आकाशगङ्गाः नयाँ उपकरण प्रयोग गरेर लाखौँ ताराको उत्पत्तिको रहस्य यसरी खोज्दै छन् वैज्ञानिकहरू

तारा

तस्बिर स्रोत, ESO

    • Author, पल्लब घोष
    • Role, विज्ञान संवादाता, ला पाल्मा

एउटा शक्तिशाली टेलिस्कोपमा नयाँ प्रविधि जडान गरेर वैज्ञानिकहरूले हाम्रो आकाशगङ्गाको उत्पत्तिबारे अनुसन्धान गर्न थालेका छन्।

स्पेनको ला पाल्मास्थित विलिअम हर्शल टेलिस्कोप (डब्ल्यूएचटी) ले एक घण्टामा १,००० वटाको दरले कुल ५० लाखवटा ताराको सर्वेक्षण गर्नेछ।

डब्ल्यूएचटीसँग जोडिएको तीव्र गतिमा नक्साङ्कन गर्ने एउटा उपकरणले प्रत्येक ताराको संरचना र त्यसको गति विश्लेषण गर्नेछ।

त्यसबाट हाम्रो आकाशगङ्गा अर्बौँ वर्षअघि कसरी बनेको थियो भन्ने थाहा हुनेछ।

अक्सफर्ड यूनिभर्सिटीका प्राध्यापक गेभिन डाल्टनले 'वीभ' नामक उक्त उपकरण विकास गर्न एक दशकभन्दा बढी समय व्यतीत गरेका छन्।

उक्त साधन प्रयोगका लागि तयार भएको देख्दा आफू "अतिहर्षित" भएको उनले बताए।

"यो अद्भुत उपलब्धि हो," उनले भने। "अर्को चरण नयाँ साहसिक कामको हो, यो गज्जब छ!"

डब्ल्यूएचटीमा जडित वीभ उपकरण

तस्बिर स्रोत, GAVIN DALTON

तस्बिरको क्याप्शन, डब्ल्यूएचटीमा जडित वीभ उपकरणमा ८०,००० भाग छन्

वीभले कसरी काम गर्छ?

डब्ल्यूएचटी स्पेनको ला पाल्मा द्वीपस्थित एउटा पर्वतमा राखिएको छ। त्यसैमा वीभ जडान गरिएको हो।

वीभ 'डब्ल्यूएचटी इन्हान्स्ड एरिया भेलोसिटी एक्स्प्लोरर' को सङ्क्षिप्त रूप हो।

यो उपकरणका ८०,००० वटा भाग छन्। इन्जिनियरिङको क्षेत्रमा यसलाई चमत्कार मानिएको छ।

डब्ल्यूएचटी सोझिएको आकाशको प्रत्येक भागका लागि खगोलशास्त्रीहरू १,००० वटा ताराको अवस्थिति पहिचान गर्छन्।

त्यसपछि वीभका फुर्तिला रोबटिक "औँलाहरू"ले सम्बन्धित तारातिर देखिनेगरी पातामा प्रत्येक स्थानमा एउटा फाइबर-अप्टिक राखिदिन्छन्।

फाइबर-अप्टिकले प्रकाश प्रसारण गर्छ। ती फाइबरहरू वस्तुतः सूक्ष्म टेलिस्कोप हुन्। प्रत्येक फाइबरले एउटा ताराबाट आएको प्रकाश समात्छ र अर्को उपकरणतिर पठाउँछ। त्यसपछि उक्त प्रकाशलाई इन्द्रधनुषका रूपमा छुट्ट्याइन्छ। त्यसैमा उक्त ताराको उत्पत्ति र इतिहासका रहस्यहरू हुन्छन्।

यो सबै काम एक घण्टाभित्र सम्पन्न हुन्छ। यो काम भइरहँदा थप १,००० ताराका लागि फाइबर अप्टिक सोही पाताको अर्कोपट्टि संयोजित गरिन्छ। पहिलो काम सकिएपछि पाताको त्यो भागमा विश्लेषणको काम सुरु हुन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हब्बलले खिच्यो सबैभन्दा टाढा रहेको ताराको तस्बिर

आकाशगङ्गामा के छ?

आकाशगङ्गा अर्थात् हाम्रो तारापुञ्जमा झन्डै ४०० अर्ब तारा छन्। ती ताराले चक्र आकार परेको एउटा सघन आकृति बनाएका छन्।

तर आकाशगङ्गा उत्पत्ति हुँदा यसमा तुलनात्मक रूपमा कम ताराहरू थिए।

अर्बौँ वर्षमा अरू साना तारापुञ्जहरूसँग एकीकृत हुँदै यसको आकार बढेको हो।

नयाँ तारापुञ्जका ताराहरू समाहित हुँदासहित प्रत्येक एकीकरणले नयाँ ताराको उत्पत्ति हुने अवस्था सिर्जना गराउँछ।

आकाशगङ्गा

तस्बिर स्रोत, Science Photo Library

तस्बिरको क्याप्शन, आकाशगङ्गावरिपरि ससाना तारापुञ्जहरू भएको वैज्ञानिकहरू बताउँछन्

कसरी रहस्योद्घाटन हुन्छ?

आफूले अवलोकन गर्ने प्रत्येक ताराको गति, दिशा, आयु र संरचना पत्ता लगाउन वीभ सक्षम छ। त्यसो गर्दा उक्त उपकरणले आकाशगङ्गामा चलायमान ताराहरूको गतिशील चित्र बनाउँछ।

अहिलेको ज्ञानको आधारमा विगतको अनुमान गरेर पूरा आकाशगङ्गाको उत्पत्तिबारे विस्तारमा थाहा पाउन सम्भव भएको प्राध्यापक डाल्टन बताउँछन्।

"हामी आकाशगङ्गा निर्माणको लामो कालखण्डमा अवशोषित तारापुञ्जहरू खोज्न सक्नेछौँ। अनि कसरी प्रत्येक अवशोषणले नयाँ तारा निर्माण गराउँछन् भनेर हेर्न सक्नेछौँ।"

डा. सेसिलिया फारिना
तस्बिरको क्याप्शन, डा. सेसिलिया फारिनाका अनुसार वीभले नितान्त नवीन कुराहरू पत्ता लगाउन सक्छ

डब्ल्यूएचटीको समग्र कार्यभार हेरिरहेका डा. मार्क बल्सेल्सले वीभले कसरी तारापुञ्जहरू बन्छन् भन्ने ज्ञानमा ठूलो फड्को मार्न सघाउने आफूलाई लागेको बीबीसी न्यूजलाई बताए।

"दशकौँदेखि हामी खगोलशास्त्रको स्वर्णयुगमा भएको कुरा सुन्दै आएका छौँ। तर भविष्यमा जे छ त्यो निकै महत्त्वपूर्ण हुन्छ," उनले भने।

"खगोलशास्त्रीहरूले दशकौँदेखि खोजिरहेको प्रश्नको उत्तर वीभले दिनेछ। जस्तै - एउटा ठूलो तारापुञ्ज बन्न कतिवटा तारा भेला हुन्छन् अनि आकाशगङ्गा बन्न कतिवटा तारापुञ्ज एकीकृत भए?"

यो परियोजनामा सहभागी उपकरण विशेषज्ञ डा. सेसिलिया फारिनाका अनुसार वीभले खगोलशास्त्रको क्षेत्रमा ठूलो इतिहास बनाउनेछ।

"फेला पर्ने आशा नगरिएका धेरै कुराहरू हामी पत्ता लगाउनेछौँ," उनले भनिन्, "किनभने ब्रह्माण्ड आश्चर्यले भरिपूर्ण छ।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, अन्तरिक्षमा खानीः के क्षुद्रग्रहबाट बहुमूल्य धातु ल्याउन सम्भव छ?
भिडिओ क्याप्शन सुरु हुँदैछ, नासाले १० वर्ष खिचेका सूर्यका करोडौँ तस्बिर
भिडिओ क्याप्शन सुरु हुँदैछ, नजिकैबाट हेर्दा सूर्य यस्तो देखिन्छ