नासाले चन्द्रमामा पठाउने अन्तरिक्षयात्रीको विशेष पोसाक कस्तो होला

अन्तरिक्षयात्री

तस्बिर स्रोत, NASA

    • Author, जोनथन जोसेफ्स र एन्ट्वनेट र्‍याड्फर्ड
    • Role, बीबीसी न्यूज

नासाका अन्तरिक्षयात्रीहरू फ्याशन डिजाइनर कम्पनी प्राडाले डिजाइन गरेको विशेष परिधानमा ठाँटिएर सन् २०२५ को चन्द्रमाको यात्रामा जाने छन्।

इटलीको फ्याशन ब्र्यान्ड प्राडाले अर्को निजी कम्पनी एक्जम स्पेससँग मिलेर अन्तरिक्षयात्रीका लागि पोसाक डिजाइन गर्न लागेको छ।

"यो काममा प्राडाले पोसाकको कच्चा पदार्थ र उत्पादनको विज्ञता ल्याउने छ," एक्जमले एउटा प्रेस विज्ञप्तिमा भनेको छ।

एक अन्तरिक्षयात्रीले बीबीसीसँग भने, "डिजाइन अनुभवका कारण यो चुनौतीका लागि प्राडा योग्य छ।"

त्यो अनुभव मिलानको फ्याशन प्रदर्शनीहरूका क्याटवाकमा मात्र आधारित छैन।

प्राडाको विज्ञता अमेरिकाको डुङ्गा दौड प्रतियोगितामा पनि प्रयोग हुँदै आएको छ।

पाँचवटा नासा मिशनमा सहभागी तथा चार अन्तरिक्ष हिँडाइमा सहभागी प्राध्यापक जेफ्री हफ्मनले भने, “प्राडासँग विभिन्न किसिमका मिश्रित ‘फ्याब्रिक’सँग को विशिष्ट अनुभव छ। त्यसैले उसले नयाँ अन्तरिक्ष पहिरनको बाहिरी तह बनाउन सही प्राविधिक योगदान पुर्‍याउन सक्छ।”

तर मानिसहरूले अन्तरिक्षयात्रीहरू कुनै पनि बुट्टेदार वा आधुनिक लुगामा देखिएलान् भन्ने सोच्न नहुने उनी बताउँछन्। "किनभने अन्तरिक्षमा राम्रो तापक्रम कायम गर्नु निकै महत्त्वपूर्ण हुन्छ।"

“अन्तरिक्ष पोसाक भनेको वास्तवमा सानो अन्तरिक्षयान नै हो। त्यसले अन्तरिक्षयात्रीलाई आवश्यक चाप कायम राख्न र अक्सिजन उपलब्ध गराउन सघाउनुपर्छ। साथै तपाईँको शरीरमा एउटा निश्चित तापक्रम कायम राख्न पनि सघाउनुपर्छ।”

यो वर्षको सुरुतिर एक्जमले एउटा नयाँ अन्तरिक्ष पोसाक सार्वजनिक गरेको थियो। उसले त्यो आगामी आर्टमिस ३ मिशनमा लगाइने बताएको थियो।

सो पोसाक ५५ किलोग्राम तौलको थियो र महिला अन्तरिक्षयात्रीलाई मिल्ने खालको थियो।

आर्टमिस र प्राडाले एउटा विज्ञप्तिमा आफूहरूले "नवीन प्रविधि र डिजाइन प्रयोग गरेर” चन्द्रमाको सतहमा "यसअघि नभएको अन्वेषण यात्रा” गर्न सहयोग हुने गरी विशेष पोसाक बनाउने बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।