आदिम ब्रह्माण्ड 'स्लो मोशन'मा भएको प्रमाण फेला पर्यो

तस्बिर स्रोत, Reuters
वैज्ञानिकहरूले आदिम ब्रह्माण्डको गति "पाँचगुना कम" भएको पहिलो पटक देखिएको बताएका छन्।
अनुसन्धाताहरूले ब्रह्माण्डको उत्पत्ति हुँदाको समय मापन गर्न 'क्वेजारहरू' बाट प्राप्त डेटा प्रयोग गरेका थिए।
क्वेजारहरू आदिम तारापुञ्जको केन्द्रमा अवस्थित "अतिविशालकाय" ब्ल्याक होल हुन्। नासाका अनुसार सूर्यको भन्दा तिनको द्रव्यमान अर्बौँ गुना बढी हुन्छ।
क्वेजारहरू ब्रह्माण्डमा निकै टाढा छन् र ती सबैभन्दा चम्किला खगोलपिण्डमध्ये पर्छन्।
बीबीसीसँग कुरा गर्दै यूनिभर्सिटी अफ सिड्नीसँग आबद्ध प्राध्यापक जरेइन्ट लूइसले यो अध्ययनबाट हामी अझै फैलिरहेको ब्रह्माण्डमा छौँ भन्ने पुष्टि भएको बताए।
'नेचर अस्ट्रोनमी' नामक वैज्ञानिक जर्नलमा यसबारे शोधपत्र प्रकाशित भएको छ। प्राध्यापक लूइस उक्त शोधपत्रका मुख्य लेखक हुन्।
"ब्रह्माण्ड भर्खर एक अर्ब वर्षजति भएको समयको पुनरवलोकन गर्दा हामी समय ['बिग ब्याङ' हुनेबित्तिकै] पाँचगुना कम गतिमा चले जस्तो पाउँछौँ," लूइसले भने।
"यदि तपाईँ त्यहाँ हुनुभएको भए, त्यो शिशु ब्रह्माण्डमा, एक सेकन्ड एक सेकन्डजस्तै हुन्थ्यो - तर हाम्रो हालको स्थानमा, अर्थात् बिग ब्याङको १२ अर्ब वर्षपछिको भविष्यमा, त्यो आदिम समय तन्किन्छ।"

तस्बिर स्रोत, UNIVERSITY OF SYDNEY
नासाका अनुसार गुरुत्वाकर्षण क्षमताको सीमाभित्र आउने ग्यास, धुलो र अरू पदार्थहरूका कारण फैलिँदा अतिविशालकाय ब्ल्याकहोलहरूबाट ऊर्जा निस्किन्छ। क्वेजारहरूले त्यो ऊर्जा प्राप्त गर्छन्।
यूनिभर्सिटी अफ सिड्नीका खगोलविद् प्राध्यापक लूइस र यूनिभर्सिटी अफ अक्ल्यान्डका खगोलतथ्याङ्कशास्त्री ब्रेन्डन ब्रूअरले २० वर्षको अवधिमा झन्डै २०० वटा क्वेजारबाट प्राप्त रङ्गहरूको अध्ययन गरेका थिए।
त्यसकै आधारमा उनीहरूले प्रत्येक क्वेजारबाट प्राप्त सङ्केतलाई मानकीकरण गर्न सके।


त्यसको अर्थ के हो?
अर्थ व्याख्या गर्दै अनुसन्धानकर्ताहरूले त्यसबाट अल्बर्ट आइन्स्टाइनको जेनरल थिअरी अफ रिलेटिभिटी 'सापेक्षताको सिद्धान्त' पुष्टि भएको बताएका छन्।
अर्थात् धेरै अगाडि ब्रह्माण्ड आजको दिनभन्दा निकै कम गतिमा रहेको भन्ने हामीले बुझ्नुपर्छ।
"आइन्स्टाइनकै कारण हामीलाई टाइम एन्ड स्पेस (समय र स्थान) अन्तर्सम्बन्धित छन् भन्ने हामीलाई थाहा छ। अनि बिग ब्याङको सिङ्गुल्यारिटी एक असाधारण बिन्दुमा समयको थालनी भएदेखि नै ब्रह्माण्ड फैलिरहेको छ," प्राध्यापक लूइसले भने।
"स्थानको यो विस्तारको अर्थ हामीले आदिम ब्रह्माण्डबारे देखेका कुराहरूको समय आजको प्रवाह हुनेभन्दा निकै कम गतिमा थिए।"
"यो शोधपत्रमा हामीले बिग ब्याङभन्दा झन्डै एक अर्ब वर्षपछि त्यसो भएको प्रमाणित गरेका छौँ।"
यसअघि यूनिभर्सिटी अफ सिड्नीका अनुसार 'सूपरनोभा' अर्थात् विस्फोटन हुने विशाल ताराहरूका आधारमा खगोलशास्त्रीहरूले कम गतिको ब्रह्माण्ड आफ्नो उमेरभन्दा आधाजति हुँदा भएको पत्ता लगाएका थिए।
तर क्वेजारका आधारमा प्राध्यापक लूइस र उनको टोलीले आदिम ब्रह्माण्डको समय गणना गर्दै त्यो ब्रह्माण्डको उमेरको दशांशजति भएको पुष्टि गरेका छन्।
बीबीसी रेडिओ फोरको कार्यक्रम टुडेसँग कुरा गर्दै प्राध्यापक लूइसले भने, "हामीले बुझेसम्म ब्रह्माण्डको विस्तार निरन्तर चलिरहने छ अनि ब्रह्माण्ड अझै ठूलो र रित्तो हुँदै जाने छ।"














