अन्तरिक्षमा पुगिन् पहिलो अरबी महिला

रेयाना बर्नावी

तस्बिर स्रोत, Reuters

अन्तरिक्षमा जाने पहिलो अरबी महिला अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी छिन्।

अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन ९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जना साउदीमध्ये रेयाना बर्नावी पनि एक हुन्।

उनी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ। त्यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरबारे अनुसन्धान गर्नेछिन्।

उनले आफ्नो कामबाट मध्यपूर्वका सबै पृष्ठभूमिका महिलाहरूलाई प्रेरित गर्ने आशा राखेकी छिन्।

आईएसएस पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडिओमा उनले भनेकी छिन्, “विश्वभरिका मानिसहरूका लागि भविष्य एकदमै उज्ज्वल छ। म तपाईँहरू पनि ठूलो सपना देख्नुहोस् भन्ने चाहन्छु। आफूमा र मानवतामा विश्वास गर्नुहोस् भन्ने चाहन्छु।”

बर्नावी एक्सिओमको दोस्रो मिसनमा खाडी अधिराज्यका दोस्रो पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नीसँगै गएकी हुन्।

उनीहरूसँग यो मिसनमा एकजना कमान्डर र एक पाइलटसहित दुईजना अमेरिकी पनि सहभागी छन्।

उनीहरू स्पेस एक्सको ड्रागन अन्तरिक्षयानमार्फत्‌ अन्तरिक्षमा पुगेका थिए। यो रकेट फल्कन ९ रकेटको माथिल्लो भागमा जडान गरिएको थियो।

ड्रागन स्वायत्त रूपमा आईएसएसमा सोमवार १३:१२ जिएमटीमा जोडिएको एक्सिओम स्पेसले ट्वीटमार्फत् जनाएको छ।

२० भन्दा धेरै प्रयोगको योजना

रेयाना बर्नावी

तस्बिर स्रोत, Reuters

अन्तरिक्षमा परिक्रमा गरिरहने प्रयोगशालाबाट यो टोलीका सदस्यहरूले २० भन्दा धेरै विज्ञान र प्रविधिसम्बन्धी प्रयोगहरू गर्नेछन्।

उनीहरूले खोज गर्ने विषयहरूमा अन्तरिक्षको मानव स्वास्थ्यमा असर र वर्षा-बीउ प्रविधि पनि समेटिएका छन्।

बर्नावीले रियाद स्थित किङ फैसल स्पेसियालिस्ट हस्पिटल एन्ड रिसर्च सेन्टरमा स्टेम सेल र तन्तुको पुनः बनावटबारे परियोजनामा अनुसन्धान प्रयोगशाला प्राविधिककी रूपमा गरेका कामको अनुभवका आधारमा आफ्ना केही प्रयोगहरू गर्नेछिन्।

हालैको एक पत्रकार सम्मेलनमा उनले पहिलो साउदी अन्तरिक्षयात्री बन्दै गर्दा आफूलाई निकै खुसी लागेको र सम्मानित भएको महसुस भएको बताएकी थिइन्।

रेड लाइन
रेड लाइन

उनले आफ्नो अनुभव आईएसएसबाटै भिडिओमार्फत् बालबालिकाहरूलाई सुनाउने योजना बनाएको बताएकी थिइन्।

“उनीहरूले पहिलो पटक आफ्नो क्षेत्रको अन्तरिक्षयात्री देख्दा उनीहरूको अनुहारमा देखिने भाव हेर्न पाउँदा निकै रोमाञ्चक हुँदो हो,” उनले भनिन्।

साउदी अन्तरिक्ष आयोगकी सल्लाहकार तथा साउदी मूलकी अमेरिकी एरोस्पेस इन्जिनियर मिसाल आस्मिमरीले भनिन्, “हाम्रो लक्ष्य भनेको विज्ञानको माध्यमबाट मानव जातिलाई फाइदा पुर्‍याउनु हो।”

साउदी अरबमा महिलाहरूले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए।

मानव अधिकारकर्मीहरूले पुरुष अभिभावकत्वको कानुनले यहाँ अझै पनि महिलाका अधिकारहरू सीमित गरेको बताउने गरेका छन्।