सूर्यको रङ्ग पहेँलो होइन भने कस्तो हो त?

सूर्य

तस्बिर स्रोत, Getty Images

बाल्यकालदेखि हामीले सूर्यको चित्र बनाउँदा त्यसमा पहेँलो रङ्ग लगाउने गरेका छौँ।

सूर्योदय वा सूर्यास्तका बेला हामीले त्यसलाई केही सुन्तला वा रातो रङ्गमा देखाउने गरेका छौँ।

तर हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको सूर्य न पहेँलो छ न सुन्तला रङ्गको न त रातो नै।

सूर्यले निरन्तर रूपमा विभिन्न रङ्गहरू मिसिएका प्रकाश पुञ्ज फ्याँकिराखेको हुन्छ।

यदि तपाईँले सूर्यको प्रकाशलाई रङ्ग छुट्टाउने उपकरणले हेर्नुहुन्छ भने त्यो रातो, सुन्तला रङ्ग, पहेँलो, हरियो, निलो, गाडा निलो र बैजनी रङ्गमा विभाजित भएको देख्नुहुन्छ।

यी रङ्गहरू इन्द्रेणीमा जस्ता देखिन्छन्।

सूर्यको प्रकाश हाम्रो आँखासम्म आउने प्रक्रियाले नै इन्द्रेणी बन्ने गर्छ।

वायुमण्डलमा हुने पानीका थोपाहरूले पनि प्रकाशको रङ्ग छुट्टाउने उपकरणले जस्तै काम गर्ने भएकाले हामीले इन्द्रेणी देख्छौँ।

सूर्य

तस्बिर स्रोत, Getty Images

सूर्यले छाड्ने सबै रङ्गहरू एकसाथ मिसिँदा हामीले एउटा मात्र रङ्ग पाउँछौँ।

त्यो के हो भनेर थाहा पाउन चाहने हो भने आकाशमा सङ्केत पनि पाइन्छ।

कपासजस्तो बादलले हामीलाई सूर्यको प्रकाश प्रतिबिम्बित गर्छ जुन न पहेँलो न त अन्य रङ्ग हो।

ती सेतो रङ्ग हो जुन सूर्यले छाड्ने वास्तविक रङ्ग हो।

हामीले पहेँलो किन देख्छौँ?

सौर्य प्रकाशपुञ्जका प्रत्येक रङ्गमा फरक-फरक वेभलेन्थ हुने गर्छन्।

एउटा कुनामा सबैभन्दा लामो वेभलेन्थ हुने रातो रङ्ग रहेको हुन्छ।

त्यसपछि वेभलेन्थ कम हुने गरेका रङ्गहरू रातोबाट क्रमशः सुन्तला, हरियो, निलो, बैजनी र गाडा निलो आउँछन्।

छोटो वेभलेन्थ भएका रङ्गका फोटोनहरू वायुमण्डलमा धेरै छरिएका हुन्छन्।

अन्तरिक्षमा प्रकाशहरू कुनै अवरोधबिना प्रवाह हुने भएकाले त्यहाँ त्यो आफ्नो 'वास्तविक रङ'मा सेतो प्रकाशको डल्लोको रूपमा देखिन्छ।

तर उसका प्रकाश रेखाहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ हावामा भएका कणले साना वेभलेन्थ भएका फोटोनहरूलाई बङ्ग्याउँदै वास्तविकताभन्दा फरक देखाउँछन्।

सूर्य

तस्बिर स्रोत, Getty Images

"वायुमण्डलले प्रकाशपुञ्जका सबैभन्दा कडा रङ्गलाई अवरोध गर्छ जुन बैजनी र निलो क्षेत्रसँग मिल्छन्," द एस्ट्रोनोमर्स डायरी नामको वेबसाइट सञ्चालन गर्ने एन्जेल मोलिना भन्छिन्।

"त्यसैले तातो बिजुली बल्बजस्तो सूर्य वायुमण्डलले हटाइदिने चिसा रङ्गबिनै पृथ्वीमा देखिन्छ। त्यो पहेँलोतर्फ ढल्किएको रङ्ग बढ्ता देखिन्छ।"

तर किन पहेँलो देखिन्छ तर त्योभन्दा लामो वेभलेन्थ भएको रातो वा सुन्तला देखिँदैन?

उरुग्वेको युनिभर्सिटी अफ द रिपब्लिकमा खगोल शास्त्र पढाउने गोन्जालो टान्स्रेडीका अनुसार हरियोदेखि बैजनीसम्मका छोटा वेभलेन्थ भएका रङ्गहरू सोसिएपछि सूर्यको प्रकाश रङ्ग लहरको मध्यमा पर्छ जुन पहेँलो हो।

सूर्य

तस्बिर स्रोत, NASA/SDO/Goddard Space Flight Center

सूर्यास्त किन रातो त?

जब सूर्य उदाउने वा अस्ताउने गर्छ त्यो क्षितिजको नजिक हुन्छ जसले गर्दा सूर्यका प्रकाश धेरै वायुमण्डलीय कणमार्फत् बहन्छ।

त्यसले गर्दा निलोजस्ता रङ्गलाई निकै बङ्ग्याइदिन्छ।

अनि सूर्यमा लामो वेभलेन्थ भएका रातो र सुन्तला रङ्गहरू हाबी हुन पुग्छन्।

आकारमा सूर्य घुमिरहेको देखिँदा पृथ्वीसँगको उसको कोण समेत निरन्तर फेरिइरहेको हुन्छ।

र त्यसले फरक-फरक समयमा सूर्यलाई भिन्न-भिन्न रङ्गमा देखाउँछ।

तर सूर्यलाई सिधा आँखाले हेर्ने काम आँखाको लागि निकै हानिकारक छ जसले दृष्टि पूर्ण रूपमा गुम्न सक्ने अवस्था समेत आउन सक्छ।

सूर्य

तस्बिर स्रोत, Getty Images