ठूलो विस्फोटनपछि तीव्र गतिमा आकाशगङ्गामा हुत्तिएको एउटा 'अद्वितीय' तारा

तस्बिर स्रोत, University of Warwick / Mark Garlick
- Author, पल रिन्कन
- Role, विज्ञान सम्पादक, बीबीसी न्यूज वेबसाइट
अन्तरिक्षमा भएको शक्तिशाली विस्फोटनपछि एउटा तारा आकाशगङ्गामा तीव्र वेगमा हुत्तिएको खगोलशास्त्रीहरूले पत्ता लगाएका छन्।
उक्त तारामा सुपरनोभा भनिने विस्फोटनको प्रक्रिया आंशिक रूपमा भएको उनीहरूको निष्कर्ष छ।
सुपरनोभा बनेपछि ताराहरू प्रायः नष्ट हुन्छन्। तर त्यो विस्फोटनले उक्त तारालाई नष्ट पार्न सकेन। बरु नौ लाख किलोमिटर प्रतिघण्टाको वेगमा अन्तरिक्षमा हुत्त्याइदियो।
खगोलशास्त्रीहरूका अनुसार उक्त तारा ‘ह्वाईट ड्वार्फ’ थियो र त्यसले एउटा अर्को तारालाई परिक्रमा गर्थ्यो।
उक्त अद्भुत खगोलीय घटनापछि दोस्रो तारा पनि विपरीत दिशामा उछिट्टिएको अनुमान गरिएको छ।
असामान्य संरचना
दुईवटा ताराले एक अर्कालाई परिक्रमा गर्दा तिनलाई “बाईनरी” अर्थात् द्व्यात्मक भनिन्छ। तर अहिले ती दुईमध्ये एउटा ताराको अवस्थिति मात्र खगोलशास्त्रीले पत्ता लगाउन सकेका छन्।
विस्फोटन भएको उक्त खगोलीय पिण्डलाई वैज्ञानिकहरूले SDSS J1240+6710 नामकरण गरेका थिए।
सन् २०१५ मा पत्ता लागेको उक्त ताराको वायुमण्डलीय संरचना असामान्य थियो।
त्यसमा हाईड्रोजन र हीलीअम दुवै ग्यास थिएनन्। बरु अक्सिजन, नीअन, म्याग्नीजम र सिलिकनको अस्वाभाविक मिश्रण थियो।
हबल स्पेस टेलिस्कोप प्रयोग गरेर वैज्ञानिकहरूले त्यसमा कार्बन र सोडीअम एल्युमिनीअम पनि पत्ता लगाएका थिए।
ती सबै तत्त्व सुपरनोभा बन्ने क्रममा भएको थर्मोन्यूक्लीअर अर्थात् ऊष्मनाभिकीय प्रतिक्रिया हुँदा बनेका थिए।
तर त्यहाँ फलाम, निकल, क्रोमीअम र म्याङ्गनीजजस्ता धातुहरू छँदै छैनन्।
यसबारे ‘मन्थ्ली नोटिसेज् अफ द रोयल एस्ट्रनमिकल सोसाईअटी’ नामक जर्नलमा प्रकाशित भएको छ।

तस्बिर स्रोत, NASA
सङ्केत र प्रमाण
यसको अर्थ के हो भने नाभिकीय ज्वलन निभ्नुअघि उक्त तारा आंशिक सुपरनोभा मात्र बन्न सकेको थियो।
यसबारे प्रकाशित शोधका मुख्य लेखक तथा यूकेस्थित यूनिभर्सिटी अफ वरिकको भौतिक विज्ञान विभागका प्राध्यापक बोरिस गेन्सिकले भने, “यो तारा अभूतपूर्व छ किनभने यसमा ‘ह्वाईट ड्वार्फ’का सबै गुण छन्। तर यसको वेग एकदमै उच्च छ अनि यसमा भएको असामान्य प्रचुरता यसको कम द्रव्यमानसँग हेर्दा अर्थहीन देखिन्छ।”
उनका अनुसार उक्त ताराको रासायनिक संरचना नै ‘न्यूक्लीअर बर्निङ’ अर्थात् नाभिकीय ज्वलनको प्रमाण हो।
त्योसहित निम्न द्रव्यमान र उच्च वेगले उक्त पिण्ड कुनै घनिष्ठ ‘बाईनरी सिस्टम’ अर्थात् द्विमान प्रणालीबाट आएको र त्यहाँ ऊष्मनाभिकीय ज्वलन भएको सङ्केत गर्छन्।
“यो एक किसिमको सुपरनोभा थियो होला, तर यसअघि हामीले नदेखेको खालको।”
गुलेलीसँग तुलना
गुलेली हान्दा जस्तो दुवै तारा विपरीत दिशामा उछिट्टिएको परिस्थितिमा उच्च वेग बनेको हुनसक्छ।
वैज्ञानिकहरूले उक्त ताराको द्रव्य पनि मापन गरेका छन् जुन अन्य ह्वाईट ड्वार्फको तुलनामा कम छ।
अहिलेसम्म राम्ररी अध्ययन गरिएका सुपरनोभाहरूलाई टाईप आईएको वर्गमा राखिएको छ।
तिनको अध्ययनबाट ‘डार्क एनर्जी’ पत्ता लगाउन सकिएको थियो र अहिले तिनलाई आधार मानेर ब्रह्माण्डको आकृतिको मापन गरिन्छ।
नितान्त पृथक् परिस्थतिमा ऊष्मनाभिकीय सुपरनोभा पनि बन्ने गरेकोबारे थप प्रमाणहरू प्राप्त भइरहेका छन्।
यो पनि हेर्नुहोस्









