चन्द्रमामा अब कसले पहिलो पाइला टेक्ला, अन्तरिक्ष अभियानमा किन अर्बौँ डलर लगानी

तस्बिर स्रोत, Getty Image
सन् १९६९ मा अपोलो ११ अन्तरिक्ष अभियानले बज एल्ड्रिन र नील आर्म्स्ट्रङलाई चन्द्रमामा पुर्यायो। त्यसपछि सन् १९७२ को डिसेम्बरसम्म अपोलो मिशनअन्तर्गत अरू १० अमेरिकी अन्तरिक्षयात्रीले पनि चन्द्रमामा टेक्ने मौका पाए। त्यसपछि भने संयुक्त राज्य अमेरिकाले चन्द्रमामा मानवसहितको अभियान बन्द गर्यो।
झन्डै ५० वर्षपछि फेरि अहिले चन्द्रमामा मानिस पठाउने चर्चा चलेको छ।
अमेरिकाले पुनः चन्द्रमामा आफ्ना अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ। उक्त योजनाअन्तर्गत भिन्न वर्णका एक जना र एक महिलाले पनि चन्द्रमा जान पाउने छन्। भारत र चीनले पनि चन्द्रमामा मानवयुक्त अभियान पठाउने योजना बनाएका छन्।
अहिले किन यस्तो हुँदै छ? अनि सन् १९६० को दशकमा गरिएको अन्तरिक्ष अन्वेषणभन्दा यो कति भिन्न हुन सक्छ?
राजनीति
तात्कालिक सोभियत सङ्घले सन् १९६१ मा यूरी गगारिनलाई अन्तरिक्षमा पठाएपछि राजनीतिक सन्देश दिन अमेरिकाले चन्द्रमामा मानवयुक्त यान पठाएको थियो।

तस्बिर स्रोत, Getty Images
चन्द्रमामा पुग्नु मानवजातिको ठूलो उपलब्धि थियो। त्यो एउटा शक्तिशाली राजनीतिक सन्देश पनि थियो। उक्त घटनाले पूरा विश्वको ध्यानाकर्षित गरेको थियो।
अब फेरि चन्द्रमामा कसले पाइला टेक्न सक्छ भन्ने कुरा भूराजनीति र चन्द्रमामा उपलब्ध प्राकृतिक स्रोत दोहन गर्ने लालसाले निर्धारण गर्छन्। चन्द्रमामा अन्वेषण गर्ने योजनामा संलग्न विभिन्न देश र निजी कम्पनीहरूका भिन्नाभिन्नै उद्देश्य छन्।
रुस, चीन, भारत, जापान र ईयूले सफलतापूर्वक मानवरहित अन्तरिक्षयान - प्रोब अथवा रोभर - चन्द्रमामा अवतरण गराएका छन्। तर तिनले मानिसलाई त्यहाँ पुर्याउन सकेका छैनन्।
अहिले चन्द्रमामा मानिस पुर्याउने प्रतिस्पर्धामा अमेरिका र चीन देखिएका छन्।
"भूराजनीतिले त्यसलाई डोर्याएको छ। संयुक्त राज्य अमेरिका र चीनको नेतृत्वमा छुट्टाछुट्टै गठबन्धनहरू बनेका छन्। तिनले चन्द्रमामा मानवयुक्त अभियान घोषणा गरेका छन्, तिनले अन्तर्राष्ट्रिय साझेदारसँग सम्झौता गरेका छन् र ती दुवै पक्ष आगामी पाँचदेखि १० वर्षभित्र चन्द्रमामा पुग्ने प्रयासमा छन्," आर्स टेक्निका नामक म्यागजीनमा अन्तरिक्ष विषयका वरिष्ठ सम्पादक एरिक बर्गेर भन्छन्।
स्रोत
पहिलो पटक चन्द्रमा पठाइएको अभियानको उद्देश्य अनुसन्धान गर्नु थिएन, केवल त्यहाँ पुग्नु थियो।
अहिले चन्द्रमामा पुग्ने कुरामा मात्र नभई त्यहाँ मानवजातिलाई बस्न अनुकूल हुने प्रविधिको विकास गर्ने र त्यसबाट यथाशक्य लाभ लिने विषयमा पनि चासो देखा परेको छ।

तस्बिर स्रोत, Getty Images
"मानिसहरू पृथ्वीका जीव हुन्।... कसैकसैले यहाँबाट फैलिएर मङ्गल ग्रहमा बस्ती बसाउने, चन्द्रमामा बस्ती बसाउने, बाह्य अन्तरिक्षमा कृत्रिम रूपमा निर्मित स्थानमा बस्ती बसाउने अवसर खोजिरहेका छन्," यूकेस्थित नोर्थ्अम्ब्रिआ यूनिभर्सिटीमा 'अन्तरिक्ष कानुन र नीति' विषयका प्राध्यापक क्रिस्टोफर न्यूमन भन्छन्।
"यो कुरा विज्ञानकथाजस्तै लाग्छ।"
मङ्गल ग्रह जाने बिसौनी
अमेरिकाको चन्द्रमामा जाने अभियानको उद्देश्य अझ टाढा जानु छ।
"त्यसलाई फेरि पृथ्वीमा फिर्ता ल्याउने नभई त्यहाँ नै एउटा आधारशिविर स्थापना गर्नु हो। त्यसो गर्दा मङ्गल ग्रह जाने अभियानमा चन्द्रमालाई बिसौनीका रूपमा प्रयोग गर्न सकिन्छ," एरिजोना स्टेट यूनभर्सिटीको थन्डर्बर्ड स्कूल अफ ग्लोबल म्यानेज्मन्टमा प्राध्यापन गर्ने नम्रता गोस्वामी भन्छिन्।
चन्द्रमामा गुरुत्वाकर्षण कम छ। त्यसैले त्यहाँबाट रकेट प्रक्षेपण गर्दा पृथ्वीको भन्दा कम इन्धन खर्च हुन्छ। त्यसैले विभिन्न देशहरूले चन्द्रमालाई सामरिक महत्त्वको स्थान बनाउन खोजेको उनी बताउँछिन्।
चन्द्रमाका केही भागमा निरन्तर सूर्यको प्रकाश पर्छ। त्यसैले त्यहाँ सौर्य ऊर्जा उत्पादन गर्न सकिने सम्भावना पनि छ। त्यो ऊर्जालाई 'लो अर्थ अर्बिट' अर्थात् पृथ्वीको तल्लो कक्षमा राखिने ठूला भूउपग्रहमार्फत् स्थानान्तरण गर्न र माइक्रोवेभमार्फत् पृथ्वीमा पठाउन सकिन्छ भनेर विचार गरिँदै छ।
नासाका अनुसार लो अर्थ अर्बिट (एलईओ) मा २,००० किलोमिटर वा कम उचाइ भएको पृथ्वीकेन्द्रित कक्ष पर्छ।

तस्बिर स्रोत, Getty Images
भारतले चन्द्रमामा पठाएका अभियानहरूले चन्द्रमाको दक्षिणी ध्रुवनजिकै सल्फर अर्थात् गन्धक, एल्युमिनिअम र अन्य तत्त्वहरू भएको पुष्टि गरेका छन्। अहिले त्यहाँ अर्को महत्त्वपूर्ण पदार्थ खोज्न ध्यान केन्द्रित हुने छ।
"पानीको बरफ निकै महत्त्वपूर्ण छ किनभने मानिसहरूको बस्ती बसाउने हो भने त्यो आवश्यक हुन्छ। बरफबाट अक्सिजन निकाल्न सकिन्छ," गोस्वामी भन्छिन्।
चन्द्रमामा पहिलो पटक मानिसले पाइला टेकेपछि सन् १९६० को दशकको उत्तरार्धतिर तारामा पनि अन्तरिक्ष अभियान सञ्चालन गर्ने चर्चा थियो। तर तत्काल त्यो सम्भव देखिँदैन।
"चन्द्रमामा पुग्न तीन दिन लाग्छ। मङ्गल ग्रहमा पुग्न छदेखि आठ महिना लाग्छ ," बर्गेर भन्छन्।
त्यसैले चन्द्रमा मङ्गल ग्रह जाने क्रममा बिसौनी बन्न सक्ने उनको धारणा छ।

तस्बिर स्रोत, Getty Images
चन्द्रमामा पुग्न ठूलाठूला प्राविधिक अवरोध पार गर्नुपर्छ।
पहिलो, अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्षमा पठाउन शक्तिशाली रकेट चाहिन्छ। उक्त रकेटमा अन्तरिक्षयात्रीहरूलाई विकिरणबाट सुरक्षित राख्न सक्नुपर्छ।
अर्को चुनौती अन्तरिक्षयानलाई चन्द्रमामा सुरक्षित रूपमा अवतरण गराउनु हो। त्यसपछि अन्तरिक्षयात्रीहरू पृथ्वी फर्किन सक्ने अवस्था हुनुपर्छ। त्यहाँ कुनै प्राविधिक समस्या उत्पन्न भयो भने उनीहरूले अरूको सहयोग पाउँदैनन् र उनीहरूसँग मिशन परित्याग गर्ने विकल्प पनि हुँदैन।
चन्द्रमाबाट फेरि पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा अन्तरिक्षयात्रीहरू चढेको विशेष वाहनको गति अतितीव्र हुन्छ। एक सेकेन्डमा केही किलोमिटरको गतिमा उनीहरू पृथ्वीको वायुमण्डलमा आइपुग्छन्।
विभिन्न देशहरू चन्द्रमामा पुगेपछि त्यहाँको स्रोत के हुन्छ भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ।
सन् १९६७ मा गरिएको 'बाह्य अन्तरिक्ष सन्धि'ले अन्तरिक्षमा कुनै पनि देशले आफ्नो स्वामित्व दाबी गर्न पाउँदैन। तर व्यवहारमा त्यसो नहुन सक्छ।
"चन्द्रमामा पुग्न सक्ने र उत्खनन गर्न सक्ने क्षमता भएका देशले नै बढी फाइदा लिन सक्छन्। अनि चन्द्रमाको स्रोत कसरी बाँड्ने भन्ने विषयमा हामीसँग कानुनी विधि पनि छैन," गोस्वामी भन्छिन्।
अन्तरिक्षमा नयाँ प्रतिस्पर्धा
चीनले चन्द्रमामा सन् २०३० को दशकमा एउटा आधारशिविर बनाउने योजना बनाएको छ। चीन समयमै त्यसको निर्माण पूरा गर्न खोज्दै छ।
संयुक्त राज्य अमेरिका सन् २०२८ भित्र चन्द्रमामा एउटा अन्तरिक्ष केन्द्र बनाउने योजनामा थियो। तर उक्त कार्यक्रममा विलम्ब भइसकेको छ।
अमेरिका अधिकांश कुरामा अर्बपति इलोन मस्क र उनको अन्तरिक्ष अन्वेषण गर्ने निजी कम्पनी स्पेसएक्समा निर्भर भएको छ। उक्त कम्पनीले अमेरिकाका लागि 'स्टारशिप' रकेट निर्माण गर्दै छ।

तस्बिर स्रोत, Getty Images
भारत पनि आगामी वर्ष अन्तरिक्षमा मानवयुक्त यान पठाउने तयारीमा छ। सन् २०३५ भित्र अन्तरिक्ष केन्द्र बनाउने र सन् २०४० सम्ममा मानिसलाई चन्द्रमामा पठाउने भारतको लक्ष्य छ।
"चीनको अन्तरिक्ष कार्यक्रमको रोचक पक्ष भनेको निर्धारित समयमा काम सक्ने उनीहरूको क्षमता हो। एक्काइसौँ शताब्दीमा चन्द्रमामा पुग्ने पहिलो देश चीन हुन्छ भन्ने कुरामा म ढुक्क छु," गोस्वामी भन्छिन्।
उनका अनुसार चीनको दीर्घकालीन उद्देश्य अन्तरिक्ष अनुसन्धानको उपयोग तथा स्थायी आधारशिविरको विकास हुने छ।
(यो सामग्री बीबीसी वर्ल्ड सर्भिस रेडिओ कार्यक्रम 'द इन्क्वायरी'मा आधारित छ।)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








