चन्द्रमाको अँध्यारो भागको रहस्य पत्ता लगाउन यस्तो प्रतिस्पर्धा

चन्द्रमा

तस्बिर स्रोत, GETTY IMAGES

    • Author, सौतिक बिस्वास
    • Role, भारत संवाददाता

सूर्य क्षितिजमा छ, अग्ला पहाडहरूले कालो छाया पार्छन्।

'क्रेटर' भनिने गहिरा खाडलमा कहिल्यै नसकिने अँध्यारो छ। यीमध्ये कतिपय क्षेत्रहरू सूर्यको प्रकाशबाट अर्बौँ वर्षदेखि वञ्चित छन्।

चन्द्रमासँग आफ्नो सतहलाई न्यानो बनाउने वायुमण्डल छैन। त्यसैले यी क्षेत्रमा तापक्रम झरेर माइनस ४१४ डिग्री फ्यारन्हाइट (-२४८ डिग्री सेल्सिअस) सम्म पुग्छ। त्यहाँ अहिलेसम्म अन्वेषण भएको छैन र मानिस पुगेको पनि छैन।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार चन्द्रमाको दक्षिणी ध्रुव "रहस्य, विज्ञान र कौतूहल"ले भरिपूर्ण छ।

अपोलो अन्तरिक्षायानले अवतरण गरेको 'इक्वेटर' पनि भनिने मध्यरेखावरपरको भेगभन्दा टाढा अवस्थित चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न अहिले 'प्रतिस्पर्धा' चलिरहेको छ।

अन्वेषणप्रतिको आकर्षण

भारतको चन्द्रयानले पठाएको तस्बिर

तस्बिर स्रोत, ISRO

तस्बिरको क्याप्शन, भारतको चन्द्रयानले पठाएको तस्बिर

भारत चन्द्रयान‍-३ नामक रोबटिक अन्तरिक्षयानलाई यसै साता चन्द्रमाको दक्षिणी ध्रुवनजिकै अवतरण गराउने योजनामा छ।

रुसले त्यसभन्दा अघि नै त्यहाँ अवतरण गराउने लक्ष्य राखेको लूना-२५ आइतवार दुर्घटनाग्रस्त भयो।

भारतले जापानसँग मिलेर संयुक्त रूपमा लूनर पोलर एक्स्प्लोरेशन (लूपेक्स) मिशन सन् २०२६ सम्ममा पठाउने योजना बनाएको छ। उक्त अभियानअन्तर्गत चन्द्रमाको छायामा परेको वा अँध्यारो क्षेत्रमा अन्वेषण गरिने छ।

दक्षिणी ध्रुव किन आकर्षक वैज्ञानिक गन्तव्य बनेको हो त? वैज्ञानिकहरूले त्यसको प्रमुख कारण पानी रहेको बताएका छन्।

चन्द्रयान

चौध वर्षदेखि चन्द्रमाको परिक्रमा गरिरहेको नासाको 'लूनर रिकनिसन्स अर्बिटर'ले सङ्कलन गरेको डेटाले सधैँ अँध्यारो हुने केही ठूला खाडलमा पानी रहेको सङ्केत दिएको थियो।

त्यसले उक्त स्थान मानवजातिका लागि पनि उपयुक्त हुनसक्ने ठानिएको छ।

चन्द्रमामा वायुमण्डल कायम राख्न सक्ने पर्याप्त गुरुत्वाकर्षण नभएका कारण त्यहाँ पानी ठोस वा बाफका रूपमा छ। भारतको चन्द्रयान-१ अभियानले सन् २००८ मा पहिलो पटक चन्द्रमाको सतहमा पानी फेला पारेको थियो।

“बरफमा भएको पानीमा पहुँच हुन्छ वा निकाल्न सकिन्छ भन्ने कुरा अझै प्रमाणित भइसकेको छैन। अर्को शब्दमा भन्नुपर्दा के त्यहाँ कम खर्चमा पानी निकाल्न सकिने जलभण्डार छ?” अमेरिकाको यूनिभर्सिटी अफ नोट्रेडामका प्ल्यानटरी जिओलजीका प्राध्यापक क्लाइभ नील भन्छन्।

चन्द्रयान

वैज्ञानिकहरूका अनुसार चन्द्रमामा पानीको खोजी विभिन्न किसिमले रोचक छ।

दशौँ लाख वर्षसम्म सूर्यको प्रकाश नपुगेपछि चन्द्रमाको ध्रुवीय क्षेत्रमा जमेको पानी चन्द्रमाको सतहमा वा सतहनजिकै बरफको ढिक्का बनेर थुप्रिएको छ।

यसले वैज्ञानिकहरूलाई सौर्यमण्डलमा पानीको इतिहासको विश्लेषण गर्न र बुझ्न विशिष्ट नमुना उपलब्ध गराउँछ।

“हामी पानी कहाँबाट र कसरी आयो र पृथ्वीमा जीव विकासको लागि त्यसको असर के रह्यो भन्ने प्रश्न सम्बोधन गर्न सक्ने छौँ,” युरोपियन स्पेस एजेन्सीसँग आबद्ध तथा द ओपन यूनिभर्सिटीका प्ल्यानटरी वैज्ञानिक सिमीअन बार्बर भन्छन्।

उनका अनुसार चन्द्रमाको सतह वा सतहमुनि रहेको पानीमा पहुँच कायम गर्नुपर्ने "व्यावहारिक कारणहरू" छन्।

अभियान किन महत्त्वपूर्ण

धेरै देशहरूले चन्द्रमामा मानवयुक्त अन्तरिक्षयान पठाउने योजना बनाएका छन्। अन्तरिक्षयात्रीहरूलाई पिउन र सरसफाइका लागि पानी आवश्यक हुन्छ।

पृथ्वीदेखि चन्द्रमासम्म उपकरण पुर्‍याउन गुरुत्वाकर्षणको चुनौतीलाई पार लगाउनुपर्ने हुन्छ। चन्द्रमामा पठाइने उपकरण जति ठूलो हुन्छ त्यसलाई सफलतापूर्वक चन्द्रमामा पुर्‍याउनका लागि रकेट र इन्धनको भार पनि उति नै बढी हुन्छ।

नयाँ व्यावसायिक अन्तरिक्ष कम्पनीहरूले चन्द्रमामा अन्तरिक्षयानमार्फत् एक किलोग्राम तौल पुर्‍याउन झन्डै १० लाख डलर लिने गर्छन्।

“त्यो भनेको एक लिटर पिउने पानीको लागि १० लाख डलर आवश्यक पर्छ। अन्तरिक्ष अभियानसँग सम्बन्धित उद्यमीहरूले चन्द्रमाको बरफलाई स्थानीय रूपमै उपलब्ध हुने पानी आपूर्ति गर्ने अवसरका लिएका छन्,” प्राध्यापक बार्बर भन्छन्।

तर कुरा त्यति मात्र हैन। पानीको सूक्ष्म कणलाई हाइड्रोजन र अक्सिजनका परमाणुमा टुक्र्याउन सकिन्छ र ती दुवै प्रयोग गरेर त्यहाँबाट रकेट प्रक्षेपण पनि गर्न सकिन्छ।

लूना-२५ र चन्द्रयान-३ को तुलना

तर त्यसका लागि चन्द्रमामा कति पानी छ र कुन स्वरूपमा छ भन्ने थाहा हुनुपर्छ। वैज्ञानिकहरूले पानी सजिलै निकाल्न सकिन्छ या सकिँदैन अनि प्रशोधन गरेर सुरक्षित रूपमा पिउन सकिन्छ कि सकिँदैन भन्नेमा पनि चासो व्यक्त गरेका छन्।

अनि दक्षिणी ध्रुवका केही स्थानमा लामो समयसम्म सूर्यको प्रकाश पुगेको पनि छ। पृथ्वीमा हुने दिनको हिसाबमा निरन्तर त्यहाँ निरन्तर २०० दिनसम्म उज्यालो हुन्छ।

“सौर्य ऊर्जा (चन्द्रमामा आधारशिविर बनाउन र ऊर्जाका उपकरण जडान गर्न) अर्को स्रोत हो जसको सम्भाव्यता छ,” नासाको परियोजना वैज्ञानिक नोहा पेट्रो भन्छन्।

चन्द्रमाको दक्षिणी ध्रुव सौर्यमण्डलकै एउटा विशाल खाडलको बाह्य डिलमा छ। उक्त खाडलको व्यास २,५०० किलोमिटर र गहिराइ किलोमिटरसम्म छ। उक्त खाडल सौर्यमण्डलकै एउटा प्राचीनतम संरचना हो।

“दक्षिणी ध्रुवमा अवतरण गरेपछि उक्त खाडलमा के भइरहेको छ भन्ने थाहा पाउने क्रम सुरु हुन्छ,” पेट्रो भन्छन्।

नासाको लूनर रिकनिसन्स अर्बिटर

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, नासाको लूनर रिकनिसन्स अर्बिटर

फरक प्रकाश र ताप भएको चन्द्रमाको ध्रुवमा रोभर, अन्तरिक्षयात्रीले लगाउने पोसाक र नमुना सङ्कलन गर्ने साधनसहित गरिने अबको अन्वेषणले विगतमा मध्यरेखीय क्षेत्रका पुगेका अभियानभन्दा नयाँ तथ्यहरू पत्ता लाग्ने अपेक्षा गरिएको छ।

तर वैज्ञानिकहरू यसलाई दक्षिणी ध्रुवमा पुग्न भइरहेको प्रतिस्पर्धाको सङ्ज्ञा दिन सङ्कोच मान्छन्।

“यी अभियानहरूका लागि दशकौँदेखि योजना बनाइएको छ र कैयौँ पटक विलम्ब भएको छ। चन्द्रमाको हाम्रो बुझाइका लागि यो प्रतिस्पर्धा महत्त्वपूर्ण होइन," यूनिभर्सिटी अफ एरिजोनाको प्ल्यानिटरी साइन्सका प्राध्यापक विष्णु रेड्डी भन्छन्।

"यसअघि वास्तविक अन्तरिक्ष दौड भएपछि तीन वर्षमै चन्द्रमाप्रतिको हाम्रो रुचि समाप्त भयो र त्यसपछि ५० वर्षसम्म हामी चन्द्रमामा फर्किएका छैनौँ।”

कसको उद्देश्य के?

वैज्ञानिकहरूले भारतीय र रुसी अभियानका कतिपय उद्देश्य समान रहेको औँल्याएका छन्।

दुवैले लगभग उस्तै आकारका अन्तरिक्षयान चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा अवतरण गराउने लक्ष्य राखेका थिए। विगतमा कुनै पनि अभियानमा गरिएको भन्दा चन्द्रमाको मध्यरेखाबाट थप दक्षिणको क्षेत्रमा त्यसो गरिने भनिएको थियो।

सन् २०१९ मा भारतको अन्तरिक्ष अभियान विफल भएको थियो। तर अहिले उसले चन्द्रामाको ध्रुवनजिकै सतहमा पुग्न आफू सक्षम रहेको देखाउने प्रयास गरिरहेको छ। उसले चन्द्रमाको 'एक्सोस्फिअर' अर्थात् बहिर्मण्डलको पनि अध्ययन गर्ने र ध्रुवीय क्षेत्रमा अर्बौँ वर्षदेखि थुप्रिएको चट्टान, कण र धुलोयुक्त 'रेगोलिथ' को पनि विश्लेषण गर्ने छ।

लूना-२५ को उद्देश्य ध्रुवीय रेगोलिथ र बहिर्मण्डलमा भएका 'प्ल्याज्मा' र धुलोका कणहरूको विश्लेषण गर्नु थियो।

नासा

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, नासाले अपोलो मिशनको ५० वर्षभन्दा बढी समयपछि चन्द्रमामा अन्तरिक्षयान पठाउन लागेको छ

भारतको अर्बिटरको अवतरण गर्ने क्षेत्र "वास्तविक ध्रुवभन्दा अलिकति पर" छ। प्राध्यापक नील भन्छन्, “तर त्यसले उपलब्ध गराउने डेटा रोमाञ्चक हुने छ।”

रुस र चीनले चन्द्रमामा अनुसन्धानका लागि चन्द्रमाको सतह, कक्ष वा दुवैमा अन्तरिक्षकेन्द्र बनाउने योजना अघि सारेका छन्। रुसले अरू लूना अभियान पठाउने बताइसकेको छ।

नासाले विभिन्न सामग्रीसहित व्यावसायिक ल्यान्डरहरूलाई चन्द्रमाको विभिन्न ठाउँमा पुग्ने गरी पठाउन लागेको छ। जापानले अगस्ट २६ मा 'स्मार्ट ल्यान्डर' पठाउने तयारी गरिरहेको छ। जापानले सानो यानबाट सटीक अवतरण गर्ने उपायको प्रदर्शन गर्ने छ।

अनि अपोलो मिशनअन्तर्गत मानिस चन्द्रमामा पुगेको आधा शताब्दीभन्दा बढी समयपछि नासाले 'आर्टमिस' कार्यक्रमअन्तर्गत थप अन्तरिक्षयात्रीहरूलाई चन्द्रमामा पठाउन लागेको छ।

“चन्द्रमा एउटा विशाल रहस्यजस्तै हो। हामीसँग नमुना र चन्द्रमामा उत्पत्ति भएका उल्कापिण्डको डेटाका आधारमा केही जानकारी छ। तर त्यो अपूर्ण छ,” पेट्रो भन्छन्।

“चन्द्रमाले अझै हामीलाई आश्चर्यमा पारिरहेको छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।