निर्वस्त्र प्रदर्शन गर्ने विश्वविद्यालयकी यी प्राध्यापक

तस्बिर स्रोत, Dr Victoria Bateman
- Author, स्वामीनाथन नटराजन
- Role, बीबीसी विश्व सेवा
डाक्टर भिक्टोरिया बेटमन विश्वकै अग्र श्रेणिमा रहेको केम्ब्रिज विश्वविद्यालयमा अर्थशास्त्र पढाउँछिन्।
ऊनी एक विद्रोही पनि हुन्। उनी कहिलेकाहीँ सार्वजनिक नीतिहरूको विरोध गर्न निर्वस्त्र हुन्छिन्।
“मलाई निर्वस्त्र देखेर मान्छेहरू भन्छन्: ‘यिनी मूर्ख हुन्, बेवकुफ हुन् र बहुलट्टी हुनुपर्छ।’ उनीहरूलाई ‘हैन म पनि साँच्चिकै सोचविचार भएकी मान्छे हुँ’ भन्न मन लाग्छ,” बेटमन भन्छिन्।
यद्यपि निर्वस्त्र प्रदर्शनहरू विवादित छन्।
उनले आफ्नो पछिल्लो किताबको गाताले “यौनिकता प्रवर्द्धन गरेको” भन्दै एमजनले एउटा विज्ञापनमा प्रतिबन्ध लगाएको बताइन्।
उनका अनुसार उक्त निर्णय सामाजिक सञ्जालमा चलाइएको अभियानपछि उछालिएको थियो। उनका अनुसार महिलाहरूलाई आफ्नो शरीरबारे गर्न चाहेको कुरा गर्न नदिइएको विषयमा यो अभियानले चर्चा गरेको छ।
यौन विद्रोहदेखि पूर्व प्रतिबन्धसम्म

तस्बिर स्रोत, Dr Victoria Bateman
प्रश्न उठाइएको माथिको तस्बिरमा उनको पूरा शरीर देखिएको छैन। यो निकै जुम गरिएको तस्बिर हो जहाँ उनको नग्न पेट र स्तनको बाहिरी भाग देखिन्छ।
“मेरो शरीर देखाएका कारण मैले भन्न खोजेको कुराको महत्त्व घट्छ भन्ने मलाई लाग्दैन,” बेटमन आक्रोश पोख्छिन्।
“इतिहासले हामीलाई के सिकाउँछ भने उदारवादको विस्फोटन वर्षौँको नियन्त्रणबाट हुन्छ।”
नग्नताको प्रतिरक्षा

तस्बिर स्रोत, Victoria Bateman
इङ्गल्यान्ड र वेल्समा सार्वजनिक स्थानमा नाङ्गै हुनु अपराध नभए पनि यदि कुनै व्यक्तिले अरूलाई आघात पुर्याउने र विचलित बनाउने नियतले आफ्नो कपडा फुकालेको प्रमाणित भए त्यस्तो कार्य अपराध मानिन्छ। तर उजुरीकर्ताले यस्तो कुरा प्रमाणित गर्नुपर्छ।
बेटमन आफ्नो प्रदर्शन आक्रामक नभएको दाबी गर्छिन्।
“मेरो उद्देश्य कुनै पनि गतिविधिलाई प्रभावित गर्ने होइन। तर अर्थतन्त्रमा महिलाको अभाव ब्रेक्जिटको महिलामा परेको असर वा महिलाको शारीरिक स्वतन्त्रतामा भएको आक्रमणका मुद्दामा मानिसहरूको ध्यान आकृष्ट गर्ने हो,” उनले भनिन्।
यस्तो विरोध प्रदर्शन देख्नेहरू सम्बन्धित पहिरनबारे सम्मानपूर्वक मनन गर्नेदेखि निर्वस्त्र प्रदर्शनले मानिसहरूलाई तत्कालै उक्त विषयबारे चर्चा गर्ने उद्देश्य पनि पूरा हुने उनी बताउँछिन्।
जनावरको रौँबाट बनेका उत्पादनको विरोधमा पशु अधिकारकर्मीहरूले लामो समयदेखि निर्वस्त्र प्रदर्शन गर्दै आएका छन्। जलवायु परिवर्तन निम्त्याउने गतिविधि रोक्न माग गर्ने वातावरणसम्बन्धी समूहहरूले पनि नग्न प्रदर्शन गरेका छन्। यद्यपि राजनीतिक आन्दोलनमा निर्वस्त्र प्रदर्शन त्यति भएको पाइँदैन।
सामान्य परिवारदेखि प्रतिष्ठित विश्वविद्यालयसम्म

तस्बिर स्रोत, Dr Victoria Bateman
बेटमनका अनुसार उनी उत्तरी इङ्गल्यान्डको एक सामान्य परिवारमा जन्मिएकी हुन्।
उनी स्टेट स्कुलमा अध्ययनपछि स्नातकका लागि केम्ब्रिज गइन्। उनले आफ्नो स्नातकोत्तर र विद्यावारिधि अक्सफर्डमा गरिन् र फेरि केम्ब्रिज विश्वविद्यालयमा पढाउने जागिर सुरु गरिन्।
आफू सानो छँदा साधारण पहिरन लगाउने गरेको तर किशोरी हुँदा आफ्नो उमेरका अन्य केटीहरू जस्तै फ्रक लगाउने, छोटा टप्स लगाउने र अग्ला हिल लगाएर पार्टीमा जाने गरेको उनी बताउँछिन्।
आफ्नो प्राज्ञिक सफलताकै कारण आफू साधारण परिवारबाट मध्यमवर्गीय परिवारमा आफू पुगेको उनले ठानेकी छिन्। साधारण परिवारमा किशोर अवस्थाकी बेटमन जस्तो छोटो पहिरन लगाएका केटीहरूलाई राम्रो मानिँदैन थियो।
यो सोचले बेटमनलाई समस्यामा पार्यो। आफ्नो शैक्षिक यात्राको सुरुवातमा उनले आफ्नो नम्रता र बुद्धिमत्ताबाट सम्मान पाउन ठूलो प्रयास गरिन्।
“म किन केही केटा मान्छेले मबारे राख्ने सोचबाट आफूलाई निर्देशित गरूँ। मैले चिन्ता गर्नुपर्ने त्योभन्दा धेरै महत्त्व कुरा छन्,” उनले भनिन्।
नम्रताले स्वतन्त्रता खियाउँछ

तस्बिर स्रोत, Dr Victoria Bateman
लुगाको भारी पन्छाउने उनको निर्णय पछाडि एउटा वैचारिक आधार पनि थियो।
“स्त्रीको नम्रताले महिलाहरूलाई दुखी बनाइरहेको छ। यसले महिलाहरू भन्दा पुरुषलाई धेरै शक्तिशाली बनाएको छ। किनभने महिलाको महत्त्व उनको नम्रतामा खोज्न थालियो भने त्यसले पुरुषलाई उनको महत्त्वमाथि हाबी हुने छुट दिन्छ, अपमान गर्ने र नरम भएर प्रस्तुत नहुनेहरूलाई सम्मान नगर्ने बाटो दिन्छ,” उनले बीबीसीसँग भनिन्।
यस्तो सोचाइले उत्पीडनका लागि धेरै बाटो दिने उनको तर्क छ।
“यसले महिलाको स्वतन्त्रता साँघुरो बनाउने नीति र अभ्यासहरूलाई विश्वभरिनै प्रश्रय दिन्छ। अफगानिस्तानमा महिलाहरूलाई विद्यालयबाट बाहिर निकाल्नेदेखि इरानमा अनिवार्य हिजाबसम्म। कुमारीत्व परीक्षणदेखि परिवारको इज्जत नजोगाएको भनेर गरिने हत्या र रिभेन्ज पोर्नसम्म,” बेटमन थप्छिन्।
निर्वस्त्र मोडल

तस्बिर स्रोत, Dr Victoria Bateman
दश वर्षअघि बेटमनले एउटा अनौठो काम गर्ने निर्णय गरिन्। उनले महिला कलाकारसँग नग्न तस्बिरहरू खिचाइन्। बिस्तारै आत्मविश्वास जुटाएर उनले पुरुष कलाकारहरूसँग पनि काम गरिन्।
ती कलात्मक चित्रकला र आकृतिहरू बिस्तारै सार्वजनिक स्थानमा प्रदर्शनीमा राखिए।
“मैले मानिसहरू मेरो नग्न चित्रमा अडिएको देखेँ। त्यो नग्न चित्रमा भएकी महिला एक जना प्राज्ञिक हुन् भन्ने थाहा पाउँदा मानिसहरू आश्चर्यमा पर्थे,” उनले सुनाइन्।
उनले थप आत्मविश्वास जुटाएर आफ्नो शरीरलाई राजनीतिक सन्देश र सार्वजनिक विरोध कार्यक्रममा पनि प्रयोग गरिन्।
एक जना सक्षम अर्थशास्त्री भए पनि आफ्नो विषयमा विशेषज्ञताका क्षेत्रमा पुरुषहरूको प्रभुत्व देखेर उनी विचलित हुन्थिन्। उदाहरणका लागि अर्थशास्त्रमा नोबेल पुरस्कार जम्मा दुई जना महिलाले मात्रै जितेका छन्।
महिला अर्थशास्त्री कम भएकै कारण आर्थिक विश्लेषणहरू पुरुषका दृष्टिकोणबाट मात्रै आउने गरेको उनी बताउँछिन्।
यूकेमा सन् २०१८ मा भएको सबैभन्दा ठूलो अर्थशास्त्रीहरूको भेलामा उनले यो विषय उठाउन चाहेकी थिइन्। प्राज्ञिक व्यक्तिहरूले भरिएको कोठामा उनी पूरै निर्वस्त्र भएर प्रवेश गरिन्।
“म सानै कदकी मान्छे छु। शारीरिकरूपमा त्यति बलिष्ठ पनि छैन। मदेखि कोही डराउँदैन। तर कोठामा जब हामी नाङ्गै हुन्छौँ मानिसहरूले त्यसलाई खतराको रूपमा हेर्छन्,” उनले भनिन्।
उक्त कार्यक्रममा उनले आफ्नो शरीरमा बोर्ड मार्करले प्रस्ट देखिने गरी सम्मान लेखेकी थिइन्। आफ्ना मागहरूप्रति मानिसहरूको ध्यान आकृष्ट गर्न उनले यस्तो गरेकी थिइन्। परिणामस्वरूप उक्त सत्रपछि बेलुकाको खाना खाने समयमा उनले प्रतिष्ठित व्यक्तिहरूसँग छलफल गर्ने समय पाइन्।
मानिसहरूको प्रतिक्रिया

तस्बिर स्रोत, Getty Images
युरोपेली सङ्घबाट यूके बाहिरिने क्रममा यूकेमा उत्कर्षमा पुगेको ब्रेक्जिटको राजनीतिक प्रदर्शनमा उनले सार्वजनिक स्थानमा निर्वस्त्र प्रदर्शन गरिन्।
उनलाई देखेका केहीले तस्बिर खिचेर सामाजिक सञ्जालमा राखिदिए जसप्रति धेरै मानिसहरूको नकारात्मक प्रतिक्रिया जनाए। कतिपयले उनको स्तन र गुप्ताङ्गको रौँबारे समेत टिप्पणी गरे। एक जनाले त उनले प्राध्यापकहरूसँग सुतिदिएर शैक्षिक योग्यता हासिल गरेको हुनसक्ने सम्मको अनुमान लगाए।
यसको परिणाम के भयो भने आफ्नो नग्न शरीर विश्वलाई देखाएर बेटमनले प्राज्ञिक उपलब्धीनै बर्वाद गर्न लागिन् भनेर सचेत गराइयो।
“ममाथि सबैभन्दा निकृष्ट र खराब आक्रमण नै महिलाबाट भयो। एक जना ब्रिटिश महिलाले सामाजिक सञ्जालमा मलाई मेरा कारण नारीवादलाई एक शताब्दी पछाडि धकेलिएको आरोप लगाइन्,” बेटमन सुनाउँछिन्।
उनको गतिविधि मत नपराएका केहीलाई जवाफ लेखेर उनले आफ्नो प्रदर्शनको अन्तर्य बुझाउने प्रयास गरिन्।
आफ्नो पुस्तक नेकेड फेमिनीजम ‘नग्न नारीवाद’ मा उनले यस्ता धेरै नकारात्मक प्रतिक्रियाहरूलाई सम्बोधन गरेकी छिन्।
“उनीहरूको शारीरिक नम्रताको बाबजुद पनि सबै महिलाहरू सम्मानित व्यवहारका लागि योग्य छन् भन्ने विषयलाई म स्थापित गरेरै छोड्छु,” बेटमन भन्छिन्।
नारी स्वतन्त्रता

तस्बिर स्रोत, Dr Victoria Bateman
केम्ब्रिजकी यी प्राज्ञ शरीर कति ढाकिएको छ वा खुला छ भन्ने आधारमा मानिसहरूले अनुमान गर्न थाल्ने हो भने धेरै जना महिलाहरूको जीवनमा अचानक ठूलो परिवर्तन आउन सक्छ। यौनकर्मी महिलाको उदाहरण दिँदै उनी भन्छिन्।
“हाम्रो सोचाइमा परिवर्तन ल्याउन हामीले अझै धेरै काम गर्नुपर्छ,” उनले भनिन्।
धेरैजसो महिलाहरू खाना पकाउने, भाँडा माझ्ने र घरमा बालबच्चा र बृद्धबृद्धाको हेरचाह गर्ने जस्ता आय नहुने काममा अल्झिएका हुन्छन्। ब्रिटिश च्यारिटी अक्सफामका अनुसार यदि महिलाहरूलाई यस्तो कामका लागि पनि तलब दिने हो भने त्यसको मूल्य १० खर्ब डलर भन्दा धेरै हुन्छ। तर यसबारे खासै चर्चा भएको पाइँदैन।


बेटमन शक्तिशाली पुरुष र उनीहरूका त्यस्ता नीतिको विरोधका लागि निर्वस्त्र उभिने हरेक अवसरका लागि आफू सङ्कोच नमान्ने बताउँछिन्।
उनले साहित्यिक कार्यक्रमहरूमा पनि लुगा नलगाईकनै सहभागी हुने र मन्तव्य दिने गर्दै आएकी छिन्।
आफ्नो अभियानले विश्वविद्यालयमा आफूले लिने कक्षालाई प्रभावित नगरेको उनको दाबी छ। बरु उनका विद्यार्थीहरूले अर्थतन्त्र र महिलाका साथै नारीवादबारे उनीसँग थप चासो र जिज्ञासा राख्ने गरेका छन्।
“मेरो लक्ष्य भनेको महिलाले आफ्नो शरीर र मस्तिष्कलाई आफ्नो इच्छा अनुसार प्रयोग गर्न पाउने विश्वको निर्माण हो। म हेडस्कार्फ प्रतिबन्धको पनि र अनिवार्य हिजाबको पनि विरोध गर्छु। समाज र राज्यले महिलाले आफ्नो शरीरबारे के गर्ने भनेर नियम लाद्नु हुँदैन।”




