ब्ल्याक होल: आकाशगङ्गाको विशाल 'ब्ल्याक होल'को तस्बिर सार्वजनिक

ब्ल्याक होल

तस्बिर स्रोत, EHT Collaboration

    • Author, जोनाथन एमोस
    • Role, बीबीसी विज्ञान सम्वाददाता

हाम्रो आकाशगङ्गाको केन्द्रमा रहेको विशाल ब्ल्याक होल (कृष्णविवर) पहिलो पटक दृश्यमा कैद गरिएको छ।

'साजिटेरिअस ए*'को रूपमा चिनिने यस अविश्वसनीय वस्तु सूर्यभन्दा चार लाख गुना ठूलो छ।

यसको तस्बिरमा एक ठूलो प्वाल रहेको केन्द्रीय अन्धकार क्षेत्र देखिन्छ जसलाई अत्यधिक गुरुत्वाकर्षण बलद्वारा तातेको ग्यासबाट प्रसारित प्रकाशले घेरेको छ।

नाप्दा यस गोलाकार अनुमानित बुधको कक्षको आकारको हुन्छ। मतलब यो करिब छ करोड किलोमिटर पर छ।

यो करिब २६,००० प्रकाशवर्षको दूरीमा छ। निकै टाढा भएकाले हामी ब्ल्याक होलले निम्त्याउने कुनै खतराको जोखिममा छैनौँ।

ब्ल्याक होलको तस्बिर इभेन्ट होराइजन टेलिस्कोप ईएचटी नामक अन्तर्राष्ट्रिय समूहको सहकार्यमा निर्माण गरिएको हो।

सन् २०१९ मा मेसियर ८७ नामक अर्को आकाशगङ्गाको केन्द्रमा रहेको विशाल ब्ल्याक होलको तस्बिर जारी गरेपछि यो दोस्रो तस्बिर हो।

उक्त वस्तु हाम्रो सूर्यको पिण्डमानभन्दा ६.५ अर्ब गुणा ठूलो थियो।

"तर यो नयाँ तस्बिर विशेष छ किनकि यो अत्यधिक विशाल ब्ल्याक होलको चित्र हो," ईएचटी परियोजनामा संलग्न युरोपेली अग्रणीहरूमध्ये एक प्राध्यापक हेनो फाल्केले भने।

"यो 'हाम्रो नजिकै नै' छ र यदि तपाईँ ब्ल्याक होलहरूलाई बुझ्न र तिनीहरूले कसरी काम गर्छन् भनेर जान्न चाहनुहुन्छ भने यसले बताउने छ। यसमा जटिल विवरण समाविष्ट छ," राडबाउड विश्वविद्यालय निजमेगेनका जर्मन-डच वैज्ञानिकले बीबीसीसँग भने।

ब्ल्याक होल के हो?

  • ब्ल्याक होल अन्तरिक्षको त्यस्तो क्षेत्र हो जहाँ हरेक वस्तु आफैँ विलीन हुन्छ
  • त्यहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि त्यहाँबाट प्रकाश समेत निस्किन सक्दैन
  • केही ठूला ताराहरू विस्फोट भएपछि ब्ल्याक होल बन्छ
  • केही ब्ल्याक होल निकै विशाल हुन्छन्। तिनको पिण्ड हाम्रो सूर्यभन्दा अर्बौँ गुना बढी हुन्छ
  • यिनीहरू आकाशगङ्गाको बीचमा रहनुको कारण भने पत्ता लागेको छैन
  • तर यिनीहरूले आकाशगङ्गालाई ऊर्जा दिने र यसको विकासलाई असर पार्ने विषय स्पष्ट छ
कलात्मक चित्रण

तस्बिर स्रोत, NASA

साजिटेरिअस ए* आकाशमा रहेको एक सानो थोप्लो हो।

ईएचटीले धेरै लामो बेसलाइन एरे इन्टरफेरोमेट्री भीएलबीआई प्रविधिको प्रयोग गरेको थियो।

यसले हाम्रो ग्रहको आकारको टेलिस्कोपको नक्कल गर्न व्यापक रूपमा फैलिएको आठ रेडिओ एन्टेनाहरूको सञ्जाललाई जोड्छ।

यस व्यवस्थाले ईएचटीलाई आकाशमा कोण मिलाउन मद्दत पुर्‍याउँछ जसलाई माइक्रोआर्कसेकेन्डमा नापिएको हुन्छ।

ईएचटी समूहका सदस्यहरूका अनुसार उक्त दृष्टि चन्द्र सतहमा कुनै गोलाकार रहेको खण्डमा समेत त्यो देख्न सकिने गरी तीक्ष्ण हुन्छ।

तर पनि यो दृश्यको निर्माणका लागि पेटाबाइट्स (एक पेटाबाइट्स बराबर १० लाख गीगाबाइट वा जीबी) को आकारमा सङ्कलित तथ्याङ्कको प्रयोग हुन्छ।

यी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्न पारमाणविक घडी, स्मार्ट एलगोरिदम र निकै घन्टाको सुपर कम्प्युटिङको आवश्यकता पर्छ।

ब्ल्याक होलले जसरी प्रकाश बङ्ग्याउँछ त्यसका कारण दृश्यमा छाया मात्र देखिन्छ। तर यस छायाको वरपर सङ्गठित भएका पदार्थहरूले चक्रको आकार धारण गर्दछ र फलतः कुनै वस्तु कता छ भन्ने सङ्केत गर्छ।

नयाँ तस्बिर र मेसियर ८७ मा लिइएको तस्बिर तुलना गर्ने हो भने यी दुईमा केही मुख्य भिन्नताहरू छन्।

"किनकि साजिटेरिअस ए* निकै सानो ब्ल्याक होल हो। यो करिब एक हजार गुणा सानो छ।"

"साजिटेरिअस ए* तुलनात्मक रूपमा हजार गुणा सानो ब्ल्याक होल हो त्यसैले यसको चक्रको आकार सामान्य समयको हजार गुणा छिटो परिवर्तन हुन्छ," युकेस्थित युनिभर्सिटी कलेजमा कार्यरत समूहका एक सदस्य डा. जिरी युन्सीले भने।

"यो निकै जीवन्त छ। चक्र आकारको केन्द्रमा शक्ति केन्द्रीकृत भएको 'हटस्पट' दिनहुँ एक स्थानबाट अर्कोमा सरिरहन्छ।"

समूहले ब्ल्याक होलको अवस्थिति अनुकरण गर्दै गरेको परीक्षणले यदि आकाशगङ्गाको बीचमा रहेर रेडिओ फ्रिक्वेन्सी जत्तिकै संवेदनशील आँखाले हेर्दा के देखिन्छ भन्ने स्पष्ट पार्दछ।

ताराहरू

तस्बिर स्रोत, ESO/S.GILLESSEN ET AL

चक्रको सतहमा प्लाज्मा भनिने अत्यधिक उत्तेजित र तातो ग्यास हुन्छ जुन प्रकाशको गतिको केही अंश बराबरको गतिमा यात्रारत हुन्छ।

प्रकाशको गति तीन लाख किलोमिटर प्रतिसेकेन्ड हुन्छ। चक्र सतहमा देखिएको चहकिलो क्षेत्र सम्भवतः ती ठाउँहरू हुन् जहाँबाट प्लाज्मा हामीतर्फ यात्रा गर्छ र फलस्वरूप यसको प्रकाश उत्सर्जन थप ऊर्जावान् हुन पुग्छन्।

साजिटेरिअस ए*को वरपर बारम्बार देखिएको परिवर्तनहरूका कारण मेसियर ८७ को तुलनामा तस्बिर उत्पादन गर्न धेरै समय लाग्यो। तथ्याङ्कको व्याख्या थप कठिन भएको प्रमाणित भएको छ।

यी दुवै ब्ल्याक होलहरू सन् २०१७ को प्रारम्भमा एकै समयावधिमा एउटै टेलिस्कोपबाट अवलोकन गरिएको थियो।

यद्यपि मेरियर ८७ आफ्नो ठूलो आकारको र ५.५ करोड प्रकाश वर्ष टाढा रहेको देखिएको थियो।

वैज्ञानिकहरूले ब्ल्याक होलको व्याख्या गर्न प्रयोग गरिएको विधि सही वा गलत छ भनेर छुट्टाउन अवलोकनमार्फत प्राप्त भएका तस्बिरहरूको परीक्षण गर्न थालिसकेका छन्।

अहिलेसम्म उनीहरूले पत्ता लगाएका कुरा आइन्स्टाइनको गुरुत्वाकर्षणको सामान्य सापेक्षता सिद्धान्तमा भएका समीकरणहरूसँग पूर्णतया मेल खान्छ।

"हरेक पटक हामीले नयाँ ब्रह्माण्डको तीक्ष्ण तस्बिर खिच्न नयाँ सुविधा प्राप्त गर्छौँ, हामी त्यसलाई ग्यालेक्टिक केन्द्रलाई तालिम दिन सक्दो प्रयास गर्छौँ। यसबाट हामीले केही अद्भुत कुराहरू सिक्न सक्छौँ," बर्क्लेस्थित क्यालिफोर्निया विश्वविद्यालयको वेब अभियानकी प्रमुख वैज्ञानिक जेसिका लुले भनिन्।