एक चिनियाँ एप जसले गर्दा हलिवुडमा मच्चिएको छ हलचल

मोबाइलमा सीडान्स

तस्बिर स्रोत, Getty Images

    • Author, ओस्मन चिआ र सुरञ्जना तेवारी
    • Role, व्यापार संवाददाता
  • पढ्ने समय: ५ मिनेट

टिकटक एप बनाउने चिनियाँ कम्पनीले विकास गरेको नयाँ आर्टिफिशल इन्टलिजन्स (एआई) मोडेलले यो साता हलिवुडमा हलचल ल्याइदिएको छ।

उक्त एआई मोडेलले के गर्न सक्छ भन्ने मात्र नभइ त्यसले यस सिर्जनशील उद्योगमा के प्रभाव पार्छ भन्ने प्रश्नले पनि मानिसहरू चिन्तित भएका छन्।

प्रविधिको विशाल कम्पनी बाइटडान्सले बनाएको सीडान्स २.० ले केही लिखित निर्देशन दिने बित्तिकै ध्वनि तथा संवादसहित सिनेमाको गुणस्तर समान भिडिओ बनाइदिन सक्छ।

सीडान्सको प्रयोग गरेर स्पाइडर म्यान र डेडपुल जस्ता चर्चित पात्रहरूमा आधारित भएर बनाइएका कैयन् भिडिओ क्लिपहरू भाइरल भएका थिए।

डिज्नी र प्यारामाउन्टजस्ता अग्रणी स्टुडियोहरूले तत्कालै बाइटडान्सविरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोप लगाए। तर त्रास ती कानुनी विषयभन्दा पनि धेरै गहिरो गरी गडिएको बताइन्छ।

के हो सीडान्स – अनि किन यो हल्लाखल्ला?

सन् २०२५ को जुनमा कमै चर्चाका माझ सीडान्सको सुरुवात गरिएको थियो। तर त्यसको ८ महिनापछि आएको यसको दोस्रो संस्करणले धेरै हल्लीखल्ली निम्त्याएको छ।

"ओहो यो भिडिओ एआईले गजब बनाएछ भन्ने सोच यसपटक मेरो मनमा आएन। बरु यो भिडिओ त वास्तविक फिल्म निर्माण कम्पनीबाट सोझै आएको भन्ने सोचेँ," भिडिओस्टेट नामक स्टुडियोका यान-विलेम ब्लोमले भने।

पश्चिमा देशका एआई भिडिओ मोडेलहरूले पनि प्रयोगकर्ताहरूले दिने निर्देशनअनुरूप गजबका भिडिओ बनाउने कुरामा प्रगति गरेका तर सीडान्सले चाहिँ सबै कुरालाई समायोजन गर्न सकेको उनले बताए।

मिडजर्नी र ओपनएआईको सोरा जस्ता एआई टुल जस्तै सीडान्सले छोटा लिखित निर्देशनका आधारमा भिडिओ बनाइदिन्छ। कतिपय उच्च गुणस्तरका भिडिओ बनाउन एउटै निर्देशन पनि काफी भएको देखिन्छ।

यसले एकै प्रणालीमा लिखित (टेक्स्ट), अनि श्रव्य तथा दृश्यलाई समायोजन गर्ने कुरा सबभन्दा प्रभावकारी देखिएको एआई इथिक्स शोधकर्ता मार्गरेट मिचेलले बताइन्।

सीडान्सको भिडिओको गुणस्तर कति सजीव छ भनेर नाप्न एउटा अनौठो उदाहरणको सहारा लिइएको छ। हलिवुड अभिनेता विल स्मिथले स्पागेटी खाएको भिडिओ कत्तिको यथार्थपरक देखिन्छ भनेर।

ती अभिनेताले प्लेटबाट पास्ता खाएको गजबकै सजीव भिडिओ सीडान्सले बनायो। त्यतिमात्र होइन उक्त भिडिओपश्चात् कैयन् भाइरल भिडिओहरू बनेका छन् जसमा स्मिथले विशाल स्पागेटी मन्सटरसँग लडेका देखिन्छन् - र ती भिडिओ क्लिप कुनै धेरै बजेटवाला हलिवुड फिल्मको जस्तो लाग्छ।

भिडिओ निर्माण प्रविधिमा सीडान्स नयाँ अध्यायका रूपमा आएको कैयन् सिने उद्योगका विज्ञ एवं फिल्मनिर्माताहरूको विश्वास छ।

सीडान्सले उसका प्रतिस्पर्धीहरूले भन्दा निकै धेरै वास्तविक देखिने जटिल एक्सन भिडिओहरू बनाएको सिङ्गापुर स्थित टाइनी आइल्यान्ड प्रोडक्सन्स नामक एनिमेशन स्टुडियोका डेभिड क्वकले भने।

"यस्तो लाग्छ एक्सन फिल्ममा विशेषज्ञता भएका कोही सिनेमाटोग्राफर वा फोटोग्राफी निर्देशकले तपाईँलाई सघाइरहेका छन्।"

सम्भावना र चुनौती

बौद्धिक सम्पत्तिको अधिकारका विषयमा सीडान्स समस्यामा परेको छ। एआईको युगमा यो बढ्दो चुनौती हो।

एआई कम्पनीहरूले मानिसहरूभन्दा प्रविधिलाई प्राथमिकता दिन थालेको भन्दै विज्ञहरूले तिनले कसैलाई पैसा नतिरीकन डेटाको उपयोग गर्दै शक्तिशाली टुल बनाउने गरेको बताए।

मार्भलका सुपरहिरो चरित्रहरूको बौद्धिक सम्पत्ति अधिकार डिज्नीमा निहीत छ

तस्बिर स्रोत, Alamy

तस्बिरको क्याप्शन, मार्भलका सुपरहिरो चरित्रहरूको बौद्धिक सम्पत्ति अधिकार डिज्नीमा निहीत छ

स्पाइडर म्यान र डार्थ भेडर जस्ता प्रतिलिपि अधिकारबाट सुरक्षित पात्रहरूको सीडान्सले गरेको प्रयोगका विरुद्ध हलिवुडले आलोचना गरेको छ। डिज्नी र प्यारामाउन्टले सीडान्सले उसका सामग्रीको प्रयोग गर्न नपाओस् भन्ने पत्रहरू लेखेका छन्। जापानले पनि एनिमे पात्रहरूको एआई भिडिओ भाइरल बनेपछि बाइटडान्समाथि प्रतिलिपि अधिकार उल्लङ्घनसम्बन्धी अनुसन्धान थालेको छ।

बाइटडान्सले विद्यमान नियमहरूको पालनाका निम्ति कदमहरू चाल्ने भनेको छ। तर यस्तो चुनौती चिनियाँ एआई कम्पनीसँग मात्र जोडिएको छैन।

सन् २०२३मा न्यूयोर्क टाइम्सले विना अनुमति आफ्ना सामग्रीको प्रयोग गरेर तिनका एआई मोडेलहरू प्रशिक्षित गरेको आरोप ओपनएआई तथा माइक्रोसफ्टमाथि लगाएको थियो।

हेर्दा गजबका भिडिओ बनाउनुभन्दा एआईमाथि जनविश्वासको जगेर्ना गर्नु अनि तिनका सामग्रीलाई उचित लेबल दिएर मानिसहरू झुक्यानमा नपरुन् भनेर सुनिश्चित् गर्नु निकै महत्त्वपूर्ण भएको मिचेलले बताइन्।

उनका अनुसार त्यसैले यसका विकासकर्ताहरूले लाइसेन्सिङ तथा भुक्तानीको प्रणाली बनाउनु जरुरी छ ताकि मानिसहरूले ती सामग्रीको दुरुपयोग नगरुन्।

उदाहरणका लागि डिज्नीले स्टार वार्स, पिक्सार र मार्भलका चरित्रहरूको प्रयोग गर्ने अनुमतिका लागि ओपनएआईको सोरासँग १ अर्ब डलरको सम्झौता गरेको छ।

सीडान्सलाई पनि पश्चिमा बौद्धिक सम्पत्तिको प्रयोग गर्दा प्रतिलिपि अधिकारको मुद्दा उठ्छ भनेर सायद थाहा थियो तापनि तिनले जोखिम मोले भन्छन् युनिभर्सिटी अफ मेल्बर्नका कम्प्युटिङ् रिसर्चर शानन कोहनी।

तर साना कम्पनीहरूका निम्ति सीडान्स निकै उपयोगी छ।

सिङ्गापुरको टाइनी आइल्यान्ड प्रोडक्सन्स कम्पनीका क्वक भन्छन् यत्तिको गुणस्तरको एआईले उनको जस्तो सानो कम्पनीलाई पनि अन्यथा अत्यधिक महँगो हुने फिल्म बनाउन सघाउ पुग्छ।

एसियामा विस्तार भइरहेको छोटा भिडिओ - करिब डेढ लाख डलरको बजेटमा दुई-दुई मिनेटका ८० इपिसोड बनाउन सकिने उदाहरण उनले दिए।

यस्ता कम्पनीले थोरैमात्र भिजुअल इफेक्ट भए पुग्ने रोमान्स वा पारिवारिक ड्रामामा ध्यान दिने गरेकोमा अब एआईको मद्दतले थोरै बजेटमै तिनले साइ-फाइ, ऐतिहासिक वा एक्सन प्रकृतिका फिल्म बनाउन सक्ने क्वक बताउँछन्।

के चीन अगाडि पुगिसक्यो?

सीडान्सले फेरि एकपटक चिनियाँ प्रविधिमाथि धेरैको ध्यान खिचेको छ।

"कम्तीमा पनि अहिले उपलब्ध उच्च प्रविधिलाई चिनियाँ मोडेलहरूले पछ्याइसकेको देखिन्छ," कोहनीले भने। "यदि अकस्मात् बाइटडान्सले यस्तो सिर्जना गर्न सक्यो भने चिनियाँ कम्पनीहरूसँग अन्य कस्ता कस्ता मोडेल होलान्?"

शाङ्घाईको एक कारखानामा ह्युमनोइड रोबट

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शाङ्घाईको एक कारखानामा ह्युमनोइड रोबट

गत वर्ष अर्को चिनियाँ एआई मोडेल डिपसीकले थोरै लागतमा बनाएको लार्ज ल्याङ्ग्वेज मोडेलले विश्वको ध्यान खिचेको थियो। थोरै समयमै च्याटजीपीटीलाई जितेर एपलको अमेरिकी स्टोरमा उक्त एप सबभन्दा धेरै डाउनलोड गरियो।

बेइजिङ्ले एआई तथा रोबोटिक्सलाई उसको आर्थिक रणनीतिको केन्द्रमा राख्दै अत्याधुनिक कम्प्युटर चीप उत्पादन, अटोमेशन र जेनरटिभ एआईमा लगानी बढाएको छ। प्रविधिमा अमेरिकालाई उछिन्ने उसको दाउ छ।

लुनार नयाँ वर्षको विदा अगाडि सीडान्स २.० ले विश्वभरि चर्चा बटुल्दै गर्दा चीनका अन्य ठूला प्रविधि कम्पनीले थोरै हल्लाका माझ तिनका नयाँ जेनरटिभ एआई बजारमा ल्याए।

सो विदाको समयमा दशौँ लाख मानिसहरू घरमा रहने र तिनले नयाँ नयाँ एपहरू परीक्षण गर्ने हुँदा यही छेको पारेर एआई कम्पनीहरूले नयाँ उत्पादन बजारमा ल्याउने गरेको विश्लेषक बील बिशपले न्यूजलेटरमा लेखेका छन्।

च्याटबटका अतिरिक्त एआई एजेन्टद्वारा कारोबार सञ्चालन, आम दिनचर्यामा कोडिङ् टुलको समायोजन अनि एआईको प्रयोग गरेर भिडिओ बनाउने जस्ता काममा चीनमा एआईको आम प्रयोगका निम्ति सन् २०२६ को वर्ष अत्यधिक महत्त्वपूर्ण हुने उनले अनुमान गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।