हाम्रो आकाशगङ्गाभन्दा बाहिर एउटा ग्रह फेला परेको सङ्केत

तस्बिर स्रोत, ESO / L. Calçada
- Author, पोल रिन्कन
- Role, विज्ञान सम्पादक, बीबीसी न्यूज वेबसाइट
पहिलो पटक खगोलशास्त्रीले हाम्रो आकाशगङ्गाभन्दा बाहिर कुनै ग्रह भएको सङ्केत फेला पारेका छन्।
अहिलेसम्म सूर्यबाहेक अरू ताराको परिक्रमा गर्ने झन्डै ५,००० वटा "बाह्यग्रह" फेला परेका छन्। तर ती सबै 'मिल्कीवे' भनिने हाम्रो पृथ्वी ग्रह पनि रहेको आकाशगङ्गामा छन्।
शनिग्रहको आकारको उक्त सम्भावित ग्रह मेसीअर ५१ नामक आकाशगङ्गामा छ। नासाको "चन्द्र एक्सरे टेलिस्कोप"ले उक्त खगोलीय पिण्ड फेला पारेको हो।
उक्त पिण्ड मिल्कीवेबाट २.८ करोड प्रकाशवर्ष टाढा अवस्थित छ।
खगोलपिण्डहरूको पारगमनका आधारमा उक्त पिण्ड ग्रह हुन सक्ने निष्कर्ष निकालिएको हो। पारगमनका बेला ताराअगाडि पुगेको ग्रहले ताराको प्रकाश छेकिदिन्छ।
त्यसबाट धमिलो चमक घट्छ जसलाई दूरबिनले पत्ता लगाउन सक्छ।
यो सामान्य प्रविधि प्रयोग गरेर हजारौँ बाह्यग्रह पत्ता लगाइएको छ।
डा. रोजेन डि स्टेफानो र उनका सहकर्मीहरूले "एक्सरे ब्राइट बाइनरी" भनिने वस्तुबाट प्राप्त एक्सरेमा चमक घट्ने क्रम खोजे।
ती वस्तुमा विशेषगरी "न्यूट्रन स्टार" वा नजिकैको ताराबाट आफूतिर ग्यास तान्ने "ब्ल्याक होल" पर्छन्। न्यूट्रन स्टार वा ब्ल्याक होलनजिकै हुने तत्त्व निकै तात्छ र एक्सरेको तरङ्गदैर्ध्यमा चम्किन्छ।
चहकिलो एक्सरे (किरण) उत्पन्न गर्ने क्षेत्र सानो हुने भएकाले त्यसको अघि परेर जाने कुनै ग्रहले अधिकांश वा सबै किरण छेकिन सक्छ। त्यसबाट उक्त ग्रहको पारगमन पत्ता लगाउन सजिलो हुन्छ।
उक्त टोलीले यही विधि प्रयोग गरेर एम५१-यूएलएस-१ (M51-ULS-1) नामक युग्मतारा प्रणालीमा अवस्थित उक्त सम्भावित बाह्यग्रह पत्ता लगाएको हो।
"हामीले विकसित गरेको र प्रयोग गरेको विधि मात्रै अन्य आकाशगङ्गामा ग्रह खोज्न अहिले प्रयोग गर्न सकिने विधि हो," डा. डि स्टेफानोले भनिन्। उनी अमेरिकास्थित हार्भर्ड-स्मिथसोनिएन सेन्टर फर एस्ट्रोफिजिक्समा कार्यरत छिन्।
"यो अद्वितीय विधि हो, किरणको वक्ररेखा मापन गर्न सकिने जुनसुकै दूरीमा भए पनि एक्सरे बाइनरीवरिपरि ग्रह खोज्न एकदमै सुहाउँदो।"

तस्बिर स्रोत, NASA
भविष्यमा ग्रहको खोजी
यो बाइनरी अर्थात् युग्मप्रणालीमा एउटा ब्ल्याक होल वा न्यूट्रन स्टारले सूर्यको भन्दा २० गुना बढी द्रव्यमान भएको अर्को ताराको परिक्रमा गर्छ। विशाल ताराको अन्तर्भाग खुम्चिएपछि न्यूट्रन स्टार बन्छ।
उपर्युक्त पारगमन तीन घण्टाको थियो। सो अवधिमा एक्सरे उत्सर्जन घटेर शून्यमा पुग्यो। यो र अन्य सूचनाका आधारमा खगोलशास्त्रीहरूले उक्त सम्भावित ग्रह शनिजत्रो भएको अनुमान गरेका छन्। उनीहरूका अनुसार उक्त ग्रहले शनि र सूर्यबीचको दूरीभन्दा दुई गुनाजति पर रहेर न्यूट्रन स्टार वा ब्ल्याक होललाई परिक्रमा गरिरहेको हुनसक्छ।
डा. डि स्टेफानोका अनुसार मिल्कीवेमा बाह्यग्रह खोज्न उपयोगी विधिहरू अरू आकाशगङ्गाको अवलोकन गर्दा विफल हुन्छन्।
किनभने अन्य आकाशगङ्गा धेरै पर भएकाले टेलिस्कोपसम्म आइपुग्ने प्रकाशको परिमाण कम हुन्छ अनि पृथ्वीबाट हेर्दा सानो ठाउँमा धेरै वस्तु खाँदिएको वा भिडभाड भए जस्तो देखिने भएकाले सबै तारालाई छुट्टाछुट्टै चिन्न कठिन हुन्छ।
तर पूरै आकाशगङ्गामा एक्सरेका "केही दर्जन स्रोत मात्र हुन सक्ने भएकाले" हामीले तिनलाई चिन्न सक्ने उनको भनाइ छ।
"अन्ततः एउटा सानो क्षेत्रबाट एक्सरेको विशाल उत्सर्जन हुन्छ जसलाई अगाडि पुग्ने ग्रहले उल्लेख्य रूपमा वा (हाम्रो विषयमा) पूर्णतः अवरुद्ध पारिदिन सक्छ।"

तस्बिर स्रोत, NASA / ESA / S. Beckwith / HHT
आफ्नो विवेचनालाई पुष्टि गर्न थप डेटा चाहिने कुरामा अनुन्धानकर्ताहरू सहमत छन्।
उक्त सम्भावित ग्रहको कक्ष विशाल भएकाले त्यो ग्रह आफ्नो युग्मप्रणालीको ताराअगाडि फेरि ७० वर्षजतिपछि मात्र पुग्नेछ। त्यसकारण तत्काल पारगमन हुने वा थप अवलोकन गर्ने सम्भावना छैन।
ग्यास र धूलोयुक्त बादल एक्सरेको स्रोतअगाडि परेकाले पनि चमक घटेको हुनसक्ने सम्भावनाबारे विज्ञहरूले विचार गरेका थिए।
तर उल्लिखित घटनाका लक्षणहरू ग्यासको बादलका कारण देखिएको हुन नसक्ने उनीहरूलाई लागेको छ।
"हामीलाई थाहा छ हामीले निकै उत्तेजक र साहसिक दाबी गरिरहेका छौँ। त्यसैले अरू खगोलशास्त्रीले यसलाई सावधानीपूर्वक हेर्छन् भन्ने हाम्रो आशा छ," उक्त शोधकी सहलेखिका तथा प्रिन्सटन यूनिभर्सिटीमा कार्यरत वैज्ञानिक जुलिया बेर्न्ड्ट्सनले भनिन्।
आफ्नो तर्क बलियो भएको दाबी गर्दै उनले विज्ञानले यसरी नै काम गर्ने उनले बताइन्।
आधुनिक अप्टिकल र इन्फ्रारेड टेकिस्कोपले पनि "भिडभाड" र "धमिलोपन" सम्बन्धी समस्या समाधान गर्न नसक्ने डा. डि स्टेफानोको भनाइ छ।
त्यसैले अरू आकाशगङ्गामा ग्रह खोज्ने कामका लागि एक्सरे विधिबाट गरिने अवलोकन पछिसम्म रहने उनको बुझाइ छ।
तर यो कामका लागि माइक्रोलेन्सिङ भन्ने विधि उपयोगी बन्न सक्छ कि भन्ने उनलाई लागेको छ।
यो शोध नेचर एस्ट्रनमी जर्नलमा प्रकाशित भएको छ।













