पृथ्वीबाट टाढाको ग्रहमा पहिलो पटक पानी भेटियो

तस्बिर स्रोत, ESA/UCL
- Author, पल्लब घोष
- Role, विज्ञान संवाददाता, बीबीसी न्यूज
खगोलविद्हरूले पृथ्वीबाट धेरै पर अवस्थित एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पहिलो पटक फेला पारेका छन्।
उक्त ग्रह आफ्नो माउ ताराको बस्नयोग्य क्षेत्रभित्र परिक्रमा गर्छ। यो अन्वेषणले K2-18b नामक उक्त ग्रह पृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको छ।
दश वर्षभित्र नयाँ अन्तरिक्ष टेलिस्कोपले उक्त ग्रहको वायुमण्डलमा प्राणीहरूले बनाउने ग्यास भए वा नभएको निर्क्यौल गर्न सक्नेछ।
नेचर एस्ट्रोनमी नामक वैज्ञानिक जर्नलमा उक्त अध्ययनको विवरण प्रकाशित भएको छ।
युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक तथा प्रमुख वैज्ञानिक गिओभाना टिनेटीले यो पछिल्लो खोजलाई "अद्भभुत" भनेकी छन्।
"जीवित रहन सक्ने अवस्थासँग सम्भवतः मेल खाने तापक्रम भएको एउटा ताराको बस्नयोग्य क्षेत्र वरपरको एउटा ग्रहमा पहिलो पटक हामीले पानी रहेको पत्ता लगाएका छौँ," उनले भनिन्।
ग्रहको सतहमा पानी तरल रूपमा रहनका लागि उपयुक्त तापक्रम भयो भने सो क्षेत्रलाई बस्नयोग्य मानिन्छ।
केटू-एटीनबी ग्रह १११ प्रकाश वर्ष अर्थात् पृथ्वीदेखि झन्डै ६,५०० खर्ब* (६५,००,००,००,००,००,०००) माइल टाढा छ।

तस्बिर स्रोत, ESA/STFC RAL SPACE/UCL/EUROPLANET-SCIENCE OFFICE
अतः थप अध्ययनका लागि सन् २०२० को दशकमा आउने अर्को पुस्ताको अन्तरिक्ष दूरबीनको प्रतीक्षा गर्नुपर्ने हुन्छ।
त्यसले उक्त ग्रहको वायुमण्डलमा ग्यासको खोजी गर्नेछ जुन ग्यास प्राणीले मात्र निकाल्न सक्ने युनिभर्सिटी कलेज लन्डनस्थित डा. इङ्गो वाल्डम्यान बताउँछन्।
"यो विज्ञानका ठूलामध्येको एउटा प्रश्न हो र ब्रह्माण्डमा हामी मात्रै छौँ भनेर सोच्ने गर्छौँ," वाल्डम्यान भन्छन्, "दश वर्षभित्र हामीले ती वायुमण्डलमा बाँच्नका लागि चाहिने रसायन भए वा नभएको थाहा पाउनेछौँ।"

बाह्यग्रह के हो?
- सौर्यमण्डलबाहिरका ग्रहहरूलाई एक्सोप्लानिट अर्थात् बाह्यग्रह भनिन्छ
- पहिलो एक्सोप्लानिट सन् १९९२ मा पत्ता लागेको थियो जसले इलेक्ट्रोम्याग्नेटिक विकिरण उत्सर्जन गर्ने पल्सर नामक न्यूट्रोन ताराको परिक्रमा गर्छ
- विविध विधिद्वारा अहिलेसम्म चार हजारभन्दा बढी बाह्यग्रह फेला परेका छन्
- यीमध्ये धेरैजसो बृहस्पति र वरुणजस्ता देखिने एकदम ठूला ग्रह हुन्
- धेरैजसो ठूला ग्रहहरूले आफ्ना तारासँग निकै नजिक भई परिक्रमा गरिरहेको पाइएका छन्

बाह्यग्रहको वायुमण्डलमा पानी भएको तथ्य फेला पारेको टोलीले सन् २०१६ र २०१७ को बीचमा हबल स्पेस टेलिस्कोपले पत्ता लगाएका ग्रहहरूको अवलोकन गरेको थियो।
ती ग्रहले आफ्नो माउ ताराको परिक्रमा गर्ने क्रममा प्रकाशमा भएको परिवर्तनको अध्ययन गरेर केही रसायनको पहिचान गरिएको थियो।
ग्रहको वायुमण्डलमा छिरेको प्रकाशमा केही परिवर्तन भएको देखिएको थियो।
(* यसअघि ६५ करोड माइल मात्र लेखिन गएकोमा संशोधन गरिएको छ।)

यो पनि हेर्नुहोस्











