एआई क्षमतायुक्त च्याटजीपीटी एटलस ब्राउजर के हो? के यसले गुगल क्रोमलाई चुनौती देला?

तस्बिर स्रोत, Anadolu via Getty Images
ओपनएआईले गत मङ्गलवार एटलस नामक आर्टिफिशल इन्टेलिजन्स (एआई) क्षमतायुक्त नयाँ वेब ब्राउजर सार्वजनिक गर्यो। त्यो विश्वको सबैभन्दा लोकप्रिय ब्राउजर गुगलको क्रोमजस्ता प्रतिस्पर्धी मञ्चलाई चुनौती दिने गरी डिजाइन गरिएको हो।
एटलसको आगमन च्याटजीपीटी निर्माताले एआईमा आफ्नो लगानीलाई आम्दानीयोग्य बनाउन र यसको बढ्दो प्रयोगकर्ताका आधारमा पुँजीकरण गर्न नयाँ तरिकाहरू खोज्ने क्रममा भएको हो।
अक्टोबर महिनाको सुरुमा ओपनएआईका प्रमुख कार्यकारी स्याम अल्ट्मनले खुलासा गरे अनुसार यतिखेर च्याटजीपीटीका ८० करोड सक्रिय साप्ताहिक प्रयोगकर्ताहरू छन्।
गत फेब्रुअरी महिनामा त्यो ४० करोड थियो।
एटलसमार्फत् ओपनएआईले उपभोक्ताहरूको ब्राउजरको प्रयोग गर्ने व्यवहारका बारेमा डेटा सङ्कलन गर्दै प्रयोगकर्ताहरूको अनलाइन जीवनका धेरै पक्षहरूमा आफूलाई विस्तार गर्नेछ।
यसका मुख्य विशेषता के छन्?

तस्बिर स्रोत, Reuters
एटलसले दैनिक ब्राउजिङमा एआईलाई एकीकृत गर्ने लक्ष्य राखेको छ।
सीईओ अल्ट्मनका अनुसार यसले परम्परागत 'एड्रेस बार' हटाउँछ र त्यो "च्याटजीपीटी वरिपरि निर्मित" छ।
प्रयोगकर्ताहरूले सामग्रीको सार निकाल्न, उत्पादनहरू तुलना गर्न वा डेटा विश्लेषण गर्न कुनै पनि पृष्ठमा च्याटजीपीटी साइड बार खोल्न सक्छन्।
सशुल्क "एजेन्ट मोड" ले च्याटजीपीटीलाई प्रयोगकर्ताका तर्फबाट वेबसाइटहरू खोजी गर्न र तीसँग अन्तर्क्रिया गर्न, यात्रा योजना बनाउन र अनलाइन किनमेलजस्ता काम गर्न दिनेछ।
मङ्गलवार त्यसबारे गरिएको एक प्रस्तुतीकरणमा ओपनएआईका विकासकर्ताहरूले एटलसलाई रेसिपी फेला पार्ने र त्यसपछि इन्स्टाकार्टमार्फत् सामग्रीहरू खरिद गर्ने देखाएका थिए।
इन्स्टाकार्ट एक अमेरिकी रिटेल मिडिया र डेलिभरी कम्पनी हो जसले खुद्रा सामग्रीको डेलिभरी र पिकअप सेवा सञ्चालन गर्छ।
ओपनएआईले इट्से र स्पोर्टिफाईजस्ता ई-कमर्स प्ल्याटफर्मका साथै एक्सपेडिया र बुकिङ डटकम लगायतका यात्रा सेवाहरूसँग साझेदारीको समेत घोषणा गरेको छ।
"एटलसजस्ता एआई क्षमतायुक्त वेब ब्राउजरहरू प्रयोग गर्नु बढी सुविधाजनक हुनेछ किनभने विभिन्न लिङ्कमार्फत् गएर कुन उपयुक्त छ भनेर निर्क्योल गर्नुको साटो उसले तपाईँलाई [वेब] पृष्ठहरूको सामग्रीको सारांश उपलब्ध गराउन सक्छ," किङ्स कलेज लन्डनमा इन्स्टिच्युट फर आर्टिफिशल इन्टेलिजन्सकी प्रमुख प्राध्यापक एलेना सिम्परल भन्छिन्।
तर उनले ती सारांशहरू प्रश्नयोग्य हुनसक्ने चेतावनी दिन्छिन्।
"हरेक च्याटबटमा भएको समस्या भनेको यो नयाँ प्रकारको एआई ब्राउजरले विश्वसनीय वेबसाइटले लेखेको निर्देशन र अविश्वसनीय स्रोतले लेखेको विवरणबीचको वास्तवमा भिन्नता छुट्याउन नसक्नु हो," उनी भन्छिन्।
के यसका जोखिम छन्?

तस्बिर स्रोत, PA Wire/PA Images
ओपनएआईले एटलसमा सुरक्षा सुनिश्चितताका व्यवस्थाहरू कायम रहेको जनाएको छ। तर प्रयोगकर्ताहरूका तर्फबाट काम गर्ने एजेन्ट सुविधाले अझै पनि जोखिम बोकेको उसले स्वीकार गर्छ।
ती सुरक्षा व्यवस्थाअन्तर्गत ब्राउजरले कोड चलाउन, फाइलहरू डाउनलोड गर्न वा अन्य एपमा पहुँच पाउन सक्दैन र ब्याङ्कजस्ता संवेदनशील साइट 'पज' गर्न सक्छ।
प्रयोगकर्ताहरूले त्यस्ता जोखिमबाट बच्नका लागि लग-आउट मोडमा पनि एजेन्ट चलाउन सक्छन्।
यद्यपि ओपनएआईले जोखिमहरू रहने चेतावनी दिँदै त्यसमा वेबपेज वा इमेलमा लुकेका गल्ती र दुर्भावनापूर्ण निर्देशनहरू समावेश हुने जनाएको छ।
त्यसले अवान्छित कार्य वा डेटा चोरी निम्त्याउन सक्छ।
उक्त कम्पनीले व्यापक रूपमा परीक्षण गरेको र कमजोरीहरू पहिचान गर्ने काम जारी राख्ने जनाए तापनि प्रयोगकर्ताहरूलाई गतिविधि निगरानी गर्न र जानकारी सेअर गर्ने क्रममा त्यसको मूल्याङ्कन गर्न सल्लाह दिन्छ।
"हामीले हाम्रा आफ्नै कैयौँ जानकारी प्रम्प्टहरूमा, ब्राउजिङ विगतमा, एउटा कम्पनीको हातमा राखिरहेका छौं जसको मानिसहरूको गोपनीयताको सम्मान गर्ने वा हाम्रो डेटा सुरक्षित गर्न सक्षम हुने प्रमाणित ट्र्याक रेकर्ड छैन," प्राध्यापक सिम्परल भन्छिन्।
"यसकारण मलाई यसको प्रयोग गर्नेबारे अलि सतर्क बनाउँछ," उनी थप्छिन्।
एटलसमा 'ब्राउजर मेमोरी' सुविधा पनि समावेश छ जसले तपाईंको ब्राउजिङ विगत सम्झन्छ र सोधिएमा खोज विवरणहरू सम्झन सक्छ।
यद्यपि ओपन एआईले यो सुविधा 'पूर्ण रूपमा वैकल्पिक हो र तपाईं सधैं नियन्त्रणमा हुनुहुन्छ' भन्छ।
यसले गुगललाई कसरी चुनौती दिन्छ?

तस्बिर स्रोत, Reuters
इन्टरनेट प्रयोगकर्ताहरूको बढ्दो सङ्ख्याले जवाफ र सुझावहरू खोज्नका लागि पहिले नै च्याटजीपीटी जस्ता लार्ज ल्याङ्ग्वेज मोडेलहरू (एलएलएम) प्रयोग गर्न रोजिरहेका छन्।
एटलसले एआई क्षमतायुक्त खोजतर्फ उक्त फराकिलो परिवर्तनलाई तीव्रता दिन सक्छ।
प्रयोगकर्ताहरू गुगलबाट परम्परागत किवर्डमा आधारित परिणामहरूमा भर पर्नुको सट्टा जानकारी संश्लेषण गर्ने अन्तरक्रियात्मक उपकरणहरूमा बढ्दो रूपमा फर्कँदैछन्।
अनुसन्धान फर्म डाटोसका अनुसार सन् २०२५ को जुलाईसम्ममा डेस्कटप ब्राउजरहरूमा ५.९९ प्रतिशत खोज एलएलएममा भएको थियो। त्यो एक वर्ष अघिको भन्दा दोब्बर भन्दा धेरैले बढी हो।
तर गुगलले एआईमा समेत ठूलो लगानी गरेको छ र गत वर्षदेखि यसको खोज परिणामहरूमा प्रश्नहरूको एआईसिर्जित जवाफहरूलाई प्राथमिकता दिइएको छ।
गत महिना गुगलले आफ्नो जेमिनी एआई मोडललाई अमेरिकी प्रयोगकर्ताहरूको लागि क्रोममा एकीकृत गर्यो । उसको जेमिनीलाई आईओएस क्रोम एपमा समेत ल्याउने योजना छ।
"सुरुवाती प्रयोगकर्ताहरूले नयाँ ओपन एआई ब्राउजर बुझ्नका लागि परीक्षण र मूल्याङ्कन गर्नेछन्," मूर इन्साइट्स एन्ड स्ट्राटेजीका सीईओ तथा प्रमुख विश्लेषक प्याट मूरहेडले भने।
तर, उनी एटलसले क्रोम वा माइक्रोसफ्ट एजलाई गम्भीर चुनौती दिने कुरामा शङ्का गर्छन्।
उनको भनाइ छ: "किनकि धेरैजसो प्रयोगकर्ताहरूले आफ्ना मन पर्ने ब्राउजरहरूले नै यस्ता क्षमता प्रदान गर्ने समय पर्खनेछन्।"
मूरहेडका अनुसार माइक्रोसफ्ट एजले अहिले धेरैजसो यस्ता सुविधाहरू दिन्छ।
ओपनएआईको एटलसको यस कदम गुगलको अनलाइन खोजमा अवैध एकाधिकार रहेको पाइएको एक वर्षपछि आएको हो।
सन् २०२५ को सेप्टेम्बरमा गुगलको प्रभुत्वलाई रोक्ने उद्देश्यले गरिएको अदालतको फैसलाले उक्त कम्पनीलाई आफ्नो क्रोम ब्राउजर बन्द गर्न बाध्य पार्न भने सकेन। तर त्यसक्रममा अमेरिकी न्याय मन्त्रालयका वकिलहरूले त्यस उपायका लागि समेत जोड दिएका दिए।
बढ्दो प्रतिस्पर्धाबीच गुगल क्रोमले गत सेप्टेम्बरमा विश्वव्यापी ब्राउजर बजारमा ७१.९% बजार हिस्साको साथ आफ्नो प्रभुत्व कायम राखेको स्टेटकाउन्टरले जनाएको छ।
तर विश्लेषकहरूका भनाइमा ओपनएआईको नयाँ ब्राउजरले विज्ञापनका लागि नयाँ प्रतिस्पर्धा सुरु गर्न सक्छ।
"ब्राउजरमा च्याट एकीकृत गर्नु भनेको ओपनएआईले विज्ञापन बेच्न सुरु गर्ने पूर्वसूचना हो जुन उसले अहिलेसम्म गरेको छैन। एकपटक ओपनएआईले विज्ञापनहरू बेच्न थालेपछि गुगलबाट खोज विज्ञापन हिस्साको महत्त्वपूर्ण भाग खोस्न सक्छ जसको हाल सो बजारमा ९० प्रतिशत हिस्सा छ," डी.ए. डेभिडसनका विश्लेषक गिल लुरिया भन्छन्।
त्यो कहिले उपलब्ध हुन्छ?
च्याटजीपीटी एटलस अब एपलको म्याकओएस अपरेटिङ सिस्टममा फ्री, प्लस, प्रो र गो प्रयोगकर्ताहरूका लागि उपलब्ध छ।
ओपनएआईका अनुसार विन्डोज, आईओएस र एन्ड्रोइडका लागि यो पछि उपलब्ध हुनेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








