एआईले मानव मस्तिष्कको कार्यक्षमता घटाइरहेको विज्ञहरूको चेतावनी

तस्बिर स्रोत, yacobchuk/Getty
- Author, जर्ज स्यान्डमन
तपाईँले पछिल्लो पटक एआई च्याटबटलाई के अह्राउनुभएको थियो?
सायद तपाईँले कुनै कठिन प्रश्नको जबाफ दिन, जटिल तथ्याङ्कलाई विश्लेषण गर्न वा जागिरका निम्ति लेखिएको आवेदनपत्रको बेहोरा कामको विवरणसँग मेल खाए नखाएको जाँच्न अह्राउनुभएको हुन सक्छ।
यस प्रकारका काममा बाह्य सहयोग लिनुको अर्थ तपाईँको मस्तिष्कको सक्रियता घटेको भन्दै केही विज्ञहरूले चिन्ता प्रकट गरेका छन्। उनीहरूका अनुसार अझ यसले तपाईँको आलोचनात्मक चेत र समस्या हल गर्ने सीपहरूलाई पनि क्षति पुर्याउन सक्छ।
यस वर्षको सुरुमा म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजी (एमआईटी)ले प्रकाशित गरेको एउटा शोधका अनुसार जजसले निबन्ध लेख्न च्याटजीपीटी प्रयोग गर्थे, त्यसो गरिरहँदा तिनका मस्तिष्कका सञ्जालहरूले कम गतिविधि देखाए जुन संज्ञानात्मक प्रक्रियासँग सम्बन्धित थिए।
त्यसका अलावा ती व्यक्तिहरूले अध्ययनका क्रममा एआई च्याटबट प्रयोग नगर्नेहरूले झैँ सजिलै आफ्ना निबन्धहरूबाट उद्धृत गर्न सक्दैनथे। शोधकर्ताहरूका अनुसार उक्त अध्ययनले "अध्ययन कौशलको सम्भावित गिरावटको खोजको तत्काल आवश्यकतालाई" दर्शाएको छ।
सबै ५४ जना सहभागीलाई एमआईटी र नजिकैका विश्वविद्यालयहरूबाट लिइएको थियो। इलेक्ट्रोएन्सेफेलोग्राफी (ईईजी) प्रयोग गरेर उनीहरूको मस्तिष्कको गतिविधि रेकर्ड गरिएको थियो। यसो गर्न टाउकोमा इलेक्ट्रोरडहरू राखिन्छन्।
सहभागीहरूले प्रयोग गरेका केही प्रम्टहरूमा एआईलाई निबन्धका प्रश्नहरूको सारांश लेख्न, स्रोतहरू पत्ता लगाउन र व्याकरण तथा शैलीगत सुधार गर्न भनिएको थियो।
साथै त्यसको उपयोग विचारहरूको निर्माण तथा त्यसलाई अभिव्यक्त गर्नका निम्ति पनि गरिएको थियो तर केही प्रयोगकर्ताहरूले एआईले उक्त कार्यका निम्ति त्यति राम्रो काम नगरेको महसुस गरेका थिए।
'एआईले जबाफ खोज्न निकै सजिलो बनाउँछ'
मानिसहरू एआईमा अत्यधिक निर्भर भएमा यसले समस्या समाधान गर्ने क्षमतालाई कमजोर पार्न सक्ने 'कोपाइलट' सञ्चालन गर्दै आएका कार्नेगी मेलन विश्वविद्यालय र माइक्रोसफ्टको अध्ययनले देखाएका छन्।
उनीहरूले ३१९ जना प्रशासनिक कर्मचारीहरूको सर्वेक्षण गरे जसले आफ्नो काममा क्रममा सातामा कम्तिमा एकपटक एआईको प्रयोग गर्थे। एआई प्रयोग गर्दै गर्दा उनीहरूले आलोचनात्मक चेतको उपयोग कसरी गर्छन् भन्ने हेर्नु उक्त शोधको उद्देश्य थियो।
उनीहरूले एआईलाई अह्राइएका ९०० वटा कामका उदाहरणहरू हेरे जसमा नयाँ निष्कर्षका निम्ति तथ्याङ्क विश्लेषण गर्नेदेखि कुनै काम निश्चित नियमपूर्वक गरे नगरेको जाँच्नेसम्मका विषय थिए।
उक्त अध्ययनले कुनै एआई उपकरणमाथि अधिक भरोसा गरिने अवस्था "आलोचनात्मक चेतको कम प्रयत्न"सँग सम्बन्धित भएको पत्ता लगायो।
"जेनेरेटिभ एआईले कामदारको दक्षता बढाउन सक्छ तर कामसँगको महत्त्वपूर्ण संलग्नतालाई सीमित गरिदिन सक्छ र सम्भावित रूपमा उपकरणमाथिको दीर्घकालीन र अत्यधिक निर्भरता स्वतन्त्र रूपमा गरिने समस्या समाधानको सीप घटाउने कारण बन्न सक्छ।"
यूकेमा विद्यालयमा अध्ययनरत बालबालिकामाथि पनि एउटा सर्वेक्षण गरिएको थियो जुन अक्टोबरमा अक्सफर्ड विश्वविद्यालय प्रेस (ओयूपी) ले प्रकाशित गरेको छ।
त्यसमा १० मध्ये ६ जनाले एआईले पढाइसँग सम्बन्धित आफ्नो क्षमतामा नकारात्मक असर पारेको महसुस गरेका देखियो।
त्यसोभए के एआईको प्रयोगमा व्यापक वृद्धि भइरहँदा हाम्रो संज्ञानात्मक क्षमता घट्न सक्ने जोखिम छ?

तस्बिर स्रोत, Klaus Vedfelt/Getty
त्यसै हुन्छ भन्ने नभएको उक्त सर्वेक्षणमा समेत काम गरेकी ओयूपीकी एआई विशेषज्ञ डा एलेक्सेन्ड्रा तोमेस्कु बताउँछिन्।
"उक्त सर्वेक्षणले १० मा ९ विद्यार्थीले एआईले पढाइसम्बन्धी कमसेकम एउटा क्षमतामा मद्दत पुर्याएको बताएका पनि देखाउँछ चाहे त्यो समस्या हल गर्ने विषय होस्, रचनात्मकता वा पढाइको पुनरावलोकको विषय होस्।"
"तर फेरि त्यसो भनिरहँदा एक चौथाइले चाहिँ एआईले उनीहरूको कामलाई निकै सजिलो बनाइदिएको बताएका छन्.... त्यसले गर्दा स्थिति काफी जटिल छ।"
धेरै छात्रछात्राले एआईको प्रयोगका सम्बन्धमा थप मार्गदर्शन चाहेको बताएका समेत उनले थपिन्।
च्याटजीपीटीका प्रमुख शाम अल्टम्यानका अनुसार साप्ताहिक रूपमा यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन् र यसले विद्यार्थीका निम्ति प्रम्प्टका त्यस्ता १०० वटा सेटहरू ल्याएको छ जो विद्यार्थीहरूलाई प्रविधिको अधिकतम लाभ उठाउन मद्दत गर्न सक्ने गरी विकास गरिएको छ।
तर त्यो पर्याप्त नभएको युनिभर्सिटी कलेज लन्डनमा 'क्रिटिकल स्टडिज अफ आर्टिफिशल इन्टेलिजन्श एन्ड एजुकेशन'बारे अनुसन्धानरत प्राध्यापक वेन होम्स बताउँछन्।
विद्यार्थीलाई यी उपकरणहरू प्रयोग गर्न प्रोत्साहित गर्नुअघि यसले सिकाइमा पार्ने प्रभावबारे थप शैक्षिक अनुसन्धान होस् भन्ने उनी चाहन्छन्।
उनले हामीसँग भने: "आजसम्म यी उपकरणहरूको शिक्षा क्षेत्रमा प्रभावकारिता, सुरक्षा वा तिनीहरूले सकारात्मक प्रभाव पार्छन् भन्ने विचारका निम्ति पर्याप्त स्तरको कुनै स्वतन्त्र प्रमाण छैन।"
उत्तम परिणाम तर खराब सिकाइ?
प्राध्यापक होम्स संज्ञानात्मक ह्राससम्बन्धी ती अनुसन्धानतर्फ सङ्केत गर्छन् जहाँ कसैको क्षमता र सीप एआई प्रयोग गरेपछि कमजोर हुन्छन्।
उनले रेडिओलजिस्टहरूको उदाहरण दिए। उनका अनुसार बिरामीको निदान गर्नुअघि एक्सरेको व्याख्या गर्न एआईको उपयोग गर्ने रेडिओलजिस्टका निम्ति यो समस्या बनेको छ।
गत वर्ष प्रकाशित हार्भर्ड मेडिकल स्कूलको एक अध्ययनका अनुसार एआईको मद्दतले केही चिकित्सकहरूको कार्यक्षमता त सुध्रियो तर केहीको क्षमतामा नकारात्मक असर पनि पर्यो जसको कारणबारेअनुसन्धानकर्ताहरू पूर्ण रूपमा यकिन छैनन्।
लेखकहरूले मान्छेले एआईसँग अन्तरक्रिया गर्ने तरिकाबारे थप अनुसन्धान हुनु पर्ने बताएका छन् ताकि त्यसबाट एआई उपकरणहरू प्रयोग गर्ने त्यस्ता तरिकाहरू पत्ता लगाउन सकियोस् जसले मानव क्षमतालाई ह्रास पुर्याउनुको सट्टा बढावा दिन्छ।
प्रोफेसर होम्सलाई विद्यालय वा विश्वविद्यालयका विद्यार्थीहरू आफ्नो कामका लागि एआईमा अत्यधिक निर्भर हुन सक्ने र त्यसो हुँदा शिक्षामार्फत् दिन खोजिएको आधारभूत सीपको विकासमा बाधा पुग्ला भन्ने डर छ।
एआईको सहयोगले विद्यार्थीको निबन्धले राम्रो अङ्क त पाउन सक्छ तर मुख्य कुरा के हो भने यसले उसको बुझाइमा कमी ल्याउन सक्छ।
प्राध्यापक होम्स त्यसलाई यसरी अर्थ्याउँछन्: "उनीहरूको नतिजा राम्रो छ तर वास्तवमा सिकाइचाहिँ कमजोर छ।"
च्याटजीपीटीको सञ्चालक ओपनएआईमा अन्तर्राष्ट्रिय शिक्षाको नेतृत्व गर्दै आएकी तथा उक्त संस्था र अक्सफर्ड विश्वविद्यालयबीचको सम्झौता सुनिश्चित गराउन भूमिका समेत खेलेकी जयना देवानी आफ्नो संस्था "अहिले चलिरहेको बहसबारे पूर्ण रूपमा सचेत रहेको" बताउँछिन्।

उनी बीबीसीसँग भन्छिन्: "विद्यार्थीहरूले आफ्नो काम बाह्य स्रोतबाट गराउन च्याटजीपीटी प्रयोग गर्नु ठीक हो भन्ने हामी निश्चित रूपमा सोच्दैनौँ।"
उनको विचारमा यसलाई केवल उत्तर दिने उपकरणको रूपमा नभइ शिक्षकका रूपमा प्रयोग गर्नु उत्तम हो।
उनीद्वारा दिइएको उदाहरणमा एकजना विद्यार्थीले 'स्टडी मोड सेटिङ' प्रयोग गरेर च्याटजीपीटीसँग अन्तर्क्रिया गरिरहेको देखाइएको छ।
तपाईं आफूलाई जवाफ दिन गाह्रो भइरहेको प्रश्न प्रविष्ट गर्नुहुन्छ र च्याटबटले त्यसलाई भागभागमा विश्लेषण गरेर बुझ्न सहयोग गर्छ।
उनी आफूले राम्ररी नबुझेको विषयमा राति अबेर गृहकार्य गरिरहेको एक विद्यार्थीको उदाहरण प्रस्तुत गर्छिन्।
"यदि तपाईंले चाँडै प्रस्तुति दिनुपर्ने छ र मध्यरात भइसकेको छ भने तपाईं आफ्नो (विश्वविद्यालयका) शिक्षकलाई इमेल गरेर सहयोग माग्नुहुन्नँ," उनी भन्छिन्।
"निश्चित कुरा लक्ष्य गरेर प्रयोग गरिँदा च्याटजीपीटीले सिकाइलाई तीव्र बनाउने वास्तविक सम्भावना छ भन्ने मलाई लाग्छ।"
तर प्राध्यापक होम्स एआई उपकरणहरू प्रयोग गर्ने विद्यार्थीले त्यसले कति सुझबुझका साथ काम गर्छ र सञ्चालक कम्पनीहरूले कसरी तथ्याङ्क व्यवस्थापन गर्छन् भन्नेबारे सचेत हुनु पर्नेमा जोड दिन्छन्। साथै उनी प्राप्त परिणामलाई सधैँ जाँच्नु पर्नेमा पनि जोड दिन्छन्।
"यो केवल क्यालकुलेटरको नवीन विकास होइन," एआईको दूरगामी क्षमता र प्रभावबारे वर्णन गर्दै उनी भन्छन्।
"म मेरा विद्यार्थीहरूलाई एआई प्रयोग गर्न हुँदैन भनेर कहिल्यै भन्दिनँ... तर म के भन्ने कोसिस गर्छु भने हामीले यी विभिन्न चिजहरूबारे बुझ्नुपर्छ ताकि सचेत निर्णय लिन सकियोस्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








