आठ हजार प्रकाशवर्ष पर एउटा 'बाह्यचन्द्र' भेटिएको हुनसक्छ

Artwork: There's nothing like this planet-moon pair in our Solar System

तस्बिर स्रोत, DAN DURDA

तस्बिरको क्याप्शन, हाम्रो सौरमण्डलमा जस्तो ग्रह-चन्द्रमाको जोडा अन्त नहुन सक्छ

खगोलशास्त्रीहरूले हाम्रो सौरमण्डलबाहिर पनि अर्को चन्द्रमा रहेको हुनसक्ने बताएका छन्।

त्यो 'बाह्यचन्द्र' हाम्रो आकाशमा भएका खगोलीय पिण्डभन्दा पृथक् छ। आकारमा वरुण ग्रहजति ठूलो त्यो सम्भावित उपग्रहले बृहस्पतिजत्रो ग्रहको परिक्रमा गर्छ। तर त्यसको पिण्ड भने १० गुणा बढी छ।

नासाको केप्लर अन्तरिक्षयानबाट प्राप्त डेटामा त्यस्को अस्तित्व फेलापरेपछि हबल टेलिस्कोपबाट उक्त उपग्रहको अवलोकन गरिएको थियो।

'बाह्यचन्द्र' बारे खगोलशास्त्री डेभिड किपिङ र एलेक्स टीचीले गरेको अनुसन्धान 'साइअन्स् अड्भान्सेस्' जर्नलमा प्रकाशित भएको छ।

तर धेरै टाढा रहेको त्यो ग्रहप्रणाली बारे बुझ्न थप अवलोकन आवश्यक भएको उनीहरूले औँल्याएका छन्।

प्रयास

न्यू योर्कस्थित कोलम्बिया विश्वविद्यालयमा कार्यरत डा. किपिङले अन्तरिक्षयानमा भएको त्रुटि अथवा अन्य ग्रह वा ताराका गतिविधिका कारण अवलोकनमा अन्यथा देखिएको होइन भनेर छुट्याउन यथाशक्य प्रयास गरिएको बताएका छन्।

अनुसन्धानकर्ताहरूले हबल टेलिस्कोप गरेर अक्टोबरमा थप अवलोकन गर्नेछन्

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, अनुसन्धानकर्ताहरूले हबल टेलिस्कोप गरेर अक्टोबरमा थप अवलोकन गर्नेछन्

"तर हामीसँग भएका सबै डेटालाई वर्णन गर्न सक्ने अर्को कुनै सिद्धान्त हामीले फेला पार्न सकेनौँ," उनले भने।

अहिलेसम्म खगोलशास्त्रीहरूले सूर्यबाहेकका अन्य तारावरिपरि घुम्ने ३५ सयवटाभन्दा बढी 'बाह्यग्रह' पत्ता लगाएका छन्।

सँगसँगै ती सौरमण्डलका सदस्य ग्रहका उपग्रह अर्थात् बाह्यचन्द्रको पनि खोजी भएको छ। तर ती उपग्रहहरू हाल उपलब्ध प्रविधिले पत्ता लगाउन सक्ने क्षमताको सीमाभन्दा अलि पर छन्।

केप्लर सिक्स्टीनट्वेन्टीफाइभ बी नाम दिइएको ग्रह उसको माउ तारा अगाडिबाट हिँडेको अनुसन्धानकर्ताहरूले अवलोकन गरेका थिए।

टाढा

त्यो १९ घण्टा लामो पारगमनको अवधिमा ताराबाट प्रकाश छेकिएको थियो। त्यो तारा पृथ्वीबाट आठ हजार प्रकाशवर्ष टाढा रहेको छ।

किपिङ र टीचीले विभिन्न पारगमनबाट सङ्कलित डेटामा बाह्यचन्द्रको अस्तित्व देखाउने दुईवटा सङ्केत खोजेका थिए।

बाह्यचन्द्र अगाडिबाट जाँदा माउताराको चमक घट्नु पहिलो सङ्केत थियो। माउताराअगाडि हुँदा ग्रहको पारगमनमा भएको विलम्ब दोस्रो सङ्केत थियो।

किपिङ भन्छन्, "यो घटनाको स्थान, आकार र गहिराइ वरुणजत्रो चन्द्रमाले आफ्नो ताराअगाडि बाट पारगमन गर्ने बेलाको जस्तो छ।"

कलाकारले बनाएको चित्रात्मक पारगमन: केप्लर-सिक्स्टीनट्वेन्टीफाइफ बी-आई ग्रह आफ्नो सम्भावित चन्द्रमासहित माउतारा अगाडिबाट पारगमन गर्दै

तस्बिर स्रोत, DAN DURDA

तस्बिरको क्याप्शन, कलाकारले बनाएको पारगमनको प्रतीकात्मक चित्र: केप्लर सिक्स्टीनट्वेन्टीफाइफ बी-आई ग्रह आफ्नो सम्भावित चन्द्रमासहित माउतारा अगाडिबाट पारगमन गर्दै

सो सम्भावित बाह्यचन्द्रलाई केप्लर सिक्स्टीनट्वेन्टीफाइभ बी-आई नाम दिइएको छ। त्यसले ३० लाख किलोमिटर पर रहेको कक्षबाट आफ्नो ग्रहको परिक्रमा गर्छ।

ग्रहको पारगमन सकिएको साढे तीन घण्टापछि हब्बल टेलिस्कोपले दोस्रो पटक ताराको चमक घटेको रेकर्ड गर्‍यो।

"त्यसले डोरीमा बाँधेको कुकुरले आफ्नो मालिकलाई पछ्याएजसरी चन्द्रमा आफ्नो ग्रह पछिपछि हिँडेको सङ्केत गर्‍यो," किपिङले भने।

सो पारगमन अनुमान गरेको समयभन्दा सवा घण्टाअगाडि भएको थियो।

सङ्केत

त्यसले सो ग्रहमा गुरुत्वका कारण केही तानिएको सङ्केत गरेको किपिङको भनाइ छ।

टीचीका अनुसार उपलब्ध प्रमाणहरूले चन्द्रमाको अस्तित्वको आधार देखाएका छन्। उनी भन्छन्, "त्यही पनि हामी यहाँ सावधान हुनुपर्छ। पहिलो बाह्यचन्द्रको घोषणा एउटा असामान्य दाबी हो र त्यसका लागि असामान्य प्रमाण चाहिन्छ।

तर आफूहरू यो खोजीबाट उत्साहित भएको उनी बताउँछन्।

एक दशकदेखि टाढा रहेका उपग्रहहरूको खोजी गर्न थालेका किपिङले आफ्ना सहकर्मी टीची र आलान श्मिटसँग गत वर्ष जुलाईदेखि यो सम्भावित बाह्यचन्द्रको अध्ययनको घोषणा गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अन्तरिक्षबाट सूर्योदय कस्तो देखिन्छ?