के चीनले चुपचाप एआईको स्पर्धा जित्दै छ

तस्बिर स्रोत, Getty Images
- Author, लिली जमाली
- Role, उत्तर अमेरिका प्रविधि संवाददाता
हरेक महिना करोडौँ मानिसहरू नवीनतम शैली खोज्न पिन्ट्रेस्टमा पुग्छन्।
"सबैभन्दा हास्यास्पद कुराहरू" शीर्षक दिइएको यसको एउटा पृष्ठ रचनात्मकतालाई प्रेरित गर्ने गज्जबका उपायहरूले भरिएको छ। आधा जुत्ता जस्तो देखिने चप्पललाई फूलदानीको रूपमा पुन: प्रयोग गरिएको छ। चीजबर्गरको आकारमा आईस्याडो बनाइएको छ। सब्जीहरू सजाएर घर आकारको खान मिल्ने 'जिन्जरब्रेड हाउस' बनाइएको छ।
यसका खरिदकर्ताहरूलाई थाहा नहुन सक्छ कि यसमा प्रयोग भइरहेको प्रविधि अमेरिकी होइन। पिन्ट्रेस्टले चिनियाँ एआई मोडलहरू प्रयोग गरेर यसको सर्च इन्जिनलाई सुधार गरिरहेको छ।
"हामीले प्रभावकारी रूपमा पिन्ट्रेस्टलाई एआईबाट सञ्चालित सपिङ सहयोगी बनाएका छौँ," कम्पनीका मालिक बिन रेडीले सुनाए।
सान फ्रान्सिस्कोबाट सञ्चालित यो टेस्टमेकरले भित्री कामका लागि जुनसुकै अमेरिकी एआई प्रयोगशालाहरू पनि प्रयोग गर्न सक्थ्यो। तर सन् २०२५को ज्यानुअरीमा चीनको डीपसीकले आर-१ मोडल सार्वजनिक गरेपछि पिन्ट्रेस्टका लागि यो चिनियाँ एआई प्रविधि अभिन्न अङ्ग बन्ने क्रम बढ्दो छ।
यसका मालिक रेडी कतिपयले भन्ने गरेको "डीपसीक क्षण"लाई एउटा ठूलो सफलता भन्छन्।
"उनीहरूले यसमा ओपन सोर्स प्रयोग गरेका छन् र त्यसले ओपन सोर्स मोडलहरूको तरङ्ग पैदा गरिदिएको छ," उनले भने। चिनियाँ एआईका प्रतिस्पर्धीहरू पनि चिनियाँ नै छन्। अलिबाबाको क्वेन एआई र मूनसटको किमी यसका प्रतिस्पर्धी हुन्। टिकटकको माउकम्पनी बाइटड्यान्सले पनि यस्तै किसिमको प्रविधिमा काम गरिरहेको छ।
पिन्ट्रेस्टका प्रमुख प्रविधि अधिकृत म्याट म्याड्रिगलका अनुसार यी मोडलहरू सहजै डाउनलोड गरेर कम्पनीहरूले आफू अनुकूल प्रयोग गर्न सक्छन्। तर च्याट जीपीटी बनाउने ओपन एआई जस्ता अमेरिकी प्रतिस्पर्धी कम्पनीहरूले यो सुविधा दिँदैनन्।
"हामीले आफ्नै इन-हाउस मोडलहरूलाई तालिम गराउन प्रयोग गर्ने ओपन सोर्स प्रविधिहरू अग्रणी अफ-द-शेल्फ मोडलहरू भन्दा ३० प्रतिशत बढी सटीक छन्," म्याड्रिगल भन्छन्।
अनि ती सुधारिएका एआईले गर्ने सिफारिसहरू निकै कम लागतमा आउने उनको भनाई छ।
'छिटो र सस्तो'

तस्बिर स्रोत, Reuters
चीनको एआई प्रविधिमा निर्भर पिन्ट्रेस्ट एक मात्र अमेरिकी उद्यम चाहिँ होइन। यी एआई प्रविधिहरूले अमेरिकाका सबैभन्दा ठूला ५०० भित्रका कम्पनीहरूमा पनि प्रवेश पाइरहेका छन्। एअर बीएनबीका प्रमुख ब्रेन चेस्कीले अक्टोबरमा ब्लूम्बर्गलाई बताए अनुसार उनको कम्पनीले एआईमा आधारित ग्राहक सेवा एजेन्टहरू सञ्चालन गर्न अलिबाबाले विकास गरेको क्वेनमा "धेरै" निर्भर रहने गरेको बताएका थिए।
उनले धेरै सामान्य कारणहरू दिँदै तिनीहरू "धेरै राम्रो", "छिटो" र "सस्तो" रहेको बताए।
प्रमुख विकासकर्ताहरू मेटा र अलिबाबा सहित मानिसहरूले तयारी अवस्थाका एआई मोडलहरू डाउनलोड गर्न प्रयोग गर्ने गरेको हगिङ फेसमा थप प्रमाणहरू फेला पार्न सकिन्छ।
यसमा सामग्रीहरू बनाउने जेफ बुद्वारका अनुसार लागतकै कारण भर्खरै खुलेका स्टार्टअपहरूले अमेरिकीभन्दा चिनियाँहरू रोज्ने गरेका छन्।
"हगिङ फेसमा सबैभन्दा बढी डाउनलोड भएका र मन पराइएका मुख्य मोडेलहरू हेर्नुभयो भने तपाईँले सामान्यतया, चिनियाँ ल्याबमा तयार भएका चिनियाँ मोडलहरू प्रमुख १० स्थानमा देख्नुहुन्छ," उनी भन्छन्।
"त्यहाँका प्रमुख पाँच प्रशिक्षण मोडलहरूमध्ये चार वटा चिनियाँ प्रयोगशालाका छन्।"
सेप्टेम्बरमा हगिङ फेसमा मेटाको लामलाई समेत उछिनेर क्वेन लार्ज ल्याङ्वेज मोडल विधामा सर्वाधिक डाउनलोड भयो।
मेटाले सन् २०२३मा आफ्नो ओपन सोर्स मोडल लाम सार्वजनिक गरेको थियो। डीपसीक र अलिबाबाको मोडलहरू नआउँदासम्म धेरै जना डेभलपरहरूको रोजाइ यही थियो।
तर गत वर्ष सार्वजनिक भएको लाम ४ ले डेभलपरहरूलाई बेखुस बनायो। र मेटा आफैँले आगामी वसन्तमा सार्वजनिक गर्ने भनिएको आफ्नो नयाँ मोडल सेटलाई तालिम दिन अलिबाबा, गुगल र ओपन एआईका ओपन सोर्सहरू प्रयोग गरिरहेको विवरण आएका छन्।
एअरबीएनबीले पनि अमेरिकी सहित कैयौँ मोडलहरू प्रयोग गर्ने गरेको छ। यसले कम्पनीको आफ्नै पूर्वाधारमा तिनीहरूलाई सुरक्षित रूपमा राख्दै आएको छ। कम्पनीले एआई मोडलका डेभलपरहरूलाई कहिल्यै डेटा नदिएको दाबी गर्दै आएको छ।
चिनियाँ सफलता

तस्बिर स्रोत, REX/Shutterstock
सन् २०२५ लाग्दै गर्दा अमेरिकी प्रविधि कम्पनीहरूले अर्बौँ डलर खर्च गरे पनि चिनियाँ कम्पनीहरू अगाडि बढ्ने क्रम रोकिएन।
"अब त्यो विषय नै रहेन," बुद्वार भन्छन्। "अहिले सबैभन्दा राम्रो मोडल भनेकै ओपन सोर्स मोडल हो।"
स्ट्यानफर्ड विश्वविद्यालयले गत महिना प्रकाशित गरेको एक विवरणमा चिनियाँ एआई मोडलहरू प्रयोग र क्षमता दुवैमा विश्वव्यापी प्रतिस्पर्धीको तुलनामा "अगाडि देखिएका" छन्।
हालै बीबीसीसँगको एउटा अन्तर्वार्तामा यूकेका उपप्रधानमन्त्री निक क्लेगले अमेरिकी कम्पनीहरू एक दिन ह्युमन इन्टेलिजेन्सलाई पनि उछिन्ने किसिमका एआईको खोजीमा निकै केन्द्रित भएको बताएका थिए।
उनले लामको निर्माता मेटाको विश्व मामिला प्रमुखको पदबाट गत वर्ष राजीनामा दिएका थिए। यसका मालिक मार्क जकरबर्गले भन्दै आएको "सुपर इन्टेलिजन्स"का लागि अर्बौँ डलरको लगानी प्रतिबद्धता गरिसकेका छन्।
केही विज्ञहरूले यी महत्त्वाकाङ्क्षाहरूलाई अस्पष्ट र अपरिभाषित भनिरहेका छन् र त्यो प्रयासमा ध्यान केन्द्रित गर्दा ओपन सोर्स एआई क्षेत्रमा चीनले प्रभुत्व जमाउन खुला ठाउँ पाएको बताएका छन्।
"यहाँ विडम्बना छ," निक भन्छन्। "विश्वको सबैभन्दा ठूलो निरङ्कुश राज्य"को रूपमा रहेको चीन र "सबैभन्दा ठूलो प्रजातन्त्र"को रूपमा परिचित अमेरिकाबीचको प्रतिस्पर्धामा चीनले "प्रविधिको लोकतान्त्रीकरणका लागि अझै धेरै ठाउँ दिएको छ।"
स्ट्यान्डफर्डको प्रतिवेदनले ओपन सोर्स मोडलको विकासमा चीनको सफलतामा सरकारी सहयोग पनि कारण रहेको औँल्याएको छ।
अर्कोतर्फ ओपन एआई जस्ता अमेरिकी कम्पनीहरू आम्दानी बढाउन र नाफामा जान ठूलो दबावमा छन्। त्यसका लागि अहिले ती कम्पनीहरूले विज्ञापनको सहारा लिन सुरु गरेका छन्।
वर्षौँपछि यो कम्पनले गएको बर्खामा दुई वटा ओपन सोर्स मोडलहरू सार्वजनिक गर्यो। तर यसले आफ्नो धेरै स्रोतचाहिँ आम्दानी गर्न सकिने प्रोप्राइट्री मोडलहरूमा खर्च गरिरहेको छ।
ओपन एआईका प्रमुख स्याम अल्टम्यानले गत अक्टोबरमा मसँगको कुराकानीमा यो कम्पनीले अझ बढी कम्प्युटिङ शक्ति र पूर्वाधार सुरक्षित गर्न आक्रामक रूपमा लगानी गरेको र साझेदारहरूसँग सम्झौता गरेको बताएका थिए।
"स्रोत द्रुत गतिमा बढ्नेछ, तर तपाईँले हामीलाई प्रशिक्षणमा भारी लगानी गर्ने आशा गर्नुपर्छ, एकपछि अर्को र त्यसपछि पनि अर्को-अर्को मोडेलमा," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।







