एल्बेनियाका 'अन्तिम कुमारीहरू': पुरुषको रबाफमा बस्न महिलाले 'ब्रह्मचर्यको व्रत' लिने अनौठो चलन

ज्युस्तिना ग्रिशाई

तस्बिर स्रोत, BBC/Derrick Evans

तस्बिरको क्याप्शन, ज्युस्तिना ग्रिशाईलाई मानिसहरू प्यारो गरेर दुनी पनि भन्छन्
    • Author, टुई मक्लेन
    • Role, बीबीसी १०० विमिन

प्राचीन बाल्कन समाजमा महिलाहरू शपथ लिएर आजीवन ब्रह्मचर्यको व्रत लिन्थे र पुरुषले जसरी आफ्नो जीवन व्यतीत गर्थे। तर उक्त परम्परा क्रमशः मासिन थालेको छ। त्यसरी ब्रह्मचर्यको शपथ लिएका केवल एक दर्जनजति महिला अहिले भेटिन्छन्।

"एल्बेनिया पुरुषहरूको संसार थियो र त्यसमा बाँच्ने एउटा उपाय पुरुष हुनु थियो," ज्युस्तिना ग्रिशाईले भनिन्।

उत्तरी एल्बेनियाको पर्वतीय क्षेत्रमा बस्ने यी महिलाले २३ वर्षको उमेरमा आफ्नो जीवन पूरै परिवर्तन हुनेगरी एउटा निर्णय गरिन्।

उनले ब्रह्मचर्यको शपथ लिइन् र आजीवन पुरुषसरह जीवन व्यतीत गर्ने वाचा गरिन्।

एक शताब्दीभन्दा लामो समयदेखि ज्युस्तिनाको परिवार लपुशको मालसी ए मादे क्षेत्रमा बसोबास गर्दै आएको छ। वरिपरि नाङ्गा डाँडाकाँडा भएको उक्त उपत्यकामा शपथ लिएर कुमारी बन्ने प्रथा प्रचलनमा छ।

उक्त परम्पराअनुरूप गाउँका अग्रजबाट महिलाहरूले शपथ ग्रहण गर्छन् र पुरुषसरह जीवन बिताउँछन्।

ब्रह्मचर्यमा बस्ने त्यस्ता महिलालाई "बुर्नेशा" भनिन्छ।

''विश्वमा कैयौँ अविवाहित मानिसहरू छन् तर ती ब्रह्मचर्यको व्रतमा बसेका कुमारी होइनन्। बुर्नेशाहरू आफ्नो परिवार, काम गर्न, बाँच्न अनि आफ्नो पवित्रता जोगाउन समर्पित हुन्छन्," ५७ वर्षे ज्युस्तिनाले भनिन्।

विगतमा धेरै महिलाका लागि आफ्नो यौनिक, प्रजननीय र सामाजिक पहिचान फेर्नु त्यतिबेला केवल पुरुषले उपभोग गर्दै आएको स्वतन्त्रता पाउने उपाय थियो।

ब्रह्मचर्यको व्रतमा बसेका महिलाहरूले पुरुषले जस्तै लुगा लगाउन, घरमूली बन्न, समाजमा खुला रूपमा प्रस्तुत हुन अनि परम्परागत रूपमा पुरुषहरूले मात्रै गर्न पाउने काम गर्न छुट पाउँथे।

ज्युस्तिनालाई उनका पिताले जडीबुटी चिन्ने र औषधिमूलो गर्ने सीप सिकाएका थिए

तस्बिर स्रोत, Valerjana Grishaj

तस्बिरको क्याप्शन, ज्युस्तिनालाई उनका पिताले जडीबुटी चिन्ने र औषधिमूलो गर्ने सीप सिकाएका थिए

'उत्तरदायित्व र स्वतन्त्रताका लागि ब्रह्मचर्य'

दुनी उपनामले पनि चिनिने उनी फुर्तिली र क्रियाशील युवती थिइन्। स्वतन्त्र हुन उनी प्रतिबद्ध थिइन्। उनले विवाह, घरधन्दा वा महिलाले लगाउने पहिरन आदिमा सीमित परम्परागत जीवन रोजिनन्।

आफ्ना पिताको मृत्यु भएपछि परिवार सम्हाल्न र घरबाहिर काम गरेर खर्च जोहो गर्न उनले ब्रह्मचर्यको शपथ लिने निर्णय गरिन्।

''हामी अत्यन्तै गरिब थियौँ ... बुवाको मृत्यु भयो र आमाले छ सन्तान हेर्नुपर्ने भयो। आमालाई सघाउन मैले बुर्नेशा बन्ने र मेहनत गर्ने निधो गरेँ," उनी भन्छिन्।

ज्युस्तिना दुर्गम गाउँमा बस्छिन् जहाँ मोबाइल फोनको नेटवर्क हतपत भेटिँदैन। जाडोयाममा हिमपातका कारण लपुशको सडक अवरुद्ध हुन्छ अनि विद्युत् आपूर्ति पनि बन्द हुन्छ।

उनले 'गेस्ट हाउस' सञ्चालन गरेकी छन्। उनी खेतीपाती र पशुपालन पनि गर्छिन्।

बुर्नेशा र घरमूली भएकाले उनी जडीबुटीबाट शरीरलाई आराम दिने चिया र तेल पनि बनाउँछिन्। यो उनले आफ्ना बुवाबाट सिकेको सीप हो।

"बुबालाई जडीबुटीबारे निकै चासो थियो र उहाँले मलाई त्यो ज्ञान दिनुभयो। अर्कै बाटो रोजेको भए पनि मेरी भदै भलेर्‍यानाले यो ज्ञान मबाट सिकून् भन्ने म चाहन्छु,'' उनले थपिन्।

"अहिले कोही पनि शपथ लिएर ब्रह्मचारी बन्न चाहदैनन्," भलेर्‍यानाले भनिन्। "जवान केटीहरूले यसबारे सोच्दा पनि सोच्दैनन्। म यसको ज्वलन्त उदाहरण हुँ।''

भलेर्‍याना अहिले ब्रह्मचर्यको व्रत लिएर बुर्नेशा बन्ने कुरा युवापुस्ताले सोच्न पनि नसक्ने बताउँछिन्

तस्बिर स्रोत, BBC/Derrick Evans

तस्बिरको क्याप्शन, भलेर्‍याना अहिले ब्रह्मचर्यको व्रत लिएर बुर्नेशा बन्ने कुरा युवापुस्ताले सोच्न पनि नसक्ने बताउँछिन्

आफ्नी फुपूसँग लपुशमा हुर्किएकी भलेर्‍यानाले यस क्षेत्रका महिलाका लागि कलिलो उमेरमै विवाह गर्नुबाहेक खासै विकल्प देखेकी छैनन्।

''छ कक्षामा पढ्दाको एउटा पल म सधैँ सम्झन्छु। मेरी एक साथी नौ कक्षामा पढ्थिन् र उनको बिहे गर्ने कुराको टुङ्गो लाग्दै थियो। उनी १४ वर्षकी थिइन्,'' उनले भनिन्।

''बिहे गर्न लागेका केटाले उनलाई थप पढ्न नदिने बरु उससँगै बसेर उसले भनेका सबै कुरा मान्नुपर्ने भनेको उनले मलाई बताएकी थिइन्।''

कलिलो उमेरमा विवाह गर्नु वा शपथ लिएर कुमारी बन्नुको साटो भलेर्‍याना १६ वर्षको उमेरमा नाटक निर्देशन र फोटोग्राफी पढ्न एल्बेनियाको राजधानी तिराना गइन्।

''तिरानामा केटी र महिलाहरूलाई धेरै सजिलो छ। यहाँ उनीहरू बढी स्वतन्त्र छन्। गाउँमा भने अवस्था अझै खराब छ,'' उनी भन्छिन्।

स्पष्ट तथ्याङ्क उपलब्ध नभए पनि उत्तरी एल्बेनिया र कोसोभोमा अहिले केवल १२ जना शपथ लिएका कुमारी बाँकी रहेको अनुमान गरिएको छ।

'सकारात्मक परिवर्तन'

सन् १९९० को दशकमा कम्युनिस्ट शासन पतन भएसँगै एल्बेनियामा सामाजिक परिवर्तन भएको देखिएको छ। महिलाहरूका लागि त्यसको अर्थ थप अधिकार हो।

कुमारीका रूपमा शपथ लिने परम्परा हट्दै जानुलाई भलेर्‍यानाले सकारात्मक मानेकी छन्।

"आज हामी केटीहरूले पुरुष बन्न लड्नुपर्दैन," उनी भन्छिन्। "हामीले समान अधिकारका लागि लड्नुपर्छ, तर पुरुष बनेर होइन।"

भलेर्‍याना
तस्बिरको क्याप्शन, ब्रह्मचर्य लिएर बुर्नेशा बनेपछि भलेर्‍यानाले आफ्नो जीवनमा विभिन्न भूमिका निर्वाह गर्न पाइन्

सन् २०१९ मा महिला अधिकारवादी रेया नेप्राभिश्ताले तिरानामा भएको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त परम्पराको विरोध गरेकी थिइन्।

ठूलो अक्षरमा "बुर्नेशा" लेखेर त्यससँगै रातो रङ्गले गलत सङ्केत गर्ने आकार राखिएको सामग्री उनले बोकेकी थिइन्। त्यसको तल ''बलिया महिला'' लेखिएको थियो।

''एल्बेनियाको भाषामा महिलालाई बलियो भनेर जनाउन हामी 'बुर्नेशा' भन्छौँ,'' उनले भनिन्।

''बुर्ने भनेको पुरुष हो ... महिलाको सामर्थ्य देखाउन हामीले पुरुषको सङ्केत गर्नु हुँदैन।''

आफ्नो देश बिस्तारै खुला हुँदै गएको र ''छोटो समयमा निकै अग्रगामी कदमहरू" चालिएको रेया ठान्छिन्।

यूएन विमिनका अनुसार हालसालै निर्वाचन संहिता र प्रक्रियामा सुधार भएसँगै एल्बेनियाको राजनीतिक तथा आर्थिक निर्णय प्रक्रियामा महिलाहरूको सहभागितामा सुधार भएको छ।

यद्यपि त्यस्तो सुधार अझै सीमित रहेको र पारिश्रमिकमा विद्यमान अन्तर उचित रूपमा सम्बोधन नभएको जनाइएको छ।

सन् २०१७ मा संसद्‌मा महिला प्रतिनिधित्व २३ प्रतिशत पुगेको थियो भने स्थानीय तहमा महिलाहरूको प्रतिनिधित्व ३५ प्रतिशत थियो।

तर एल्बेनियामा महिला अधिकारसँग सम्बन्धित धेरै काम हुन बाँकी नै छ।

यूएन विमिनको तथ्याङ्कले १५ देखि ४९ वर्षबीचका ६० प्रतिशत महिलाले घरेलु हिंसा भोग्नुपरेको देखाउँछ।

एल्बेनियाको एउटा गाउँ

तस्बिर स्रोत, BBC/Derrick Evans

तस्बिरको क्याप्शन, ग्रामीण भेगमा जाडोका बेला जीवन निकै कष्टकर हु्न्छ

विशेष दर्जा

बुर्नेशा प्रथाको सम्बन्ध कोसोभो र उत्तरी एल्बेनियामा १५औँ शताब्दीबाट मानिँदै आएको परम्परागत 'कानुन'सँग छ। उक्त कानुनले एल्बेनियाली समाजलाई सङ्गठित गरेको थियो।

यो पितृसत्तात्मक कानुनले महिलालाई पुरुषको सम्पत्ति मान्थ्यो।

"उनीहरूलाई आफ्नो भाग्यको आफैँ निर्णय गर्ने वा आफ्नै जीवन रोज्ने अधिकार थिएन," बुर्नेशाबारे अध्ययन गरेकी नृवंशशास्त्री आफेर्दिता ओनुजीले भनिन्।

यो परम्पराबारे कैयौँ गलत धारणा अझै पनि व्याप्त छ।

आफेर्दिता भन्छिन्, ''कुनै केटीले शपथ खाएर कुमारी बन्ने कुरा लिङ्गसँग सम्बन्धित छैन। यो मात्र शपथ लिनेले परिवारमा अर्को भूमिका लिने विशेष सामाजिक दर्जा हो।''

तर शपथ लिएर कुमारी बन्नु बेहुलाको परिवारलाई अपमान नगरी मागीविवाहबाट पन्छिने बाटो पनि थियो।

"यो निर्णयको अर्थ उनीहरूले दुई परिवारबीचको पुस्तौँसम्म चल्न सक्ने र रक्तपात हुन सक्ने लडाइँबाट पन्छिनु पनि हो," आफेर्दिता भन्छिन्।

बुर्नेशा बनेपछि आफू पुरुष बने जस्तै भएको द्रान्द्रेको अनुभव छ

तस्बिर स्रोत, BBC/Derrick Evans

तस्बिरको क्याप्शन, बुर्नेशा बनेपछि आफू पुरुष बने जस्तै भएको द्रान्द्रेको अनुभव छ

शपथ लिएर कुमारी बन्ने प्रचलन अहिले परिमार्जित भएको पाइन्छ। पछिल्ला वर्षहरूमा दबावमा भन्दा स्वेच्छाले निर्णय लिने परिपाटी देखिएको छ।

"नृवंशशास्त्रीको दृष्टिमा परम्परागत रूपमा गरिने ब्रह्मचर्यको अभ्यास र आजको दिनमा हुने अभ्यासबारे ध्यान दिन निकै जरुरी छ। ... अहिले यो नितान्त व्यक्तिगत निर्णय हो,'' आफेर्दिता भन्छिन्।

ज्युस्तिनालाई शपथ लिएर कुमारी बन्न दबाव दिइएको थिएन। उनी स्वेच्छाले बुर्नेशा बनेकी थिइन्।

वामपन्थीहरूको वर्चस्व रहेको एल्बेनियामा त्यस बेला पुरुषहरू निकै धेरै स्वतन्त्र रहेको महसुस उनले गरेकी थिइन्।

"यस्ता कैयौँ क्षणहरू थिए जब तपाईँलाई असमान ठानिन्थ्यो," उनी भन्छिन्। "महिलाहरू धेरै एक्लाइएका थिए। उनीहरू घरको काममा सीमित थिए र उनीहरूसँग बोल्ने अधिकार थिएन।"

उनको परिवार, विशेषगरी उनकी आमाले ज्युस्तिनाको निर्णय अस्वीकार गरेकी थिइन्। मातृत्वमा र आफ्नै परिवार बनाउने अवसर त्याग गर्न लागेको भनेर उनी चिन्तित थिइन्।

तर ज्युस्तिनाले त्यो त्याग गरेबापत इनाम पाइन्।

ज्युस्तिना र भलेर्‍याना

तस्बिर स्रोत, BBC/Derrick Evans

तस्बिरको क्याप्शन, ज्युस्तिना आफ्नी भदैलाई परम्परागत ज्ञान दिन चाहन्छिन्

"ब्रह्मचर्य लिएर बुर्नेशा बन्ने निर्णय गरेसँगै मैले थप सम्मान पाएँ," उनी भन्छिन्।

तर अन्य केहीले भने पुरुषको जस्तो ठाँट हुने हुँदा ब्रह्मचर्यको बाटो रोजे।

''मैले कहिल्यै महिलाहरूसँग सङ्गत गरिनँ, पुरुषहरूसँग गरेँ। बार, धूमपान...,'' तटीय सहर सेन्ज्यिनमा बस्ने अर्की कुमारी द्रान्देले भनिन्।

''म सधैँ आफूलाई पुरुषजस्तो महसुस गर्छु।''

उनका लागि यो अभ्यास अपनाउनु भनेको चुरोट र रक्सी पिउने जस्ता पुरुषले मात्रै गर्न पाउने स्वतन्त्रताको आनन्द लिने उपाय। बुर्नेशा परम्परामा पनि त्यो छुट थियो।

त्यसमा ऐतिहासिक रूपमा पुरुषहरूले मात्रै पिउन पाउने एल्बेनियाको घरेलु मदिरा रकिया पिउन पाउने अधिकार पनि पर्छ।

द्रान्देले अहिले उक्त मदिरा पिउने मात्रै होइन आफैँ बनाउने पनि गर्छिन्।

शपथ लिएर कुमारी बनेकोमा द्रान्दे गौरवान्वित छिन्। तर कुनै बेला आफूले एक्लोपन अनुभूति गरेको अनि द्विविधामा परेको उनी स्वीकार्छिन्।

"मलाई लाग्यो मेरो हेरचाह गर्न सक्ने बच्चा पाउँदा कस्तो हुन्थ्यो होला। म धेरै बिरामी थिएँ र मलाई सहयोग गर्ने कोही पनि थिएन। तर यो भाव एकक्षण मात्रै उत्पन्न भएको थियो।"

BBC 100 Women logo 2022