ग्यासको विशाल बादललाई 'ब्ल्याक होलले निल्दा' ब्रह्माण्डमा महाविस्फोटन

तस्बिर स्रोत, JOHN A. PAICE
- Author, पल्लब घोष
- Role, विज्ञान संवाददाता
खगोलविद्हरूले ब्रह्माण्डमा भएको एउटा महाविस्फोटन पत्ता लागेको बताएका छन्। उनीहरूको विश्वासमा अहिलेसम्म पत्ता लागेकामध्ये त्यो नै सबैभन्दा ठूलो विस्फोटन हो।
'सुपरनोभा' भनिने विस्फोटन हुँदै गर्दाको प्रकाशमान ताराभन्दा यो महाविस्फोटन १० गुना बढी चहकिलो छ।
हालसम्म उक्त चहक तीन वर्षभन्दा बढी समयसम्म देखिएको पाइएको छ। विस्फोटनपछि अधिकांश सुपरनोभाहरू केही महिना मात्र उज्याला देखिन्छन्।
एउटा सिद्धान्तका अनुसार एउटा ब्ल्याक होलले ग्यासको विशाल बादल निल्दा उक्त विस्फोटन भएको हुनसक्छ।
क्यालिफोर्नियास्थित त्स्विकी ट्र्यान्जिअन्ट फ्यासिलिटीले पहिलो पटक सन् २०२० मा आकाशमा प्रकाशको एउटा झिल्को पत्ता लगाएको थियो।
यद्यपि त्यसको एक वर्षपछि बल्ल तथ्याङ्क केलाउँदै गर्दा वैज्ञानिकहरूको ध्यान त्यसतिर आकर्षित भयो।
उनीहरूले उक्त घटनालाई AT2021lwx नामकरण गरेका छन्।
सुरुमा वैज्ञानिकहरूले उक्त घटनालाई साधारण मानेका थिए।

तस्बिर स्रोत, NASA
त्यो विस्फोटन कति पर भएको थियो भन्ने कुनै सङ्केत नभएकाले त्यसको चमक गणना गर्न सम्भव थिएन।
यूनिभर्सिटी अफ साउथ्याम्पटनका वैज्ञानिक डा. फिलिप वाइजम्यानको नेतृत्वमा रहेको टोलीले गत वर्ष उक्त घटनाबाट उत्पन्न प्रकाशको विश्लेषण गर्यो।
उक्त विश्लेषणबाट उक्त प्रकाशको स्रोत आठ अर्ब प्रकाशवर्ष टाढा रहेको पत्ता लाग्यो।
"हामीलाई 'हे भगवान्, यो अविश्वसनीय छ' भन्ने लाग्यो," डा. वाइजम्यानले भने।


कारण
त्यति चम्किलो उज्यालो कसरी उत्पन्न भयो भनेर जान्न खोज्दा वैज्ञानिकहरूको टोली जिल्ल पर्यो। त्यति लामो समयसम्म उज्यालो कायम रहने उल्लेख गरिएको कुनै प्रसङ्ग वैज्ञानिक अभिलेख वा पाठ्यवस्तुमा उपलब्ध नभएको डा. वाइजम्यान बताउँछन्।
"धेरै सुपरनोभाहरू र ज्वारीय अवरोधका घटनाहरू केही महिनासम्म मात्र टिक्छन् र पछि हराउँछन्। दुई वर्षभन्दा बढी समयसम्म उज्यालो रहिरहने कुरा त्यति बेला निकै असामान्य थियो।"
सम्भवतः हाम्रो सूर्यभन्दा हजारौँ गुना ठूलो ग्यासको एउटा विशाल बादललाई अतिविशालकाय ब्ल्याक होलले निल्दा उक्त विस्फोटन भएको डा. वाइजम्यानको सिद्धान्त छ।
त्यसबाट अन्तरिक्षभरि तरङ्ग फैलिएको थियो भने ग्यासको बादलका निकै ताता अवशेषहरूले ब्ल्याक होलवरिपरि एउटा विशाल सेलरोटी जस्तो आकार बनाएका थिए।
सबै तारामण्डलको मध्यभागमा विशाल ब्ल्याक होलहरू हुने ठानिएको छ। त्यस्तो शक्तिशाली विस्फोटनले तारामण्डलहरूमा केन्द्र "बनाउन" एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने डा. वाइजम्यानको बुझाइ छ।
"निकै दुर्लभ भए पनि यी घटनाहरू धेरै ऊर्जावान् हुन्छन् र कालान्तरमा तारामण्डलका केन्द्रहरू कसरी फेरिन्छन् भन्नेमा ती महत्त्वपूर्ण प्रक्रिया हुन्।"

तस्बिर स्रोत, NASA/SCIENCE PHOTO LIBRARY
अबको योजना
रोयल एस्ट्रोनमिकल सोसाइटीका सहायक कार्यकारी निर्देशक डा. रोबर्ट म्यासीका अनुसार अब योभन्दा ठूलो विस्फोटनको खोजी गरिने छ।
"हामीले योजस्तो घटना पहिला कहिल्यै देखेका थिएनौँ," उनले बीबीसी न्यूजलाई बताए।
"ब्रह्माण्डमा यस्तो वस्तु यो मात्र हो भने म आश्चर्यचकित हुने छु।"
आगामी वर्षहरूमा अत्याधुनिक टेलिस्कोप प्रणालीहरू बनेपछि अझ अरू घटना पनि पत्ता लगाउन सकिने आशामा डा. वाइजम्यान छन्।
उनको टोली उक्त महाविस्फोटनबारे थप तथ्याङ्क सङ्कलन गर्ने प्रयासमा छ। त्यसका लागि उक्त वस्तुलाई एक्सरेसहित भिन्नभिन्न तरङ्गदूरीमा अवलोकन गरिने छ। त्यसबाट उक्त वस्तुको तापक्रम र त्यसको सतहमा भइरहेका प्रक्रियाहरूबारे जानकारी प्राप्त हुनसक्छ।
वैज्ञानिकहरूले उक्त घटनाको कारणबारे आफूले प्रतिपादन गरेको सिद्धान्त यथार्थपरक छ कि छैन भनेर परीक्षण गर्न परिमार्जित 'कम्प्यूटेशनल सिम्युलेशन' पनि गर्ने छन्।
गत वर्ष खगोलविद्हरूले सबैभन्दा उज्यालो विस्फोटन पत्ता लगाएका थिए। दश घण्टासम्म चलेको उक्त गामा-रे विस्फोटनलाई GRB 221009A नामकरण गरिएको थियो।
उक्त विस्फोटन AT2021lwx भन्दा उज्यालो भए पनि त्यसको समयावधि निकै कम थियो। अर्थात् AT2021lwx को विस्फोटन शक्ति निकै ठूलो थियो।
'मन्थ्ली नोटिसेस अफ द रोयल एस्ट्रोनमिकल सोसाइटी' नामक वैज्ञानिक जर्नलमा यो घटनाबारे विस्तृत विवरण प्रकाशित भएको छ।














