'कुमारीत्व उपचार': के हो र किन यसविरुद्ध आवाज उठिरहेको छ

शल्यक्रिया

तस्बिर स्रोत, Getty Images

यूकेमा अभियानकर्मीहरूले 'कुमारीत्व उपचार'लाई सरकारले गैरकानुनी बनाउनुपर्ने माग गरिरहेका छन्।

उनीहरूका अनुसार त्यस्तो शल्यक्रिया गर्ने महिला प्राय: मुस्लिम समुदायका हुने र तिनले पति वा परिवारले विवाहअघि नै यौनसम्पर्क गरेको थाहा पाए आफू बहिष्कृत हुने वा मारिने डरले त्यस्तो गर्ने बताउने गरेका छन्।

हाइमनोप्ल्यास्टी भनिने योनीद्वारमा रहने झिल्लीलाई पुरानै अवस्थामा फर्काउने शल्यक्रियालाई 'कुमारीत्व उपचार' भन्ने गरिएको छ।

छेदन नभएको झिल्लीलाई कुमारीत्वको चिह्न मान्ने गरिएको छ र कतिपय महिला विवाहको पहिलो रात आफू कुमारी रहेको प्रमाणित गर्ने दबावमा हुन्छन्।

अभियानकर्मीहरूले स्वास्थ्यको दृष्टिकोणले लाभप्रद नभएको यो प्रक्रियाले महिलामाथि शोषण हुने गरेको बताएका छन्।

तर प्रतिबन्ध लगाइँदा अवैधाधिक रूपमा यो विधिले निरन्तरता पाउने डर छ।

यूकेको स्वास्थ्य निर्देशिकाका अनुसार यदि डर वा दबावका कारण महिलाले त्यस्तो उपचार गर्न लागेका हुन् भने तिनले दिएको सहमतिमाथि प्रश्न उठाउनुपर्छ।

डरको जीवन

मिडल इस्टर्न विमन एन्ड सोसाइटी अर्गनाइजेशनकी संस्थापक हालाले ताहिरीले मोरक्कोकी एक छात्रा बाबुले हत्या गर्न खोजेको सूचना पाएर आफू लुकेर हिँडिरहेको बताउँछिन्।

सन् २०१४ मा यूके आएकी ती २६ वर्षीया महिलाले एउटा पुरुष भेटेको र उनीहरू बीच यौनसम्बन्ध भएको बताइएको छ।

तर उनका बाबुले त्यो कुरा थाहा पाएपछि उनलाई मोरक्को फिर्ता बोलाइएको र त्यहाँ उनको कुमारीत्वको परीक्षण गरिएको बताइन्छ।

मुस्लिम महिला

तस्बिर स्रोत, Getty Images

त्यहाँबाट भागेर लन्डन आएको भए पनि उनी लुकीलुकी जीवन व्यतीत गरिरहेकी छन्।

मोरक्कोमा जन्मिएकी एक ४० वर्षीया सहायक शिक्षिकाले आफूलाई २०-२२ वर्षको उमेरमा कुमारीत्व जाँच्न बाध्य पारिएको स्मरण गर्दै आफ्ना छोरीहरूलाई त्यस्तो गराउने सोच्न पनि नसक्ने बताएकी छन्।

"म कहिले पनि कुनै पनि हालतमा उनीहरूलाई त्यस्तो गर्न लगाउनेछैन। म उनीहरूलाई स्वतन्त्र हुन सिकाउँछु।"

विवाहको पहिलो रात

यूकेमा अहिले कम्तीमा २२ निजी क्लिनिकमा त्यस्तो शल्यक्रिया गरिने द सन्डे टाइम्स पत्रिकाको एउटा अनुसन्धानले देखाएको छ।

एक घन्टा लाग्ने सो शल्यक्रियाका लागि ३,००० पाउन्डसम्म शुल्क लिने देखिएको छ।

स्त्रीरोग विशेषज्ञ

तस्बिर स्रोत, Getty Images

विवाहको पहिलो रात आफूलाई 'चोखो' प्रमाणित गर्नुपर्ने मुस्लिम महिलाहरूको डरबाट त्यस्ता क्लिनिकले फाइदा लिइरहेको महिला अधिकारकर्मीहरूले बताएका छन्।

धेरै क्लिनिकले आफ्नो वेबसाइटमा त्यसको विज्ञापन पनि गर्छन्। लन्डनको एउटा क्लिनिकले महिलालाई पतिले पत्नीको कुमारीत्व भङ्ग भइसकेको थाहा पाउँदा विवाह भङ्ग भएको पनि बताउने गरेका छ।

बीबीसीले सो क्लिनिकलाई सम्पर्क गरेको भएको पनि कुनै प्रतिक्रिया पाएको छैन।

'भयानक अभ्यास'

यूकेका स्वास्थ्यमन्त्री म्याट हान्ककले यो 'भयानक अभ्यास' अन्त्य गर्न अनुसन्धान गर्ने बताएका छन्। तर स्वास्थ्य मन्त्रालयले कसरी सम्भावित प्रतिबन्ध लागु हुन्छ भन्ने बारे बताएको छैन।

ताहिरी भन्छन्, "प्रतिबन्ध यदि सही तरिकाले लगाइएन भने महिलाहरूको ज्यान जान सक्छ।"

शल्यक्रिया

तस्बिर स्रोत, Getty Images

तर प्रतिबन्ध उपयुक्त नभएको धारणा लन्डन स्कूल अफ मेडिसिनका डा. खालिद खानको छ।

उनका अनुसार महिलाहरूलाई यस विषयमा जानकारी दिनुपर्छ र निर्णय गर्न उनीहरूलाई नै छोडिदिनुपर्छ।

"मलाई लाग्छ चिकित्सकहरूको उद्देश्य महिलाहरूलाई दुर्व्यवहारबाट बचाउने हो," उनले थपे।

मनोवैज्ञानिक सहयोग

तर ब्रिटिश सोसाइटी अफ पेडियाट्रिक एन्ड एडलेसन्ट गाइनकोलजीका अध्यक्ष डा. नाअमी क्रोचलाई स्वास्थ्यसम्बन्धी फाइदा केही नभएको प्रक्रिया अपनाउन महिलासँग बलजफ्ती हुन सक्ने चिन्ता व्यक्त गर्छिन्।

"चिकित्सकको जिम्मेवारी निर्देशिकामा भनिएको कुरा स्पष्ट पार्नु हो," उनले भनिन्।

"हामीले उपचार गरिने व्यक्तिलाई कुनै पनि प्रकारको हानि नपुर्‍याउने शपथ लिएका हुन्छौँ।"

कुराकानी

तस्बिर स्रोत, Getty Images

योनी राम्रो बनाउने अन्य प्रकारका शल्यक्रिया पनि चर्चित बनिरहेका छन्। उदाहरणका लागि लेबियाप्ल्यास्टीमा योनीको बाहिरी आकारलाई मिलाइन्छ।

अभियानकर्मीहरू यस्ता प्रक्रियाका दीर्घकालीन असरबारे र महिलाहरूलाई प्रक्रिया अगाडि आवश्यक मनोवैज्ञानिक सहायता नभएकाले चिन्तित छन्।

ताहिरी भन्छिन्, "यी महिलाहरूले कुनै अवस्थामा आफूलाई मानवका रूपमा भन्दा पनि अरूले चाहेको वस्तुको रूपमा देख्छन्।"

"मुस्लिम महिलाका लागि लाजको भावना र सजाय भोग्नुपर्ने डरले यस्तो प्रक्रियामा सहभागी हुने कारक बन्छ।"

"अन्यका लागि समाजले तोकेको कुरामा आफ्नो शरीरसँग असन्तुष्टि कारक हुन्छ।"

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, यौनबारे धेरै सोच्दा मानिसले किन झुटो बोल्छन्?