी' भए पनि असम्भव नभएको बताएका छन्।

"चन्द्रमाको माटो प्रयोग गरेर अक्सिजन, पानी अनि अन्य निर्माण सामग्री बनाउने जुन आधारभूत लक्ष्य छ, त्यो हामीले पृथ्वीमा अहिले नै उपयोग गर्दै आएका औद्योगिक प्रक्रियामै आधारित छ। सिद्धान्तत: त्यसो गर्न सकिन्छ," उनले बीबीसीलाई भने।

अधिक उतारचढाव हुने तापक्रम, त्यहाँका धूलो, न्यून गुरुत्त्वाकर्षण तथा सीमित ऊर्जायुक्त हुने चन्द्रमाको कठोर वातावरणमा ती प्रणालीले भरपर्दो किसिमले काम गर्लान् कि नगर्लान् भन्ने मुख्य चुनौती रहने डा लिमले बताए।

सार्वजनिक खर्च तथा राजनीतिक अवस्थामा भर पर्नुपर्ने हुनाले सरकारी अन्तरिक्ष निकायहरू अलि सावधानीका साथ अघि बढ्ने हुनाले तिनले नयाँ उपायहरूको परीक्षण गर्न समय लिने उनले बताए जब कि स्पेसएक्स चाहिँ 'फरक किसिमले सञ्चालन हुने' उनले बताए।

"उसको नयाँ रकेट प्रणालीले अपेक्षित काम गर्‍यो भने उसले छिटोछिटो र थोरै खर्चमा चन्द्रमामा रकेट पठाउन सक्छ, जसले प्रगतिको गति पनि बढ्छ।"

भारतको जीडी गोएन्का यूनिभर्सिटीको सेन्टर फर एरोस्पेस एन्ड एनर्जी स्टडिजका निर्देशक डा उगुर गुभेनले द्रुत गतिमा आपूर्ति गर्न सकिने तथा आपत्कालीन प्रतिक्रिया गर्न सकिने जस्ता कारणले चन्द्रमामा मङ्गलको तुलनामा केही उल्लेख्य फाइदा रहेको बताए।

"केही बिग्रियो भने र त्यहाँ बस्ती छ भने तपाईँले सहजै तत्काल अर्को मिशन त्यहाँ पठाउन सक्नु हुन्छ," उनले बीबीसीलाई चन्द्रमा पुग्न सामान्यतया "दुईदेखि तीन दिन लाग्ने" बताए।

तथापि 'वास्तवमै आत्मनिर्भर चन्द्र सहर'को निर्माण अझै पनि सुदूर लक्ष्य रहेको डा लिमले बताए।

"पृथ्वीबाट पोषक तत्त्वहरू नलगीकन त्यहीँ तिनको उत्पादन गर्न तथा सबै कुरा पुनर्प्रयोग हुन सक्ने प्रणाली सिर्जना गर्नु निकै जटिल काम हो, जसका लागि दशकौँ लाग्न सक्छ। त्यसैले दृष्टिकोणको हिसाबमा त्यो सम्भव छ तर एकैचोटिभन्दा क्रमैसँग विस्तारै हुन सक्छ।"

त्यसमा सहमति जनाउँछन् अमेरिकाको इन्डियानास्थित यूनिभर्सिटी अफ नोट्र डामका प्राध्यापक क्लाइभ नील। प्राध्यापक नील चन्द्रमाको मानव अन्वेषणको अध्ययन गर्छन्।

"चन्द्रमामा स्रोतहरू निकाल्न आर्थिक रूपमा सम्भव छ भनेर विस्तृत अध्ययन नगरीकन हामीले पहुँचयुक्त तथा निकाल्न सकिने स्रोतरहित आत्मनिर्भर सहर कसरी बसाल्ने भनेर भन्न सक्दैनौँ," उनले बीबीसीलाई भने।

आगामी १० वर्षभित्र चन्द्रमामा "एउटा सानो पोस्ट" स्थापित गरेर त्यसले आफ्ना लागि आवश्यक अक्सिजन तथा पानी निकाल्न सक्ने सम्भावना "यथार्थपरक" रहेको डा लिमको विश्वास छ। "त्यो ठूलै प्रगति हुने छ," उनले भने।

नासाका पूर्वअन्तरिक्षयात्री तथा हाल म्यासचूसिट्स इन्स्टिट्यूट अफ टेक्नोलजीमा एरोनटिक्स तथा एस्ट्रोनटिक्सका प्राध्यापक जेफ्री हफ्म्यानका अनुसार यदि स्पेसएक्स र एमजन संस्थापक जेफ बेजोसको अन्तरिक्ष प्रविधि कम्पनी ब्लु ओरिजिनले सफलतापूर्वक 'लूनर ल्यान्डर्स' (चन्द्रमाको सतहमा अवतरण गर्ने यान) बनाए भने "चन्द्रमामा बसाइने अखडामा बन्दोबस्तीको आपूर्ति गर्न सकिन्छ।"

"तर मङ्गल ग्रह चाहिँ हाम्रा निम्ति अझै टाढाकै विषय हो," उनले बीबीसीलाई भने।

चन्द्रमामा बस्ती बसाल्ने अनुभवले भविष्यमा मङ्गल ग्रहमा अखडा जमाउन मद्दत पुग्ने प्राध्यापक हफ्म्यानले भने।

डा गुभेनले पनि चन्द्रमाले मङ्गलग्रह पुग्ने यात्रालाई सहज बनाइदिनेमा सहमति जनाए।

बढ्दो प्रतिस्पर्धा

सन् २०२६ को पहिलो पूर्णिमा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यो दशक चन्द्रमामा मानवलाई पठाउने दौडमा अमेरिका र चीनबीच प्रतिस्पर्धा छ

यसै दशकभित्र चन्द्रमामा मानवलाई पठाउने दौडमा अमेरिका र चीनबीच प्रतिस्पर्धा छ। सन् १९७२ मा नासाको अपोलो १७ मिशनपश्चात् कुनै मानव चन्द्रमाको सतहमा ‌ओर्लिएको छैन।

स्पेसएक्स कम्पनीले मस्कले नै नेतृत्व गर्दै आएको आर्टिफिशल इन्टेलिजन्स स्टार्टअप कम्पनी एक्सएआईलाई किनेको हालै मस्कले जनाएका थिए। सो सहमतिमा स्पेसएक्स कम्पनीको मूल्य १० खर्ब डलर अनि एआई कम्पनीको मूल्य २.५ खर्ब डलर हिसाब गरिएको थियो।

यो घोषणाले भविष्यमा विशाल परिमाणको एआई कम्प्युटिङका निम्ति आवश्यक हुने डेटा सेन्टरहरू अन्तरिक्षमा स्थापना गर्ने उनको चाहनालाई पनि बल पुग्ने बीबीसीकी न्यूयोर्कस्थित संवाददाता मिशेल फ्लुरी भन्छिन्।

बीबीसी संवाददाताका अनुसार मस्कले उनको कम्पनी स्पेसएक्स - जसका उनी सबभन्दा ठूला शेअरधनी हुन् -लाई स्टक मार्केटमा सूचीकृत गर्न चाहिरहेका छन् र त्यसका निम्ति उनले आफ्ना व्यापारलाई मिलाउँदै छन्।

उक्त कम्पनीको सूचीकरण गर्दा बजारबाट ५० अर्ब डलर उठन् सक्छ, जुन इतिहासकै सबभन्दा विशाल 'पब्लिक अफरिङ' हुन सक्छ।

गत महिना मस्कले अन्तरिक्षमा दश लाख ओटा डेटा सेन्टर राख्न खोजेको र सो कार्यक्रमले एआईको बढ्दो प्रयोगका कारण उत्पन्न हुने माग सम्बोधन गर्ने बताएका थिए।

तर कतिपय विज्ञहरूमाझ अझै आशङ्का कायम छ। अन्तरिक्षमा वायु नहुने हुनाले एआई तथा डेटा-इन्टेन्सिभ कार्य गर्दा ग्राफिक्स प्रोसेसिङ यूनिटहरूलाई चिस्याउन कठिन हुने तिनले बताए।

गत सोमवार एक एक्स प्रयोगकर्ताले सोधेको प्रश्नको जबाफ दिँदै मस्कले यो वर्ष स्पेसएक्सको कुल आम्दानीमध्ये केवल ५% मात्र नासाबाट आएको बताए।

चन्द्रमामा अन्तरिक्षयात्री ओराल्ने नासाको आर्टमिस चन्द्रमा अभियानको निम्ति स्पेसएक्स एक प्रमुख ठेकेदार कम्पनी पनि हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।