विरोध प्रदर्शनका कारण इरानमा देखियो यस्तो परिवर्तन

प्रहरी हिरासतमा एकजना महिलाको मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन उक्त देशका लागि सन् १९७९ मा भएको इस्लामिक क्रान्ति यताकै सबैभन्दा ठूलो चुनौती बनेको छ।
इरानमा सेप्टेम्बर १६ मा २२ वर्षीय महसा अमिनीको मृत्यु भएपछि ती प्रदर्शन सुरु भएका थिए।
महसालाई तेहरानको आचार तथा व्यवहार निगरानी गर्ने प्रहरीले ‘ठिक तरिकाले हिजाब’ नलगाएको आरोपमा हिरासतमा लिएको थियो। तर पछि उनको मृत्यु भएको थियो।
प्रहरीले टाउकोमा लाठी प्रहार गरेका कारण उनको मृत्यु भएको विवरण आएको छ। तर प्रहरीले त्यस्तो आरोप अस्वीकार गर्दै उनको हृदयाघातका कारण मृत्यु भएको दाबी गरेको छ।
इरानमा कडा इस्लाम नियमहरू कार्यान्वयनमा छन् र त्यहाँ महिलाहरूका लागि शिर ढाक्ने पोसाक वा हिजाब लगाउनु अनिवार्य मानिन्छ।
महसाको मृत्युपछि प्रदर्शनकारीहरूले सुरक्षा बलले दमन गरेको भन्दै आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्।
मानव अधिकारसम्बन्धी समाचार संस्था (एचआरएएनए)ले आफ्नो वेबसाइटमा दाबी गरे अनुसार प्रदर्शनहरू ८२ दिन पुग्दासम्ममा ४८१ जनाले ज्यान गुमाएका छन्।
त्यसमा ६८ जना बालबालिका र किशोर रहेको संस्थाले उल्लेख गरेको छ।
त्यसबाहेक करिब १८ हजार २४२ जनालाई पक्राउ गरिएको उक्त संस्थाको अभिलेखमा उल्लेख छ।
उक्त संस्थाले डिसेम्बर ८ मा सार्वजनिक गरेको प्रतिवेदनमा देशका सबै ३१ वटा प्रान्तमा १,११५ वटा प्रदर्शनहरू भएका जनाइएको छ।
त्यसमा १६० वटा सहर र १४३ विश्वविद्यालयमा प्रदर्शनहरू भएको बताइएको छ।
इरानमा रहेका मानिसहरूले बीबीसीलाई बताएअनुसार उक्त प्रदर्शनले मानिसहरूको जीवनमा पाँच वटा ठूला परिवर्तन ल्याइसकेको छ।
हिजाबबाट छुटकारा

तस्बिर स्रोत, Getty Images
पछिल्ला केही सातामा इरानमा धेरै महिलाहरूले नियमित रूपमा शिर ढाक्नुपर्ने कडा नियमहरू तोडिरहेको देखिएको छ।
महिलाहरू गाडीमा चढेर आफ्नो हिजाब फहराइरहेका छन्।
सामाजिक सञ्जाल पनि हिजाबको विरोध गर्ने मानिसहरूबाट भरिएको छ।
इरानकी एक जना चर्चित अभिनेत्री फतेमह-मोतामेद आर्य पनि त्यसमा सामेल छिन्।
उक्त इस्लामिक गणराज्यको इतिहासमा नै उक्त विषयमा यो स्तरमा विरोध भएको थिएन।
कतिपय तस्बिरहरूमा महिलाहरूले सुरक्षाकर्मीसामू पनि टाउको नढाकेको देखिएको छ।
तर अधिकारीहरूले हिजाबलाई लिएर नियमहरूमा कुनै परिवर्तन नआएको बताएका छन्।
इरानको मोरालिटी पुलिसका प्रवक्ता अलि खान मोहम्मदीले ३० अक्टोबरमा एउटा न्यूज वेबसाइटसँग भने, “हिजाब हटाउनु अहिले पनि कानुनको प्रतिकूल हो।”
तर यो प्रतिबन्ध महिलाहरूलाई त्रसित बनाउन सफल भइरहेको छैन।
एक जना ६९ वर्षकी महिलाले बीबीसीलाई भनिन्, “जबदेखि प्रदर्शन सुरु भएको छ म प्राय: विना हिजाब नै घरबाट निक्लिन्छु।”
नाम नखुलाउने सर्तमा उनले भनिन्, “म एक दिन सडकमा हिँडिरहेकी थिएँ र त्यही बेला मैले पछाडिबाट गाडीको हर्न बजेको सुनेँ। मैले पछाडि फर्केर हेरेँ। त्यसमा हिजाब नलगाएकी एक जना कम उमेरकी महिला थिइन्।”
“उनले परबाट मलाई चुम्बनको सङ्केत गर्दै जितको भाव प्रकट गरिन्। मैले पनि त्यस्तै गरे। केही दिनमै यो देश पछिल्लो ४० सालभन्दा धेरै परिवर्तन भएको छ।”
रङ्गिन सडक र भित्ता

इरानका प्रदर्शनकारीहरूले सार्वजनिक भित्ताहरूलाई आफ्नो नियन्त्रणमा लिएर त्यहाँ अनेक किसिमका रङ्गिन चित्र कोरेका छन्।
ठाउँ ठाउँमा नारा लेखिएका छन् र भित्तामा लेख्दै गरेको भिडिओलाई सामाजिक सञ्जालमा पनि सेअर गरेका छन्।
प्रशासनले ती ठाउँहरूमा फेरि रङ पोतेको भए पनि यो लडाइँ प्रदर्शनकारीहरूले नै जित्दै गएको देखिन्छ।
अधिकांश नारामा देशका सर्वोच्च नेता आयोतुल्लाह खामेनेईलाई निशाना बनाइएको छ।
विगतमा यो स्तरमा र यस्तो भाषा प्रयोग गरेर खामेनेई र इरान सरकारमाथि हमला नगरिएको बताइन्छ।
प्रदर्शनहरूमाथि लगाइएको प्रतिबन्ध मानिसहरूले बेवास्ता गरिरहेका छन्।
इरानी लेखक तथा अभियानकर्ता एलेक्स सम्सले बीबीसीसँग भने, “मानिसहरूले आफ्नो एउटा स्वतन्त्र ठाउँ बनाएका छन्। जहाँ महिलाहरू नाच्छन् र भिडले उनीहरूको जोस बढाउँछ। त्यहाँ मानिसहरूले नारा लगाइरहेका छन् र यो दमन बन्द गरिनुपर्ने माग गरिरहेका छन्।”
उनले जारी प्रदर्शनबाट इरानको अर्को प्रकृतिको भविष्यको परिकल्पना गर्न सकिने बताए।
युवाहरूको शक्ति

इरानको प्रदर्शनमा सबैभन्दा बढी सक्रिय विद्यालयका छात्राहरू हुन्।
ज्यान गुमाउने युवाहरू आन्दोलनको महत्त्वपूर्ण प्रतीक बनेका छन्।
नाइका शकरामी र सरीना इस्माइजदेह सबैभन्दा चर्चित ह्यासट्याग बनेका छन् र ठाउँ ठाउँमा भित्ताहरूमा उनीहरूकै तस्बिर बनाइएको छ।
सामाजिक सञ्जालमा छात्राहरूको कैयौँ भिडिओ छ जसमा किशोरीहरूले सरकार विरोधी नारा लगाइरहेका छन्।
उनीहरूले सर्वोच्च नेता खामेनेईको तस्बिर च्यातिरहेका छन् र आफ्ना विद्यालयका किताबमा उनको तस्बिरका सट्टा सुरक्षाबलको कारबाहीमा मारिएका व्यक्तिहरूका फोटो टाँसिरहेका छन्।
एउटा धेरै सेअर गरिएको भिडिओमा एक जना स्कुले छात्रा सुरक्षाकर्मीसँग चिच्याइरहेको र आक्रोशित भइरहेको देख्न सकिन्छ।
ती सुरक्षाकर्मी विद्यालयको एउटा कार्यक्रममा भाग लिन आएका थिए तर छात्राहरूले उनलाई त्यहाँबाट गइहाल्न माग गरिरहेको भिडिओमा देखिन्छ।
विरोधका कारण भागिरहेको डर

इरानको रिभोल्युसनरी गार्डसका प्रमुख हुसैन सलामीले अक्टोबर २९ मा प्रदर्शनकारिहरूलाई एउटा अल्टिमेटम दिएका थिए।
सरकारी सञ्चारमाध्यममा छापिएको उनको टिप्पणीमा उनले भनेका थिए, “आज सडकमा नआउनुस्। आज दङ्गाको अन्तिम दिन हो।”
तर त्यो दिन इरानको सडकमा प्रदर्शन र सुरक्षाकर्मीहरू जोडिएका घटनामा झनै वृद्धि भयो।
बीबीसी फारसीसँग धेरै मानिसहरूले बर्बर दमनप्रति आफूलाई डर नलागेको बताए।
एक जना युवतीले आफ्नो बच्चा आफ्नी आमासँग छोडेर प्रदर्शनमा आएको बताइन्।
“म डराएकी थिएँ। तर मेरो बच्चाको राम्रो भविष्यका लागि मैले यस्तो गर्नै पर्यो।”
जर्मनीमा रहेकी इरानी गायिका र अभियानकर्ता फरावज फवारदिनी मानिसहरूको मनमा पहिल्यैदेखि गुम्सिएको आक्रोश र पछिल्लो परिस्थितिका कारण प्रदर्शनलाई बल पुगेको ठान्छिन्।
उनले भनिन्, “सबै चिज महँगो भइरहेको। यहाँ धेरै रोकटोक छ। महासा अमिनीसँग जे भयो त्यसपछि मानिसहरूलाई के लाग्यो भने राजनीतिमा सामेल नहुने मानिसहरूले पनि कुनै कारणबिना ज्यान गुमाउनुपर्ने हुनसक्छ। मलाई लाग्छ यसले धेरै जनालाई लड्नका लागि प्रेरणा दियो।”
एकता

तस्बिर स्रोत, Getty Images
यो विरोध प्रदर्शन जसरी इरानका विभिन्न ठाउँमा फैलिरहेको छ त्यसले मानिसहरूमा निम्त्याएको उत्साह विशिष्ट खालको देखिन्छ।
पहिलाको आन्दोलनमा यस्तो भएको थिएन।
सन् २००९ मा राष्ट्रपति चुनावको परिणाम आएपछि सुरु भएको प्रदर्शनको अगुवाइ मध्यम वर्गका मानिसहरूले गरेका थिए।
यस्तै सन् २०१९ को आन्दोलनको अगुवाइ मुख्य गरि इन्धनको बढ्दो मूल्यप्रति आक्रोशित आर्थिक रूपमा पछाडि परेका मानिसहरूले गरेका थिए।
तर यो आन्दोलनले इरानका विभिन्न समूहहरूलाई एकजुट बनाइदिएको छ र सबैलाई समेटेर अघि बढिरहेको छ। त्यो परिवर्तन नारामा पनि झल्किरहेको छ।








